खुट्टामा पलाएका प्वाखहरू रहरका थिए। सँगै उडान भर्ने रहर। जस्को गन्तव्यमात्र हैन यात्रा पनि एउटै होस्।
छुने हावा, देखिने आकाश, पोल्ने घाम, एउटै होस्। समय होस्, जहाँ हतार नहोस्। कुरा होस्, जस्को सार नहोस्। यस्तो यात्रा वर्षमा एउटा होस्। नौलो ठाउँमा ठेगाना र परिचय हराओस्। पलाएका रहरका पखेटाले सुन्दर समय र दृश्य चर्न पाओस्। म र ऊ भन्दा धेरै पर एउटा हाम्रो बाटो होस्, जहाँ दुई जोर जुत्ताले हजारौं जोडी छापहरू छोडेर आओस्।
वीरगंज बसपार्कबाट बस छुट्यो। र सँगै छुटे ए.बि.सि. ट्रेकको योजना सफल नहुने शंका उपशंकाहरू।
टाउको माथिको डिक्की, ब्यागभन्दा सानो भयो। नयाँ ब्यागलाई प्यासेजका आलुको बोरा माथि राख्दा मन मैलो हुने नै भयो।
जीतपुर नकटेसम्म नाइट बसले लोकल पारा भरपुर प्रदर्शन गर्यो। रोडको धुलो बिनाटिकट बसभरि पसिरह्यो। टिभीमा कुनै साउथ इन्डियन हिरो गुन्डाको धोबी धुलाइ गर्दैथियो।
अगाडि कतैबाट लोकल रक्सी र सुर्तीको खारको ककटेल, बिना ढकढक नाकमा पस्यो। ह्याछ्यूँ मेरो थियो मफलर उन्को। आँखा तर्दै मेरो कुममा मुक्का हान्नु स्वभाविक नै थियो।
पथलैया कटेपछि बस बैकुण्ठ मानन्धर बन्यो झ्यालको सिट उनैबाट कब्जा भयो। आधा बारको जंगली हावाले उन्को कपाललाई मेरो मुखभरि हिँडाएपछि लाग्यो....यात्रा बल्ल सुरू भयो।
निदाउने तरखरको सुनसान सडक, बसको हुइँक्याइ र हर्नको व्याकग्राउड म्युजिक,पर्दा धकेल्दै सरेको ओढ्नी तान्न लगाउने चिसो हावा,ढोका बन्द भइसकेका घरहरू,बत्ती जागा बस्तीहरू, सबै शुभ यात्रा भन्न बाटो छेउ उभिँदै छुटें। बसभित्रको रातो मधुरो लाइट, ओढ्नीभित्रको हाम्रो तातो हात र कुममा निदाएको उनको टाउको।
सायद मेरो लागि सुकुनको परिभाषा यहीँ नै हो। उनको शिर मेरो काखमा सर्यो । ह्याछ्यूँ गरेको बदला भन्दै ओढ्नी आफ्नो भागमा पारिन्। काखमा उनी पल्टिएको हेर्दै मैले बाटोलाई खुसुक्क भनें ‘हिन्दी सिरियलको कपी गर्दै लम्बिँदै जाऊ न है’ ।
एउटा इयरफोन चार वटा कान। बज्ने गीत एउटै। सँगै कुदेको आकाश एउटै। पछ्याइ रहेको जुन एउटै। लिरिक्समा डुबेर झ्याल बाहिर टोलाएका आँखाहरूको केही छिनको मौनता। चुपचाप.. धेरै बोलिदिने समय यस्तै हुन्छ होला। त्यो चौडाइ कम सिटले, अक्सर मेरो ओठको लम्बाइ बढाइ दिन्छ।
रामपुरको गन्हाएको चाउमिनले आज पनि हाम्रो हाँसोमा बास्ना दिने गर्छ। पानीमा दूध हालेको चियाको पैसामात्र बाक्लो तिरियो। त्रिशूलीको आवाज सुनाउन,मुग्लिन नपुग्दासम्म पुलको ब्रेकरहरूले नसुत भनेकै हो। मुग्लिन निदाएको मैले देखेको छैन। भोकको लागि निद्राहरू सहिद भएको ठाउँजस्तो लाग्छ।
उनी निदाइ सकेको, लुलो पकड हुँदै गएको उनको हातले संकेत गर्यो। डुम्रे कटेपछि ड्राइभर दाइको निद्रा पुर्याउन बसले कतै थकाइ मार्यो।
झुलुङ्गो झुल्न रोकिएर कुनै काखे बच्चो ब्युँझिएजस्तै बस रोकेपछि उठेर कपाल बाँध्न थालिन्। ब्युँझिँदा सधैं उनलाई हेर्न पाउने कोठाको अन्धकार, त्यो पलको लागि म भएँ। अरू सबै सपनामा टाढा टाढा पुगिरहदाँ, मलाई कतै पुग्नु थिएन। किनकी मेरो गन्तब्य मेरो छातीमा अढेस लाएर मलाई प्रश्न गर्दै थिइन् ‘त्यो ठूलो पहाड पछाडि के छ होला है?’
