कतै पढेको थिएँ- हिँड्नुअघि सबैलाई जान्छु है भनेर गयौ भने उनीहरूको शुभकामनाले तिम्रो यात्रा सफल हुन्छ।
पढेका सबै कुरा जीवनमा लागू गर्न कसले सक्छ र! म त झनै सक्दिनँ। कुनै-कुनै यात्रामा म यसरी निस्किदिन्छु कि साथीभाइ त परको कुरा आमा-बुवा र भाइ-बहिनीलाई समेत थाहा हुन्न, म कहाँ हिँडे र कहिले फर्किन्छु। यस्तो हुनुको कारण अरूले म कहाँ गएँ भन्ने थाहा नपाऊन् भनेर होइन, म आफैंलाई पनि थाहा हुँदैन- कहाँसम्म जाँदैछु?
आफूले थाहै नपाई जन्मिएको यो जिन्दगीमा अनिश्चयको यात्रामा एक्लै निस्कँदा मलाई अर्कै मजा आउँछ। धेरै पटक यस्तो भइसक्यो। र, यसपालि पनि यस्तै भयो।
जिन्दगीका तीन दशक पार गरिसक्दा पनि तपाईं एक्लै हुनुहुन्छ र घरजम गर्नुभएको छैन भने तपाईंलाई परिवार र समाजले सोध्ने प्रश्न त बढ्छन् बढ्छन्, आफ्नै मनमा पनि अनेकथरि प्रश्नले खलबली मच्चाउँदा रैछन्। म पनि उत्तर पाउन कठिन पर्ने जिन्दगीका त्यस्तै तमाम प्रश्नले घेरिएको थिएँ।
ज्यानलाई आराम चाहिएको थियो, मनलाई यो थकित ज्यानलाई जिन्दगीका सुदूर दिनहरूमा डोर्याउने प्रकाशको खाँचो थियो। त्यहीबीचमा आएको थियो- गोवाको समुद्री तटमा हाफ पाइन्ट लगाएर खाली खुट्टा बालुवामा हिँड्ने र छाल हेर्दै चिSSSसो बियर पिउने कल्पना।
कल्पना गर्न पैसा लाग्दैन, जे-जे गरे पनि भयो! साँच्चै गोवा जान त अफिसमा छुट्टीदेखि बस, रेल, जहाजको टिकटसँगै होटलको बुकिङ पनि मिलाउनु पर्थ्यो। सबभन्दा ठूलो कुरा त पैसाको जोहो गर्नुपर्थ्यो।
जताबाट, जसरी सोचे पनि तत्काल यी सबै कुराको चाँजोपाँजो मिल्ने छाँटकाँट नदेखेपछि मैले मनको कल्पनालाई मनमै दबाइदिएको थिएँ।
त्यो कल्पना त ज्वालामुखीसरी उम्लिरहेको रहेछ। मैले दबाउँदैमा कहाँ दब्थ्यो र!
जेठ २८ गते शनिबारका दिन। म कीर्तिपुरको कोठामा सुतिरहेको थिएँ। दिउँसो तीन बजेतिर मनमा अचानक ‘कहाँ सुतिरहेको घुम्न जान छोडेर’ भन्ने लाग्यो। आजै हिँडुनुपर्छ, अहिल्यै हिँड्नुपर्छ भन्ने कुराले ओछ्यानमा ढलिरहन दिएन।
झोलामा दुई-चार जोर लुगा हालेर म पाँच बजेतिर बल्खु पुगें। वीरगन्ज जाने सुमो चढें। दक्षिणकाली पुगेपछि मात्रै अफिसमा साथीहरूलाई म भोलिदेखि केही दिन अफिस आउँदिनँ भनिदिएँ। बहिनीलाई म यात्रामा निस्किसकेको जानकारी दिएँ। आफ्नो यो फिल्मी शैली देखेर आफैंलाई अचम्म लाग्छ।
साढे ७ बजेतिर ड्राइभरले खाजा खान भनेर एक ठाउँमा गाडी रोक्यो। त्यो होटलमा खाजा के मीठो थियो र जति मीठो त्यहाँ काम गर्ने युवतीको मस्काइथियो। यात्रुसँग होइन, सुमोका ड्राइभरसँग। जसै सुमो होटलको बाहिर रोकियो उनी पांग्रामा लगाउने ओट बोकेर आइन्। थोत्रा भइसकेका कुर्ता सुरुवाल लगाएकी उनको अनुहारमा सबैले देख्ने गरी खुसी छचल्किएको थियो। दुनियाँमा मान्छेलाई सबैभन्दा बढी खुसी बनाउने चिज यही एउटा प्रेम त रहेछ!
राति १० बजे सुमोले सिमरा पुर्यायो। सडक छेउको होटल खुलै थियो। त्यो रात त्यहीँ बसें। अर्को बिहान ६ नबज्दै वीरगन्ज जाने गाडी चढें। वीरगन्जबाट रक्सौलसम्म अटोमा गएँ। काँकडभिट्टादेखि गड्डाचौकीसम्मका सबै प्रमुख नाकाबाट भारत छिरेको छु तर वीरगन्जको जस्तो फोहोर मितेरी पुलको दुर्दशा अन्त देखेको छैन। सीमामै रेल आउने, काठमाडौंदेखि सबैभन्दा नजिकको नाकाको यो हविगत किन यस्तो भएको होला?
रक्सौल रेलवे स्टेशन गएँ। गोवा जाने रेल पाइन्छ कि पाइन्न थाहा छैन। नभए अर्को कुन ठाउँ जाने पनि टुंगो छैन।
रेलवे स्टेशनको सोधपुछ काउन्टरमा बसेको केटाले भन्यो- रक्सौलमा त परको कुरा भारतभरि कहीँ पनि आजको आजै रेलको रिजर्भेसन टिकट पाइँदैन। कम्तीमा २४ घन्टाअघि बुक गर्नुपर्छ। पहिलो गासमै ढुंगा लागेजस्तो भयो।
अब म के गरूँ त?
उसले ‘बस चढेर पटना जाऊ, उतैबाट पाइन सक्छ रेलको टिकट’ भन्यो। फिल्मी शैलीमा सुरू भएको मेरो यात्रा अनिश्चयमा फस्यो।
रेलवे स्टेशनबाट बसपार्क जान हिँड्दै थिएँ। एउटा रिक्सावाला आयो। उसले फाटिसकेको पाइन्ट र पुरानो सर्ट लगाएको थियो। ‘कहाँ जाने हो म पुर्याइदिन्छु’ भन्यो। रेलको टिकट नपाएर पटना जान लागेको बताएपछि उसले भन्यो- रेलको टिकट साइबरमा पाइन्छ।
कीर्तिपुरबाट निस्कँदा मैले भारतीय सिम बोकेको थिएँ। कीर्तिपुर आएदेखि म एकै ठाउँमा कपाल काट्छु। सैलुन चलाउने बिहार सीतामढीका सञ्जय ठाकुर म भारत जानुपर्यो भने जहिले पनि आफ्नो सिम दिएर पठाउँछन्। यसपालि उनले भनेका थिए- जहाँ यो कार्डमा पैसा हाल्नुहुन्छ, रेलको टिकट त्यहीँ पनि पाइन्छ।
सञ्जयलाई सम्झेर मैले त्यो रिक्सावालाको कुरा पत्याएँ।
उसले पाइडल मारेर मलाई साइबर भएको ठाउँसम्म लग्यो। त्यो उसले चिनेकै ठाउँ रैछ। साइबरमा लगभग चार घन्टा कुरें। त्यो रिक्सावाल पनि मैसँग बसिरह्यो। भोलिको रेलका लागि आज १० बजे एसी र ११ बजे स्लिपरको टिकट खुल्दो रहेछ। त्यो साइबरवालाले मेरा लागि पटनाबाट मुम्बई जाने रेलको टिकट बुक गर्न प्रयास त गरेको हो तर सकेन।
रक्सौलमा बस्नुभन्दा बरू बसमा पटना जान र त्यहाँबाट केही जुगाड गर्न उसले सल्लाह दियो। मलाई पटना जान मन थिएन। रिक्सावालाले भन्यो- त्यसो भए राँची जानुस्।
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बहुलायो भनेर उतिबेलाका बुज्रुगहरूले राँची लगेका थिए रे। म पनि त अलिअलि बहुलाएकै थिएँ, बिनासुर एक्लै हिँडेर। टिकट पाए गोवा जाउँला नभए राँची घुमेर नेपाल फर्किउँला सोचें। रिक्सावालालाई राँचीको बस छुट्ने ठाउँसम्म छोडिदिन भनें।
बसभरि आधाजति नेपाली थिए। बुढाबुढी, महिला र बालबालिका हातमा चाउचाउका पेटी बोकेर बस चढेका थिए। यति धेरै नेपाली राँची किन गइरहेका छन्? मैले मेसो पाइनँ। मजस्तै बेसुरमा त पक्कै हिँडेका होइनन् होला!
