सामान्यतःअग्लो स्थानबाट तल हेर्दामात्रै पनि जो कोहीलाई डर लाग्छ। त्यै माथि दुवैतिर ठूला ठूला पहाड। बीचमा सुस्केरा मार्दै आफ्नै गतिमा कलकल बगिरहेको भोटेकोशी। १६० मिटर गहिरो खोँच अनि त्यसैमाथि डरै लाग्दो लामो झोलुंगे पुल। पुलबाट हेर्दा तल नदी कहाँनेर बगिरहेको छ भनेर देख्नै गाह्रो। त्यत्रो अग्लो ठाउँबाट डोरीले बाँधिएको मानिस हाम फाल्दा कस्तो अनुभव होला? सोच्दा नै आङसिरिंग हुन्छ।
विश्वकै साहसिक खेल मध्येको एक बन्जी गर्ने रहर जो कोहीलाई पनि हुन्छ। तर यसको लागि मुटु दह्रो बनाएर आँट गर्न सक्नु पर्छ।
केहीवर्ष पहिले दाइहरूले बन्जी गरेको देखेर मलाई पनि यस्तै गर्ने रहर जाग्यो। आफ्नो त्यो रहरलाई पूरा गर्न म निकै प्रतीक्षारत थिएँ।
दिदीहरू (विधाइका र स्वरात्मिका) आफ्नो छुट्टीमा बन्जी गर्न जाने सल्लाह गर्दै हुनुहुन्थ्यो। उहाँहरूसँग जाने भए मलाई पनि लौजाने भन्नुभयो। बल्ल आफ्नो रहरलाई पूरा गर्ने अवसर जुरेको थियो। अन्ततः म पनि दिदीहरूसँगै बन्जी गर्न ‘द लास्ट रिसोर्ट’जाने भएँ।
२०७५ मंसिर २३ गते।
बिहान सबेरै उठेर हामी कोटेश्वरतिर लाग्यौं। रिसोर्टकै गाडीले हामीलाई कुरिरहेको थियो। हामी चढ्नै बित्तिकै गाडी हुइँकिहाल्यो।
नेपालीहरूभन्दा धेरै विदेशी पर्यटकहरू देखिन्थे। तर त्यहाँ रहेका सबैको गन्तव्य एउटै थियो। सबै आ–आफ्नै धूनमा मस्त थिए। म भने आफ्नो रहर पूरा हुनेमा उत्साहित थिएँ।
धुलिखेल, तातोपानी हुँदै करिब एक सय किलोमिटरको दूरी पार गरेर ‘द लास्ट रिसोर्ट’ ले बन्जी सञ्चालन गरेको ठाउँमा पुग्यौं। त्यो थियो सिन्धुपाल्चोक जिल्लामा रहेको पाङलाङ गाउँ।
बन्जी गर्न आएका सबै जना आतुर देखिन्थे। हामी त्यहाँ पुग्दा केहीले बन्जी गरिरहेका थिए। बन्जी गर्नेलाई हौसला दिनको लागि पारिबाट उनीहरूका साथीहरू चिच्याइरहेका थिए। अरूले गरेको हेर्दा म थप उत्साहित र रोमाञ्चित भइरहेको थिएँ।
केही समयपछि हामी पुल तरेर रिसोर्टमा पुग्यौं। रिसोर्टमा हामीलाई हट ड्रिंक्स्, कोल्ड ड्रिंक्स् खान दिइयो। मुटुको धड्कन पनि बढ्दै थियो। सबै बन्जीकै कुरा गर्दै थिए।
हामीसँग गाडीमा आएकामध्ये कतिको दोस्रो, तेस्रो पल्ट थियो। कतिको भने पहिलो। मेरो पनि जिन्दगीको पहिलो बन्जी थियो। त्यसैले मनमा कौतुहलता थियो।
मनभरि अनेकौं प्रश्नहरू भरिएका थिए। के हुने हो ? हाम फाल्न सकिएला कि नसकिएला? डोरी कस्तो होला? मैले नै हामफालेको बेला डोरी चुडियो भने ? यस्ता–यस्तै कुराहरू दिमागमा खेलिरहे।
केही समयपछि ब्रिफिङका लागि बोलाइयो। सबै एकै ठाउँमा भेला भयौं। कोही बन्जी गर्न आएका थिए भने कोही स्वीङ। बन्जी इन्स्ट्रक्टरले खेलको विधि र तरिकाबारे सबै जानकारी गराए।
बन्जीको भिडिओ र फोटोहरू त हेरेको थिएँ तर खेलमा के–के गरिन्छ, थाहा थिएन। बन्जी पनि विभिन्न प्रकारको हुँदो रहेछ। उल्टो, सुल्टो, डबल, सिंगल..।
बन्जी गर्न मलाई मात्रै डर लागेको हो कि भन्ने लाग्थ्यो। तर, इन्स्ट्रक्टरले भन्नुभयो, ‘डरमा नै बन्जीको मजा छ, बन्जी गर्दा पनि कसैले म डराइनँ भन्छ भने त्यो अवश्य झूट बोलिरहेको हुन्छ।’
