निस्किँदा एक्लै निस्किए पनि अगाडि भेटिएकासँगको साथले यात्रा खास बन्दो रहेछ। तपाईंहरू कतिले यी महसुुस गर्नु भएको होला या भोग्नु भएको पनि होला।
मलाई यात्रा गर्ने क्रममा सधैं एउटा चिन्ता भनम् या डर या भनौं असजिलोपन- यात्रा गर्दा कस्ता साथी भेटिएलान् हुन्छ।
मिडियामा डेस्कमै काम गर्ने हुँदा बाहिर घुलमिल हुने वातावरण मिल्दैन। त्यसैले बाहिरका मेरा कमै साथी छन्। बेला-बेला बाहिर घुमफिरको लागि प्रस्ताव आउँछ तर त्यही साथी सर्कलको कारणले गर्दा टारिदिन्छु।
यो पटक पनि मलाई त्यस्तै प्रस्ताव आयो। केही समयअघि देखि नै अफिसको सरले घुमफिरको लागि ठाउँको बारेमा भनिसक्नु भएको थियो। बेला-बेला पनि सरले भनिरहनु हुन्थ्यो तर मलाई उही टाउको दुखाइ हुन्थ्यो साथ कस्तो पाइने हो!
जाने दिनको मिति तोकिसकेपछि सरले मलाई फेरि भन्नुभयो। तर यो पटक भने मलाई दोमन भयो।
एक मनले ‘जा जा’ भन्यो अर्को मनले कोही चिनेको छैन बेकार बोरमात्र भयो भने! भड्काउन खोज्यो।
यो पटक आँपस्वारा काव्य यात्रा-२०७९ कार्यक्रममा जाने प्रस्ताव आएको थियो। जुन कन्सेप्ट नेपाल नामक संस्थाले आयोजना गरेको थियो। यो संस्थाले देशका विभिन्न भाग जुन पर्यटनका सम्भावना बोकेका हुन्छन् त्यस्ता ठाउँलाई प्रवर्द्धन गर्ने काम गर्दै आएको रहेछ। यसअघि खप्तड र फोक्सुन्डो काव्य यात्रा गरेको कन्सेप्ट नेपालले यसपटक भने आँपस्वारालाई छानेको थियो। दलित समुदायले चलाएको नेपालकै पहिलो सामुदायिक होमस्टेमा लेखक/पत्रकारहरूलाई घुमाउन लैजाने।
छुवाछूतविरूद्ध ऐक्यबद्धता जनाउन, गाउँलेको सुख दुःख बुझ्न, पर्यटन कर्ममा लागेका गाउँलेलाई उत्साहित बनाउन र ग्रामीण जीवनशैली अध्ययन गर्न देशका २५ जना लेखक/पत्रकारलाई घुमाउन लैजाने भनिएको थियो।
जाने दिनको दुई दिन अघिसम्म पनि खासै जान मन थिएन। मैले नजाने भनेर टारिदिएँ।
फेरि अर्को मनले भन्यो- यस्तो अवसर पटक पटक आउँदैन। केही न केही सिक्ने जान्ने अवसर मिल्छ। यात्रामा कस्तो साथी भेटिएला भनेर यात्रा गरिएन भने नयाँ कुरा सिक्ने अवसर कहिल्यै मिल्दैन।
जेसुकै पर्ला भनेर अन्तत: अफिसको माहोल मिलाएर तीन दिनको लागि जाने निर्णय गरें।
