नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरेका छन्। यसअघि ८,८४८ मिटर थियो। अहिले ८,८४८.८६ मिटर पुगेको छ। सारा मानव जगतलाई मोहित तुल्याइरहने र निरन्तर आफूतिर खिचिइरहने सगरमाथामा त्यस्तो के आकर्षण छ? हालै सोलुबाट खुम्बु क्षेत्रको पदयात्रा गरेर सगरमाथा नजिक पुगेका नेपाली पत्रकारको यात्रा वृत्तान्त:
स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो गीतमा उल्लेख गरेझैं 'एसियाको माझमा' विशाल पर्खालसरी उभिएको करिब २,५०० किलोमिटर लामो हिमालयले कसलाई सम्मोहित नपार्ला? टाकुरामा हिउँ हरदम 'चाँदीझैं टल्कने' त्यस्ता हिमालयले कसलाई आफूतिर आकर्षित नगर्ला?
त्यसैले होला सारा संसारलाई लोभ्याउने हिमालयले कोभिड-१९ महामारीबीच पनि मानिसलाई आफूतिर तानिरहेको छ। शरद सकिएर चिसो हेमन्त सुरू भइसकेको छ, तै पनि हिमाली यात्रामा जानेहरूको ताँती रोकिएको छैन। अक्टोबरमा बहराइनको टोली मनास्लु हिमाल आरोहणअघि लेकमा अभ्यस्त हुन (आक्लिमेटाइजेसन गर्न) खुम्बुको सगरमाथा क्षेत्र पुग्यो। त्यसपछि कतारी, ब्रिटिस र अमेरिकी सामेल टोली पनि आमादब्लम चढ्न खुम्बु पुगे।
कोरोना कहरले नछोपेको भए गत वसन्त ऋतुमै नेपालका विख्यात आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरिसक्ने थिए। सुरूमा मानव जातिलाई प्राय: घरभित्रै बस्न बाध्य बनाइदिएको कोभिड-१९ ले सगरमाथाको वसन्त बिगारिदियो। हिमाली क्षेत्र सुनसान बनाइदियो। शेर्पाहरूलाई जीविकोपार्जनबारे चिन्तित तुल्याइदियो। तर, शरद ऋतुमा कोभिड सुरक्षा सावधानीसहित खुम्बु क्षेत्र खोलिएपछि कयौं विदेशी र नेपाली सगरमाथा क्षेत्र पुगे।
त्यो क्रम यो हिउँदमा पनि जारी छ।
महामारीको यो त्रासदीबीच पनि प्रकृति र हिमालय मुस्कुराइरहेकै छन् र तिनले आफूनजिक पुग्ने पदयात्री वा आरोहीका मनहरू आनन्दित तुल्याइ नै रहेका छन्।
अझ खुम्बु त सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर माथिका ल्होत्से, चोयुजस्ता हिमशिखरहरूको घर हो। तिनले मानव जातिलाई निरन्तर आफूतिर खिचिरहेका छन्।
म सर्वोच्च शिखर सगरमाथा र अन्य हिमाली चुचुराका सुन्दरता र गरिमाबारे पढ्दै, लेख्दै, विदेशीसँग धाकधक्कु लगाउँदै र समाचार कोर्दै (छाप्दै वा प्रसारण गर्दै) हुर्किएको एक नेपाली पत्रकार हिमालयको सामीप्यमा नरमाउने कुरै भएन। तेन्जिङ-हिलरीको आरोहणको पचासौं वर्षगाँठ र संयोगवश त्यही वर्ष मे २२ तारिखमा सगरमाथा शिखर चुमेका सहकर्मी आङछिरिङ शेर्पाको शिखर यात्राको समाचार म आफैंले 'द काठमान्डू पोस्ट' दैनिकमा लेखेको थिएँ।
सहकर्मी सगरमाथा शिखरमा पुगेपछि र हयात होटलमा एडमन्ड हिलारी र ज्येष्ठ शेर्पाहरूको अभिनन्दन हेरेपछि म सगरमाथाप्रति झनै आकर्षित हुन थालेको थिएँ। तर, सगरमाथानजिक पुग्ने मेरो धोको वर्षौंसम्म पूरा हुन पाएको थिएन। यो वर्षको वसन्तमा सगरमाथा आधार शिविरसम्म आफ्नै खुट्टाले हिँडेर खुम्बुको प्रकृति तथा संस्कृतिबारे अध्ययन गर्ने मेरो योजनालाई कोभिड-१९ ले रोकिदियो।
यो शरदमा आकास खुलेपछि मलाई कसले रोक्ने?
केही साताअघि कोभिडकै त्रासबीच त्यो योजना जेनतेन सफल भएको छ। मलाई राम्ररी थाहा छ, एक नेपाली हुनुको मेरो परिचय सर्वोच्च शिखरसँग गहिरोसँग गाँसिएको छ। मलाई यो पनि थाहा छ, सगरमाथा र आठ हजार मिटरभन्दा अग्ला अन्य सात हिमाल विश्व समुदायलाई देखाउन हामीसँग भएका गतिला वस्तुमध्ये पर्छन्।
सगरमाथा क्षेत्रको यात्राका लागि मध्य-असोजमा मनसुनी वर्षा सकिनै लाग्दा सोलुवासी पत्रकार साथी सुजाता तामाङकै सल्लाह र सुझावअनुसार हामीले काठमाडौंबाट सडकमार्ग रोज्यौं। त्यसपछि हुँइकियौं पाँच जना मात्र यात्रु अट्ने सोलु एक्सप्रेस जिपमा।
काभ्रेबाट बिपी राजमार्ग हुँदै मध्यपहाडी राजमार्गको घुर्मी र सुनकोसी पुल पारिबाट उत्तर ओखलढुंगा उक्लिएर, पत्ताले हुँदै सोलु खोला तरेर २७७ किलोमिटर लामो सडक यात्रापछि साँझपख हामी सल्लेरीमाथिको फाप्लु पुग्यौं।
केही समयअघिसम्म पनि सोलु पुग्न हिँड्नु वा उड्नुको विकल्प थिएन। अब काठमाडौंबाट सोलुको सल्लेरी-फाप्लु वा अँधेरी क्षेत्रसम्मै गुड्न सम्भव भइसकेको छ। सोलुको त्यो सडक छिट्टै खुम्बुको लुक्लासँग जोड्ने काम धमाधम भइरहेको छ। फाप्लुमाथिको टाक्सिन्दुमुनि, दूधकोसी पारी पर्ने खरीखोला उत्तरको भूभागलाई खुम्बु र खरीखोला दक्षिणको क्षेत्रलाई सोलु भन्ने गरिएको छ।
खुम्बु पुग्ने हो भने अझै पनि दोलखा-रामेछाप वा टाक्सिन्दुबाट कयौं दिन कस्सिएर हिँड्नु वा काठमाडौंबाट ट्विनअटर विमानमा उडेर लुक्ला ओर्लनुको विकल्प छैन। त्यसपछि सगरमाथाको समीप जाने हो भने त हिँडनैपर्छ, उकालीओराली गर्नैपर्छ, किनभने खुम्बु जाने बाटो अझै खनिँइदै छ, त्यो पूरै बनिसकेको छैन।
एउटा कुरा हामी नेपालीले बिर्सनै हुँदैन- जति नै सडक पूर्वाधार बने पनि हाम्रो देश हिँड्नकै लागि बनेको हो। तराई, पहाड र हिमाल मिलेर बनेको नेपाल हिँड्न, दौडिन र पौडिन सक्नेहरूकै लागि बनेको भूस्वर्ग हो। साहसी खेल र पर्यटन तथा अध्ययनका लागि विश्वकै अद्भुत र अद्वीतिय स्थानहरूमध्ये एक हो।
सोलुखुम्बु यात्राको पहिलो दिन हामी काठमाडौंबाट १२ घन्टा लामो जीप यात्रापछि सल्लेरीमाथिको फाप्लु पुगेका थियौं, जहाँ उडेर ३०-४० मिनेटमै पुग्न सम्भव हुन्थ्यो। तर, मलाई मेरो देशदर्शन पनि गर्नु त थियो; मलाई युगकवि सिद्धिचरणको श्रेष्ठको 'मेरो प्यारो ओखलढुंगा' पनि त हेर्नु थियो।
जीपमा थचारिँदै फाप्लु पुगेको रात मीठो निद्रो पर्यो। भोलिपल्ट होटलकी दिदीले हाम्रो यात्राबारे चासो राखिन्, 'ए तपाईँहरू नाम्चेसम्म मात्रै जानुहुने?'