साँझ पाँच बजेतिर बस बिहारको मुजफ्फरपुर पुग्यो। कन्डक्टरले भन्यो- अब बस दुई घन्टा यहीँ रोकिन्छ।
मुजफ्फरपुर त्यही ठाउँ हो जहाँबाट ढल्केबरसँग जोडिएको प्रसारण लाइनमा अहिले नेपालले दैनिक करोडौंको बिजुली भारतलाई बेचिरहेको छ। भारतसँगको हाम्रो व्यापार घाटालाई अलिकति भए पनि घटाउन त्यो बिजुलीले भूमिका खेल्नेछ।
बसमा चितवनबाट गएका दुई जना बाबु-छोरा पनि थिए। उनीहरूका तीन पुस्तादेखि उडिसामा बस्दै आएका रहेछन्। पहिला गाई-भैंसी पालेर दूध बेच्थे रे, अहिले दोकान चलाउँछन्। राँचीबाट पाँच-छ घन्टामा बसमा पुगिने आफ्नो ठाउँमा ३ सय जति नेपाली परिवार रहेको उनीहरूले सुनाए।
एक मनमा उनीहरूको गाउँ पुगेर त्यहाँका नेपालीबारे रिपोर्टिङ गरेर आउँ कि भन्ने लाग्यो। फेरि सोचें- बेसुरमा हिँडेको मान्छे, कहाँ रिपोर्टिङ गर्नु!
मुजफ्फरपुर पुग्ने बेलासम्म मेरो मोबाइलमा इन्टरनेट चल्दैनथ्यो। सिम पुरानो भएकाले त्यसलाई फोरजी बनाउनु पर्ने रहेछ। एउटा मोबाइल पसलमा गएर सिमलाई फोरजी बनाएँ। भारतमा इन्टरनेट नेपालका भन्दा निकै सस्तो। पहिलाका भोडाफोन र आइडिया कम्पनी मिलेर बनेको भिआईको सिममा दुई सयको रिचार्ज गर्दा २८ दिनसम्म सबै कल, एसएमएस फ्री अनि एक दिनमा १ जिबी डाटा चलाउन मिल्दो रहेछ।
सवा सात बजेतिर बस मुजफ्फरपुरबाट गुड्यो। एकातिरको लहरमा दुइटा र अर्कातिर एउटा मात्रै सिट भएको त्यो बसको माथि सुत्न मिल्ने ठाउँ पनि थियो। नेपालमा यस्ता नाइट बस चल्छन् कि चल्दैनन् मलाई थाहा छैन।
रेलको टिकट पाउने छाँटकाँट नभएपछि मैले अनलाइनमा हवाइजहाजको टिकट खोजें। जहाजको टिकट बुक होला भन्ने विश्वास भने पटक्कै थिएन।
जहाजको टिकट हेर्ने बेलासम्म मैले गोवा छोडेर केरलाको कोची सहर जाने सोचिसकेको थिएँ। केरला भारतको सबैभन्दा शिक्षित राज्य मात्र होइन लामो समय वाम पार्टीहरूले सत्ता चलाएको राज्य पनि हो। अहिले पनि केरलामा वामपन्थीहरूकै सरकार छ।
राँची टु कोचीको टिकट हेरें। अर्कोदिन बिहान ११ बजेको रैछ। म चढेको बस बिहान ७ बजेअघि नै राँची पुग्नेवाला थियो। बैंगलुरूमा ६ घन्टा ट्रान्जिट हुँदै जाने एयर एसियाको टिकट बुक गर्न खोजें। गर्दै जाँदा पैसा तिर्नुपर्ने ठाउँमा पुग्यो। पैसा तिर्न क्रेडिट कार्डको नम्बर माग्यो। केही महिनाअघि मात्रै लिएको क्रेडिट कार्ड पर्सबाट निकालें। नम्बर हानें। सिभिएन नम्बर माग्यो। त्यो के हो मलाई थाहा थिएन। गुगल गरें। कार्डको पछाडि तीन अंकको कार्ड भेरिफिकेसन नम्बर हुँदो रहेछ।
नेपालको कार्ड भएकाले पैसा काट्नुअघि नेपालकै बैंकले इमेलमा ओटिपी पठाउँछ भन्यो। इमेलमा गएँ। बैंकले ओटिपी पठाएको थियो। टाइप गरेर सबमिट गरें। एकछिनमा त ‘हुर्रे, यु आर फ्लाइङ टु कोची’ भनेर इमेल आयो। त्यतिबेला रातको ११ बजेको थियो। म चकित परें।
अर्को मनमा डर लाग्यो- भारतमा नेपालीहरू ठगिन्छन् भन्छन्, मलाई कसैले इन्टरनेटबाट ठग्यो कि! फेरि सोचें, बैंकले त्यत्रो ओटिपी पठाएको छ कसरी ठग्यो होला र!
दुविधामै रात बिताएँ।
उज्यालो भएपछि झारखण्डका गाउँ देखिन थाले। स-साना पहाडका बीचमा रहेका ती गाउँ बिहारका गाउँभन्दा निकै सफा थिए। वन-जंगल पनि प्रशस्त थियो। यही विशेषताले होला झारखण्डले बिहारबाट छुट्टिन चाहेको। पहिला बिहारमै रहेको झारखण्ड सन् २००० मा मात्रै छुट्टै राज्य बनेको हो।
राँची नपुग्दै सडक छेउमा विभिन्न भारतीय सुरक्षा बलका ठूलाठूला ब्यारेकहरू देखेपछि मैले किन यति धेरै नेपाली राँची आउँदा रहेछन् भन्ने थाहा पाएँ। उनीहरू लाहुरेका परिवार र आफन्त रहेछन्।
बिहान सात बजे बस राँची बसपार्क पुग्यो। राँचीमा मलाई उतिबेलाका बुज्रुगहरूले देवकोटालाई लगेको अस्पताल हेर्न जान मन थियो। त्योभन्दा पहिला जहाजको टिकट भयो/भएन कन्फर्म गर्नु थियो। त्यसका लागि एयरपोर्ट पुग्नु पर्यो। राँचीको बिर्सा मुन्डा विमानस्थल बसपार्कदेखि टाढै रहेछ। म एयरपोर्ट जान अटो चढें।
अटो चालक भर्खरकै केटो थियो। मैलै राँचीको पुरानो मेन्टल हस्पिटल कहाँ छ भनेर सोधें। उसले १७-१८ किलोमिटर टाढा भएको बतायो। एयरपोर्टमा गएर टिकट कन्फर्म गरेपछि जान्छु सोचें।
उसले भन्यो- १० बजेदेखि आज सबै गाडी बन्द हुनेवाला छन्।
‘किन?’
‘प्रदर्शन भइरहेको छ नि। त्यही भएर।‘
राँचीका सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका थिए। सत्तारूढ भारतीय जनता पार्टीकी नेता नुपुर शर्माले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पैगम्बर मोहम्मदबारे दिएको विवादास्पद अभिव्यक्तिको भारतभित्र मात्र होइन संसारभरका मुस्लिम मुलुकबाट विरोध भएको थियो। राँचीमा त्यो विरोध हिन्दु-मुस्लिम दंगामा परिणत हुने सम्भावना ज्यादा रैछ।
‘प्रदर्शन कसले गर्छ?’ मैले सोधें।
‘हिन्दु, मुस्लिम दुबैले गर्छन्,’ अटो ड्राइभरले भन्यो।
‘तपाईं मुस्लिम हो?’
‘हो।'
‘हिन्दुस्तानमा मुस्लिम भएर बाँच्न कत्तिको गाह्रो छ?’
‘हामीले पुज्ने भगवानलाई कसैले नराम्रो भन्यो भने राम्रो लाग्दैन नि,’ उसले भन्यो, ‘हामीले रामलाई नराम्रो भन्यौं भने हिन्दुलाई राम्रो लाग्छ र? उनीहरूलाई भारतभरि हिन्दुमात्रै राख्नु थियो भने विभाजनका बेला किन हामीलाई यहाँ बस्न दिए त?’