असार महिना अर्थात् झरीको महिना। मनसुन सुरू भएसँगै कहीँ पहिरो त कतै बाढीले बबण्डर मच्चाइरहेको बेला यात्रा गर्दा अप्ठ्यारो पर्ने होला कि भन्ने नसोचेको होइन जाने नै भएपछि सबैलाई ‘साइड’ मा लगाएँ।
असार १५ को अघिल्लो रात लगातार पानी परिरहेको थियो। भोलि पनि यसरी नै पानी परिरह्यो भने क्यासिल नै होला कि भन्ने सोचें। रातभरको पानी बिहानसम्म पनि रोकिने नाम लिएको थिएन।
जब बिहान अमृत भादगाउँले दाइले फोन गर्नुभयो त्यतिबेला ढुक्क भएँ। उहाँले बस छुट्ने समय र मलाई पिकअप गर्ने ठाउँको बारेमा सोध्नुभयो।
म छुटिन्छ कि भन्ने पिरले होला दाइले पटक पटक फोन गरिरहनु भएको थियो। चढ्न र थाहा पाउन सजिलो हुन्छ भनेर मैले दाइलाई नागढुंगाबाट चढ्ने भनेको थिएँ। निर्धारित समयभन्दा म अघि नै गएर नागढुंगामा बसेको थिएँ।
कुर्न पटक्कै मन नपराउने मान्छे म। अरूलाई नि कुराउन मन लाग्दैन। तर समूहमा भएर हिँडेपछि समय अलि तल माथि भइहाल्छ। भनेको समयमा केही हुँदैन। कयौं पटक भोगेको छु। त्यसैले यो पटक पनि नौलो लागेन।
बस भनेको समयभन्दा आधा घण्टा ढिलो आइपुग्यो। बस नागढुंगामा आएपछि फेरि दाइले फोन गर्नुभयो। म चेकिङको ठाउँमा बसेकोले अर्को बसले गर्दा हामी जाने बस छेकिएको थियो।
बसबाट तल ओर्लिएर दाइले सोध्नुभयो-सुजिता? मैले टाउको हल्लाएँ। ‘फोन साइलेन्टमा राखेको थियौ र फोन नै उठ्दैन त!’ भन्नुभयो।
मैले हल्का हाँसेर ‘त्यस्तो होइन। थाहा नभएर हो’ भनें।
जसै बस चढें दायाँ बायाँ नहेरी सोझै लास्ट लास्टको सिटमा बस्न गएँ। किनकि मेरो आँखै त्यही परेको थियो दाइले नि मलाई त्यही बस्न भन्नुभयो।
अनि मेरो परिचय उहाँसँग गराउनु भयो। उहाँ अर्थात् मनिषा गौचन।
अनि मैले पनि मेरो परिचय दिएँ। बिहान ८ बजेतिर हामी नागढुंगा कट्यौं।
बसमा पहिला त असजिलो लागेको थियो। नयाँ अनुहार के कुरा गर्ने कहाँबाट सुरू गर्ने मेसो पाइनँ। मेरो आडैमा अमृत दाइ बस्नु भएको थियो। दाइको नाम धेरै पटक सुनेको थिएँ तर यसरी भने पहिलो पटक भेट भएको थियो। पहिलोपटक भेटिए पनि उहाँसँग पहिलादेखि नै चिनजानको जस्तो महसुस भयो। अप्ठ्यारो लागेन।
उहाँले सोध्नुभयो- कोही चिनेको अनुहार देख्यौ त!
काठमाडौंबाट १६/१७ जना आउनु भएको रहेछ तर मैले कसैलाई चिन्न सकिनँ।
अनि फेरि हल्का मुस्कान दिँदै टाउको हल्लाएँ। यसपटक भने नचिनेको भनेर।
‘सुरेन्द्रलाई त चिनेको हौलाऊ नि?’