'यसपटक नाम्चे पुगेर लुक्ला अनि विमानमा काठमाडौं फर्किने सोचेको दिदी।'
'होइन नाम्चे पुगेपछि त गोक्यो ताल हेर्न जानु नि, दुई दिनमा पुगिहालिन्छ।'
'ए हो र? त्यसो भए गोक्यो त पुग्नै पर्ला।'
फाप्लुमा एक रात बसेपछि हाम्रो जोडी (निकिता र म) एभरेस्ट होटलकी सञ्चालिका याङ्दी लामा दिदीकै सल्लाहअनुसार अघि बढ्यौं। जानुअघि हामीलाई खादा ओढाएर न्यानो स्वागत गरेकी पत्रकार साथी सुजाता तामाङलाई धन्यवाद दियौं।
सोलुखुम्बु सदरमुकाम सल्लेरीमाथिको फाप्लुमा बिहानै आकास खुलेपछि उत्तरतर्फ दूधकुण्ड र नुम्बुर हिमाल टलक्कै टल्किए। केही बेरपछि फेरि बादलभित्र छोपिए। सडकदेखि तलको समथर चौरमा साना विमान बस्ने अलकत्रे धावनमार्गछेउ एउटा हेलिकप्टर केही सामान बोकेर लुक्ला उड्ने तयारीमा थियो पूरै फाप्लु थर्काउँदै।
केही बेरमा चार यात्रु बोकेको हामी सवार जीप अघि बढ्यो। घुमाउरो कच्ची बाटै बाटो जीप वनभित्र घुस्यो। वन्यजन्तुबारे चासो राखेपछि चालकले भनिहाले, 'अचेल भालुहरू सल्लाको रूखको बोक्रा खान तलतिर आएका छन्।'
'भालुले मान्छेलाई आक्रमण गर्छ र?'
'भालुको भर हुँदैन। हालै एक जना कोरियाली महिलालाई चिथोरिदियो। हेलि (कप्टर) मा काठमाडौं लगेपछि बल्ल ज्यान जोगियो।'
वनमा भालु आउने भय
घुमाउरो, धुले, कच्ची उकालोमा बोलेरो जिप घुमाउँदै हाम्रा चालकले मेरो मनमा वनमा चितुवा वा भालु आउनसक्ने भय जन्माइदिए। सोचेँ, त्यसो भए मोटर छाडेपछि एकलास वनको बाटो उकालीओराली गर्दा हातमा दह्रो लट्ठी छुटाउनै भएन।
फाप्लुउत्तर अनेकन पहाडी घुम्ती पार गर्दै जीप अघि बढ्दै गर्दा हरिया वन, गरा-गरामा लहलह झुलेका धान र बारीमा अनेक-अनेक तरकारीका अतिरिक्त स्याउ र किवीका बोट देख्दा नेपाली पहाडले साच्चै आत्मनिर्भरता र समृद्धिको यात्रा थालिसकेझैं लाग्यो।
हाम्रो यात्रा फाप्लुउत्तरको भए पनि पश्चिमपट्टि सोलु र रामेछाप सीमाक्षेत्रमा पिके चुचुरो, बाम्ती, शिवालय, दूधकुण्ड र जुनबेसीजस्ता थुप्रै सुन्दर पर्यटकीय गन्तव्य रहेछन्। सगरमाथामा पर्यटन प्रारम्भ भएपछि यता आउने यात्रु दोलखाको जिरीबाट त्यसै क्षेत्र हुँदै आउने गर्थे, जुन क्रम अझै रोकिइसकेको छैन। अझै पश्चिमउत्तर हिमाली क्षेत्र त गौरीशंकर संरक्षण क्षेत्र भइहाल्यो, जसको आकर्षण पनि संस्कृति र प्रकृतिप्रेमीमाझ अन्य हिमाली क्षेत्रभन्दा कम छैन। गौरीशंकर हिमाललाई नै आधार मानेर नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ।
स्वर्गीय आरोही बाबुछिरी शेर्पाको जन्मथलो टाक्सिन्दु पुग्दा पहाडलाई बादलले ढाकिसकेको थियो। नेपालमा केही दिनअघिसम्म मनसुनी वर्षा, बाढी र पहिरो जारी रहेकाले कतै हाम्रो पदयात्रा पनि मनसुने झरी वा अझ बाढीपहिरोले बिथोल्ने पो हो कि भन्ने डर लाग्यो। तर, असोजको तेस्रो साता मनसुन सकिनेमा मन ढुक्क थियो।
टाक्सिन्दुमा शेर्पाबस्तीछेउ एउटा सुन्दर गुम्बा रहेछ। छेवैमा बाबुछिरिको जन्मघर। मलाई याद छ, सन् २००० तिर आङछिरिङले 'कान्तिपुर' मा टाक्सिन्दुका तन्नेरी बाबुछिरिको सफलताबारे समाचार लेखेका थिए। दसपटक सगरमाथा आरोहण गरेका कीर्तिमानधारी बाबुछिरिको सन् २००१ अप्रिलमा दोस्रो शिविरको करिब ६,००० मिटर उचाइमा फोटो खिच्दा क्रिभास (बरफको खोँच) मा खसेर ज्यान गएको थियो।
त्यो दु:खान्त स्मरण गर्दै टाक्सिन्दुको ओरालोबाटै सुरू भयो, सगरमाथा क्षेत्रको मेरो पहिलो पदयात्रा।
नुनथलाको लामो ओरालो पैदल झर्दाझर्दै दिन बित्न लाग्यो। अझै तल सेता रङका घरहरू भएको सुनसान बजार रहेछ। उत्तरको खोँच पारी पहाडको टाकुरामा एउटा सुन्दर रातो रङको गुम्बा देखियो।
साँझ बास बस्न खालिङ राईको बसोबास रहेको फुलेली गाउँ पुगियो, जहाँ नवजात शिशु बोकेका होटलका भाइ हामीदेखि अलि धेरै नै डराए र भने, 'यो सानो नानीलाई कोरोनाभाइरस संक्रमण होला कि भन्ने डर छ।'
हामीले उनलाई भयमुक्त बनाउन व्यक्तिगत दुरीमा अलि बढी नै ध्यान दियौं।
फुलेलीको खालिङ लजको सानो कोठामा निदाउनै लाग्दा आकास गडगडायो। मनमा डर लाग्यो। केही वर्षअघि शरद ऋतुमै (सन् २०१४ अक्टोबरमा) भारतको उडिसाबाट आएको विनाशकारी हुद्हुद् आँधीको प्रभाव पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रमा पर्दा हामी म्याग्दीको पुनहिलदेखि पूर्वतिर उल्लेरी उकालोको एक पाहुनाघरमा दुई रात बिताउन बाध्य भएका थियौं।