मैले उसको वाक्य सच्याइदिएँ- तपाईंहरूलाई यहाँ कसैले पछि बस्न दिएको होइन, पुर्खौंदेखि तपाईंहरू यहीँ हुनुहुन्छ। भारत जति हिन्दुको हो, मुस्लिमको पनि उत्ति नै हो।
उसकै मुलुकबारे मैले गरेको टिप्पणीमा उसले सही थापेर टाउको हल्लायो।
म एयरपोर्ट पुगें। वर्षौंपहिले देवकोटालाई लगेको मानसिक अस्पताल हेर्ने मेरो धोको भाजपाकी नेता नुपुर शर्माको अभिव्यक्तिले पूरा नहुने भयो।
एयर एसियाको काउन्टरमा गएँ। मोबाइलमा टिकट बुकिङ गरेको देखाएँ। काउन्टरको मान्छेले तपाईंको पिएनआर नम्बर भन्नुस् भन्यो। त्यो भनेको के हो मलाई थाहा थिएन। अलमलिएँ। मोबाइल फेरि हेरें। पिएनआर नम्बर कहाँ छ भन्ने मेसो पाइनँ। ठगिएछु कि क्या हो भन्ने लाग्यो। मैले त्यो मान्छेलाई भनें- म नेपालबाट आएको हुँ। यहाँको सिस्टम थाहा छैन। मैले अनलाइनबाट बुकिङ गरेको सबै विवरण यहीँ छ। राम्ररी हेरेर सहयोग गरिदिनुस् न।
उसले मेरो मोबाइल फेरि समात्यो। निकैबेर हेरेपछि भन्यो- तपाईंको टिकट भइसकेको छ।
पिएनआर भन्ने ६ अंक/अक्षरको हुँदो रहेछ। त्यहीबाट बोर्डिङ पास बनाउन मिल्ने। नेपालमा हामी बोर्डिङ पास लिन सम्बन्धित एयरलाइन्सको काउन्टरमा लाइन लाग्छौं, भारतमा त्यो पर्दो रहेनछ। विमानस्थलमा राखिएका मेसिनको स्क्रिनमा एयरलाइन्स छानेर पिएनआर नम्बर हानेपछि बोर्डिङ पास बन्छ। मेसिनमा नबनाएर काउन्टरमा बोर्डिङ पास बनाउनु भयो भने थप पैसा लाग्ने त्यहाँका कर्मचारीले बताए।
बोर्डिङ पास पाइसकेपछि म ढुक्क भएँ। अब जे भए पनि साँझसम्म कोची पुग्ने पक्का थियो। रातभरिको बसको यात्राले थाकेको थिएँ। मोबाइलमा चार्ज सकिन लागेको थियो। चार्जरको एड्याप्टर बसमै छुटेछ।
एकजना यात्रु मोबाइल चार्ज गरिरहेका थिए। छेउमा गएर ‘मलाई पनि चार्ज गर्न दिनुस् न’ भनें। हैदरावाद जान लागेका उनले दुइटा पोइन्ट भएको एड्याप्टरबाट चार्ज गरिरहेका थिए। ‘हुन्छ चार्ज गर्नुस्’ भने।
संसारका प्राय: सबै मान्छे अर्कालाई सहयोगै गर्न चाहँदा रहेछन् भन्ने मैले उनलाई भेटेपछि महशुस गरें।
भोक लागेको थियो। विमानस्थलको रेष्टुरेन्टमा गएँ। डोसा मगाएँ। डोसा दक्षिण भारतीय खानाको परिकार हो। हाम्रो म:मजस्तै यसका पनि विभिन्न भेराइटी हुन्छन्।
डोसा खाएपछि मैले पहिलो पटक आफू कहाँ पुगें भन्ने खबर परिवारलाई दिएँ। मेसेन्जरको भिडिओ कलमा राँची पुगेको छु भन्दा बहिनीले भनी- त्यति टाढाको राँची पुग्नै पर्दैनथ्यो, यहीँ पाटन अस्पतालमा भर्ना भएको भइहाल्थ्यो त!
मेरा मनमा जस्ता प्रश्नहरूले राज गरिरहेका थिए तिनको उत्तर ठाउँ फेरेर मात्रै पाइनेवाला थिएन, मनै फेर्नुपर्ने थियो। विमानस्थलको बुक सपमा मैले सानो गीता किनें। र, त्यहीँ पढ्न थालें। कुरूक्षेत्रमा पाण्डव र कौरव सेनाका बीचमा पुगेका अर्जुनको दुविधा देखेर यस्ता प्रश्नले सबैलाई घेर्दा रहेछन् भन्ठानें।
निर्धारित समयमै एयर एसियाको जहाज बैंगलुरूका लागि उड्यो। जहाजमा केही सिट खाली नै थिए। म बोर्डिङ पासको सिट छोडेर झ्यालतिर गएँ। आकाशबाट देखिएका समथर गाउँका दृश्यहरू मन लोभ्याउने खालका थिए।
नेपालका जहाजमा पाइलटले खासै अनाउन्समेन्ट गर्दैनन्, एयर होस्टेज मात्रै बोल्छन्। भारतका जहाजमा स्वागतदेखि ल्यान्डिङसम्मको अनाउन्समेन्ट क्याप्टेनले गर्दा रहेछन्। पाइलटले केहीबेरमा ल्यान्ड हुँदैछौं भने। जहाजले पनि उचाइ निकै घटायो। घरहरू आउन थाले। बैंग्लोरबाट बैंगलुरू भएको यो सहर निकै ठूलो छ भन्ने मलाई लागेको थियो। जहाज ल्यान्ड हुनै लाग्दा पनि सहर देखिन्न त! नेपालका लगभग सबै विमानस्थल सहर नजिकै छन्। ल्यान्डिङका बेला सहर देखिन्छन्, बैंगलुरू देखिएन।
जहाजबाट झरेपछि मात्रै थाहा भयो, केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थल बैंगलुरू सहरदेखि झन्डै ३० किलोमिटर टाढा छ। २००८ देखि सञ्चालनमा आएको यो विमानस्थल बन्नुअघि पुरानो विमानस्थल सहरनजिकै थियो।
बैंगलुरूमा लगभग ६ घन्टा ट्रान्जिट थियो। बाहिर जान पाइन्छ भने एयरपोर्टभित्रै को बसिरहन्छ! नेपालीलाई भारत घुम्नुको सबैभन्दा ठूलो फाइदाको पक्ष नै यही हो। हिन्दी वा अलिअलि अंग्रेजी बोल्न आउँछ भने तपाईं जहाँ पनि घुम्न सक्नुहुन्छ।
विमानस्थलको बाहिर ट्याक्सीको लाइन थियो। कर्नाटकाको पर्यटन मन्त्रालयले नै चलाउने ट्याक्सी रहेछन्। मैले आफूलाई ६ घन्टामा बैंगलुरू घुमाइदिनु पर्ने बताएँ। ट्याक्सीवालाले तीन हजार रूपैयाँ लाग्छ घुमाइदिन्छौं भने। म ट्याक्सी चढें।
निकै मिजासिला स्वभावका ट्याक्सी ड्राइभरले मलाई भ्याइने जति बैंगलुरू घुमाइदिए। उनले मलाई ट्याक्सीमा घुमाएनन् मात्र मेरा फोटा खिचिदिए। घुमाएका ठाउँको वर्णन गरे र साँझ विमानस्थल पुर्याइदिए। मैले उनीसँग सेल्फी खिचें।
उनलाई भेटेपछि लाग्यो- संसारका प्राय: सबै मान्छे अर्कालाई सहयोगै गर्न चाहँदा रहेछन्!
विमानस्थलभित्र छिर्ने बेला सुरक्षाकर्मीले मेरो पासपोर्ट हेरे।
‘क्या कर्तें है आप?’
‘म पत्रकार हुँ।‘
‘तो अभी क्या समाचार है?’ सायद उनी जिस्किएँ।
पासपोर्ट समात्दै मैले भनें- नाउ, आई एम अन लिभ!
