(एएसएलआई) द्वारा आयोजित एसियन कानुन विषयक अफिसियल कार्यक्रम सक्काएर, सियोलको सुप्रसिद्ध सिटीहल जाँदै थिएँ। एकजना अंग्रेजी बोल्ने कोरियन युवतीले गोरी कटीलाई गुड बाइ गर्दै मेरो बाटोतिर आइ। संयोगले उ र म रेड लाइटमा केही पलका लागि कुर्दै गर्दा मैले चान्स लिदै सोधेँ, ‘आर यू टुरिस्ट?’
हाँस्दै होइन, कोरियन भएको बताई। यहीँकी लोकल भएको पनि बताई। उनको अंग्रेजी सुनेर विदेशी भन्ठानेँ भनेँ। कोरियन भाषा नजानेर अंग्रेजी बोल्ने कोही भेटिए पनि हुन्थ्यो झै लागेको पनि मैले थपेँ। उसको अंग्रजी वास्तवमै स्पष्ट थियो। अंग्रेजी बोल्न उ इच्छुक भइ वा मेरो शैली उसलाई मन परेको हो, हाम्रो कुराकानी अगाडि बढ्यो।
वास्तवमा जापान र कोरिया जस्ता देशहरूमा अंग्रेजी बोल्न सक्ने मान्छे भेट्नु पनि भाग्यकै कुरा हुन्छ। आफू अमेरिका पढेर फर्केकी, भर्खरै साथीलाई यहाँसम्म छाड्न आएकी र आफू मनोविज्ञानकी विद्यार्थी भएको बताई। मैले पनि नेपालको अदालतमा काम गर्ने र जापानमा पढाई सक्दै गरेको र फर्कनु अघि एकपल्ट स-परिवार कोरिया घुम्न आएको भनेँ।
अदालत भनेपछि न्यायाधीश हो भनेर धेरैले सोध्छन्। उसले पनि त्यही सोधी। कहिले हो, कहिले हैन भनेर टोपल्दै आएको मिश्रित अनुभव छ मेरो। अँ, असिष्टेण्ट भन्न मिल्छ भनिदिएँ। मनोवैज्ञानिक थिई उ। मेरो अनुभव छ, असिष्टेण्ट जज भनेर बुझिहाल्छन्। उत्सुकताका साथ परिवार खै, भनेर सोधी।
‘उनीहरू यतै दरबार र संग्राहलयमा डुल्दै होलान्। अबको २ घण्टामा भेट्ने योजना छ’ भनिदिएँ। मेरा लागि खाँचो परे आफूसँग १ घण्टा समय रहेको उसले बताई। मैले गाइड राख्ने आर्थिक क्षमता आफूमा नभएको कुरा राखेँ। उसले म प्रोफेसनल होइन क्यार, सित्तैमा बताउला भनेर उदार देखिई। मलाई के खोज्छस् काना, आँखा भनेझैँ भयो।
सियोल किन आएको? कहाँ-कहाँ घुम्यौ र कहाँ घुम्ने योजना छ भनेर उसले सोधी। कोरिया, हामी नेपालीले निकै सुनेको देश हो। दुवै देशबीच आपसमा राम्रो सम्बन्ध छ। धेरै कोरियनहरू बुद्ध धर्म मान्छन् रे। भगवान बुद्ध नेपालमा जन्मेको कुरा जोड्दै भने यो मेरो धार्मिक यात्रा भने पनि हुन्छ भनेँ। उ नपत्याएर फिस्स हाँसी मात्र।
मैले थपेँ, ‘धेरै नेपाली यहाँ पढ्न र काम गर्न आएका छन्। हाम्रा आफन्त पनि छन् यहाँ। मलाई यहाँको विकास हेर्न र समुद्रको यात्रा गर्ने रहर थियो। कन्फ्रेन्सको मौका छोपी जापानबाट आएको।’ सियोल टावर र युनिभर्सिटीसम्म पुगेको तर खासै नघुमेको, बरू भोलि ब्लू हाउस जाने र पर्सि बुसान जाने कार्यक्रम रहेको एक स्वासमा बताए।
सायद उसले एक घण्टामा मलाई के देखाउँने र बाँकी के सुझाउने, उद्देश्यले यो कुरा सोधेकी हुनुपर्छ। उसले मेन्दोङ सहरको सिटीहलबाट देखिने परपट्टिको शालिक देखाउदै भनी, ‘उ त्यो शालिक छ नि, कोरियन लिपिका आविष्कारक हुन् उनी। संसारमा कोरियाको हांगुल लिपि अपूर्व छ। हांगुल लिपिका आविष्कारक सेन्जोङ राजा हाम्रो लागि यी राष्ट्टपिता जतिकै छन्।’