मैले मनमनै त्यस्तो फेरि कहिल्यै नहोस् भन्ने प्रार्थना गरेँ।
दूधकोसीसँग पहिलो भेट
अर्को बिहान आकास खुलिदियो। हामी ओरालो लाग्दै दूधकुण्ड खोला र दूधकोसीको दोभान पुग्यौं, जहाँ अलि तलतिर एउटा झोलुंगे रहेछ। हाम्रो पदयात्राको पहिलो झोलुंगे पुल। त्यहाँबाट हामी सेताम्मे, तीव्र गतिका छाल बोकेर झर्ने दूधकोसी तरेर जुभिङ हुँदै खरीखोलाको उकालो लाग्यौं। सुन्दर खरीखोला पुग्नै लाग्दा पानी दर्किन थाल्यो र हामीलाई निथ्रुक्कै भिजाइदियो।
केही बेर ओत लागेपछि पानी रोकियो। दूधकोसी उपत्यका वरिपरि पहाडमा प्राय: राई वा शेर्पाका पातला तथा बाक्ला गाउँ बस्ती रहेछन्। भिज्दैभिज्दै खरीखोलाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गरियो। खरीखोला बजार कटेपछि फेरि नाकै ठोक्किने ठाडो उकालो सुरू भयो- बुप्साको उकालो।
स्वाँस्वाँ गर्दै, पसिनापसिना हुँदै निकै ठाडो उकालो चढेपछि बल्ल बुप्सा गाउँको टाकुरामा पुगियो। त्यहाँ एक सुन्दर गुम्बानजिकै आरोही फुचेटर शेर्पाले चलाएको गेस्ट हाउस रहेछ। हुन त टाक्सिन्दुबाटै विश्वविख्यात पर्वतारोही शेर्पाहरूको गाउँ सुरू भइसकेको थियो। बुप्सामा त आरोही युवाहरूको लस्कर नै भेटियो। लगभग सबैले सगरमाथा लगायत उच्च शिखरमा गाइड वा सहयोगीको काम गरिसकेका।
साँझ खाना खाने बेला पाहुनाघरको डाइनिङ हलमा स्थानीय स्तरको भलिबल टुर्नामेन्टको तयारीका लागि शेर्पा युवाहरूको बैठक सुरू भयो।
यो वर्ष कोभिड-१९ का कारण पर्यटन ठप्प भएपछि उनीहरू दसैंको अवसरमा गाउँमा भलिबल आयोजना गर्न लागेका रहेछन्। खर्च जोहो गर्न कोङ्दे युवा क्लबका चोङ्बी शेर्पाले चन्दा संकलन गर्ने योजना सुनाए। हामीसँग पनि चन्दा मागिहाले। केही दिएपछि अन्य युवाले हास्दै हा-हु गर्दै ताली बजाए।
हामी बुप्सा पुग्दा आरोही दावा स्टिभेन शेर्पा नेतृत्वको एक नेपाली आरोहीको टोली सगरमाथा र ल्होत्से पूर्वमा पर्ने ७,२२० मिटर अग्लो वरुण्त्से हिमाल आरोहणका लागि खुम्बु क्षेत्र पुगिसकेको थियो। पछि थाहा भयो, त्यो शेर्पाटोलीले हिमाली क्षेत्रमा सफाइ अभियान पनि गरेछ।
गोरखाको मनास्लु चढ्नुअघि लेकमा अभ्यस्त हुन बहराइन रोयल गार्डको टोली पनि केही दिनअघि मात्रै माथि फेरिचे पुगेको थियो। बुप्साका युवाहरू आफैं आरोही भएकाले बीचबीचमा मैले उनीहरूबाट हिमाल आरोहणको अनुभव सुन्न खोजेँ।
वरुण्त्से हिमालको त्यो दु:खान्त
फुचेटरले वरुण्त्से हिमाल आरोहण निकै कठिन भएको आफ्नो अनुभव सुनाए।
'वरुण्त्सेको शिखर जाने बाटोमा पर्ने भिर तल झरेर भित्रतिर पसेकाले त्यहाँ निकै खतरा छ,' नुन चियाको चुस्की लिँदै उनले भने, 'केही वर्षअघि त्यो भिरबाट खसेको हाम्रो एउटा शेर्पा साथी भेट्दै भेटिएन, हरायो।'
म काठमाडौं सहर बाहिर मनोहरा नदी किनारमा जन्मे-हुर्केको। शिवपुरी पछाडि पूर्वतर्फको दोर्जेलाक्पा र पश्चिमतर्फको गणेश हिमाल सानैदेखि मैले चिनेजानेका सुन्दर एवं पूजनीय पर्वत हुन्। नगरकोट र कीर्तिपुरतिरबाट देखिने सगरमाथा हालै मात्र चिन्न सक्ने भएको छु।
एउटा पत्रकारको कर्तव्य पालनाको सिलसिलामा म कहिले खाली सिसी ओसार्ने तारा एअरको ट्विनअटर विमानमा सगरमाथाको मूलद्वार भनिने लुक्ला पुगेँ। कहिले हिमालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान तान्न आयोजित कालापत्थर मन्त्रिपरिषद् बैठकबारे समाचार संकलन तथा सम्प्रेषण गर्न स्याङ्बोचे पुगेँ।
ती अनुभव भिडिओ गेम खेलेजस्तो वा इन्टरनेटमा कुनै भर्चुअल (अवास्तविक) यात्रा गरेजस्तै थिए। त्यसैले यो शरदमा, क्षितिजमा हिमालहरू पुन: प्रकट हुन थालेका बेला, आफ्नै बलबुतामा, आफ्नै दुई पाइताला टेक्दै, सोलुबाट उकालीओराली गर्दै माथिल्लो खुम्बु क्षेत्र यात्रा गर्नुको अनुभव म यी शब्द वा यी तस्बिरमा बयान गर्नै सक्दिनँ।
सगरमाथा जाने राजमार्ग
भोलिपल्ट सखारै बुप्साबाट शेर्पा परिवारसँग विदावादी भएर अघि बढेपछि हामी वनैवनको बाटो थामडाँडातर्फ लाग्यौं। बाटो सोझो र सजिलै भए पनि उकालीओराली अनि फेरि उकालीले छाडेनन्। मध्याह्न हुस्सु र कुहिरो फर्किए। त्यति बेला हामी थामडाँडा पुग्यौं, जहाँ लुक्ला जोड्ने कच्ची बाटोको पहिलो रेखा कोर्न व्यस्त थिए एक बुलडोजर र एक एक्स्काभेटर।
हुस्सुले छोपेको थामडाँडाको टुप्पामा होटल चलाउने दुई शेर्पा दिदी सायद महिनौंपछि आएका नेपाली पर्यटक (हामी दुई) लाई देखेर निकै खुसी भए। खाना बनाइदिन तयार भए।