राति साढे ७ बजे जहाज कोचीका लागि उड्यो। छेउमा मेरै उमेरका एक युवा बसेका थिए। बैंगलुरूमा आइटी इन्जिनियर रहेका उनको घरै कोची रहेछ।
‘कोची कस्तो छ?’ मैले सोधें।
उनले भने- कोची खासमा मस्त छ। इन्डियाका अरू शहरमा मान्छे दौडादौड गरिरहेका हुन्छन्, कोचीका मान्छेलाई केही हतार हुन्न।
सरकारी जागिरे बुवाका छोरा उनी बुवाको पोस्टिङ लखनऊमा हुँदा नेपालगन्ज आएका रहेछन्।
‘मलाई ठाउँ याद भएन तर नेपाल टेकेको छु,’ उनले भने।
म पत्रकार हुँ भनेपछि उनले नेपाल-भारत र नेपाल-चीन सम्बन्धबारे सोधिहाले। पछिल्लो समय नेपाल चीनतिर ढल्कियो भन्ने उनको बुझाइ रहेछ। धेरै भारतीयको यस्तै बुझाइ छ सायद।
मैले उनलाई भनें- नेपाल र भारतको सम्बन्ध दुई-चार सय वर्ष पुरानो होइन, परापूर्व कालदेखिको हो र रहिरहन्छ। धार्मिक, साँस्कृतिक, भाषिकमात्रै होइन यहाँका मानिस भूगोलको सहजताले पनि जोडिएका छन्। तर राजनीतिक हिसाबले नेपाल एक सार्वभौम मुलुक हो भन्ने कुरा भारतीयले ख्याल गर्नुपर्छ।
उनी निकै चाख मानेर सुनिरहेका थिए। मैले थपें- मेरो पुस्तामा भारतप्रति शंका लाग्न थालेको सन् २०१५ को नाकाबन्दीदेखि हो। एउटा देशले संविधान सभामार्फत् संविधान जारी गर्दा तिमीहरूले ६-६ महिनासम्म नाकाबन्दी गर्नु हुँदैनथ्यो।
उनले सही थापेर टाउको हल्लाए।
‘हो, त्यहीबेला नेपालले चीनसँग पारवहन सम्झौता गरेको हो। चीनबाट केही ट्यांकर तेल ल्याएर आएका हुन्। जसलाई भारतीय मिडियाले ठूल्ठूला हेडलाइन बनाएर नेपाल चीनतिर ढल्कियो भनेका हुन्,’ मैले थपें, ‘लिपुलेक, लिम्पियाधुरा हाम्रो भूमि हो भन्दा तिमीहरूका सेना प्रमुखले अरू कसैको उक्साहटमा नेपाल बोल्यो भने। त्यो साँचो होइन। लिपुलेक, लिम्पियाधुरा र सुस्तामा भारतले नेपाली भूमि मिचेको छ भन्ने हरेक नेपालीलाई लाग्छ। जे हो त्यही भन्न कसैले उक्साउनु पर्दैन।‘
उनी मेरो कुरामा पूर्ण सहमत भएजस्तो मलाई लागेन। तर थप बहस भने गरेनन्।
मैले थपिदिएँ- नेपालले भारतको एउटा चासो भने गम्भीरतापूर्वक ख्याल गर्नुपर्छ। तिमीहरू त मित्रमात्र होइन, दुश्मनका बीचमा छौ। चीन र पाकिस्तान दुबैसँग युद्ध लडेका छौ। अहिले पनि कस्मिरदेखि गल्वान र दोक्लमसम्म तनाव चुलिरहन्छ। आफूविरूद्ध कसैले नेपाली भूमि प्रयोग नगरोस् भन्ने भारतको चासो जायज छ। त्यो नेपालले जसरी पनि पूरा गर्नुपर्छ।‘
त्यसपछि कुरा राजनीतिबाट दर्शनतिर मोडियो। उनी क्रिश्चियन रहेछन्। केरलामा भारतको सबैभन्दा पूरानो चर्च छ। त्यही भएर होला त्यहाँ १८ प्रतिशत बढी मानिसहरू क्रिश्चियन धर्म मान्छन्। उनी पनि आध्यात्मिक स्वभावकै मान्छे रहेछन्।
मैले सोधें- जीवनमा मान्छे कति कुरा आफैं गर्न सक्छ अनि कति कुरा उसले चाहेर पनि गर्न वा नगर्न सक्दैन? क्रिष्टियानिटीले यसबारे के भन्छ?
यो प्रश्न मेरो दिमागमा घुमेको धेरै भयो। अरू मान्छेको मनमा यो प्रश्न आउँछ कि आउँदैन? आयो भने उनीहरू के जवाफले चित्त बुझाउँछन् भन्ने मलाई कौतुहलता लाग्छ।
उनले भने- जन्म, मृत्यु, दुर्घटनाजस्ता ठूला-ठूला घटना ‘डेस्टिनी’ हुन्। के खाने, कहाँ बस्ने, कति हिँड्नेजस्ता स-साना कुरा मान्छेले आफैं गर्न सक्छ। मलाईचाहिँ त्यस्तो लाग्छ।
उनको बुझाइ पनि ठीकै होझैं लाग्यो।
बैंगलुरू एयरपोर्टमै हुँदा ओयो एपबाट कोची विमानस्थलबाट ३० किलोमिटर टाढाको होटल बुक गरेको थिएँ।
कोची पुग्दा रातको साढे ८ बजेको थियो। विमानस्थलको प्रि-पेड ट्याक्सी लिएर म होटलतिर गएँ। त्यो कस्तो होटल परेछ भने ड्राइभरलाई गुगल म्यापमा पनि लोकेसनको मेसो पाउन कठिन पर्यो। फोन गर्दै, सोध्दै गरेर १० बजेतिर होटलमा पुगियो।
साँघुरो गल्लीको होटलमा तीन जना केटाहरू थिए। उनीहरूलाई देखेपछि मैले ‘पुष्पा’ फिलिमका भिलेन सम्झिएँ। कोठाभित्र पसें। अर्कै खालको गन्ध आयो। बाथरूम जान खोजें। चप्पल, साबुन, टाबेल केही थिएन। नराम्ररी फसेछु सोचें।
भोक लागेको थियो तर त्यो खानेकुरा पाइने होटल थिएन। रिसेप्सनको केटाले बिरायनी मगाइदिन्छु, साढे २ सय रूपैयाँ लाग्छ भन्यो।
आधा घन्टापछि चिकेन बिरायनी ल्याइदियो। त्यति नमीठो बिरायनी मैले अहिलेसम्म चाखेको थिइनँ। दुई गास पनि खान सकिनँ। फाल्न खोजें कोठामा डस्टबिन भेटिनँ।
त्यही केटालाई बोलाएर भनें- यो बिरायनी राम्रो छैन।
उसले मैले भन्न खोजेको कुरा बुझेजस्तो लागेन। केरलामा मलायलम भाषा बोलिन्छ। धेरैले अंग्रेजी पनि बोल्छन्। हिन्दी बोल्नेहरू प्राय: कमै भेटिन्छन्। त्यो केटालाई न राम्ररी हिन्दी बोल्न आउँथ्यो न अंग्रेजी।
तै पनि उसले मेरो पेट देखाएर केही भन्यो। ‘रातभरि कसरी भोकै सुत्लास् भनेर ल्याइदिएको थिएँ। के गरौं त मीठो रहेनछ’ भन्यो होला सोचें। म भोकभोकै सुत्न लागेको देखेर उसलाई थकथकी लागेको थियो। बत्तीको उज्यालोमा उसको अनुहार देखेपछि मलाई फेरि लाग्यो- संसारका प्राय: मान्छे अर्कालाई सहयोगै गर्न चाहन्छन्!
अर्को दिन उज्यालो नहुँदै निद्राले छोडिहाल्यो। झ्यालबाट बाहिर पानी परिरहेको सुनिन्थ्यो। नेपालमा आउने मनसुन सोमालिया नजिकैको महासागरबाट सुरू भएर केरला आइपुग्छ। केरलाबाट दुई भागमा बाँडिएर आधा बंगालको खाडीतिर आउँछ, आधा मुम्बईतिर लाग्छ। केरला आइपुगेको मनसुनलाई नेपालसम्म आइपुग्न १०-१२ दिन लाग्छ। म काठमाडौंबाट हिँड्दा नै पूर्वी नेपालमा मनसुन भित्रिसकेको थियो। नेपालमै आइसकेको मनसुनले केरलामा त झन् कति पानी पारिरहेको होला भन्ने सोचेको थिएँ।
होटलबाट चेक आउट गरेर निस्किने बेलामा पानी रोकिइसकेको थियो। राति पनि त्यति ठूलो पानी परेको रहेनछ। आकाश पूरै निलो थियो। ठाउँ ठाउँमा सेता बादलका टुक्राटाक्री थिए।
हिजो राति जहाजमा भेटिएको युवकले फोर्ट कोची जसरी पनि जानु भनेको थियो। म फोर्ट कोची जाने बस खोज्दै हिँडें। १५ मिनेटजति हिँडेपछि मुख्य सडक आइपुग्यो। रोडमा उभिएर गफ गरिरहेका केटाहरूलाई ‘फोर्ट कोची जाने बस कहाँ पाइन्छ’ भनेर सोधें।
एउटाले भन्यो- ऊ त्यो बस फोर्ट कोची नै पुग्छ। संयोग पनि कस्तो!