पृथ्वी चोकमा ओर्लिंदा अध्यारो अलिकति बाँकी नै थियो। ट्याक्सीहरूको काँ जाने प्रश्नको उत्तर दिएरै थाकियो। भर्खरै उठेको होटलमा भोक बिसायौ। पूर्वपट्टिबाट हिमाल, पोखरालाई उज्यालो हुन सिकाउँदै थियो। घान्द्रुकको लागि जीप भेट्न हामी हरिचोक लाग्यौं।
दश जना पुर्याउनु पर्ने भएकाले केही समय चोकतिरै आँखाले मर्निङवाक गर्यो। जीप हिँड्यो। उनी फेरि मेरो काँधमा निदाइन्, म उनको टाउकोमा सुस्ताए। लुम्लेमा खाजा खान ओर्लिनु भन्दा सुतिरहनै ठीक लाग्यो। नयाँ पुलबाट गाडी उकालो लागेपछि भूगोल फेरियो।
उबडखाबड उकालो बाटोमा निद्रा ओरालो लाग्यो। खै के सोचेर उनी मुसुक्क हाँसिन् । कारण नसोधी मैले पनि मुस्कान जोडा लगाइदिए ।
हामीलाई गुरुङ कटेज पुग्नु थियो। जीपको रोलरकोस्टरले भोक चाहिनेभन्दा बढी लागेको थियो। ११ बजेको चर्को घाम,भारी ब्याग र थोरै उकालोले घान्द्रुक फिल गर्न मन लागेन। करिब ४० मिनेटको हिँडाइ र अनगिन्ती सोधाइपछि कसैले होटल यही हो भनिदिँदा, गुगलमा हेरेको फोटोको एकछेउ पनि लागेन। दिक्क लाग्यो। हामी पछाडिको बाटो गएका रहेछौं।
अगाडि आँगनमा पुग्दा,दैत्य कथामा हुने जाँदु जस्तै भयो। बरन्डाभरि फुलेका फूल र छाना माथि फलेको सेतो हिमाल, थकाइको पेनकिलर बन्यो। खाना अर्डर गरेर फ्रेस भयौं।
हिमाल बादल पछाडि सर्यो। घरहरू सल्लाह गर्न बैठक बसेझैं लाग्ने उस्तै छाना भएका बस्ती। ढुंगा छापिएको बाक्लै देखिने पातला गल्लीहरू।
कतै खच्चडको टुङटुङ, कतै ठूलो टाउको भएका कुकुरको भाउँ भाउँ। कतै उकालो चढ्दै गरेका विदेशी पाहुनाको हुल, कतै ओरालो झर्दै गरेका स्थानीयको टोली। घान्द्रुक बल्ल फिल भयो। हामीले फोटोहरू खिच्यौं। केही टिकटक भिडिओ बनाउन उनलाई सहयोग गरें। भोलिको लागि तयारी हुने गरी, माथि देवीको मन्दिरतिर उकालो लाग्यौं। ढुंगा छापिएको रूख बिनाको चौतारामा,आराम गर्दै फोटो खिच्यौं। माथिबाट खिचिएको घान्द्रुकको प्राय: फोटोहरू यहीँ ठाँउबाट लिइएको हुन्छ।
केही समय उक्लेपछि जंगल सुरू भयो। भिरालो हरियो चौरमा वस्तुहरू चर्दै थिए। सँगै नाँचेर टिकटक बनायौं। जीवनको पहिलो टिकटक। ओभर एक्सप्रेसन हेरेर आज पनि लाजले भुतुक्कै हुन्छु। टुप्पोमा बनेको मन्दिर भन्दा सुन्दर यस्को लोकेसन थियो। वरिपरि ढकमक्क सयपत्री फुलेका थिए। टुप्पोमात्र देखिएको हिमालसँग बेन्चमा उभिएर हाइट बराबर गर्न मिल्ने।
मेडिटेसनको लागि एकदमै उपयुक्त ठाँउ। होटल आइपुग्दा घाम डुबिसकेको थियो। हिमाल थोरै रातो देखियो। छानाहरूबाट धुँवा स्वतन्त्र हुँदै गयो। अँध्यारोले छोप्दै गरेको घान्द्रुकलाई बाहिर बरन्डामा बसेर क्यापेचिनो सँगै सुरूप्प पार्यौ। भविष्यमा कमाइ नाप्दा, सँगै साँझहरूमा रित्याएको कफीका कपहरू गन्न सकौं। र भन्न सकौं ‘जीवनमा पैसा भन्दा बढी याद कमाएका छौं।’