बाहिर हुस्सु नआइदिएको भए निकै तल बगिरहेको दूधकोसी कति सुन्दर देखिन्थ्यो होला। डाँडाको टाकुराबाट मात्र नदीको एकोहोरो सुसाइ सुनिइयो। थामडाँडामा दालभात भोजनपछि हामी विस्तारै पहाडको माथिमाथि वनको बाटो छेउबासतर्फ लाग्यौं।
थामडाँडा नाघेपछि फाप्लुलाई लुक्लासँग जोड्न खनिँदै गरेको डोजर बाटोको रेखा पनि सकियो र पुरानै शैलीको पदमार्ग भेटियो। सफा पानी बग्ने साना नदी र झरना तर्दै वनैवन हिँडेपछि पैयामा खुम्बु गाउँपालिकाको कोभिड-१९ जाँच टोलीले अचानक रोकिदियो। हामीले कोरोनाभाइरस परीक्षणको नेगेटिभ पिसिआर रिपोर्ट देखाएपछि हाम्रो नाम र फोन नम्बर टिपियो।
अलिपर एउटा विद्यालय प्रांगणमा किशोर तथा किशोरी भलिबल खेल्न व्यस्त थिए। हिमाल, पहाड वा तराई जतासुकै सानो मैदान बनाएर खेल्न सकिने भलिबल अहिले नेपालको राष्ट्रिय खेल भएको छ। सोचेँ, यो पनि बुप्सामा हुन लागेको प्रतिस्पर्धाको तयारी होला।
नजिकै निलो जस्ताले छाएको घरबाहिर एउटी शेर्पा आमा 'ओम मणि पद्मे हुम्' लेखिएको हाते माने घुमाउन व्यस्त थिइन्। मुस्काउँदै उनले फोटो खिच्ने अनुमति दिइन्।
छेउबासको त्यो बसाइ
उत्तरतर्फ अघि बढ्दै गर्दा शेर्पा बस्तीहरू छेउ एउटा मगर बस्ती भेटियो। सबै जना आफ्ना घर खेत र बारीका कामधन्धामा व्यस्त। छेउबास पुगिएछ। मगर गाउँमा एउटा श्रेष्ठ परिवारको नयाँ र सफा गेस्ट हाउस रहेछ। अघिल्ला होटलमा जस्तै त्यहाँ कुनै पाहुना थिएनन्। भर्खरै एसइई पास गरेका बुद्धि भाइले रेखदेख गरिरहेको त्यही गेस्ट हाउसलाई त्यो साँझ हामीले आफ्नै घर ठानेर बस्यौं।
साँझ आठ बजेतिर दुई थकित पाहुना झुल्किए। खोटाङदेखि लगभग म्याराथन दौडको दुरी हिँडेरै आएका दुई नम्र शिक्षक 'लामो कोरोना छुट्टीपछि' नाम्चेको विद्यालयमा 'फिर्किन' लाग्नुभएको रहेछ।
'सरहरू अब कहिले नाम्चे पुग्नुहुन्छ?'
'भोलि बिहानै हिँडेपछि साँझ त नाम्चे पुग्छौं। बाटो चिँ लामै छ।'
दुईमध्ये अलि पाका पहाडवासी शिक्षकको त्यस्तो जवाफ सुनेपछि उहाँहरूका बोसोविहीन शरीर र निरन्तर अनगिन्ती उकालीओरालीहरू गरिरहन सक्ने शारीरिक क्षमताको मनमनै कदर गर्न मन लाग्यो। ती शिक्षकलाई भेट्टाउन भने हामी अक्षम थियौं। हामीलाई पनि सगरमाथानजिक पुग्न जति हतार थियो, त्योभन्दा बढी हतार हामीलाई छेउबासबाटै सगरमाथाको दर्शन पाउन थियो।
अर्को बिहानीको उज्यालोले अझै धेरै आशा थपिदियो। छेउबासमाथिको आकास खुलिदियो। तल सुसाएको दूधकोसी सेतै पटुकीको धर्सोजस्तै देखियो। आकासमा ट्विनअटरले अवतरण थाल्यो। केही बेरमा त्यो हाम्रो आँखै अगाडिबाट दूधकोसी माथि पुग्यो र बायाँपट्टी थोरै समथर भूभाग भएको चौरीखर्कमाथि पुग्यो।
लुक्लाको धानवमार्गमा त्यो अवतरण भएको चाहिँ देख्न सकिएन। फाप्लुको बाटो नआएको भए हामी त्यसैगरी लुक्लामा ओर्लिने थियौं र हाम्रो बाटो चार दिनले छोटिने थियो। तर, कुनै खेद भएन, सडकले जोडिनुअघिको सोलु र खुम्बु क्षेत्रमा पैदले हिँड्न पाउने सौभाग्य प्राप्त भएकोमा।
कोङ्दे रि, खुम्बिला र थामसेर्कु
छेउबासको छेउतिर पुग्दा हरिया पहाडपछाडि क्षितिजमा आकास छिचोल्न खोज्ने हिमचुलीका लस्कर देखिए- दायाँ कोङ्दे रि, सिधा अगाडि खुम्बिला र बायाँतिर थामसेर्कुका चुचुरा। सबै छ हजार मिटर आसपास उचाइका। कुनै बाक्लो हिउँले सेता त कुनै पातला हिउँले सेता, काला रङका कोलाजजस्ता। हिउँ नपरेका शिखरका चट्टान चाहिँ काला।
'अझै पर देखिएको सेतो चुचुरो चाहिँ कुन हिमाल होला?' मेरो जिज्ञासालाई छेउबास ओरालोको निलो छानो भएको लजकी शेर्पा दिदीले शान्त पारिदिइन्, 'त्यो परको चोयु हिमाल हो।'
आहा कति सुन्दर! चोयु अर्थात् महालंगुर हिमश्रृंखलाको पश्चिमतिरको आठ हजार मिटरभन्दा अग्लो (८,१८८ मि) हिमाल। खुम्बुवासी र तिब्बतीले देवी मान्ने गरेको पर्वत जसको आरोहण तिब्बती मोहडाबाट हुने गरेको छ।
छेउबासको ओरालो झर्दा खुम्बुको मुटुमै तर ठीक पछाडिपट्टि हिउँविहीन कालो चट्टानी पर्वत खुम्बिला झनै प्रस्ट देखियो- आदिमकालदेखि खुम्बुलाई आफ्नो ओत र सुरक्षा दिएर विशाल पर्खालझैं पछाडितिर उभिएको खुम्बिला।
खुम्बिला पर्वतलाई शेर्पाहरूले पवित्र मानेर पुज्ने गरेका रहेछन् र त्यो चढ्न पनि निषेध गरिएको रहेछ।
तर सर्वोच्च शिखर सगरमाथा खोइ?
