काठमाडौंको तापक्रम करिब ८ डिग्रीको वरिपरि हुँदो हो। श्रीलंका यात्राका लागि निस्केका हामी दिल्ली एयरपोर्टमा पुग्दा शून्य डिग्री सेल्सियसमा झर्यो।
कुरा गत वर्ष हिउँदको हो। २०७६ पुस ३ गते बेलुकी ८ बजेतिर हामी दिल्ली पुगेका थियौं। त्योबेला त्यहाँ फेसबुकलगायत सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाइएको रहेछ।
हिन्दु र मुश्चिम समुदायबीच एकअर्काप्रति विश्वास चिसिएका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाइएको थियो त्यसबेला।
म श्रीलंका यात्रामा थिएँ। अहिले त घुमघाम ठप्प छ, कोरोनाको डरले। त्यसबेला फुक्काफाल थियो, जता घुम्न गए पनि भो!
दिल्ली विमानस्थलमा चार घण्टा ट्रान्जिट बस्दा पट्यार पनि लाग्यो। दिदी स्यानी चौधरीसँगै केहि समय विभानस्थलभित्र घुम्यौं। फोटा खिचिए। तर फेसबुकमा राख्न पाइएन, त्यो बेला फेसबुकलगायत प्रतिबन्द थियो नि!
म एकै ठाउँमा बसिरहन सक्दिनँ, अधैर्य छु। यति लामो समय विमानस्थलभित्र बस्नुपर्दा मन बेचैन भइसकेको थियो। यात्रुहरू बस्न बनाइएका कुर्सीमा ढल्किएँ निन्द्रा आए पनि हुने नि, फिटिक्कै आएन। मन थिरमा थिएन, ढुक्कसँग सुतौं भने जहाज छुट्ने डर! कसैले झोला चोरिदिने पो हो कि जस्तो मात्रै लागिरह्यो।
स्यानी दिदी मजस्तो छटपटाउनुभएन। खोइ किन हो, विदेश यात्रा गरिराखेकोले बानी परेको होला कि। उहाँ त ढुक्कले कुर्सीमै निदाइदिनुभयो।
दिल्ली विमानस्थल रातमा पनि दिनजस्तै उज्यालो थियो। विमानस्थलभित्र सबैखालका सुविधा रहेछन्। तातोचिसो पानी नि:शुल्कै पाइने। कति सफा थिए शौचालय। मैले नेपाल सम्झिएँ, यस्तै व्यवस्थापन नेपालका विमानस्थलहरूमा किन हुँदैन?
बल्ल जहाज चढ्ने बेला भयो। बस्दाबस्दा पट्यारलागेको मलाई अब भने उड्न पाइने भो भनेर खुसी लाग्यो।
झण्डै पौने ३ घण्टापछि हामी श्रीलंका विमानस्थल उत्रियौं। राति जहाजका झ्यालबाट समुद्र वरपर टिलपिल टिलपिल गरिरहेको दृश्य चिहाएँ। कति मनमोहक दृश्य। अहिले सम्झिँदा पनि रमाइलो लाग्छ।
मेरो मन रोमाञ्चित थियो। चञ्चल पनि। कतिबेला श्रीलंकालाई स्पर्श गरौंजस्तो भयो।
हामी विमानस्थल उत्रिँदा तापक्रम २६ डिग्री सेल्सियस थियो। पुस महिना जाडो हुन्छ भनेर बाक्ला सर्ट र ज्याकेट लगाइएको थियो। मानिसहरू हामीलाई हेर्दै छक्क परे होलान्। शरीरमा पसिना बगिरहेको थियो। गर्मीले अत्यायो, कुनबेला ज्याकेट फुकालौंजस्तो भयो। ज्याकेट फुकालेर झोलामा राखेँ। दिदी स्यानीलाई पनि गर्मी उधुम भएछ क्यारे! ज्याकेट निकालेर झोलामा राख्नुभयो।