निकै गौरवसाथ प्रस्तुत हुँदै उसले थपी। ‘सुरुमा खान्जी यानी चिनियाँ भाषाको प्रभाव थियो यहाँ कोरियामा। पछि राजनीतिक कारणले गर्दा खान्जीको निर्मूलीकरण गरी विशुद्ध कोरियन लिपिको सुरुआत र विकास हुँदै आएको हो।’
राजनीति भनेपछि मेरा पनि कान ठाडा हुन्छन्। मैले उत्तर कोरिया नि? भनेर जिज्ञासा राख्दा, सबैको साझा भाषा यही नै हो। हामीहरू पछि पो छुट्टिएको त भनेर थप आस्वस्त पारी उसले। उसको १ घण्टा मेरो लागि चिठ्ठा सावित हुने लक्षण थियो।
कोरियामा ५०-६० वर्ष अघिसम्म निकै गरिबी थियो। युद्ध, भोक, रोग र अभावको कोरियन इतिहासमा आज ठूलो परिवर्तन आएको छ। उसको प्रस्तुतिमा राष्ट्रप्रेम, आशा र भरोसाका भावहरू ज्यादा थिए। मेरो देश नेपालबारे आफूले पनि यस्तै गौरवपूर्ण प्रस्तुति दिने दिन आउलाझै आशावादी भएँ म। राजनीतिको कुरा गर्दा उ अलि भावुक भनी।
आफै शासक परिवारकी वंशज भएको बताउदै कोरियन नोटमा अंकित परिवारको आफू पनि सदस्य रहेको बताउदैं राजनीतिक स्वार्थ मिलाउन कठिन हुने कुरा राखी उ।
‘दुई कोरिया एक हुन्छन् त?’ मेरो प्रश्नमा, हुनुपर्ने त हो तर राजनीतिक खिचातानी, स्वार्थ र महत्वपूर्ण पदहरूको व्यव्स्थापन पेचिलो भएको आशंका गरी उसले। राजनीति, अनुमान गरूसाध्य हुन्न है, भनेर विट मारी उ। निकै बाठी रहिछ, मनोवैज्ञानिक न परी।
नजिकैको राजदरबार (संग्राहलय) लैजाने प्रस्ताव राखी। कोरियामा राजपरिवारको विशेष महत्व रहेछ। एयरपोर्टदेखि पर्यटनका मुख्य-मुख्य स्थानहरूमा राजकीय शोहरू देखाउने प्रचलन रहेछ। यही परम्परा हेर्न जाऊ भनी। हामीले एक अर्काको फोटो खिच्यौँ। साथैमा खिच्ने मेरो प्रस्तावलाई भैगो भनी उ।
यो सब ठाटबाठ हेरेपछि राजा हुने राजतन्त्र प्रियझैँ लाग्छ। हामीकहाँ पनि राजा थिए, अब छैनन् भने मैले। ‘भएर ठिक थियो या नभएर?’ उसले प्रश्न गरी। थाहा छैन, म राजपरिवारको सदस्य होइन क्यार भनिदिएँ, उ मुसुक्क हाँसी मात्र। ‘तिम्रो के राय छ र?’ मैले प्रतिप्रश्न गरेँ।
‘यो त सापेक्षित कुरा हो तर हाम्रोमा यो गौरवपूर्ण इतिहास बनेर बाँचेको छ,’ उसले भनी। विरेन्द्र राजाको वंश नाश भएको देखि जान्ने म र मेरो पुस्तालाई नेपाली राजतन्त्रको परम्परालाई पूरै भुल्न थप समय लाग्ने छ। मनमनै कुरा खेले। फेसबुकमा उसले खिचिदिएको फोटो सहित सांकेतिक स्टाटस लेखेँ त्यो साँझ।
मेरो गाइडको समय सकिदैथियो। उसले नेपाल आउने मन भएको बताई। सगरमाथा, लुम्बिनी र पोखरा घुम्नैपर्ने मैले बताएँ। सस्तोमा स्वर्ग हेर्न नेपाल नै एकमात्र गन्तब्य रहेको पनि थपेँ। कम्तिमा भारत वा चीन जाँदा नेपाल छिर्ने बुद्धिमान पर्यटक हुन विशेष सुझाएँ। भारत र चीनकै तुलनामा पनि नेपाल सुपथ छ। एकपल्ट नेपाल पुगे अर्कोपल्ट स्वत: आउने दावा गरेँ मैले।