मजस्ता धेरै नेपालीले निकै गर्वका साथ उच्चारण गर्ने गरेको सगरमाथा वा चोमोलोङ्माको दर्शन त अझै पाइएन। उनको दर्शन पाउन हामीले अझै कयौँ उकालीओराली गर्नुपर्ने भयो। सोलुबाट हिँड्न थालेको तीन दिनपछि, सुन्दर वनपाखा, गाउँबस्ती हेर्दाहेर्दै अब हामी खुम्बुको मध्यभागतर्फ लाग्दै थियौं। आठ हजार मिटरभन्दा माथिका सर्वोच्च शिखर नजिकै पुग्ने उद्देश्य लिएर।
हिमालयको समीप पुग्दै गर्दा मैले केही बेर हिमालयको उत्पत्तिसँग सम्बन्धित भौगर्भिक इतिहास स्मरण गरेँ। जसअनुसार समुद्रमा तैरिइरहेको भारतीय भौगर्भिक प्लेट करिब पाँच करोड वर्षअघिदेखि युरेसियाली (तिब्बती) प्लेटसँग ठक्कर खाएपछि हिमालय क्षेत्रको उत्पत्ति हुन थालेको वैज्ञानिकहरू बताउँछन्।
अहिले पनि वार्षिक केही सेन्टिमिटरका दरले त्यसरी भारतीय प्लेट तिब्बती प्लेटभित्र घुस्ने क्रम जारी रहेको र त्यसै कारण हिमालय क्षेत्रमुनि भौगर्भिक हलचल तथा भूकम्पीय गतिविधिहरू भइरहने उनीहरू बताउँछन्।
पासाङ ल्हामुको माइतीघर
छेउबासबाट खुम्बु क्षेत्रको प्राकृतिक धरोहर खुम्बिला पर्वत हेर्दै ठाडो ओरालो झर्दा तल दूधकोसीमा मिसिन हतारिएर पहाडबाट झरिरहेझैं लाग्ने सुर्के खोला देखियो। खोलामा नयाँ पुल बन्दै रहेछ। काठेपुलबाट सुर्केखोला तरेपछि सुरू भयो सानो सुर्के गाउँ।
अलि पर नदी बगर छेउको खेतको बीचमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पा जन्मेको सानो घर रहेछ।
पासाङ ल्हामुले सन् १९९३ अप्रिलमा सगरमाथा आरोहण गरेकी थिइन्। शिखरबाट अवरोहण क्रममा हिउँआँधीमा परेर बिरामी भएपछि उनको ज्यान गएको विकिपिडियामा उल्लेख छ।
स्वर्गीय पासाङ ल्हामुको माइतीघर सुर्के नदी बगेर मिसिने दूधकोशी बगरनजिकै छ भन्दा हुन्छ। त्यो घरनजिकै पुगेर हामी टक्क अडियौं। म केही बेर सोचमग्न भएँ- यही पुरानो घरमा कुनै दिन नेपालकी एक राष्ट्रिय विभूति जन्मिएकी थिइन्।
सायद त्यो आँगनी, खेतबारी र अलिपरको सुर्के नदी किनारमा कुनै दिन पासाङ ल्हामु उफ्रिँदै खेल्थिन् र रमाउँथिन् होला। तर, ३२ वर्षको उमेरमा सगरमाथा शिखरबाट फर्किने क्रममा उनले ज्यान गुमाइन्। अहिले उनी इतिहास भएकी छन्। नेपाली महिलालाई नयाँ उचाइमा पुर्याएर, नयाँ कीर्ति राख्न सफल भएर उनी अमर भएकी छन्।
उनले टेकेको सगरमाथाको चुचुरो सुर्केको खोँचबाट देखिने कुरै भएन। हामी अझै धेरै हिँड्नैपर्ने भयो।
'गोइङ टु द माउन्टेन्स् इज् लाइक् गोइङ् होम् (पर्वततिर जानु भनेको घर फर्किएजस्तै हो)' एक पश्चिमा विद्वान जन मिरको यो प्रसिद्ध भनाइले जल, जंगल, प्राणरक्षक जडिबुटी तथा दुर्लभ वन्यजन्तुले भरिपूर्ण पर्वतहरू मानव जीवनको आधार भएको र त्यहाँ पुग्दा मानिसको चित्त प्रसन्न हुने गरेको तथ्य उजागर गर्छ।
दूधकोसी किनारै किनार, स्वच्छ हावामा सास फेर्दै, प्रदूषण र कोलाहलरहित प्राकृतिक छटा बीचैबीच हामीले खुम्बुतिर पाइला सार्दै अघि बढ्दै गर्दा हाम्रो मनमा पनि अद्भूत खुसी छाइरहेको थियो। निश्चय पनि हामी आफ्नै घर फर्किइरहेका थियौं। हाम्रो जन्मभूमि नेपालको परिचयसँग गाँसिएको हिमाली क्षेत्रको समीप पुगिरहेका थियौं।
पासाङ ल्हामुको माइतीघर नजिकै रोकिएर अघि बढेपछि सुरू भयो फेरि अर्को आरोह- चौंरीखर्क-लुक्लाको उकालो।
सोलुबाट हामीले सुस्त गतिको पदयात्रा थालेको पाँचौं दिन हामी खुम्बुको मध्यभागतर्फ अघि बढ्दै थियौं। हाम्रो दायाँतिर विपरित दिशातर्फ सेता छालयुक्त दूधकोसी बगिरहेको थियो, हामीलाई आफ्नो निरन्तर साथ दिँदै।
हामी उत्तरतिर पाइला सार्दै थियौं, दूधकोसी भने तीव्र गतिमा दक्षिणतिर सदाझैं सप्तकोसीमा समाहित हुन हातारिँदै थिइन्।
सुर्केदेखि करिब एक घन्टाको तेर्सोतेर्सो तर अलि उकालो काटेपछि हामी निकै अग्लो उचाइमा झुन्ड्याइएको झोलुंगे पुल माथि पुग्यौं। तल निकै गहिराइबाट नदी बगिरहेको थियो, जुन दूधकोसीमै झर्दै थियो।
खोला झरिरहेको खोँचको भित्तामा रङरङका वनस्पति र चट्टानीभित्तामा रङगीचंगी कोलाज देखिए, मानौं त्यो खोँचको भित्ता कुनै विशाल क्यानभास हो, जसमा अमूर्त तर सुन्दर आकृति कुँदिएका छन्। पुलको बीचबाट तल हेर्दा कहाली लाग्यो, तै पनि म ती आकृति हेर्दै एकटक उभिएँ।
चित्ताकर्षक चौंरीखर्क
अलि माथि पुगेपछि सुन्दर अक्षरमा 'ओम मणि पद्मे हुँम' लेखिएका ठूल्ठूला मानेहरूले हाम्रो स्वागत गरे। त्यसलाई घुमाउँदै अघि बढ्दै गर्दा अझै सुन्दर गुम्बा र सफासुग्घर घरहरू भेटिए। घमाइलो दिन, सुन्दर चौंरीखर्कमा केही बेर विश्राम गरेपछि खुम्बुले आफ्ना विविध रङ तथा रूप देखाउन थाल्यो।
प्राय: हरेक मोडमा चट्टानमा तिब्बती लिपिमा बौद्ध मन्त्रहरू कुँदिएका। प्रत्येक बस्तीको प्रवेशद्वारमा रातो रङ पोतिएका काठका घुमाउने माने अनि तिनमा स्वर्ण अक्षरका पवित्र मन्त्र। तिब्बती शैलीका परम्परागत भेषभूषा र अलंकारमा सजिएका पाका शेर्पा बा तथा आमाहरू। तिनका हातमा मन्त्र अंकित धातुका घुमाउने माने।
त्यसको ठीकविपरीत आधूनिक भेषभूषामा सजिएका युवायुवती तथा केटाकेटी। तिनका हातहातमा मोबाइल फोन अनि तिनमा युट्युब, फेसबुक वा टिकटक भिडिओका कल्याङकुलुङ आवाज।
आहा चौरीखर्क! न कुनै बिजुलीको खम्बा न त कुनै तारको गुजुल्टो; न फोहरमैला न त कुनै कसिङर। मनमा लाग्यो- 'के यो ठाउँ साच्चै नेपालभित्रकै कुनै गाउँ हो र?'