बसमा मान्छे प्याकाप्याक थिए। सर्ट र स्कर्ट लगाएकी सानी सानी केटीहरू स्कुल जान बस चढेका थिए। यी छोरीहरू यसरी सबेरै स्कुल जान्छन् र त केरला भारतकै सबैभन्दा साक्षर राज्य भएको रहेछ!
यात्रु झार्दै, चढाउँदै बसले झन्डै एक घन्टामा फोर्ट कोची पुर्यायो। बसबाट झर्नासाथ एक बुढा अटोरिक्सा चालक आइपुगे। ‘फोर्ट कोची पुरै घुमाइदिन्छु जति मन लाग्छ त्यति पैसा दिनु’ भने। जवानीमा कलकत्ता, मुम्बई बसेका हुनाले उनको हिन्दी पनि राम्रो थियो। मैले हुन्छ भनें।
हामी समुद्री किनारमा पुग्यौं। धेरै वर्षपछि समुद्र देखेर होला मेरो मन चंगा भयो। फोर्ट कोची मैले सोचेजस्तो भने थिएन। त्यहाँको पानी निकै फोहोर देखिन्थ्यो।
‘यो अरब सी हो। यसको अर्को छेउमा ओमानको राजधानी मस्कट पर्छ,’ बुढा ड्राइभरले भने। मैले पर-परसम्म हेरें। समुद्रमा एउटा बडेमानको जहाज थियो। माछा मार्न स-साना डुंगा दौडिरहेका थिए।
‘माछा मार्नेहरूको जिन्दगीमा पनि दु:खै दु:खै छ। जति माछा मारे पनि साहुलाई फाइदा हुन्छ उनीहरूलाई तलबमात्रै मिल्छ,’ उनले भने।
मैले टाउको हल्लाएँ।
एकछिनपछि उनले भने- त्यहाँ उभिऊ, समुद्रसँग म तिम्रो फोटो खिचिदिन्छु।
उभिएर पोज दिएँ। उनले मुस्कुराउँदै फोटो खिचिदिए।
समुद्री किनारको छेउमा राखिएका बेन्चमा बसेर हामी छाल हेरिरहेका थियौं। म आफ्ना मनमा उर्लिरहने सोचाइका छाललाई समुद्रजस्तै शान्त पार्न खोज्दै थिएँ।
‘साँच्चै मान्छे मर्यो भने के हुन्छ होला है। सबैकुरा यत्तिकै सकिन्छ होला कि केही बाँकी हुन्छ होला?,’ ती बुढा मान्छेको प्रश्नले मेरो मन शान्त पार्ने शिलशिला टुट्यो।
मैले पुलुक्क उनीतिर हेरें।
‘त्यति गम्भीर प्रश्नको उत्तर थाहा भएको भए म कहाँ यहाँ हुन्थें त अंकलजी। मलाई थाहा छैन। सायद कसैलाई थाहा छैन होला तपाईंको प्रश्नको उत्तर,’ मैले भनें।
उनी हाँसेमात्रै। यो दुनियाँमा हामीले उत्तर थाहा नपाएका र उत्तर थाहा पाउन नसक्ने प्रश्न कति छन् कति!
त्यसपछि नजिकै रहेको पोर्चुगिज शासकको पुरानो घरमा गएँ। त्यसलाई अचेल संग्राहलय बनाइएको रहेछ।
भारतको पहिलो चर्चमा पनि पुगें। चर्चभित्र एक छेउमा भास्को डी गामाको चिहान लेखिएको थियो। सन् १४६९ मा जन्मिएका गामा समुद्रको बाटो भएर भारत आइपुग्ने पहिलो युरोपियन हुन्। सन् १५२४ मा उनको मृत्यु कोचीमै भएको थियो।
त्यहाँकी एउटा ननलाई मैले सोधें- गामालाई साँच्चै यहीँ गाडिएको थियो त?
उनले गामालाई गाडिएको ठाउँ यही भएको र पछि उनका छोरा आएर अस्तु पोर्चुगल लिएर गएको बताइन्।
अब मलाई कोचीमा बस्न पुगिसकेको थियो। जे सोचेर काठमाडौंबाट हिँडेको थिएँ त्यो कोचीले पूरा गर्न सकेन। दुई दिन कोचीमा बिताउँछु सोचेको थिएँ। अब दुई घन्टा पनि बस्न मनले मानेन। ती अटोवाला अंकललाई मलाई रेलवे स्टेशन कताबाट जान्छ भनिदिनुस् भनें।
उनले चुच्चो निस्केर सहरतिर पसेको समुद्रमा फेरी चढेर गएपछि पारि रेलवे स्टेशन पुगिन्छ भने। जम्मा ६ रुपैयाँ तिरेर पारि पुगिने फेरीको टिकट पाउने ठाउँसम्म ल्याएर छोडिदिए।
उनीसँग छुट्टिने बेला मलाई फेरि लाग्यो- संसारका प्राय: सबै मान्छेहरू अर्कालाई सहयोग गर्न चाहन्छन्!
झन्डै १५ मिनेटको यात्रापछि फेरी अर्को किनारमा पुग्यो।
त्यहाँदेखि एर्नाकुलम रेलवे स्टेशन जाने बस चढें। रेलवे स्टेशन पुगुन्जेलसम्म मैले पूरानै योजनालाई ब्युँताएर गोवा जाने सोचिसकेको थिएँ।
रेलवे स्टेशनको सोधपुछ काउन्टरमा गएर आज गोवा जाने रेल छ भनेर सोधें। काउन्टरमा बसेकी महिलाले साँझ जान्छ भनिन्। मैले टिकट काट्न फारम भरें। लाइनमा बसें। मेरो पालो आएपछि टिकट काउन्टरवालाले भन्यो- गोवा जाने रेलमा टिकट छैन।
म फर्किएर सोधपुछ काउन्टरकी तिनै महिला कहाँ पुगें।
‘गोवा जाने रेलमा टिकट छैन रे।‘
रक्सौलदेखि एर्नाकुलुमसम्म पुग्दा पनि रेलको टिकट पाउने छाँटकाँट नदेखेपछि मैले रेलमा भारत घुम्न सक्छु भन्ने आशा मारिसकेको थिएँ। बरू अब दिल्ली जान्छु, त्यहाँबाट जहाजमा नेपाल फर्किन्छु सोचें। आफ्नो फिल्मी शैलीको यात्रा देखेर दिक्क पनि लागेको थियो।
‘दिल्ली जाने रेल छ त,’ मैले फेरि सोधें।
‘भोलि मात्र जान्छ,’ उनले भनिन्।
मलाई भोलिसम्म त्यो ठाउँमा बस्नु थिएन।
‘त्यसो भए कन्याकुमारी जाने रेलको टिकट छ त,’ मैले फेरि सोधें।
मेरो कुरा सुनेर उनले हाँसो थाम्न सकिनन्।
‘तपाईंलाई खास कहाँको टिकट चाहिएको हो? गोवाको कि, दिल्लीको कि कन्याकुमारीको?’ उनले सोधिन्।
आफ्नी साथीसँग पनि मलायलममा कुरा गरिन्। सायद भनिन् होलिन्- कस्तो पागल मान्छे रैछ यार!
‘जहाँको भए पनि हुन्छ। तर मलाई यहाँ बस्नु छैन,’ मैले भनें।
उनले कन्याकुमारीको ट्रेन तीन बजे आउँछ तर चार सय रूपैयाँ फाइन तिर्नुपर्छ भनिन्। किन फाइन तिर्नुपर्ने हो बताइनन्।
‘अहिले नै जाने ट्रेन छैन,’ मैले फेरि सोधें।
मलाई झेल्न नसकेर उनी हैरान भइसकेकी थिइन्।
भनिन्- तपाईं यसो गर्नुस्। एकछिनमा नागरकोइल जाने रेल आउँछ। थर्ड क्लास टिकट काटेर त्यसैमा जानुस्। नागरकोइलदेखि कन्याकुमारी नजिकै छ, त्यहाँबाट त जतिबेला पनि बस पाइन्छ।
‘गज्जब हुन्छ’ भनेर मैले उनीसँग विदा मागें।
१२० रूपैयाँ तिरेर थर्ड क्लासको टिकट काटें। मैले थाहा नपाएर रेल छुटी पो हाल्ने हो कि भन्ने कत्रो पिर!
