सफा आकाश, उदाउँदै गरेको सूर्यका किरण, खाली आँखाले हेर्नै नसकिने गरी चारैतिर टल्केका हिमाल अनि हिमाल पग्लेर बनेको हिमतालमा त्यही हिमालको प्रतिबिम्बित दृश्य।
त्यति मनमोहक दृश्य एकै साथ देख्ने अवसर मलाई गतवर्ष अर्थात् २०७६ असोज १४ गते जुर्यो।
काठमाडौंबाट एक दिनको बस यात्रा तथा तीन दिनको पदयात्रापछि दोलखाको उत्तरी क्षेत्रमा रहेको रोल्वालिङ उपत्यकामा अवस्थित नेपालको सबभन्दा ठूलो हिमताल अर्थात् च्छोरोल्पाको अगाडि उभिँदाको दृश्य थियो त्यो।
यो वर्ष कोभिड-१९ ले गर्दा नराम्रोसँग ग्रसित बनेको छ पर्यटन क्षेत्र। साउन १५ बाट खुलाइएको भए पनि फेरि अवस्था प्रतिकूल बनेसँगै पर्यटन र पदयात्राका गतिविधि अवस्था सहज नबनुन्जेल स्थगित जस्तै भएका छन्।
पदयात्राका लागि मुख्य सिजन सुरू हुनै लागेको छ नेपालमा तर यो कोभिड महामारीले गर्दा हामी सबैका यो वर्षका घुम्न निस्किने योजना अलपत्र अर्थात् अनिश्चित जस्तै बनेका छन्।
आशा गरौं यो महामारी छिट्टै अन्त्य हुनेछ र हामी फेरि स्वतन्त्र भएर घुम्न निस्कने छौं। प्रकृतिले नेपाललाई ठूलो वरदान दिएको छ; अनगिन्ति जस्तै सुन्दर गन्तव्य छन्, जता गएपनि भयो।
तिनै सुन्दर गन्तव्यहरूमध्ये गतवर्ष तय गरेको त्यो सुन्दर रोल्वालिङ उपत्यका र च्छो-रोल्पाको यात्राले अझै पनि मलाइ रोमाञ्चित बनाउँछ।
दसैं बिदामा च्छो-रोल्पा घुम्न निस्कने योजना बनेसँगै सहपाठी मित्र निपेश श्रेष्ठ र मैले जाने अघिल्लो दिन नै पुरानो बसपार्कबाट गोंगर-खोलाको लागि टिकट लियौं र भोलिपल्ट अर्थात् असोज ११ गते बिहान ५ बजे नै बसपार्कबाट हाम्रो यात्रा सुरू भयो।
धेरैजसो आन्तरिक तथा बाह्य पर्यटक र केही दसैंमा घर जाने यात्रुले बस भरिएको थियो। पहिलो बसमा गए छिट्टै गोंगर-खोला पुग्न पाए २ घण्टाको यात्रा गरेर पहिलो दिन नै सिमिगाउँ पुगेर बस्ने हाम्रो सोच थियो।
अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचौर, मुडे हुँदै दोलखा सदारमुकामसम्म स्तरोन्नति हुँदै गरेको सडकमा सुस्त गुडेको बस चरिकोट पुग्दै चार बजायो।
तर चरिकोटबाट भने बसले गति लियो। पक्की चिल्लो बाटो भएर। कालीञ्चोक गाउँपालिकाको शुन्द्रावती, सुनखानीका हरिया धान लहलह भएका खेतहरू हेर्दै जाँदा समय बितेको पत्तै भएन। साँझ छ बजे सिंगटी बजार पुगेको बसले थप एक घण्टाको यात्रापछि गन्तव्य गोंगर खोला पुगियो। त्यहीँको रिभर साइड होटल एण्ड लजमा बास बस्यौं।
दोस्रो दिन बिहान गोंगरबाट तामाकोशी खोला तिरैतिर आधा घण्टा अप्पर तामाकोशी जाने बाटो पछ्याउँदै गएपछि छेतछेत बजार (१४१० मि .) पुगिन्छ। त्यहीँबाट सुरू हुन्छ च्छो-रोल्पा (४५८० मि.)पुग्न को लागि ४० कि.मि. को पदयात्रा।