यथार्थ त्यही थियो, त्यो लुक्ला पश्चिमको चौंरीखर्क नेपालकै कुनै दुर्गम तर पर्यटनले एक तहको समृद्धि ल्याइदिएको गाउँ थियो।
चौंरीखर्क उत्तरको पदमार्ग निकै सहज थियो। अगाडि त्यस्तै सुन्दर शेर्पा गाउँ बस्ती भेटिए एकपछि अर्को। दगुर्नु पर्नेजस्तो बाटोमा पनि हाम्रा पाइला सुस्त रहे। ढुंगा छापिएको पदमार्गछेउ एउटा चट्टामाथि नाङ्लामा ठूला सेता सिमी सुकाइएको रहेछ। हामीले सोलुदेखि उँभोका घरबारीमा अग्ला थाङ्ग्रामा लटरम्म सिमी फलेको देखेका थियौं। यो सेतो सिमी त्यही रहेछ।
एउटा सेतो सुन्दर घरबाहिर एक शेर्पा आमा भर्खरै टिपेर ल्याएको सिमी नाङ्लामा राखेर छोडाउँदै थिइन्। मलाई साँझ होटलमा पुगेर त्यही सिमी चाख्न लोभ लाग्यो। ती आमाले दुई सय रूपैयाँमा आधा किलोजति दिइन्। फाक्दिङ जाने बाटोमा थुप्रै सफा र ठूला होटल तथा रेस्टुरेन्टहरू रहेछन् तर सबै सुनसान। अधिकांशका ढोकामा ठूला ताल्चा झुन्डिएका।
'फाक्दिङ अब कति टाढा छ?'
'अब एक घन्टा लाग्छ कि।'
बाटोमा भेटिएका स्थानीयले हामीलाई त्यस्तो जवाफ दिन थालेको पनि एक घन्टाजति हुन थालिसकेको थियो। तर, फाक्दिङ अझै आएन। अलि पर अर्की स्थानीय आमा कलिलो कर्कलो टिप्दै थिइन्। मलाई त्यसमा सिमी मिसाएको पिरो तरकारी खान मन लाग्यो। बारीमै बटुवा ग्राहक आइपुगेपछि उनी खुसी भइन्।
केही बेर अघि बढेपछि दूधकोसीमा मिसिने ठाडोकोसी नामधारी अर्को खोलो भेटियो। त्यसमाथिको झोलुंगे पुल तर्दै अझै अघि बढेपछि दूधकोसीकै किनारमा बल्ल भेटियो फाक्दिङ गाउँ। दूधकोसीमाथिको झोलुंगेपुलमाथि स्कुलबाट घर फर्किंदै गरेका केटाकेटी देखिए। फाक्दिङमा कयौं ठूला र साना होटल रहेछन् तर सबै सुनसान। शेर्पा गाइड लज नाम गरेको होटल नयाँ, सफा र सुन्दर रहेछ। हामीले ढोका ढक्ढक्यायौं।
'दिदी यहाँ बस्न मिल्छ।'
'मिल्छ नि आउनुस् न भित्र।'
मुस्कानसहित पासाङ याङ्जी शेर्पा दिदीले स्वागत गरेपछि हामी खुसी भयौं। उनका श्रीमान सगरमाथा आरोही आङदावा शेर्पा कामविशेषले काठमाडौं गएका रहेछन्। घरमा केटाकेटी खेल्न र पढ्न व्यस्त थिए। कोरोना कहर सुरू भएपछि काठमाडौंमै स्कुल पढ्ने छोरीहरू पनि फाक्दिङ फर्किएका रहेछन्।
ठूली अनलाइन कक्षामा र सानी गाउँकै विद्यालयमा पढ्न थालेका रहेछन्। गृहकार्य गर्न बसेकी सानी छोरीले आफूलाई काठमाडौंभन्दा फाक्दिङ नै धेरै रमाइलो लाग्ने र यतै बसेर पढ्न पाए हुने आफ्नी भित्री इच्छा सुनाइन्।
आमा पासाङ याङ्जी शेर्पाको चिन्ता भने अर्कै रहेछ- 'यहाँको गाउँको स्कुलमा पढ्दा इङ्लिस (अंग्रेजी) राम्रो नहुने रहेछ। कोरोनाको डर कम भएपछि नानीहरूलाई पढ्न काठमाडौंमै लैजानुपर्ला।'
त्यस्तै दृश्य बुप्सामा पनि देखिएको थियो। कोरोना त्रासपछि काठमाडौं छाडेर गाउँ फर्किएका केटाकेटी अनलाइन पढाइ र फुर्सदमा आफन्त र साथीसंगीसँग खेल्न र रमाउन व्यस्त रहेका दृश्य।
फाक्दिङका दिदीबहिनीहरू
भित्र चुलोमा रमाइलो भइरहेको रहेछ। आफ्नी एक संगिनी निमा ल्हामु शेर्पा लामो समयपछि काठमाडौंबाट खुम्बु आएकीले फुरुंग पासाङ याङ्जी दिदीले मोमो पनि बनाएकी रहिछन्। हामीले त्यही खाजा खायौं। पछि फेरि सिमी र कर्कलोको तरकारी बनाएर सबैले बाँडेर खानासँगै खायौं।
कोरोना कहर जारी रहे पनि सुनसान वसन्त र गृष्म यामपछि काठमाडौंबाट विमानमा नेपाली तथा केही विदेशी पर्यटक तथा आरोही खुम्बु आउन थालेकाले पासाङ याङ्जी प्रसन्न थिइन्। कोभिड फैलिन नदिन सावधानी अपनाएर सेवा दिन उनी तयार थिइन्। भन्दै थिइन्, 'भोलि काठमाडौंबाट २७ जना लुक्ला आएर यहाँ लन्च गर्ने रे। हामीले खाना बनाउनुपर्छ।'
त्यो साँझ हामी सबै निकै रमायौं।
राति सुतेको बेला म अचानक थोरै आत्तिएँ। दूधकोसी सुसाएको कोठाभित्रै सुनिन्थ्यो। त्यो नदी होटलको कोठाबाट १०० मिटरभन्दा कम टाढा थियो। हो फाक्दिङ गाउँ दूधकोसीको बगरमा बसेको छ। सन् १९८५ अगस्ट महिनामा खुम्बुदेखि माथिल्लो भेगमा बनेका कयौं नयाँ हिमतालमध्येको एक डिगच्छोमाथि हिउँपहिरो गयो र त्यसपछि हिमताल विस्फोट भएर अचानक ठूलो बाढी आयो र त्यसले तलको नदी बगर क्षेत्रमा धेरै क्षति गर्यो।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिउँ पग्लिन क्रम तीव्र भएको छ। खुम्बु माथिका हिमाली क्षेत्रमा इम्जा र डिग च्छोजस्ता हिमताल बनेका छन्। सन् १९६० तिर ती अस्तित्वमै थिएनन् वा निकै साना आकारका थिए। तर, तिनको आकार बढेसँगै विस्फोट र तल्लो तटमा अचानक भीषण बाढीको जोखिम बढेको छ।
चार वर्षअघि नेपाली सेनाको अगुवाइमा पानी बढेर विस्फोटको जोखिममा पुगेको इम्जा हिमतालको पानीको सतह तीन मिटरभन्दा बढीले घटाउने काम गरिएको थियो।
तर पनि नदी बगरमै रहेका खुम्बुका फाक्दिङ, मोन्जो र दिङ्बोचेजस्ता गाउँमा पुग्दा मन कताकता डाराउने गर्छ। मन डराए पनि शरीर निकै थाकेकाले अघिल्ला रातमा जस्तै मस्त निदाइयो। भोलिपल्ट शेर्पा गाइड लजमा पासाङ याङ्जी दिदीलाई सघाउन छिमेकी इन्द्रमाया मगर आएकी रहिछन्। मलाई देख्नेबित्तिकै प्याच्च भनिहालिन्, 'कहाँबाट आयो यो ठूटे पङ्क्स्?'