कुनै एउटा ठूलो ढुङ्गामा अडेस लाएर, कलकल बगेको पानीको आवाज र सुनसान बाटोमा एउटै कपमा पालैपालो चिया खानुको मजा, हाम्रो ओठलाई मात्र थाहा छ।
उनले आधी टोकेको बिस्कुटले मलाई सिकायो, जुठो जत्तिको मीठो अरू कुनै परिकार हुन्न। हात समाउँदै ओरालो झर्दा पूर्वमा घाम उकालो लागेकै थिएन। अप्पर सिनुवा पुग्नु थियो। घान्द्रुकभन्दा केही तल एउटा बस्तीमा नास्ता गरेर थोरै उकालो,जंगलको बाटो झिंगुतिर लाग्यौ। बीचमा एउटा झोलुङ्गे पुल आयो।
खच्चडको एक हुल आउँदा, राष्ट्रपतिको सवारीजस्तै हामी वारि नै बाटो छोडेर बस्यौ । उले मेरो हात तानेर बस्न भनिन्। ज्यान मेरो छातीमा अढेस लगाइन्। सिरानी मानेर। मेरो कमजोरी थाहा भएर, झोलुङ्गो पुल हल्लाउन उनी अगाडि गइन्। उनैले हल्लाएर हल्लिए जत्तिकै आत्मविश्वासका साथ मलाइ “डरपोक” भन्दै गिज्याइन्। झिंगुमा हामीले खाना खायौं। खाना खाइवरि उकालो चढ्यौं।
आरामपछि केही छिनको जोस थियो। र केही छिनमै गलेको फर्सी जस्तो फतक्क। हाम्रो हिँडाइ कछुवा गति। ट्रेक हिँड्नभन्दा बढी बस्न आए जस्तो । झिङु र चोमरोङ बीचको बाटो उकालो थियो। कतै जंगल कतै पाँच सात घर भएका बस्ती । हर घर एक पसलको सूत्रमा बाँधिएका।
दिउँसोको चर्को घाममा उकालो चड्दा व्यागदेखि साह्रै रिस उठ्ने। ओरालोमा गुल्ट्याएर लेकसाइडतिर झार्न पाए पनि हुने जस्तो लाग्ने।
भारी बोकेर कुद्दै गरेका भरिया दाइहरू देख्दा एलियन देखेजस्तै हुने। रक्सी खाएर फिट भएको मान्छे हामीलाई टपेर माथि पुग्दा, एकअर्काको मुख हेरेर लाजै पचाएर हास्यौं। असिन पसिन हाँसो जंगलभरि गुन्जियो। त्यो हाँसो टाँसिएका पातहरू पोहोर चैतमै झरे होलान्। झरे त के भो पातहरू, याद अझै बाँकी नै छन्।
चोमरोङ पुग्दा तीन बजेको थियो। सिँढी छापिएको बाटोको दुई छेउमा रंगीचंगी पसल, झुप्प बस्ती। बे्रकरी आइटम बास्ना आउने गल्ली, जस्ले अडिएर लामो सास तान्न बाध्य बनाउने। चुटुक्क परेका क्याफेमा रंगीन चकका अक्षरहरू। हस्तकलाको सामान फुलेको बरन्डा। ठमेलको मितेरी ठाउँजस्तो। खुला बाल्कोनी वाला क्याफेको कुर्सीले “आज यतै बसे हुन्न” भन्यो।
कुनै होटलमा ब्याग र थकान बिसायौं। रातिको खाना अडर दिएर घुम्न निस्कियौं। बगैंचा भेटेको फुर्के पुतली जस्तै उनी रमाउदै अघि लागिन्।
म उनको खुसी खिच्दै पछि लागें। हरियो चौरमा पलेंटी मारेर गफ छोडाउँदै खायौं। रूखको हाँगामा बनेको सानो पिङमा हामी पालै पालो बच्चा बन्यौं। आफ्नो भन्दा पर, नचिनिने ठाउँमा हामी आफूलाई चिन्दै थियौ। चिनिने ठाउँमा गुफा बनेको मान्छे, फाँट बन्नकै लागि यात्रा गर्छ सायद। साँझ ढले सँगै बिस्तारै बस्ती घरभित्र पस्दै गयो।