‘अ अफिस आउँदा देखेको थिएँ’
अब यसलाई कतिको चिनेको भन्ने म आफ्नै दुविधामा थिएँ।
‘म पनि यहाँ खासै कसैलाई चिन्दिनँ’ मनिषा जीले जब भन्नुभयो एक किमिसले खुसी भएँ।
अनि सोचें अहो यो यात्रामा मजस्तै अरू कोही पनि रहेछ। जो एक्लै निस्कनुभएको रहेछ। त्यसपछि हामीबीच कुरा हुँदै गयो। हामी एक अर्कालाई कम्फर्टेबल फिल गर्दै गयौं।
सायद केमेस्ट्री यस्तैलाई भन्छन् कि! अनि लाग्न थाल्यो यात्रामा एक्लै निस्किए पनि अगाडि भेटिएकासँगको साथले यात्रा खास बन्दो रहेछ।
बसमा सबै जना आ- आफ्नै धूनमा मस्त थिए। हामी पनि आफ्नै धूनमा। बीचमा खाना खाँदा होस् वा खाजा खान जाँदा हामी एकसाथ नै रह्यौं।
१५३ किमी छिचोल्दै करिब ३ बजेतिर हामी दमौली पुग्यौं। त्यहाँ पुगेपछि पनि केही साहित्यिक व्यक्तित्व जोडिनु भयो।
दमौलीमा सागर ‘उदास’ दाइ हुनुहुँदो रहेछ। सबैसँग परिचय भएपछि थाहा पाएँ। उहाँ पनि हँसिलो रसिलो ख्याल ठट्टा मन पराउने रसिक मान्छे हुनुहुँदो रहेछ। यसो मनमनै सोचें सागर ‘उदास’ हैन सागर ‘रसिक’ चाहिँ हुनुपर्ने!
यस्तो ‘रसिक’ मान्छे कसरी ‘उदास’ सोध्न मन थियो तर मौकै मिलेन।
उहाँले हामीलाई त्यहाँको व्यास पराशर धाम घुमाउनु भयो। त्यो धामभित्र बाल उद्यानदेखि जेष्ठ नागरिक मिलन केन्द्र समेत रहेछ। जहाँ बुढा बा आमाहरू आएर समय बिताउनु हुँदो रहेछ भजन किर्तन गरेर।
त्यसपछि हामी ब्यास गुफा, ब्यास ऋषिले धुनी लगाएको ठाउँ आदि अवलोकन गरेर फेरि सागर दाइकोमा नै फर्कियौं। उहाँले अलि अघि भन्नुभएको थियो।
‘होमस्टे जानको लागि बस आउने बेला भइसक्यो। चाँडो स्टपमा पुग्नुपर्छ।’
त्यसैले हामी छिटो छिटो गरी फर्कियौं। केहीबेरमा आँपस्वाराको लागि हानियौं।
दमौलीबाट आँपस्वारा गाउँ ६ किमीको रहेछ। घना जंगलभित्रको नागबेली बाटो। चारैतिर हरियाली। सिरसिर हावा। ती हावाका झोंकाले स्पर्श गर्दा मन मस्तिष्क कति आनन्दित आहा! बाटो पूरा पिच भइसकेको रहेनछ। कहीँ पिच, कहीँ रातो माटो। धन्न प्रकृतिले साथ दिइन् नत्र पानी परेको भए त्यस्तो रातो माटोमा बस कहाँ उक्लिनु!
लगातार दुई/तीन दिन पानी परिरहेकोले बाटो चिप्लै थियो तर जसोतसो उक्लियो। करिब ४ बजेतिर हामी तनहुँको व्यास नगरपालिका-१३ स्थित आँपस्वाराको दलित होमस्टेमा पुग्यौं। आँपस्वारा हामीलाई स्वागत गर्न आतुर थियो। त्यसैले त हामी पुग्नुअघि नै त्यहाँ माहोल बनिसकेको थियो।
जसै हामी गेटबाट भित्रै छिर्यौं परैबाट अनारका दाना जसरी मिलेर बसेका आमा, दिदी-बहिनीहरूलाई देख्यौं। क्रिम रंगमा कालो बुट्टे साडीमा हरियो ब्लाउज। आहा! कति सुहाएको। आँप चौतारामा हातमा विभिन्न तरिकाले उनेका माला र रातो टीका लिएर उहाँहरू हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। हामी सबै जना लामबद्ध भएर टीका र माला ग्रहण गर्यौं र उहाँहरूलाई धन्यवाद भन्यौं।
केहीबेर परिचयात्मक कार्यक्रम भयो। त्यसपछि आँपस्वारा दलित होमस्टेको बारेमा होमस्टेका अध्यक्ष रेशम विक जीले जानकारी दिनुभयो। २०७३ सालदेखि यो होमस्टे सञ्चालनमा आएको रहेछ। दलित होमस्टेको अवधारणा कसरी आयो? यसलाई सञ्चालन गर्न के कस्ता समस्या आइपरे?