उसले जानकारीका लागि आभार भनी। मैले समयका लागि कृतज्ञता ज्ञापन गरे। सिटीहल सामु रहेको बगैँचामा निर्मित विशाल कोरियाको नक्सा अंकित फूलबारी र छेवैंमा सियोल लेखेको कलात्मक कुर्सीमा फोटो खिचाएर हामीहरू बिदा भयौँ।
कोरिया विध्मान विश्व समाचारमा निकै चर्चित मुलुक मध्येको एक हो। हालैका शिखर वार्ताहरूले दुवै कोरियाको चर्चा थप चुलिएको छ। नेपालीहरूका लागि पनि निकै परिचित मुलुक हो, दक्षिण कोरिया। अध्ययन र कामका लागि जापान-कोरिया हामी धेरै नेपालीको लागि गन्तब्य बनेको छ। विकास र प्रविधिको प्रतिस्पर्धामा कोरिया चिरपरिचित नाम हो।
गत महिना मात्रै दक्षिण कोरियाको यात्रा गर्ने दुर्लभ अवसर जुट्यो। हवाई-जहाजबाट सियोल, सियोलदेखि बुसान (केटिएक्स) रेल र सामुद्रिक यात्रा (फेर्री) भएर बुसानबाट जापानको फुकुओकासम्मको संयोग आफैमा सम्झन लायक बनेको छ। भुपरिवेष्टित मुलुकका नागरिकहरू, यानी हाम्रा लागि सामुद्रिक यात्राले विशेष महत्व राख्छ।
बुसानस्थित पोर्टमा चेकिङ र बोर्डिङ भयो। हवाईजहाजको तुलनामा सहज र कम झण्झटिलो हुँदो रहेछ यो। रमाइलो र सहज अनुभव भयो। समुद्रमाथि रोकिएको पानीजहाजमा छिरेपछि नै मनमा एक प्रकारको उत्साह थियो। तल्लै तलामा रहेको निर्धारित स्थानमा लगेज व्यवस्थापन गरी माथिल्लो तलामा उक्लेँ म पनि। सफा र फराकिलो तलाको अगाडि पट्टि ठूलो पर्दामा टिभी चलिरेहको थियो। आ-आफ्नो सिट खोजेर बसियो। छेउपट्टीको सिटमा बसेर क्षितिजसम्म फैलिएको समुद्रमाथि तैरियर यात्रा गर्नु सपनाभन्दा कम थिएन।
समुद्रमा तैरीरहेका मनग्ये जहाजहरूलाई नियाल्दै, जहाजको रेष्टूरेण्टको कफि र खानाको स्वाद मार्दै गरिएको त्यो पारिवारिक यात्रा हाल सम्मकै अर्को सर्बाधिक उचो उपलब्धी ठान्छु म। मनोरम दृश्य र मनोरञ्नले भरिएका टेलिभिजनको कार्यक्रम र फ्रि-वाइफाईमा यात्रुहरू व्यस्त थिए। हामी पनि बाहिरको समुद्रको निलो पानी र थुप्रै जहाजहरू देखेर अचम्मित थियौँ।
फेसबुकमा लाइभ दिएँ। हुरुरु लाइक र कमेन्ट वर्षिए। अनन्तः सुखानुभूतिमा समुद्रमाथिको यात्रा भैराखेको छ। निलो र सुन्दर समुद्रको सीमा थिएन। न फूल, न हरियाली, न पहाड, न खोँच। पानी मात्रको संसार पनि यति ज्युदो र लोभ लाग्दो हुँदोरहेछ। कल्पन्छु, समुद्रभित्रको संसार। मेरिन वर्ल्डको त्यो विशालता माथिको यो सामुद्रिक सतह आफैमा भ्रम मात्र हुन्छ।
भलै, यी आखाँहरू झ्यालबाट देखिने गोलो समुद्रमै टोलाइरहेझै होलान् तर मन भने यो भित्रको त्यही अनुपम सुन्दरताको कल्पनामा मदहोस भएको छ। हजारौ माछाहरू, जलचरहरू, घना जंगल र सामुद्रिक जनावरहरूको लिला संझेर समुद्रलाई हेर्नु, छाम्नु र यसमाथि सवार हुनुको काइदा नै बेग्लै हुन्छ। मेरा लागि मेरिन वर्ल्डको एक्यूरियमले पनि यो समुन्द्रिक यात्रामा कलेबर थपेको हो।