बत्तीमा बलेको चोमरोङको चेहेरा, बाल्कोनी वाला क्याफेको कुर्सीमा बसेर हेर्यौं। क्यापेचिनोले उनको ओठ माथि जुँगा बनायो। तेस्लाइ खिचेर मैले याद बनाए।
सधैं रफ्तारमा हुने हाम्रो समयलाई, त्यसदिन ढिला भयो भनिदिने कुनै हतार थिएन। रातको खाना पछि हामी बरन्डामा निस्कियौं आकाश हेर्न। पुराना हिन्दी फिल्मको गीतहरू एउटै लयमा गायौं। पुराना दिन सम्झियौं।
आउने दिनको कुरा गर्यौं। केही खुसी केही चिन्ता र थुप्रै सपनाहरू रातमा मिसिएर गाढा बन्दै गए। हाम्रो हर एक रात यस्तै बितोस् भनेर उनले आशाको पोल्टो थापिन्। त्यही पोल्टोमा पर्नलाई होला, ताराहरू खस्दै गए।
चोमरोङको ओरालो चिप्लेटी खेले जस्तै, सजिलै ओर्लियौं। उकालो आयो। कुखुरा बनेजस्तै गाह्रो भयो। बिहानको घाम पारिलो हुँदै गयो। पसिनाले शक्ति बगाउँदै लग्यो। अप्पर सिनुवाबाट चोमरोङका कुलेसा र गोरेटोहरू लुडोका सर्पजस्तै देखिए। चिया खाँदै गर्दा, मेरो नाकको पसिनालाई उनले गर्ने मायाको सबुत भनेर पुछि दिइन्। जंगल बाक्लिदै गयो। गोरेटोहरू गुफा जस्तै लाग्यो।
छाँयाले भुइँमा बनाएका बुट्टाहरू टेक्दै अघि बढ्दै गयौं। देखिने छोपिने हुँदै हिमालले लुकामारी खेलिनै रह्यो। बाटो नछेकिने भए, कलकल बगेको पानी माथिको काठको पुलमा दुई जोर खुट्टा झुलाएर हामी घन्टौ गफ गरी बस्थ्यौ होला। म उनको काखमा पल्टेर बादलहरूमा हाम्रो अनुहार खोज्थे होला। अक्सर गन्तब्यमा पुग्ने हतारमा धेरै कुरा छुटी जान्छ। छुटेका कुराहरूको चाङ अग्लो होस् या होचो.....सबभन्दा प्रिय हुन्छ।
अप्परदोभान पुग्दा साँझ परिसकेको थियो। हिमालय पुग्नको लागि सिंगै एउटा जंगलको पहाड बाँकी थियो। बाटोमा “नमस्ते” र “अझै कति बाँकी छ” भन्ने प्रश्न गरिने मान्छेहरू पातलिँदै गए।
चकमन्न रातमा डाँडामाथि बत्ती बलेको ठाँउलाई पछ्याउनु,साँझमा जुनकिरीको पछि दौडिनु जस्तै लाग्यो। जति पाइला उचाल्यो त्यति माथि उडेजस्तो लाग्ने। होटल पुग्दा सबै रूम प्याक थिए। बाहिर वा भान्छामा सुत्ने अवस्था थिएन। हामी दुवैको जीउ तातेको थियो। धेरैपल्टको आग्रहपछि हामीले शेयरिङ रूम पायौं जस्मा अरू दुई जना पहिल्यैदेखि हुनुहुन्थ्यो।
थाकेकाले खासै चिना पर्चि गरिएन। खाना पछि औषधि खाएर हामी निदायौं। आधारातमा उठाएर उन्ले भनिन् “मेरो पिरियड” भयो। पहिलो दिनको उनको दुखाइ र छटपटी सम्झिएँ। ए.बि.सि. टेक्ने मेरोभन्दा बढी उनको चाहनाको पिर लाग्न थाल्यो। पर्खिन छुट्टि कम थियो फर्किन मनले मान्दैन्थ्यो। बाहिर निस्किँदा ताराहरुको मेला थियो। तनाव गाढा हुँदा आकाश फिका लाग्यो। उनी मेरो नजिकै बेञ्चमा आएर बसिन्। काँधमा टाउको राख्दै उनले भनिन् “पुग्नु ठूलो कुरा हो तर नपुग्नु ठूलो कुरा होइन। जो होगा, देखा जाएगा।”
