मलेखु र दोलालघाट पुगेर माछा खानु पर्ने मलाई कोसी ब्यारेजमा लोकल माछा खान पाउँदा अरु के नै चाहियो र?
त्यसमा पनि डुङ्गामा बसेर सूर्यास्तको पहेलो किरणको छायालाई कोसी ड्यामको सुकिलो पानीमा नियाल्दै माछासँगै सलिता र ममतासँग बोटिङ गर्दाको त्यो क्षण आज पनि झलझली याद आउँछ। लाग्छ यस्ता क्षणहरू समयले जीवनमा थोरै मात्र उपहार दिन्छ।
त्यो दिनको साँझ हामीले प्रकृतिसँगको सामीप्यतालाई दियौँ। फोटो खिच्न, टिकटक बनाउन सलिता र ममता व्यस्त थिए। ममता टिकटकको क्रेजी रहिछन्। कोसी ड्यामभित्र रहेको टापुमा डुङ्गा रोकेर कोसीको बालुवामा नाच्दै ममताको अनुरोधमा उनीसँग टिकटिक बनाउँदाको त्यो क्षण पनि जीवनको थोरै अमूल्य क्षणहरू मध्य रह्यो मेरो।
कोसी व्यारेजको नजिक बसे पनि पहिलो पटक डुङ्गामा सयर गर्ने अवसर पाएका सलिता र ममताको खुसी, उत्साह, उत्सुकता र रोमान्चकतालाई मैले नजिकबाट नियाली रहेको थिएँ।
उनीहरूको त्यो रोमान्चित क्षण देख्दा मेरो मन, मस्तिष्कले अदभूत आनन्द लिइरहेको थियो। त्यो क्षणमा म मन्द मुस्कानका साथ हाँसिरहेको थिएँ र त सलिताले भनिन्, 'सर, यसरी नै हाँस्नुस् है सधैँ?'
ममताले पनि मौका छोप्दै भनिन्, 'सर, यो क्षणको लागि धेरै-धेरै धन्यवाद।'
म उनीहरूको रमाइलोमा रमाइरहेको थिएँ। उनीहरूको रोमान्चकतामा रोमान्चित र प्रफुल्ल थिएँ।
सलिताले हामी डुङ्गामा सयर गरिरहँदा भनिन्, 'सर, जति हामीले आज यो कोसीको सुन्दर, मनमोहक दृश्य आँखामा कैद गर्दैछौँ योभन्दा भयानक दुःख दिन्छ यही कोसीले यहाँको स्थानीयलाई।'
मैले उनको अनुहार हेरेँ। उनको यी भनाइहरू साँच्चै परिपक्व थिए। उनले कोसी ब्यारेजले गर्दा वर्षेनी डुबानको पीडामा बाँचेका नेपालीहरूको आवाज निकालेकी थिइन्।
'साँच्चै हो सलिताजी,' मैले मौन स्वीकारोक्ती बाहेक के गर्न सक्थेँ र?
डुङ्गामा सयर गर्दा निस्किरहेको पानीको आवाज, हावाको मन्द गतिमा निस्केको अवाज त्यहाँको मानिसहरूको चित्कार जस्तो भान भयो मलाई सलिताको यो वाक्यले। सलिताको यही भनाइले कोसी ब्यारेज बारे केही जानकारी लिन मन लाग्यो।
मैले समाचारहरूमा नेपालीहरूलाई वर्षेनी दिने पीडा बारेमा सुनेको थिएँ। तर धेरै पटक त्यहाँ जाँदा र माछा खाएर आनन्द लिँदा सलिताले जस्तो सोचेको थिइनँ। मलाई लाग्यो सलितामा समाजभित्र रहेको समस्या पहिचान गर्ने क्षमता छ जुन स्थानीय जनतालाई नेतृत्व दिन चाहिने योग्यता मध्ये एक हो।
प्रदेश १ को सुनसरी र मधेस प्रदेशको सप्तरीलाई जोड्ने या बाँध ११५० मिटर लामो र १० मिटर चौडाइको छ। ५६ वटा ढोका रहेको यो बाँध निर्माण गर्न ३ वर्ष लागेको थियो।
प्रत्येक वर्ष कोसीले गर्ने विनाशको कारण कोसी नदीलाई विहारमा 'विहारको दुःख' भनिँदो रहेछ। आज यो बाँध बने पनि कोसीले हिजोजस्तो दुःख नदिए पनि भारतको बिहार र नेपालमा वर्षा याममा दुःख दिइनै रहेको छ।
जब १९५३ मा कोसीले बिहारमा भयानक बितन्डा मच्चायो, त्यो बितन्डाको निरीक्षण गर्न तल्कालीन भारतीय प्रधानमन्त्री जबाहरलाल नेरु आएका रहेछन्। कोसीको बाढी प्रभावित क्षेत्रको निरीक्षणपश्चात यो दुःखलाई हटाउने आम बिहार बासीलाई आश्वासन दिएका रहेछन् नेहेरुले।
उत्त भ्रमणमा गरेको प्रणबाट सुरु भएको यो योजना अन्तमा १९५४ को २५ अप्रिलमा भएको नेपाल भारत कोसी सम्झौतामार्फत लागु गरिएको थियो।
नेपाल र बिहारमा नहरहरू खन्ने, १२ हजार मेघावाट बिजुली निकाल्ने जस्ता महात्वकांक्षी कुराहरू सम्झौतामा भए पनि यो सम्झौताको मुख्य उदेश्य भने बिहारलाई सुरक्षित राख्नु थियो।