चिन्नु न जान्नु…
म त अक्क न बक्क भएँ।
शेर्पा पोसाकमा सजिएकी ठट्यौली इन्द्रमाया मगर दिदीले मेरो घुँडा मात्र छोप्ने छोटो ट्राउजर देखेर मलाई त्यसो भनेकी रहिछन्।
उनको छोराको नाम माइकल रहेछ। त्यसैले खुम्बुवासीले उनलाई 'माइकल आमा' भनेर चिन्दा रहेछन्। उनी काठमाडौंबाट आउन लागेका पाहुनाको ठूलो जत्थालाई खाना बनाउन पासाङ याङ्जी दिदीलाई सघाउन आएकी रहिछन्।
'माइकल आमा' को ठट्टामा रमाउँदै चिया नास्तापछि हामीले नाम्चेतर्फ पदयात्रा थाल्यौं। त्यहाँ निकिताकी कलेज पढ्दाकी सहपाठी लाक्पाडिकी शेर्पाले आफ्नो परिवारले चलाएको गेस्ट हाउसमै बस्न आउन आमन्त्रण गरेकी थिइन्।
त्यो घमाइलो बिहानीमा हामीलाई काठमाडौंबाट वर्षौंपछि नाम्चे फर्किन लागेकी निमाल्हामु दिदीको साथ दिइन्। फाक्दिङबाट टोकटोक हुँदै जोरसल्लेतिर लाग्यौं, दूधकोसीमाथि बनाइएका झोलुंगे पुल पटकपटक तर्दै। कहिले हामी दूधकोसीदेखि दायाँ पुग्थ्यौं त कहिले बायाँ। जोरसल्लेमा सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि परम्परागत शेर्पा शैलीमै बनाइएको रहेछ।
पवित्र बेयुल उपत्यका प्रवेश
निकै आकर्षक र सुन्दर, मानौं हामी कुनै पवित्र गुम्बा वा मन्दिर प्रवेश गर्दैछौं। द्वारमा घुमाउने मानेका लस्कर र एउटा तामाको बोर्डमा लेखिएको थियो- 'बेयुलमा स्वागत छ। बेयुल अर्थात् पहाडभित्र लुकेको पवित्र उपत्यका जहाँ अत्यधिक मदिरा पान, आशक्ति रिसराग र हिंसा (जस्ता पाप कर्म) निषेध छ।'
जोरसल्लेको निकुञ्जद्वार प्रवेश गरेसँगै हामी युनेस्को विश्व सम्पदामा अंकित सगरमाथा राष्ट्रिय निकुञ्जमा औपचारिक रूपमा प्रविष्ट भयौं।
पारी पहाडबाट झरेको सेतो, लामो झरना हेर्दै अर्को झोलुंगे पुलतर्फ लाग्दा दुई नेपाली पदयात्री भेटिए- विष्णु पराजुली र कृष्णराज पौडेल जो लुम्बिनी प्रदेशदेखि दुई विमान चढेर कोरोना कहरकै बीच सगरमाथा हेर्न आएका रहेछन्। उनीहरू केही महिनाअघिसम्म बिबिसी नेपालीमा प्रसार हुने गरेको मेरो आवाजसँग परिचित रहेछन्। आपसमा हार्दिकता साट्दै दूधकोसी किनारैकिनार अघि बढ्दा हामीले थुप्रै सेल्फी खिच्यौं।
पौडेल नदीजन्य पदार्थ आपूर्ति गर्दा रहेछन्। पराजुली चाहिँ धेरै वर्षदेखि यूएईको दुबईमा कार्यरत रहेछन् तर कोरोना भाइरसको महामारी सुरू भएपछि नेपाल आएर यतै अड्किएर आफ्नै जन्मभूमिमा रत्तिन थालेका रहेछन्। नाम्चेको उकालोअघि हामी दूधकोसी समथर बगरबाट नदी किनारमै हिँडिरहेका थियौं। दायाँतिर निकै माथि रहेको कोङ्दे हिमाल र बायाँपट्टि त्यति नै माथिको थामसेर्कु दृश्यभन्दा बाहिर थिए।
त्यहीँ पश्चिमोत्तरमा पर्ने थामे गाउँतिरबाट हुत्तिँदै आएकी भोटेकोसी र सिधाउत्तर पर्ने खुम्बिला पछाडितिरबाट उलिँदै झरेकी दूधकोसीको संगम भयो। अलिपर दूधकोसी बगेको गहिरो खोँचदेखि सयौं मिटर माथि दुई झोलुंगे पुल देखिए- एउटा तल अर्को माथि तह तह परेका।
पानीदेखि लगभग पचास मिटर माथि झुन्ड्याइएको तल्लो पुल जीर्ण भएपछि अझै लगभग पचास मिटर माथि अर्को नयाँ पुल बनाइएको रहेछ। लुम्बिनीका यात्रीद्वय तस्बिर खिच्न व्यस्त भए। म भने अघि लागेका निमाल्हामु दिदी र निकितालाई भेट्टाउने ध्यानमा थिएँ, तर उनीहरू अगाडि कहाँ पुगे देख्न सकिनँ।
केही बेर सिँढी चढेपछि म आफैं त्यो माथिल्लो झोलुंगे पुलमाथि पुगेँ। मलाई नै उडाइदेला जसरी जोडजोडले बतास चलिरहेको थियो। तलतिर हेर्दा कहाली लाग्यो। हतारहतार वरिपरिका तस्बिर कैद गरेँ। लुम्बिनीतिरका दुई मित्रलाई पुलमै छाडेर अघि बढेँ र नागबेली उकालो चढ्न थालेँ।
स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै र खलखल पसिना बगाउँदै।
निकै बेर हिँड्दा पनि अघि लागेका दुई जनालाई भेट्टाउन सकिनँ। तै पनि सकसपूर्ण उकाली आरोहण जारी रह्यो, थोरै माथि उक्लिएपछि रोकिँदै, विश्राम गर्दै तल बगिरहेको भोटेकोसी हेर्दै र फेरि अघि बढ्दै। त्यो पार गर्न कम्तीमा तीन घन्टा लाग्छ भन्दै थिइन् निमाल्हामु दिदी।
पर्वतको आकर्षण
एक्लै त्यो उकालो चढ्दा सोचमग्न भएँ। हिमाली क्षेत्रको यात्रा कठिन हुन्छ। उकालीओराली गर्दा पसिनाको खोला नै बग्छ। तै पनि केले आखिर केले तानिइरहन्छ मानिसहरूलाई हिमाल वा पर्वतका काख, कोख अनि चुलीतर्फ? किन मानिसहरू शिखर पुग्न तड्पिइरहन्छन् वा शिखरको नजिक पुग्न हजारौं हजार माइलको यात्रा गर्न पनि पछि पर्दैनन्?