यसबारे तपाईंहरूलाई पछि कुनै दिन मौका मिले बताउँला, आज चाहिँ अनुभव मात्र साट्न खोजेको हुँ।
औपचारिक कार्यक्रम सकिएपछि ग्रुप छुट्याउने काम भयो। ५०/६० घरधुरी रहेको आँपस्वारामा अहिले १८ घरले मात्र होमस्टे सञ्चालन गरेका रहेछन्। त्यसैअनुरूप हामी बाँडियौं। बस्ती छरिएका थिए।
एउटा घरबाट अर्को घर पुग्न ४\५ मिनेट लाग्ने। एकै ठाउँमा भने चार घर झुरूप्प थिए। नत्र एक त टाढा घर अर्को मकै बारीले केही नदेखिने। हामी सबभन्दा माथि बस्ने भनेकोले अध्यक्ष ज्यूको घरमा पर्यौं।
सबै जनालाई आ आफ्नो घरधनीले लगे। हाम्री (मनिषा जी र म) घरधनी चाहिँ सानी बहिनी थिइन्-बसन्ती विक। मौलिक पोसाकमा सजिएकी, हँसिली, गोरी, साह्रै प्यारी थिइन्। उनी भन्दै थिइन् कुहिरो नलागेको भए कति राम्रो भ्यू देखिन्थ्यो!
हाम्रो लागि अहिले पानी नपर्नु नै ठूलो थियो। त्यसमै सन्तुष्ट भयौं।
चौताराबाट हामी कुरा गर्दै ढुंगाले छाएको उकालो बाटो उक्लियौं। बाटो कहीँ कहीँ मात्र पिच गरिएको रहेछ। बाटोको अलि माथि हरियो रङ लगाएको सुन्दर घर देखियो। हामी जाने घर त्यही रहेछ। ढुंगाले बिछ्याएको भर्याङ। चिटिक्क आँगन। बार्दलीमा लसुनका झुप्पा। ट्वाइलेट र बाथरूम पनि छुट्टै।*
जानेबित्तिकै घरधनी दिदी देवी विकले हामीलाई स्वागत गर्नुभयो। घरमा बुहारी, नाति र छोरी हुनुहुन्थ्यो अर्को छोरीको बिहे भइसक्यो रे। बुहारी बाहुनी रहिछन्। सोचें- उनीहरूले बिहेको लागि कति विद्रोह गर्नुपर्यो होला।
साँझ छिप्पिँदै थियो अनि बादल धुम्म। रेशम दाइले हामीलाई त्यहाँको बारेमा सुनाइरहनु भएको थियो। हामी पनि आनन्द लिएर सुनिरहेका थियौं। भोलि बिहानै थानीमाई मन्दिरमा जाने कुरा थियो। दिदीले खाना खान बोलाउनु भयो। धेरै समयपछि चुल्होमा पकाएको खाना खान पाइयो।
चुल्होमा पकाएको खानाको स्वाद नै बेग्लै। मनिषा जी भन्दै हुनुहुन्थ्यो- कामको व्यस्तताले खाना नखाएको कति दिन भइसकेको थियो। अहिले खाँदा मज्जा आयो। कस्तो मीठो!