ब्रिफिङपछि सबैको तौल चेक गरियो। त्यसै अनुसार ग्रुप छुट्याइयो। ६० केजी भन्दा बढी तौल हुने पहिलो ग्रुपमा र कम तौल हुने दोस्रोमा।
म र दिदीहरूसँगै बाँकी ७ जना दोस्रो ग्रुपमा पर्यौं।
सुरूमा पहिलो र त्यसपछि दोस्रो ग्रुप। पहिलो ग्रुपले पालैपालो बन्जी गर्दै थिए। बन्जी गर्ने ग्रुपलाई मात्र पुलमा लगिन्थ्यो। पहिलो ग्रुपका सबैले बन्जी गरिसकेपछि हाम्रो पालो आयो। आफू भित्रको डर नाप्ने बेला भएको थियो।
हाम्रो ग्रुपको सबै जनालाई पुलमा लगियो। अब भने मुटु थरथर काप्न थाल्यो। मेरो पालो सुरू मै रहेछ।
सुरूमै जान डर लागेकाले‘म भन्दा अघि कोही जाने हो ?’ भनेर सोधें।
दिदीले म जान्छु भनेर अघि बढ्नुभयो। सबै जना मिलेर हौसला बढाउन हुटिङ गर्यौं।
यहाँ अन्तिमसम्ममा पनि बन्जी गर्न आउनेहरू पछि हट्ने गर्छन्। आफू हर किसिमले सुरक्षित छु भन्ने थाहा हुँदाहुँदै पनि त्यहाँ पुगेपछि होसहवास उड्छ र पछि सर्छन्। हाम्रो ग्रुपको एक जना दाइले त बन्जी गर्दिनँ भन्दै आत्मसमर्पण नै गरे। सायद उनी निकै डराए।
जम्प हानेर दिदी सकुशल फर्किनुभयो। उहाँको अनुहारमा अर्कै चमक थियो। अघि डराएको उहाँको अनुहारमा अहिले खुसी देख्न सकिन्थ्यो।
अब मेरो पालो। म अघि बढें। मनमा डर र उत्साह मिश्रित महशुस हुन थाल्यो। क्रु मेम्बरले खुट्टामा र जिउमा हार्नेस् लगाइदिनु भयो।
उहाँले ‘कस्तो अनुभव भइरहेको छ ?’ भनेर सोध्नुभयो ।
आफ्नो डरलाई लुकाएर ‘मेरो यो पहिलो पल्ट हो एकदम रमाइलो लागिरहेको छ र उत्साहित छु’ भन्दिएँ। तर भित्र डर कायमै थियो।
जब बन्जीको प्ल्याटफर्ममा पुगें। बन्जी मास्टरले पुनःहार्नेस् चेक गर्नुभयो। त्यतिबेला पनि फेरि खेलको विधिबारे सम्झाउनुभयो।
उहाँले क्यामेरामा हेरेर ‘हेल्लो’ भन्देऊ त भन्नुभयो। भित्र डर भए पनि क्यामेरामा मुसुक्क मुस्कुराएर ‘हेल्लो’ भनिदिएँ।
सबैले हुटिङ गरेर हौसला बढिरहेको थियो।
मलाई प्ल्याटफर्मको किनारामा लगियो। त्यही ठाउँबाट अब तल हाम फाल्नु थियो। आधा पैताला पुल बाहिर आधाभित्र। छेउमै पुगिसकियो।
पुलबाट तल हेरेको त सिरिंग भयो। तल हेर्दा डर लाग्छ भनेर नै होला दाइले सिधामाथि हेरेर हातलाई सिधा फिजाएर अगाडि बढ्न भन्नुभयो।
मैले लगाएको भारी हार्नेस् र दुवै खुट्टा एकैठाउँमा बाँधिएकोले गर्दा मलाई अगाडि बढ्न निकै गाह्रो भइरहेको थियो। त्यहाँ पुगेपछि होसहवास् नै उड्छ भन्थे। साँच्चै हो रहेछ।
दुई हातलाई पखेंटा बनाएर हावामा उड्नु थियो अब।
बन्जी मास्टरले ‘आर यु रेडी ?’ भनेर सोध्नु भयो।
मैले पनि झट्ट ‘एस्।’ भनिदिएँ।
उहाँले काउण्ट डाउन सुरू गर्नु भयो।
थ्री, टु, वान, बन्जी... ।
बन्जी मास्टरले यतिभन्दा मैले बन्जी प्ल्याटफर्म छोडिसकेको थिएँ। १६० मिटरको उचाइबाट हावाको बेगलाई स्पर्स गर्दै डरलाई डरैसँग थाती राखेर मैले हामफालें। एकैछिन त केही देखिनँ। पूरै ब्ल्याक आउट नै भएँ।
त्यो ३ सेकेण्डको फ्रिफल हुँदाको क्षण शब्दमा वर्णन गर्नै सकिँदैन। गाह्रो त हाम्फाल्नु मात्र रहेछ। तल पुगेपछि चिसोचिसो महशुस भयो।
स्प्रिङ्गवाला बन्जी रोपले तल र माथि गर्दै थियो। तलबाट पुल हेर्दा डर लाग्दो रहेनछ। तर डोरीमा झुन्डिरहँदा लाग्यो कि म अब भोटेकोशीमा खस्ने भएँ!