प्लेटफर्ममा गएर मैले दुई युवालाई आफ्नो टिकट देखाएँ। उनीहरूले पनि त्यही रेलमा जान लागेको बताए। त्यसपछि उनीहरूसँग दोस्ती भइगयो। पश्चिम बंगालका उनीहरू केरलाको होटलमा काम गर्दा रहेछन्।
रेल आयो। उनीहरूले थर्ड क्लासको डिब्बामा होइन मलाई स्लिपर चढौं भने। सिट प्राय: खाली नै थिए।
‘टिटी आयो भने?’ मैले सोधें।
सँगै बसेका अर्का यात्रुले भने- टिटी सकभर आउँदैन। आइहाल्यो भने पनि केही मुसिबत हुँदैन, फाइन तिर्नुपर्छ। त्यत्ति हो।
मैले भारतीय रेलमा यात्रा गर्ने नयाँ ट्रिक सिकें।
रेल दक्षिणतिर अघि बढ्यो। बाटोभरि गाउँ देखिन्थे। जताततै सुरिला नरिवलका रूख। सँगै अरू बोटबिरूवा पनि। जता हेरे पनि हरियाली नै हरियाली। जंगलका बीचमा घर हुन् कि घरका बीचमा रूख हुन् छुट्याउनै मुस्किल। यात्रा बल्ल मैले सोचेजस्तो भएको थियो।
राति साढे आठ बजेतिर रेल नागरकोइल पुग्यो। बाटोमै हुँदा बुकिङ डटकमबाट होटल बुक गरेको थिएँ, पैसा तिरेको थिइनँ।
स्टेशनबाट बाहिर निस्केपछि अटोवालालाई होटलको नाम भनेर पुर्याइदिन भनें। उसले २ सय भारू लाग्छ भन्यो। २७० किलोमिटर टाढाको एर्नाकुलमबाट १२० रुपैयाँमा आएको थिएँ। अब ४ किलोमिटरका लागि २ सय तिर्नुपर्ने भयो।
केही मिटर अघि बढेपछि अटोवालाले सोध्यो- होटलमा पैसा तिरिसकेको हो र?
मैले ‘छैन’ भनें।
‘अनि कन्याकुमारी जाने मान्छे किन यहाँ बस्ने त?,’ उसले भन्यो, ‘अहिले होटलसम्म पुगेको २ सय, भोलि बिहान आएको फेरि दुई। साढे चार सयमा म अहिल्यै कन्याकुमारी पुर्याइदिन्छु।‘
‘कन्याकुमारीमा अहिले होटल पाइन्छन् त?’ मैले सोधें।
‘ए, जत्ति पनि पाइन्छन्। मै होटलमा लगेर राखिदिउँला,’ उसले आश्वासन दियो।
एक मनमा ठग्छ कि भन्ने शंका थियो तर मैले उसका कुरा पत्याएँ।
नागरकोइलदेखि कन्याकुमारी २१ किलोमिटर टाढा रहेछ। हामी आधा घन्टामै पुगिहाल्यौं। मलाई अटोमै छोडेर उसले होटल खोज्यो। तीन-चार होटलमा सोधेपछि कोठा मिल्यो। मलाई चेक इन गराएरमात्रै ऊ त्यहाँबाट निस्कियो।
मलाई फेरि लाग्यो- संसारका सबै मान्छे सकभर अर्कालाई सहयोगै गर्न चाहँदा रहेछन्!
तीन तलामाथिको कोठामा पुगेर झ्यालको पर्दा खोलेपछि एकछिन त म हेरेको हेर्यै भएँ। मेरो नाकैमूनि विशाल समुद्र थियो। सुस्तरी छालहरू किनारतिर आउँथे र फर्किन्थे। पानीमा तैरिएझैं लाग्ने विवेकानन्द रक मेमोरियल र तमिल भाषाका कवि एवं दार्शनिक तिरूभल्लुवरको मूर्ति प्रष्टै देखिन्थे। समुद्रका पर-परसम्म डुंगाहरू दौडिरहेका जस्ता लाग्थे।
म भारतीय उपमहाद्वीपको यस्तो बिन्दुमा पुगेको थिएँ जहाँबाट सिधै गयो भने बीचमा कहीँ पनि जमिन नभेटाइकन अन्टार्टिका पुगिन्छ।
त्यो पूर्णीमाको रात थियो, त्यो पनि स्ट्रवेरी मुनसहितको। यो वर्ष दुइटा स्ट्रेवरी मुन छन्। पृथ्वीबाट चन्द्रमा यो वर्षकै सबैभन्दा नजिक भएकाले एकदमै ठूलो देखिएको थियो। भरी चन्द्रमाको चहकिलो प्रकाशमा देखिएको समुद्रको दृश्य हेरेर मैले यात्रामा अहिलेसम्म लागेको थकाइ पुरै बिर्सिएँ। नागरकोइलमा नबस् भनेर यहाँ ल्याइदिने अटो ड्राइभरप्रति कृतज्ञ भएँ।
कन्याकुमारी लगभग २४ सै घन्टा जागा हुँदो रहेछ! केहीबेरपछि बाहिर निस्केर स्ट्रिट फुड खाएँ।
कोठामा आएपछि फेरि जुनको उज्यालोमा समुद्र हेरिरहें। त्यो रात झ्यालबाट जुनसहितको समुद्र हेरिरहुँ कि बेडमा सुतुँ भनेर म निकै दोधारमा परेको थिएँ।
अर्कोदिन बिहान ६ नबज्दै सूर्योदय हेर्न गएँ। समुद्रबाट उदाउने सूर्य हेर्न चाहनेको भीड थियो। दुईतिर समुद्रका बीचमा अलि परसम्म जाने ढुंगैढुंगाको बाटो छ। त्यसको अन्तिम विन्दुमा पुगेर एउटा ढुंगामा बसें। समुद्रको पूर्वतिर रातो हुन थालेको थियो, सूर्य उदाउने सुरसार हुँदै थियो। म प्रकृतिको विशालता र मानव चोलाको क्षणिकताबारे सोचिरहेको थिएँ।
‘कति राम्रो पोजमा बस्नुभएको छ। तपाईंको एउटा फोटो खिचिदिउँ,’ एक युवक छेउमा आएर भन्यो।
म हाँसें। मोबाइल निकालेर दिएँ।
उसले निकै राम्रो फोटो निकालिदियो। अरू-अरू पोज पनि दिन भन्यो।
‘निकै राम्रो फोटो खिच्नु हुँदो रैछ,’ मैले धन्यवाद दिएँ।
‘मलाई फोटोग्राफीमा रूची छ,’ उसले भन्यो।
ऊ राजस्थानबाट आएको रहेछ, पारिवारिक भ्रमणमा। केहीपछि ऊ आफ्नो परिवारसँग मिसियो। म उदाइरहेको सूर्य र समुद्र हेरेर टोलाइरहें।
होटलवालाले भनेको थियो- ८ बजे डुंगाको टिकट खुल्छ। त्यसमा चढेपछि एक घन्टामा विवेकानन्द रक मेमोरियल घुमेर आउन सकिन्छ।
म डुंगाका लागि टिकट काट्न गएँ। आठ बजिसक्दा पनि टिकट खुलेको थिएन।
‘कतिबेला टिकट खुल्छ?’ मैले सोधें।
‘साढे ९ बजे खुल्छ,’ त्यहाँ खटिएको प्रहरीले भन्यो।
‘किन’ मैले फेरि सोधें।
‘कुदरतको इच्छा यस्तै छ! समुद्रको पानी अलि बिग्रिएको छ,’ उसले भन्यो।
मान्छेको निर्णय भए पो यसो मिलाइदिनु न भन्नु कुदरतकै इच्छा त स्वीकार्नुको विकल्प थिएन!
डुंगा चढ्न नपाइने भएपछि म कन्याकुमारीको मन्दिरमा दर्शन गर्न गएँ। मन्दिरभित्र लामो लाइन थियो। झन्डै तीन हजार वर्ष पुरानो मन्दिरमा लाइनमा बसेर दर्शन गर्न २० रुपैयाँ तिर्नुपर्थ्यो। दुई सय रुपैयाँ दिए त्यहाँका मान्छेले अर्को बाटो लिएर लाइनको टुप्पोमा पुर्याइदिने रहेछन्। मान्छेको जात पैसाको भरमा मन्दिरमा दर्शन पनि अरूभन्दा पहिला गर्न चाहन्छ। मरेपछि पनि सँगै लैजान मिल्ने भए संसारमा मान्छेहरूले कति पैसा कमाउँदा हुन्!
मुख्य मन्दिरमा पस्ने बेलामा सबै केटा मान्छेलाई शरीरको माथिल्लो भाग नांगै बनाउन भनियो। भित्तामा पनि पुरूषले माथिको कपडा खोलेको चित्र थियो। मैले त्यहाँ बसेका एक जना पूजारीलाई सोधें- किन यस्तो गर्नुपर्छ?