सलिताले मलाई पटक पटक सुनाउदै थिइन्, 'यो बाँधको ढोका हामी नेपालीले खोल्न पाउँदैनौँ। नेपालको क्षेत्रमा जति जलमग्न भए पनि हामीले सहनु पर्छ सर। यो देख्दा अति दुःख लाग्छ।'
कोसीमा वर्षेनी आउने बाढीको उचित व्यवस्थापन अति जरुरी देखिन्छ। नेपाल होस् वा भारत दुवैमा हुने कोसीको क्षतीलाई बराबरी तहमा समाधान हुनु पर्ने हो तर नेपालको क्षतिको सम्बन्धमा भारत इमान्दार कहिले पनि भएको देखिँदैन।
यो बाँधको उद्घाटन संयुत्तरुपमा नेपालका तल्कालीन राजा र भारतका तल्कालीन प्रधानमन्त्री जबहरलाला नेरुले गरेका थिए। १० लाख २० हजार मानिसहरू यो बाँध निर्माणमा सहभागी भएका थिए भने भारतीय रुपैयाँ ५० करोड खर्च भएको थियो।
यो बाँध बनाउनको लागि ढुङ्गालगायत समानहरू ओसारपसार गर्नको लागि धरानदेखि भिमनगरसम्म ट्रम र फुर्सेदेखि धरानसम्म रोप-वे नै प्रयोग भएको थियो। आज पनि रोप-वे नभए नि घरानमा रोप-वे चोक समेत छ।
कोसी नदीको बारेमा एउटा डरलाग्दो तथ्य केही अनुसन्धानकर्ताहरूले सर्वजनिक गरेका छन् कि कोसी नदी ११५ किलोमिटर यो २०० वर्षमा सरेको छ र यसको कटाई अत्याधिक छ। यो आफैमा डरलाग्दो अवस्था हो। केही तटबन्धहरू बर्खा याममा भत्किएको अवस्थामा कोसीले नेपाल र भारत दुवैतर्फ ठूलो बितण्डा मच्चाउन सक्ने देखिन्छ।
हाम्रो एक घण्टाको बोटिङ सकिएको पत्तै भएन। साँझ पर्न थालिसकेको थियो। सूर्य महाराज अस्ताउन तयार देखिन्थे। हामी पनि सलिताको आमाले माघीको लागि पकाएको मिठा परिकारहरू खान हतारिएका थियौँ।
मैले रेस्टुरेन्टको साहुनीलाई मिठो माछाको परिकारहरूको लागि धन्यवाद दिएँ र हामीहरू सलिताको घर अमाहा तिर लाग्यौँ। सलिताले आज ममता पनि हामीसँगै बस्ने सुनाइन्।
हामी झण्डै दुई घन्टामा सलिताको घरमा पुग्यौँ। सलिताको सबै परिवार हामीलाई खानको लागि कुरिरहनु भएको रहेछ। मैले उहाँहरूलाई कुराएकोमा माफ दिन अनुरोध गरेँ। सलिताको आमा र बहिनी शर्मिला हाँस्दै खान पस्किन थाल्नु भयो।
शर्मिला घरको कुक थिइन्। मैले शर्मिलालाई सोधेँ, 'आज पनि तिमीले बनाएको हो नि यी सबै परिकारहरू?'
उनी हाँसिन् र मैथिलीमा, 'हमे भान्सा बनालेली' भन्दै मुस्कुराउँदै भान्सातिर हेरिन्। भान्साबाट शर्मिलाको आवाज आयो, 'सर के खाना लियादु?'
हामी भान्सा तिर गयौँ।
शर्मिलाको त विवाह भैसक्ने थियो होला सायद सलिता अभिभावकको रुपमा नउभिएको भए। उनी पढ्न चाहान्छिन्। स्वाभिमान महिला भएर दिदीजस्तै समाज सेवा गर्न मन पराउँछिन् पनि। मैले त उनलाई जिस्काएर 'भान्छे बुढी' नाम दिएको छु। कलिला ती हातहरूले बनाएका खानाहरू धेरै परिपक्व र स्वादिला छन्।
परिपक्वता र जिम्मेवारी भन्ने कुरा उमेरले दिने होइन रहेछ। यो त परिस्थिति र बाध्यताले खडा गर्ने पहाड रहेछ। जब आफ्नो अगाडि पहाड आएर बाटो छेक्छ, त्यो पहाड फोर्ने जिम्मेवारी लिनै पर्ने रहेछ अनि जिम्मेदारी पूरा गर्दै जादाँ त्यहाँ परिपक्वता थपिँदै जाँदो रहेछ। शर्मिलामा मैले त्यही पाएँ।
माघीको मिठो खाना, खानाभन्दा बढी आत्मीय र निःस्वार्थ मायाको, त्यो सत्कारको अगाडि म नतमस्तक नै थिएँ। सलिता र उनको परिवारलाई धन्यवाद दिएँ। मलाई दिएको बेडमा सबैलाई नमस्कार गर्दै छिरेँ। ओछ्यानमा पल्टिरहँदा धेरै कुराहरू मनमा आए। धेरै विचारहरू खेले।
धन र मनको दूरी यो यात्रामा अनुभव गर्न मौका पाएँ। मनका धनी सदा परिवार मेरो जीवनको नयाँ नाता बन्यो।
यो पनि:
मुसहर बस्तीमा पुग्दा...