छेतछेतदेखि नै सुन्दर झरनाहरूले स्वागत गर्न थाल्छन्। च्छो-रोल्पासम्म पुग्दा साना तथा ठूला अनगिन्ती झरनाहरूको दर्शन पाइने रहेछ जुन कुराको हामीलाई पहिले अनुमान थिएन। त्यसैले पहिलो झरनामा केहीबेर अल्मलिनु त स्वभाविक नै हुने भयो।
छेतछेतबाट झोलुंगे पुल तरेर तामाकोशी पारि पुगेपछि गौरीशंकर संरक्षण क्षेत्र (NTNC/GCAP) सुरू हुन्छ।
दुई घण्टाको ठाडो खुड्किलाको उकालो चडेपछि पुगिन्छ सुन्दर सिमिगाउँ (२००० मि.)।
लोकल च्याउ र चौंरीको घिउसँगको खाना जति मिठो थियो त्योभन्दा मिठो थियो सिमिगाउँको आतिथ्यता।
सिमिगाउँको खाना र केहीबेरको आरामपछि हामी बाटो तताउँछौं।
अब मोबाइलको नेटवर्कको कतैकतै मात्र दर्शन मिल्छ त्यो पनि एनटिसीको मात्रै। एन्सेलले त हिजै सिंगटीबाट नै साथ छोडिसकेको थियो।
उत्तिसे (२०६५ मि.) नजिकैको क्यान्टिलिभर ब्रिज पार गरेर उकालो जंगलको बाटो तर संकेत, साइनबोर्ड र ठाउँ-ठाउँमा फोहोर फाल्ने डस्टबिन सहितको व्यवस्थित पदमार्ग हिँड्दै दिउँसोको खाजाको लागि सुर्मुचे (२४८० मि.) पुगियो।
सुर्मुचेबाट क्याल्जे (२७४० मि.) हुँदै हाम्रो दोस्रो दिनको गन्तव्य दोग्यांग (२७८० मि.) पुग्दा साँझको सात नै बज्यो।
दोग्यांग रोल्वालिङ खोलाको किनारमा अवस्थित बजार रहेछ। थाकेको शरीर र खोलाको आवाजले निकालेको संगीत, मिठो निन्द्रालाई निम्तो दिइहाल्यो।
दोग्यांगमा बिहानको खाजापछि हामीले त्यहाँबाट बिदा माग्यौं।
कतै साना काठका आकर्षक पुल, कतै झोलुंगे तथा कतै पक्की फमालका पुलहरू तर्दै मनै लोभ्याउने खोला, हिमालबाट खोलामा मिसिन हाम फाल्दै गरेका सुन्दर झरनाका दृश्य हेर्दै बिहानको खाना खान ३३०० मि. उचाइमा रहेको ठानग्दिंग पुगियो।
हामी खान खान व्यस्त भयौं, हाम्रा क्यामराहरू बादलको टाइम ल्याप्स खिच्न। अब हाम्रो दिउँसोको गन्तव्य हो सुन्दर बेदिंग गाउँ।
प्रकृति र संस्कृतिको संगम हो बेदिंग गाउँ।
हिन्दु धर्मावलम्बीका अराध्यादेव शिव र पार्वतीको प्रतीकको रूपमा रहेको गौरीशंकर हिमाल (७१३४ मि.) को काखमा रहेको छ बेदिंग।
शेर्पा जातिहरूको बसोबास रहेको यहाँ लगभग ८० घर र ४०० जनसंख्या रहेछ भने बेदिंगबाट ८० जनाले सगरमाथाको सफल आरोहण गरिसकेकाले हिमआरोहीहरूको गाउँ भनेर चिनिने रहेछ यो गाउँलाई।
त्यहाँको साइनबोर्डमा मैले साह्रै रोचक कुरा पढ्न पाएँ : शेर्पाली भाषामा ‘बेदिंग’ को अर्थ ‘जाडो’ हुने रहेछ भने ‘नाँ’ को अर्थ ‘ गर्मी’ हुने रहेछ। नाँ ४१८० मिटर मा रहेको अर्को सुन्दर गाउँ हो र आज हामी पुग्नुपर्ने गन्तव्य पनि।
बेदिंगमा घर तथा होटल हुने सबैको घर र होटल नाँ मा पनि रहेछ। पुसदेखि फागुनसम्म नाँ पूरै हिउँले पुरिने भएकोले मानिसहरू बेदिंग झर्ने रहेछन् भने गर्मीयाममा फेरि नाँ उक्लिने।