सामुद्रको यात्रामा व्यग्र र उत्साहित मेरा वचेराहरू आशा र अशल मस्त निदाइरहेका थिए। सहयात्री राजाराम सहित गोरख र गणेश परिवारले पनि मैले झै वा त्योभन्दा अझ मिठो कल्पना गरेहुन्न। हामी सबै आफैमा मस्त थियौं। यसप्रकार, हामी ४ घण्टाको सामुद्रिक यात्रा पूरा गरी जापान फर्कियौं। समुद्र मान्छेको साथी हो वा शत्रु? यसले विकास वा विनाश ल्याउछ जस्ता बौद्दिक चर्चामा मेरो ध्यान छदैं छैन्।
अध्ययन, अन्तर्क्रिया र भ्रमण सिकाईका मूल आधार हुन्। सर्वप्रथम, जापानबाट सियोल जाने भनेपछि नै मनमा थुप्रै योजना र रहरहरू सल्बलाएका थिए। कोरियामा सुन्दर पन्थी, गणेश थापा, ई. अशोक क्षेत्री, किरण खड्का र सागर रानाभाट सहितका इष्टमित्र भेटेर कोरियाबारे सहजै जान्ने-बुझ्ने मौका मिल्यो। उक्त समय र अवसरका लागि सबैमा आभार प्रकट गर्दछु। संयोगले भगवान बुद्दको प्रतिमा अनावरण गर्ने पवित्र र ऐतिहासिक अवसरमा नेपालीद्वारा आयोजित परेड कार्यक्रममा सरिक हुनुले सूखद संझना संगालेको छ।
सुरुमा सियोल पुग्नासाथ, मनमा झट्ट प्रश्न उठ्यो। कोरियालाई कसरी हेर्ने? जापानको तुलनामा हेर्ने वा काठमाडौँलाई आधार बनाएर हेर्ने। एयरपोर्टबाट सुरु गरिएको सबवे (जमिनमूनीको रेल) देखेर जापानलाई पनि पछाडि पार्ने विकसित सहर रहेछ भन्ने पर्यो। यसो त, जापानको रेल १८७२ मा र कोरिया सन् १९६० को दशकमा निर्मित रेल हो।
यसर्थ, जापानको तुलनामा सियोल धेरैपछि निर्माण गरेको सहर हो। काठमाडौँबाट हेर्ने हो भने थप आशावादी हुन सकिन्छ। गरे नहुने केही छैन। बरू पछिल्लो विकास थप आधुनिक हुन पुग्दोरहेछ। अमेरिकाबाट जापान घुम्न आएका मेरा एकजना केसी मित्रले भनेका, 'नेपालबाट जापान/अमेरिका तुलना हुन कठिन छ। एउटा विकसित मुलुकबाट अर्को त्यस्तै मुलुक हेर्दा मात्र तुलना हुन सक्छ। विकासपछि यानी, यहाँबाट मान्छेलाई प्राकृतिक सुन्दरताको बोध हुनपुग्छ।
सुन्दर, शान्त र मोहकपूर्ण मानवजीवन प्रकृतिको निकटमा हुनु जरूरी छ। समुद्रको सतहजस्तै हो देखिने विकास र पिँध सरी हो प्रकृति। यस अर्थमा हाम्रो नेपाल विशेष छ। जापान, कोरिया, अमेरिका र विकसित मुलुकभन्दा पनि धेरै धेरै समुन्नत छ। यसरी सम्भावना नै सम्भावनाले भरिएको आफ्नो जन्मभूमिलाई नियाल्दा अझ मुलुक अझ प्रिय लाग्छ। बनाएरै बनेका छन मुलुकहरू। परिवर्तन रोकेर रोकिने कुरा पनि रहेनछ।
कोरियाको भ्रमणबाट इतिहासमा नेपाल पनि एक गरिब देश थियो भनेर सगौरव मुलुक चिनाउने दिन आउनेछ भनेर आशा जाग्यो। प्रतिस्पर्धा, युद्ध र अभावले थिचिएका मुलुकको दाजोमा वुद्धको देश नेपाल कदापि विचरा थिएन र कसैको गुलाम नरहेको कुरा गर्दा छाती फुलेर आयो। सगरमाथाझै उचो स्वाभिमान बोकेको समुन्नत, आधुनिक र नयाँ नेपालको निर्माण नेपाली मात्रले गर्नुपर्छ र गर्न सकौँ।
वास्तवमा समय नबितिसकेको पनि आभाष गरायो यो यात्राले। श्री पशुपतिनाथ भगवानले हामी सबैमा सद्बुद्धि दिउन्।