आखिर किन? सगरमाथामा त्यस्तो के छ? हिमालय क्षेत्रमा त्यस्तो के छ? संसारैभर पर्वतले मानिसहरूलाई किन आफूतर्फ खिचिइरहन्छन् र मानिसहरू आफ्नो ज्यान नै जोखिममा पारेर अनेक अनेक उपकरण वस्त्र तथा औजारको सहारा लिएर शिखर पुगिइछाड्छन्?
मानिसलाई आखिर केले आकर्षित गरिरहन्छ हिमाल चुचुरातर्फ? आखिर किन लागिरहन्छ हिमाली क्षेत्रमा आरोही वा पदयात्रीको घुइँचो? नेपालमा अवस्थित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये आठ वटा (कञ्चनजंघा, मकालु, ल्होत्से, सगरमाथा, चोयु, मकालु, अन्नपूर्ण र धौलागिरि प्रथम जस्ता) उच्च शिखरको आकर्षण अतुलनीय हुने नै भयो।
तर, अन्य महादेशका अन्य पर्वतको आकर्षण पनि कम छैन।
हिमालय क्षेत्रमै केन्द्रित रहँदा चाहे त्यो तिब्बती उच्चसमस्थलीमा अवस्थित कैलाश पर्वत होस् वा पाकिस्तानी कश्मीरको काराकोरममा अवस्थित दोस्रो सर्वोच्च शिखर के-टु (काराकोरम-टु) वा अन्य हिमचुचुरा नै किन नहुन्, हिमालले मानवलाई सदियौंदेखि मोहित तुल्याउँदै आएका छन्।
कोरोना भाइरसको कहरबीच पनि गत शरदमा आकास खुलेर निलै देखिएका बेला हिमशिखरहरू फेरि चाँदीझैं टल्किए र तराईको सप्तरीदेखि पहाडी उपत्यका तथा लेक र बेँसीमा बस्ने मानिसहरू हिमालको दुर्लभ दर्शन पाएर मोहित भइरहे। भाइरस फैलिन नदिन लगाइएका बन्दाबन्दीमा घरमै थुनिएका युवायुवती अनेकौं बाधा पन्छाउँदै गाउँ-सहरबाट निस्किए र हिमालनजिकै पुगे।
ठीक त्यसैगरी जसरी हामी फाप्लुबाटै हिँडेर अब नाम्चै पुग्दै थियौं। मनमोहक दृश्य र शान्त, स्वच्छ र संस्कृत वातावरणमा रमाउन।
नाम्चे बजारको न्यानो स्वागत
नाम्चेको उकालो सकिनै लाग्दा निकिता र निमाल्हामु दिदी थकाइ मार्दै रहेछन्। केही बेरमै घुमाउने मानेहरूको लस्करसहित नाम्चेको पवित्र द्वारभित्र प्रवेश गरियो। आँखाअगाडि सानो आकारको बौद्ध चैत्य उभियो। चारै दिशामा आँखाको जोडीले एकटक हेरिरहेको त्यो चैत्यसामु झुक्दै हामी पनि नाम्चेबजारको आँगनमा उभियौं। अन्तत: हामी नाम्चे बजार भनेर चिनिइने लुकेको पवित्र उपत्यका बेयुल प्रविष्ट भयौं।
पछाडि स्याङ्बोचेको पहाडले तीनतिरबाट घेरेको, डोलो परेको सानो उपत्यका र त्यहाँ गरा-गरामा, तह-तहमा भवनहरूका ताँती। घरैपिच्छे रङगीचङ्गी बौद्ध लुङ्ता र छोर्तेन फरफराइरहेका।
लगभग तीन किलोमिटर उकालो चढेर नाम्चे पुग्दा हामीलाई निकै माथि सगरनजिक पुगेको अनुभव भयो। नाम्चेको उचाइ समुद्र सतहबाट ३,४४० मिटर। काठमाडौंमा १,३००-१,४०० मिटर वा शिवपुरी टाकुरामा २,८०० मिटरमा अभ्यस्त हामी निकै माथि आइपुगेछौं। निमाल्हामु दिदी पछि भेट्ने बाचासहित बायाँतिरको उकालोमा रहेको आफ्नो घर लागिन्।
हामी दायाँतिर उक्लियौं लाक्पाडिकीको परिवारको होटलतर्फ। नाम्चेमा पनि न्यानो आतिथ्य दिने आफ्ना मान्छे पाउँदा हामीले आफूलाई निकै भाग्यमानी महसुस गर्यौं। उनीहरूको पुमोरी गेस्ट हाउस पश्चिमी पाखामा अलि माथिपट्टी तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको आरोहण दलका एक मात्र जीवित सदस्या कान्छा शेर्पाको घरको ठीकमुनि रहेछ। आँगनबाट हेर्दा पूर्वपट्टी पूरै नाम्चेबजार र थामसेर्कु र दक्षिणपश्चिमपट्टी कोङ्दे रि देखिने।
निकितालाई व्यग्रतापूर्वक कुरी बसेको लाक्पाडिकीले हामीलाई स्वागत गर्दै चिया दिइन्, थर्मसबाट गुलियो दूध चिया खन्याइरहिन् र 'घरका अन्य सदस्य खोइ' भन्ने जिज्ञासा यसरी शान्त पारिदिइन्, 'आज घरमा खेताला छन्, सबै जना आलु खन्न जानुभएको छ अब आउने बेला भयो।'
रातो थर्मसबाट दूध चिया हाम्रो कपमा खन्याउने क्रम जारी राखेको केही बेरमा झमक्कै साँझ पर्यो। उनका श्रीमान छिरिङतेन्जिङ र उनका बुबा-आमा आउनुभयो। हामीले खुम्बुको अभिवादन सिकिसकेका थियौं- 'नमस्ते। टाशी देले(क)।'
साँझ खाना खानुअघि एकचोटि हिँड्दै नाम्चेको मुख्य बजार हेर्न जाने सल्लाह भयो।
म निकिता र लाक्पाडिकीको पछि लागेँ।
बजारको अलि माथि थोरै घुमाउरो, चौडा, सफा सडक। दुईपट्टि सुकिला पसल, क्याफे, बैंक अनि एटिएम मेसिनहरू। अलि पर सोनम, नर्थ फेसजस्ता पर्वतारोहण पोसाक, जुत्ता आदिका पसलमा भारी छुट दिइएको रहेछ। छुट भएकै कारण एक-एक जोर न्यानो ज्याकेट किन्यौं। अलि पर शेर्पा गियर पसलमा फाक्दिङदेखिकी हाम्री सहयात्री निमाल्हामु दिदी पो भेटिइन्। त्यो पसलमा मैले छिटो सुक्ने हलुका तौलिया किनेँ, किनभने मेरो त्यस्तै तौलिया जुभिङमा छुटेको थियो।
पुमोरी गेस्ट हाउस एवं शेर्पा निवास फर्किएपछि लाक्पाडिकीले सोधिन्, 'आज खेतालाहरूका लागि स्पागेटी पास्ता बनाएको छ, तपाईँहरू चाहिँ के खानुहुने?'
म र श्रीमतीज्यूले मुखामुख गर्यौं, खुम्बुमा युरोपेली खाना बन्न लागेको सुनेर खुसी भयौं।
पिज्जा पास्ता मनपराउने निकिताले भनिहालिन्, 'आहा पास्ता। हामी पनि पास्ता खाने।'
क्रमश:
(यो नियात्राको दोस्रो तथा अन्तिम भाग हामी शुक्रबार प्रकाशन गर्नेछौं।)