अर्को रोचक कुरा हो ‘ नो किल जोन’ : यहाँ सामान बोक्न तथा दूधबाट बन्ने परिकारको लागि चौंरी पालिने रहेछ तर कुनै पनि जनावरको हत्या गर्न निषेध।
त्यसैले यहाँ जनावरहरू पनि आफ्नो काल गतिले मात्रै मर्ने रहेछन् भने मृत्युपछि मानिसको जस्तै गरी ‘दाहसंस्कार’ गरिने रहेछ।
अब आजको हाम्रो बास बस्ने गन्तव्य थियो ४१८० मि. मा रहेको ‘नाँ’ अर्थात् गर्मी गाउँ।
दुवै गाउँ रोल्वालिङको किनारमा रहेकोले हामी अब तिरै-तिर हिँड्नुपर्ने हुन्छ। अबको तीन घण्टाको यात्रामा अकल्पनीय प्राकृतिक सुन्दर बगैंचाले सबै थकान मेटाइ रह्यो भने थर्मसमा बोकेको ब्ल्याक कफीले त्यो उचाइको चिसोलाई बिर्साइरह्यो। नाँ मा बास बस्न पुग्दा झमक्कै साँझ पर्यो।
च्छो-रोल्पा पुग्नु अघिको अन्तिम गाउँ हो ‘नाँ गाउँ’।
बिहान ५ बजे नै लाइट क्यामरा र केही खाने कुरा बोकेर हामी हाम्रो मुख्य गन्तव्य अर्थात् च्छो-रोल्पातर्फ लाग्छौं। नाँ बाट एउटा बाटोले एकातिर च्छो-रोल्पा र दुधकुण्डतिर लैजान्छ भने अर्को बाटोले आरोहणका लागि विभिन्न हिमाल भएको ठाउँ।
नाँ बाट करिब दुई घण्टा हिँडेपछि हामीले हाम्रै आँखा अगाडि पायौं च्छो-रोल्पा हिमताल।
उदाउँदै गरेका सूर्यका किरण चारैतिर हिमालमा परेर टल्केको हिउँ र तालमा परावर्तन भएर देखिएका दृश्य हामीले जति क्यामराले कैद गर्यौं त्यो भन्दासयौं गुणा बढी हाम्रो आँखा र मस्तिस्कले।
३.४५ कि.मी. लम्बाई र ०.५ कि.मि. चौडाइमा फैलिएको तालको अधिकतम गहिराइ २७० मिटर रहेछ।
जाडोयाममा पूर्ण रूपमा जम्ने यो तालको माथि सजिलै हिँड्न सकिने रहेछ। व्यवस्थित बनाइएको बाँधबाट निस्केको यो तालको पानी नै रोल्वालिङ खोलाको उद्गम रहेछ।
यहाँबाट थप तीन घण्टा हिँड्यो भने दूधकुण्ड पनि पुग्न सकिने रहेछ साथै तीन दिन थप हिँडेर टासीलाप्चा पास हुँदै नाम्चेसम्म पनि पुग्न सकिने रहेछ।
तालको डिलमा बसेर त्यति सुन्दर ठाउँमा हामीले खाजा खायौं। फर्किन मन नहुँदा नहुँदै समयको पावन्दीले गर्दा करिब साढे-चार घन्टाको बसाइँपछि च्छो-रोल्पासँग बिदा मागियो।
चौरमा चरिरहेका चौंरीसँग सेल्फी खिच्दै हामी बसेको होटेल ‘नाँ भ्यु प्वाइन्ट ’ फर्केर खाना खाएर केही बेरको आरामपछि बेदिंग फर्केर यात्राको चौंथो दिनको बास बेदिंगमै बस्यौं।
पाँचौ दिन बेदिंगदेखि सिमिगाउँसम्म झर्यौं। हामीसँग थप एक दिन भएको भए राष्ट्रिय गौरवको आयोजना अप्पर तामाकोशी हाइड्रोपावर घुमेर फर्किन सक्ने रहेछौं।
तर दसैं नजिकिएको तथा हाम्रो छ दिनको मात्रै योजना भएकाले छैटौं दिन सिमिगाउँबाट छेत-छेत झरेर हामी काठमाडौं फर्कियौं। अझै पनि फर्किएर हेर्दा भन्न मन लाग्छ ‘आहा रोल्वालिङ!’