टाउको तल खुट्टामाथिको पोजिसनलाई चेन्ज गरेर बसेर पिङ खेल्दाको पोजिसनमा चेन्ज भएँ। बल्ल मैले मेरो हातमा भएको गो प्रो देखें। अत्यधिक डर र अत्यधिक आनन्द एकैपल्ट महशुस गरेर होला, बोली नै निस्किएको थिएन।
अघि बन्जी मास्टरले सिकाएझैं दुवै हात फिजाएर इशारा दिएँ। अब भने डोरीले विस्तारै माथिमाथि तान्दै थियो।
पुलमा पुगेपछि बन्जी मास्टरले ‘यू डिड नाइस जम्प’भन्दै प्रशंसा गर्नुभयो।
त्यहाँ भएका अरु सबैले ‘यू डिड इट’ भन्दै धाप मारे। आफूलाई पनि युद्ध जितेर आएजस्तो अनुभव भयो। डरसँगको युद्ध ।
बन्जीपछि स्वीङ गर्नेहरूलाई त्यही स्थानबाट स्वीङ गराइन्थ्यो। हामी परबाट अरूले स्वीङ गरेको हेरिरहेका थियौं। त्यो देखेपछि मलाई पनि त्यस्तै गर्न मन लाग्यो।
‘यहाँसम्म आइसकियो, गरुम् न त स्वीङ पनि।’ दिदीहरू पनि सहमत हुनुभयो।
अब हामी फेरि स्वीङ गर्न भनेर लाग्यौं। स्वीङ पनि डबल र सिंगल हुने रहेछ। दिदीहरू दुई जना हुनुभएकोले सल्लाह गरेर डबल गर्ने निर्णय गर्नुभयो। मैले भने सिंगल गर्ने भए।
सुरूमा पालो दिदीहरूको थियो। दुवै जना सँगै हाम फाल्नुभयो।
स्वीङमा भने बन्जीको जस्तो टाउको तल खुट्टा माथि नभएर दशैंमा बसेर खेलिने पिङ जस्तो पोजिसन हुने रहेछ।
स्वीङ गरिसकेपछि बन्जीको जस्तो डोरीले माथि पनि नतान्दो रहेछ। तल झरेर उकालो उक्लदै माथि आउनुपर्ने थियो।
अब पालो मेरो थियो। हार्नेस् लगाएर म प्ल्याटफर्ममा पुगें। अघि बन्जी गरिसकेको भए पनि फेरि डर पलाइहाल्यो। स्वीङको डोरी निकै भारी भएकाले पनि होला मलाई डोरीले नै अगाडि तान्दै थियो।
एकछिन उभिएपछि स्वीङ मास्टरले काउण्ट डाउन सुरू गर्नु भयो।
थ्री, टु, वान, स्वीङ ... ।
यो पल्ट डरभन्दा धेरै रमाइलो र आनन्द महशुस गरें। बन्जीको भन्दा धेरै समय फ्रिफल हुँदोरहेछ स्वीङमा।
एकैचोटि तल पुग्दा त त्यहाँ रहेको ठूल्ठूला ढुंगामा ठोकिन्छ कि जस्तो नि लाग्यो। एकछिनसम्म भोटेकोशीमाथि स्वीङको मज्जा लिइरहें।
विस्तारै डोरी समातेर किनारतिर लागें। दिदीहरू मलाई पर्खिराख्नु भएको थियो। करिब आधा घण्टा उकालो उक्लेपछि रिसोर्ट पुग्यौं। सबै क्रु मेम्वरहरूले राम्रोसँग गर्यौं भन्दै प्रशंसा गर्नुभयो।
यसरी त्यो दिन मेरो बन्जीसँगै स्वीङ गर्ने रहरले पनि पूर्ण रूप लिएको थियो।
जिन्दगीकै सबभन्दा रोमान्चक पलहरूलाई मन मस्तिष्कमा राख्दै हामी भोटेकोशीबाट फर्कियौं। एउटा सपना पूरा गर्दागर्दै अर्को पटक फेरि नाइट बन्जी गर्ने सपना लिएर फर्कियौं।
गुडबाई ‘द लास्ट रिसोर्ट’ ।