उनले यहाँको चलनै यस्तो भएको बताए। यस्तो चलन किन भयो भन्ने चाहिँ बताएनन्।
सर्ट र स्यान्डो हातमा बोकेर मैले कन्याकुमारी देवीको दर्शन गरें।
कन्याकुमारी मन्दिरको नजिकै छ, त्रिवेणी संगम। जहाँ बे अफ बंगाल, अरब सागर र हिन्द महासागरको पानी मिसिन्छ। यो नै मेनल्यान्ड इन्डियाको सबैभन्दा दक्षिणको भू-भाग हो।
जुत्ता र पाइन्ट लगाएर गएको थिएँ। मानिसहरू त्रिवेणीमा नुहाइरहेका थिए। कोही पौडी खेलिरहेका थिए। म जुत्ता खोलेर किनारमा गएँ। पानीमा खुट्टा डुबाएर फोटो खिच्दै थिएँ। बेस्सरी आएको छालले मेरो कम्मरमूनिको भाग निथ्रुक्क पारेर गयो। भिज्न मन थियो तर मैले झोलामा बोकेका स्यान्डो र अन्डरवेयर सबै मैला भइसकेका थिए। त्यहीबेला आइडिया आयो- स्यान्डो र अन्डरवेयर त नयाँ किन्न मिलिहाल्छ नि!
सर्ट, पाइन्ट खोलेर समुद्रमा डुबुल्की मारें। छालसँगै तैरिएँ। बेसुरमा हिँडेको म हुँदाहुँदै धार्मिक यात्रामा निस्किए जस्तो पो भइगएँ।
फर्केर कन्याकुमारी बजारमा नयाँ स्यान्डो र अन्डरवेयर किने। बजारभरि चहारे पनि मोजा भने कतै पाउन सकिनँ। मैले सोधेका कुनै पसलमा पनि मोजा बेच्न राखिएको थिएन।
नेपालमा एउटा भनाइ छ- हिजो चप्पल पड्काउँदै सहर छिरेकाहरू आज गाडीमा चढ्ने र महलमा बस्ने भइसके। यो भनाइ प्राय: नेता लक्षित हुन्छ। हाम्रा सन्दर्भमा चप्पल गरिबी, अभाव र संघर्षकालीन समयको प्रतीक हो। धन, सम्पत्ति र मान प्रतिष्ठा कमाएपछि हामी चप्पल लगाउन छोड्छौं, सुटेडबुटेड भएर हिँड्छौं। भारतमा, अझ दक्षिण भारतमा चप्पल हाम्रोजस्तो संघर्षको प्रतीक रहेनछ। प्राय: सबै मानिसहरूले चप्पलै लगाउने भएकाले दोकानदारले पनि मोजा बेच्न नराखेका होलान्।
कोठामा आएर अन्डरवेयर लगाउँदा म झन् छक्क परें। अन्डरवेयरमा पाइन्टका भन्दा ठूला दुइटा खल्ती थिए। किन यति ठूला खल्ती बनाएका होलान् भनेर एकछिन गम खाएँ।
दक्षिण भारतमा प्राय: पुरूषहरूले लुंगी लगाउँछन्। लुंगीमा पर्स र अरू सामान राख्ने पाइन्टका जस्ता गोजी हुँदैनन्। उनीहरूले त्यस्ता सामान राख्न सकून् भनेरै कम्पनीले अन्डरवेयरमा दुइटा खल्ती बनाएका होलान् भन्ने मैले अनुमान गरें।
प्रकृतिको विशालता, प्राचीन सभ्यता र प्रकृतिअनुसार मानिसले अपनाएका चलन हेरेर म १० बजेतिर कन्याकुमारीबाट केरलाको राजधानी तिरूवन्नतपुरमका लागि रेल चढें।
तिरूवन्नतपुरमबाट चेन्नई र चेन्नईबाट कलकत्ता आउने जहाजको टिकट अघिल्लै दिन काटिसकेकाले अर्को चोटी जाने/नजाने टुंगो नभएको कन्याकुमारी धित मरून्जेल घुम्न नपाएरै छोडेर आएको थिएँ।
चेन्नईमा दुई घन्टाको ट्रान्जिट थियो। मलाई विमानस्थलबाहिर निस्कन जाँगर चलेन। भित्रै बसेर गीता पढें। अनिश्चित यात्रा, त्यही यात्राका क्रममा भेटिएका मान्छे र जुरेका संयोगहरूले मेरा मनका प्रश्नहरू मत्थर भइरहेका थिए।
राति साढे ७ बजे इन्डिगो एयरलाइन्सको जहाज कलकत्ताको नेताजी सुवासचन्द्र बोस विमानस्थलमा अवतरण भयो।
मैले गुगलमा कलकत्ताबाट रक्सौल जाने रेल हेरें। अब मलाई भारतमा बस्नु थिएन। म कीर्तिपुरको आफ्नो कोठाको बेड मिस गर्न थालेको थिएँ। आफूले गर्ने काम सम्झिन थालेको थिएँ।
राति १०:५५ बजे हाउडा जक्सनबाट रक्सौलका लागि रेल छुट्ने रैछ। एयरपोर्टबाट हाउडा जक्सनसम्म सार्वजनिक बस चल्छ। त्यसैमा चढेर हाउडा पुगें। हाउडाको जक्सनमा यति भीड थियो कि मानिसहरू कोही दौडादौड गरिरहेका थिए, कोही भुइँमै प्लास्टिक ओछ्याएर सुतिरहेका थिए। यिनीहरू सबै जना मेरोजस्तै बेसुरको यात्रामा त पक्कै हिँडेका होइनन् होला!
म टिकट काट्न काउन्टरमा गएँ। लाइन थियो। लाइनमा जब मेरो पालो आयो। टिकट काट्ने मान्छेले भन्यो- रक्सौल जानेवाला ट्रेनमे टिकट नही है।
‘तर मलाई त जसरी पनि जानु छ,’ मैले भने, ‘कोही तो रास्ता होगा।‘
‘म दश रुपैयाँको टिकट काटिदिन्छु प्लेटफर्मसम्म जाने। त्यहाँ टिटी भेटिन्छन्। उनीहरूसँग सिट हुन सक्छ। अब त्यही रास्ता हो,’ उसले भन्यो।
मैले ठीक छ भनेर दश रुपैयाँको सिक्का दिएँ।
जानु छ रक्सौल, टिकट पाइयो प्लेटफर्मसम्मको!
रेल छुट्नुभन्दा १० मिनेट अगाडि मैले उक्त रेलका दुइटा टिटीलाई भेटें। एउटाले अर्कोकहाँ पठाए, अर्काले पहिलेको कहाँ जाऊ भने।
यताउति गर्दागर्दै रेल गुड्ने बेला भइगयो। म बिनाटिकट स्लिपर बोगीमा चढें। बाटोमा टिटीले फेला पारेर जति नै फाइन तिराए पनि त्यो कलकत्ताको होटलमा बस्नुभन्दा सस्तै हुने मेरो हिसाब थियो।
म चढेको बोगीका सबै सिटभरि मान्छे थिए। ढोका नजिकैको एउटा सिटमा टुसुक्क बसें। त्यो सिटमा बसेकाहरू सबै मुस्लिम थिए। उनीहरूले मलाई दयालु भावमा हेरे।
रातको १२ बज्न थाल्यो। टिकट भएका यात्रुहरू सुत्न थाले। मेरा कारणले कसैलाई खुट्टा खुम्च्याएर सुत्न अप्ठेरो नलागोस् भनेर म रेलको ढोकामा गएँ।
ढोकाको दुबैतिर समाएर म बादलसँग लुकामारी गरिहेको पूर्णिमाको भोलिपल्टको चन्द्रमा हेरिरहेको थिएँ। सिटमा सुत्न र बस्न नपाएको भन्दा पनि अब जिन्दगीभरि सायद कुनै पनि मध्यरातमा यसरी रेलको ढोका समातेर चन्द्रमा हेर्न पाउने छैन सोचेर म आनन्दित भइरहेको थिएँ। एउटै परिस्थिति पनि सोचका कारण पीडा र आनन्दको क्षण बनिदिँदो रैछ!
रेल तीव्र गतिमा अघि बढिरहेको थियो, हावा बेस्सरी चलेको थियो। साढे १२ बजेको हुँदो हो। कसैले पछाडिबाट मेरो काँधमा सुस्तरी हान्यो। मैले फर्केर हेरें।
नजिकैको सिटका बुढा मान्छे रहेछन्।
‘अरे, ऐसेमे निँद आगया तो गिरजाओगे। सिटमे बैठ जाओ,’ ती बुढा मान्छेले भने।
झ्यालमा समात्दासमात्दै म निदाइजाउँला र कहीँ त्यहीँबाट खसिजाउँला भन्ने उनलाई कत्रो सुर्ता!