त्यसमा झन् घरमै पालेको लोकल कुखुरा के चाहियो र! खानमा मज्जा आयो। धेरै ढिला भइसकेकोले हामी सुत्ने तरखरमा लाग्यौं।
बिहान ७ बजे थानीमाई मन्दिर जाने कुरा थियो। बिहानको नास्ता भ्याएर लगभग ८ बजेतिर भेला भयौं। त्यसपछि लागियो उकालो। बेलुका पानी पर्ने र बिहान धुम्म हुने। हामी आउनु अघिदेखि लगातार पानी परिरहेको आँपस्वारामा हामी गएदेखि बेलुका मात्र पानी परिरहेको थियो।
सायद आँपस्वारा हामीलाई घुमाउन चाहन्थ्यो। ऊ देखाउन चाहन्थ्यो उसको फेरिएको स्वरूप। उकालो लाग्दै गर्दा प्रायसँग म घुलमिल भइसकेको थिएँ। चौतारामा हामी एकछिन थकाइ मार्न बस्यौं। सागर दाइले त्यहाँ पनि रमाइलो गर्न छुटाउनु भएन। आफैं गाउँदै नाच्न सुरू गर्नु भयो।
हामीले ताली बजाउँदै उहाँलाई साथ दियौं। केही बेरको रमाइलोपछि हामी फेरि माथि उक्लियौं। माथि जंगलको बीचमा थानीमाई मन्दिर रहेछ। गेट लगाइएको थियो। हाम्रो गाइड मनोज भाइले ताल्चा खोल्नुभयो।
मन्दिर पुग्न अर्को गेट पनि पार गर्नुपर्ने रहेछ। काई लागेको सिँढी चिप्लिने डर। केहीबेर सिँढी चढेपछि मन्दिर नजिक त्यहाँ पनि ताल्चा लगाइएको रहेछ। फोन गरेर चाबी मगाइयो। चाबी पुजारीसँग हुँदो रहेछ। त्यहाँको पुजारी मगर समुदायका अविवाहित पुरूष हुँदा रहेछन्।
यो त्यही मन्दिर हो जुन दलित समुदायले मुद्दा लडेर जितेका थिए। यहाँ पहिला दलितलाई पूजा गर्न दिइँदैन थियो रे। पछि मधुमाया विक जसले संघर्ष गरेर मुद्दा जित्नु भएको रे। विक अहिले दलित होमस्टेकी कोषाध्यक्ष हुनुहुन्छ।
२०७७ सालमा यहाँ नयाँ मन्दिर बनाइएको रहेछ। यहाँ प्रत्येक आइतबार पूजा हुने रहेछ। असार पूर्णिमा र हिउँदको भंगरे पूर्णिमामा यहाँ मेला लाग्ने गर्दो रहेछ। दिनदिनै मान्छेहरू पूजा गर्न आउने भए सफा हुने थियो होला। तर मन्दिर वर्षौं सफा नगरेको जस्तो देखिन्थ्यो।
सायद बस्ती टाढा भएकोले नि होला कमै चहलपहल भएको जस्तो देखियो। झाडी र बुट्यानले घेरिएको मन्दिर परिसरमा, काई लागेको सिँढी। यत्रो संघर्षले मुद्दा जितेको मन्दिरको यस्तो हविगत!
