काठमाडौंमा पनि दिनानुदिन कोरोनाका सङ्क्रमित बढिरहेका बेला त्रासबाट केही समय भए पनि विश्राम लिऊँ भनेर असोज २६ गते कोटेश्वरबाट भोजपुरको लागि यात्रा तय भयो।
३ बजे कोटेश्वरबाट थालेको बस यात्रा सिन्धुली, खुर्कोट हुँदै धरान भेडेटारको स्वच्छ हावामा रमाउँदै भोजपुर बसपार्क पुग्न सफल भयौं।
हिन्दुहरूको महान चाड बडादसैं सबैको घर घरमा भित्रिन लागेको थियो। घर आँगन, बाटो घाटो सफा गर्ने, घर लिपपोत, रङ्गरोगन गर्न सबै तल्लीन थिए। कोदोबारीमा सयपत्री र मखमली फूलहरू ढकमक्क भएर फुलेका थिए।
फुलेका मखमली र सयपत्रीले कोदोको बालालाई गिज्याइरहेको आभाष हुन्थ्यो। गाउँमा दशैंको रौनक नै छुट्टै थियो।
केटाकेटी रङ्गीचङ्गी कपडामा पुतलीझैं रमाइरहेका देख्दा पनि दशैं सबैका घर घरमा भित्रिसकेको भन्ने भान हुन्थ्यो।
भोजपुरमा शिरको रूपमा ठडिएको ट्याम्के डाँडाको तालुमा हरिण मृगका पाठाहरू लुकामारी गरेका देखिन्थे।
सिद्धाकाली, पखुवादेवी मन्दिरले झनै सौन्दर्यता थपेको छ। निमकुमार, प्रतिक, अनिता, मन्दिप, तेजकुमार, गोमा, दिपक, नविनासहितको हाम्रो टोली दिपेनी डाँडामा रहेको चुलाचुली गुफामा पुग्दा गुफा परिसरमा रामप्रसाद राई, गाउँपालिकाकी उपाध्यक्ष सम्झना राई ‘सन्ध्या’, स्थानीय गुफा संरक्षक अनिल राई, शिखर राई, रविन राई, प्रशान्त राई, सुनिल राई लगायतले गुफा घुम्न आउने आन्तरिक पर्यटकलाई गुफाका बारेमा जानकारी तथा स्वागत बिदाई गर्नमा व्यस्त देखिन्थे।
चुलाचुली गुफा वास्तवमै एकचोटि पुग्नै पर्ने ठाउँ रहेछ दिपेनीमा रहेको चुलाचुली गुफा यतिबेला पर्यटकीय स्थलको रूपमा चिनिएको छ।
विभिन्न आकृतिमा कुँदिएका बुट्टादार ढुङ्गाहरूको अवलोकन गर्न हामी टर्च बाल्दै गुफाभित्र छिर्यौँ।
बाघ, हात्ती, साँढे गोरु, सर्प, माकुराका प्रतिबिम्ब गुफाका ढुंगामा देखिन्छन्। चमेराको एक झुण्ड गुफामा रहेका ढुङ्गामा झुण्डिरहेका थिए। गुफा वरिपरि देवी देवताको आकृति कुदिएको गुफा लामो र फराकिलो छ।
हामी गुफाभित्र छिर्ने क्रममा गुफा बाहिर रहेको एक सिन्दुरे ढुङ्गाबाट सिन्दुरको वर्षा भएको थियो। गुफा बाहिर रहेको महादेवको मन्दिर छेउमै रहेको ठूलो ढुङ्गा सिन्दुरले रङ्गिएको देख्न सकिन्छ। जुन ढुङ्गामा रहेको सिन्दुर जति नै ठूलो वर्षात भए पनि नपखालिने तर औंलाले छुँदा औंलामा लाग्ने रहेछ।
गुफा प्रवेशद्वारको दायाँपट्टि ठूलो ढुङ्गामाथि साढेगोरु बसे जस्तो आकारमा ढुङ्गा छ। जुन ढुङ्गालाई बजाउँदा मादलको जस्तो आवाज सुन्न सकिन्छ। भगवान शिव ट्याम्केडाँडा, गोल्मेभिरमा ओहोरदोहोर गर्दा, हलेसी जाने क्रममा यही चुलाचुली गुफामा आराम गर्ने तथा तपस्या गर्ने गरेको किम्वदन्ती पाइन्छ।
अत्यन्तै मनमोहक रहेको गुफा परिसर वरिपरि जंगलले ढाकिएको छ भने बीचमा किराँतहरुको बस्ती छ।
चैत वैशाखमा गुफा वरिपरि गुराँस फुलेर ढकमक्क हुँदा गुफाको सौन्दर्य नै बेहुली सिङ्गारिएझैं हुने रहेछ।
झुल्किँदो घामको किरणसँगै अस्ताउँदो सूर्य र चन्द्रमा ट्याम्केको तालुमा बिलाउँदाको दृष्यका साथ गुफाबाट उत्तरी भेगतिर हेर्ने हो भने बिहानी सूर्यको किरणले टलक्क टल्काएको सेता दाँतका पङ्तिझैँ हिमालका लहरहरूले मोहित तुल्याउँछ। यही दृश्य हेर्न तथा गुफाभित्र छिरेर शिवजीको दर्शन गर्न आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ। यही मनोरम दृष्यका साथ दशैं गुफामा रमाउँदै बित्यो।