उनको मायाले मेरो मन पग्लियो।
मलाई लाग्यो- धर्म जेसुकै भए पनि संसारका प्राय: सबै मान्छे अर्काको भलै चाहँदा रहेछन्! केही नबोली सिटमा आएर बसें।
बिहान चार बजेतिर टिटी आए। सुतेकाहरूलाई उठाएर भए पनि सबको टिकट चेक गरे। मसँग पनि टिकट मागे।
मैले हाउडामा दुई-दुई टिटीलाई भेटेको तर उनीहरूले टिकट नदिएपछि बिनाटिकट चढेको बताइदिएँ।
उनले नयाँ टिकट काट्नुपर्छ भने।
‘कति पैसा लाग्छ,’ मैले सोधें।
‘६४० रुपैयाँ’ उनले भने।
मैले पर्स निकाल्न खोजें।
उनी ‘बादमे आउंगा’ भनेर गए।
पाँच बजेतिर झ्यालतिरको सिटमा सुतेका युवक झारखण्डको कुनै स्टेशनमा झरे। पहिला नै उनले साढे ४ बजेतिर मलाई ब्युझाइदिनु, त्यसपछि यही सिटमा सुतेर जानू भनेका थिए।
ती युवक गएपछि म उनको सिटमा सुतें। दिन र रातभरिको यात्राले शरीर निकै थाकेको थिएँ। निदाएछु।
कसैले मलाई कोट्यायो। मैले मुख छोपेको रूमाल हटाएर हेरें। अघिकै टिटी थिए। म उठ्न खोजें।
उनले ‘ठिकै छ आराम गर्नुस् न’ भने।
आफू पनि सिटमा बसे। उनी दायाँ हातको बुडी औंलाले बायाँ हत्केलामा सुर्ती माडिरहेका थिए।
‘त्यसो भने तपाईं रक्सौलसम्मै जाने होइन त?,’ उनले सोधे।
‘जी’ मैले भने।
‘सुर्ती लिनुहुन्छ?’ उनले फेरि सोधे।
‘नहीँ, आदत नहीँ है,’ मैले भने।
त्यतिन्जेलसम्म मैले यी टिटीको मक्सद के हो बुझिसकेको थिएँ। ५ सयको नोट निकालेर उनलाई दिँदै भनें- यो लिनुस्, टिकट काट्ने भए पनि काट्नुस्। टिकट नकाटेर तपाईं राख्ने भए पनि राख्नुस्।
उनले यताउति हेरे। बिस्तारै त्यो पैसा समाएर खल्तीमा हाले। मैले बल्ल थाहा पाएँ- हिजो राति हाउडामा मलाई दुई टिटीले यता र उता किन दौडाएका रहेछन्।
उनले मलाई अब टिटी आउँदैनन् होला आए पनि उतापट्टीको सिटमा गएर बस्नु भन्ने सल्लाह पनि दिएँ। म मुस्कुराएँमात्र।
टिकट नकाटेर टिटीलाई घुस दिएपछि सिटमा कहाँ सुत्न पाउनु! साढे ६ बजेतिर एक युवा रेलमा चढे र म सुतेको सिट आफ्नो हो भन्दै बसे। मैले छोडिदिएँ।
हिजो राति मलाई ढोकाबाट बोलाएर ल्याउने बुढा मान्छेले आफू तल बसेर माथिको सिटमा मलाई सुत्न दिए। कुदरतको चाहना पनि अजिब हुन्छ!
बिहारको दरभंगातिर आएपछि मलाई रक्सौल पुगेर वीरगन्ज हुँदै होइन, सीतामढीबाट भिठ्ठामोड हुँदै जनकपुर भएर काठमाडौं जाने सोच आयो। इसेवामा जनकपुर-काठमाडौंको जहाजको टिकट हेरें। साँझ साढे पाँच बजेको फ्लाइट रहेछ यति एयरलाइन्सको।
टिकट बुक गरिहालें। सीतामढीमा झरेर भिठ्ठामोड आउने बस चढें। साढे एक घन्टा जतिमा बसले ल्याइपुर्यायो। एयरपोर्ट पुग्न कुनै हतार नभएकाले म हिँड्दै नेपालतिर आइरहेको थिँए। गर्मी यति थियो कि पसिनाले भिजाइसकेको थियो। भारतबाट हिँड्दै नेपाल आउनेहरू अरू पनि थिए।
एकजना महिला काखमा बच्चा च्यापेर हिँडिरहेकी थिइन्। मैले उनका खुट्टातिर हेरें। उनका खुट्टामा चप्पल थिएनन्। गर्मीले तातेको सडकमा उनी खाली खुट्टा हिँडिरहेको देखेर मैले चप्पल खोलेर सडकमा टेकें। सडक आगोझैं तातो थियो। लाग्यो- करोडौं मान्छेका लागि त यो दुनियाँ नर्कै छ!
केहीबेरमा फेरि गाडी चढेर म जनकपुर आएँ। जनकपुर विमानस्थलमा मोबाइल चार्ज गरिरहेको थिएँ, एकजना सज्जन मेरो छेउको कुर्सीमा आएर बसे। उनको र मेरो जहाज एउटै रहेछ। उनले राँचीबाट आएको बताए।
मैले आफू राँची पुगेको कहानी सुनाएँ। नेपालमा कसैले उल्टोपाल्टो कुरा गर्यो भने राँची लैजानुपर्छ भन्ने उखान छ भनेको सुन्दा उनी अचम्ममा परे।
एउटा फ्याक्ट्रीमा म्यानेजरबाट रिटार्यड भएका उनी श्रीमती र सम्धी-सम्धिनीसहित काठमाडौं घुम्न जान लागेका रहेछन्। उनका सम्धी झारखण्ड प्रहरीबाट अवकाश भएका रहेछन्।
उनले काठमाडौंमा एक दिनमा के-के गर्न सकिन्छ भनेर सोधे। मैले जानेको बताइदिएँ।
म पत्रकार हुँ भन्ने थाहा पाएपछि उनले पनि कोची जाने जहाजमा भेटिएको युवकको जस्तै प्रश्न सोधिहाले। नेपालबारे ज्ञान भएका र चासो राख्ने हरेक भारतीयलाई अचेल नेपाल चीनतिर ढल्कियो भन्ने लाग्दो रहेछ।
मैले कोचीको केटाले जे भनेको थिएँ उनलाई पनि त्यही दोहोर्याइदिएँ।
आधा घन्टा ढिला गरी जहाज काठमाडौंका लागि उड्यो। त्यो जहाजमा भारतीय यात्रु पनि धेरै नै थिए।
जहाजको झ्यालबाट काठमाडौं शहर देखिन थालेपछि मेरो पछाडिको सिटमा बसेको १०-११ वर्षको एउटा बालक चिच्यायो- मामु, काठमान्डु। यहाँसे चाइनाका बोर्डर दिख्ता है क्या?
उसको प्रश्न सुनेर अचम्म लाग्यो।
जहाज ल्यान्ड भएपछि मैले उनीहरूलाई ‘कहाँबाट आउनुभएको हो’ भनेर सोधें।
दरभंगाबाट आएको भने।
मैले त्यो केटोलाई भनें- देखो बेटा, काठमाडौंसे चाइना करिब है। लेकिन इत्ना भी करिब नही है कि यहीँ से बोर्डर दिखजाए!
जहाजबाट झरेपछि काठमाडौंको चिसो हावाले छोयो। मनभरि अस्थिर र अन्यौलको खलबली बोकेर यात्रामा निस्केको थिएँ। काठमाडौंको चिसो हावा खाँदै विमानस्थलबाट कीर्तिपुर फर्किँदा ती सबै पात्रलाई सम्झिएँ, जसले मलाई जिन्दगीको एउटा सत्यसँग साक्षात्कार गराए। मेरो मनको खलबलीले विश्राम लिँदै थियो, त्यसरी नै जसरी कन्याकुमारीको समुद्री तटमा एक पल उर्लिएर आउने छालले अर्को पल विश्राम लिन्छ।
यो यात्रामा पाएको जिन्दगीको एउटा तत्वबोधले म आफू शान्त, धीर र स्थिर महशुस गर्दै थिएँ- संसारका सबै मान्छे सकभर अर्को मान्छेलाई सहयोगै गर्न चाहँदा रैछन्!