त्यहाँ केहीबेर फोटो खिचेर हामी ओर्लियौं। केहीमुनि खुला ठाउँ थियो। आडैमा जस्ता छाएर बनाइएको बिसौनी। त्यहाँ केहीबेर रमाइलो नाचगान गर्यो।
दिउँसो सम्मान कार्यक्रम भएकोले हामी तल ओर्लियौं। होमस्टे पुग्दा १२ बजिसकेको थियो। खाना खाएर केहीबेर आराम गर्यौं।
१ बजेतिर कार्यक्रम सुरू भयो। कार्यक्रममा रैथाने सिपलाई संरक्षण गर्ने ४ जनालाई सम्मान गरियो। साथै लेखक/कविहरूले छुवाछूतविरूद्धको कविता र आफ्ना अनुभव सुनाउनु भयो।
अमृत दाइले मलाई पनि बोलाउनुहुन्छ भन्ने थाहा थिएन। अकस्मात् मेरो नाम लिँदा झस्किएँ। त्यही पनि आफ्नो अनुभव सुनाउँदा पाउँदा खुसी लाग्यो। कार्यक्रममा होमस्टेमा आबद्ध आमा दिदी बहिनीले गीत गाउन सुरू गर्नु भयो।
हामीले नाच्दै उहाँहरूलाई साथ दियौं।
कार्यक्रम सकिएपछि म भने गाउँतिर डुल्न गएँ।
उसै त टाढा-टाढा बस्ती। मकै बालीले सबै ढाकिएको थियो। कुन बाटो कहाँ जाने पत्तो थिएन। त्यही पनि सोधी खोजी गर्दै अगाडि बढें। दलितले समुदायकै होमस्टे हेर्न मन थियो। कहिले अरू जातिको घरमा पुग्थें त कहिले होमस्टे नै नभएका घर।
सोध्दा भन्नुहुन्थ्यो ‘होमस्टे त राख्न मन छ नि तर के गर्नु यो झुपडीमा कसरी राख्नु! आफैंलाई त बस्न अप्ठ्यारो छ।’
प्राय: होमस्टे सञ्चालन भएका घरसम्मै ढुंगाले छाएका बाटो पुगेका रहेछन्। हरेक घरमा धाराको सुविधा रहेछ, ट्वाइलेट र बाथरूम पनि छुट्टै। सरसफाइ पनि उत्तिकै। लाग्यो होमस्टेले साँच्चै परिवर्तन ल्याएको रहेछ।
दलित होमस्टे भएकोले सोचेअनुरूप पाहुना नआएको गुनासो पोख्दै हुनुहुन्थ्यो एक दिदी। उहाँका अनुसार अरू होमस्टेमा प्याक हुन्छन् तर अहिले पनि मान्छे नाक खुम्चाउँछन् यहाँ आउन। पहिलाभन्दा केही परिवर्तन भए नि एकदिन अरूमा जस्तै आफ्नोमा पनि पाहुना भरिभराउ हुने उहाँको विश्वास छ। धेरै कुरा सुन्न मन थियो मौका मिले फेरि भेट्ने बाचा गरेर म त्यहाँबाट निस्किएँ।
यता भने मेरो खोजी भइरहेको रहेछ। कसैलाई नभनी निस्केको थिएँ समूहमा आएको बेला खोजी हुनु स्वाभाविक पनि हो। अनि सबै बताएँ।
भोलि बिहान चाँडै निस्कनु थियो। रातमा रमाइलो गर्ने मन थियो। तर सबै साथीहरू टाढा टाढा बसेकोले त्यो सम्भव भएन। मनिषा जीले पनि त्यही कुरा सेयर गर्नु भयो। बेलुकी खाना खाइवरी एकछिन सबै घरका सदस्य बसेर कुरा गर्यौं। दुई दिनको बसाइमा नै हामी कति नजिकिएछौं। जति भावनात्मक सम्बन्ध गाढा हुन्छ, त्यति नै बिछोडिन गाह्रो हुँदो रहेछ। मनमा एक किसिमको खल्लो महसुस हुँदै थियो भोलि छुटिने कुराले।
बिहान देवी दिदीले टीका लगाएर हामीलाई बिदा गर्नुभयो। मौका मिले फेरि आउने भन्दै हामी छुट्टियौं। चौतारामा जम्मा भएर आँपस्वारालाई बिदा गर्दै हामी काठमाडौं हानियौं मनभरि आँपस्वाराको माया बोकेर।
यो यात्रा मेरो लागि अविस्मरणीय, सम्झनलायक बन्यो। किनकि एक्लै निस्किए पनि अगाडि भेटिएकासँगको साथले यात्रा खास बन्यो।
*हाम्रो असावधानीवस् केही असंवेदनशील वाक्य परेकोमा क्षमा माग्दै उक्त वाक्य हटाएका छौं।- सम्पादक