भोलिपल्ट म भन्दा पहिला उठेर तयार भइन्। उनलाई हिँड्न सजिलो होस् भनेर सबै सामान मेरो ब्यागमा हालेर मैले बोक्ने भएँ। नास्ता गरेर उनी अघि लागिन्। पहिलो दिनमा पेट दुखेर खाटबाट उठ्न नसक्ने मान्छे, उकालोमा ठमठम हिँड्दै थिइन्। चिप्लो बाटोहरूमा माथि गएर मलाइ हात दिँदै थिइन्।
भारी भाको भए व्याग पनि बोक्छु भन्दै थिइन्। मलाई चमत्कार भए जस्तो लाग्यो। आत्मबलको बल निकै बलियो हुने रहेछ। केही कुरा पाउने सहास पछिको विश्वासमा, ढुङगा पनि कपास जस्तै हलुका भइदिने रहेछ। अल्टिट्युड बढ्दो थियो । देउरालीमा सुप खायौं। पानी प्रशस्त पिउँदै गयौ। अब भूगोल फेरिँदै गयो। सानासाना बुट्यानले भरिएको र गिख्रा चट्टाले बनेका नाङ्गा बन्जर पहाडहरू सुरू हुन थाले।
ती पहाडहरूलाई छेउकै हिउँले छोपिएको हिमालले सधैं पप्पीसेम भन्दै जिस्काउँदो हो । सुकेका झाडीहरू खैरो देखिन्थे। वर्षाको बेला सबै हरियो हुँदा अझै मनमोहक देखिँदो हो।
हामीले एम.बि.सी.मा खाना खाँदा १२ बजिसकेको थियो। पानीसँगै हिउँ पर्न थाल्यो। ए.बि.सि. उक्लिने बाटो पुरै बादलले ढाकेको थियो। पानी रहेपछि २ बजेतिर हामी उकालो लाग्यौं। हाम्रो अगाडि पछाडि हिँड्ने मान्छे कोही थिएन। हिँड्ने बाटो लगभग हिउँले पुरिएको थियो। आँखा पुग्ने सबै ठाँउमा बादल थियो।
हामी धमिला जुत्ताको डोबहरू पछ्याउँदै अघि बढ्यौं। फुसफुस हिउँ पर्दै थियो। मैले प्लाष्टिक ओढेको थिए उनले छाता।
इन्द्रको स्वर्ग जाने बाटोले बाटो बिराएर यता आए जस्तै। अद्भुत रहस्यमयी । छाता बाहिर हात निकालेर हिउँ छाम्दै, ठूलो स्वरमा चिच्याउदै, बच्चा जस्तै मख्ख परेर बाङ्गो टिङ्गो हिँड्दै उनको खुसी बाटोभरि पोखिँदै गयो। परबाट ए.बि.सि.को बोर्ड धमिलो देखियो। मभन्दा अगाडि गएर पोज दिन थालिन्। हामीले फोटोहरू खिच्यौं।
हामीले त्यो रात होटलभन्दा केही परको टहरामा बितायौं। जहाँ मान्छे नै मान्छे थिए। तर हाम्रो लागि हामीभन्दा बाहेक कोही पनि थिएन। ढोकामा उभिएर आधारात पछिको आकाश हेर्यौं। हिमालमा आकाशले जादू देखाउँछ। ताराहरूको भीड देखेर हामी दुवैको मुख खुलेको खुल्यौं भयो। भोलिपल्ट बिहान घाम उठेको हेर्न घामभन्दा पहिले नै सबै उठिसकेका थिए।
हिमालको शिरमा सिन्दुर भर्दै घाम डुल्न निस्कियो। कतै बेञ्चमा बसेर हामीले हिजो आएको बाटो नियाल्यौं। हामी आएको पाइला हिजै राति हिउँले मेटिसकेको थियो। त्यो बाटोमा, फर्किएको पाइला छोड्दै जाने मन पटक्कै थिएन।
दैनिकीभन्दा धेरै पर फेरि अर्को भूगोलमा उडान भर्ने वाचाको साथ हामी घर फर्कियौं। बिहान उडेको चरा साँझ गुँड फर्किएजस्तै, जानुमात्र कहाँ हो र यात्रा, फर्किनु पनि यात्रा नै हो। पाइलाको छाप छोड्दै चढ्नुमात्र कहाँ हो र यात्रा, डोब पछ्याउदै ओर्लिनु पनि यात्रा नै हो।