दिल्लीकै जस्तो समस्या श्रीलंका विमानस्थलमा पनि मलाई पर्यो। साथी भनेका बेला आएनन् कुर्नपर्यो। बाटापोला बस्ने निर्मल लोकुलियाना हामीलाई लिन आउँदै थिए। पानी परेछ भनेका बेला निस्कन पाएनछन्। हामी विमानस्थल बाहिर गएर होटल खोज्ने कि भन्ने कुराकानी गर्दागर्दै बिहानको ७ बजेको हुँदो हो साथी आइपुगे। उनले साथमा श्रीमती र एक जना प्रहरी पनि ल्याएका रहेछन्। उनकी श्रीमती नर्स रहिछन्।
ती प्रहरी कार हुक्याउँदा रहेछन्। फर्कनेबेला उनले नै कार चलाएका थिए। निर्मल त हामीसँग कुरा गर्न व्यस्त! स्यानी दिदीलाई निर्मलले साइनी भनेर बोलाउन थाले। उनीहरूबीच चिनजान पुरानै रहेछ। केहि वर्ष पहिले जापानमा उनीहरूबीच चिनापरिचय भएको रहेछ।
सुरूमा उनीहरूले हामीलाई मुश्लिम धर्म गुरूकहाँ लगे। निर्मल बौद्धमार्गी हो। हामी पुग्दा ती धर्मगुरू टिभीमा भारतीय समाचार च्यानल हेर्दै थिए। भारतमा बेलाबेला बल्झिरहने जातिय दंगाबारे उनी चिन्तित रहेछन्।
चियाको चुस्की लिएर हामी त्यहाँबाट अगाडि बढ्यौं।
सडक चिल्ला थिएँ। कतिपय ठाउँमा तल रेल र माथि सडकमा मोटर चलेको देखियो। मलाई रमाइलो लाग्यो।
एक ठाउँमा गुरूजीले गाडी रोके। सडक कर तिर्न रहेछ। सडकमा कसले कति किमी गाडी गुडायो त्यसअनुसार त्यहाँ कर लिने सिष्टम रहेछ। प्रविधिको प्रयोगले गर्दा कर तिर्नेबेला नेपालको जस्तो गुरूजी नै झरेर पैसा तिर्ने ठाउँसम्म पुग्न नपर्ने रहेछ।
सडकका दायाँबायाँ मोटा जुँगावाल मानिसका तस्बिर टाँसिएका थिए। राजापक्षका दाजुभाइका रहेछन्। केहि पहिले राष्ट्रपतिमा गोटवाया राजापाक्षे र प्रधानमन्त्रीमा महिन्द्रा राजापाक्ष सुविधाजनक मत पाएर निर्वाचित भएका थिए। त्यसैको खुसीयाली होला, सडकका यी तस्बिर!
मुख्य राजमार्गमा मोटरसाइकल चलेको देखिएन। तीव्र गतिमा ठूला सवारी साधन हुइकिने भएकोले होला दुईपाङ्गे सवारी साधन छेउका लेनमा मात्रै गुडेको देखिन्थ्यो।
हामी पहिलो दिन खण्डेविहार, अलुथ्थागामा, प्रसिद्ध पर्यटकीय क्षेत्र बेनटोटा र हिक्काडुवा सुमन्द्री किनार लगायत ठाउँ घुम्यौं।
त्यहाँका गुम्बाहरुमा दर्शनार्थीको घुइँचो थियो। फूलेका कमल फूल बुद्धका मुर्ति वरवर चढाइने रहेछ। केहि मानिस यहाँ ध्यानका लागि पनि आउने रहेछन्।
बुद्धबारे यहाँका मानिसले गहिरो ज्ञान राखेका रहेछन्। म बुद्ध जन्मभूमि नेपालबाट गएको, बौर्द्धमार्गी प्रशस्त देख्दा भिन्नै खुसी लाग्यो। लुम्बिनीबारे उनीहरू जानकार रहेछन्। कतिपयले लुम्बिनी नेपालमा पर्छ र भन्ने प्रश्न गर्दा चस्स मनमा छोयो।
यतिमात्र होइन नेपालबारे जिज्ञासा राख्नेलाई मैले सगरमाथालगायतका कुरा पनि सुनाए। धेरैजसो ठाउँमा हामीले हात्ती पनि देख्यौं। फलामे सिक्रीले बाँधेका ती हात्ती अगाडि उभिएर मन नलागी नलागी भने पनि तस्बिर खिचियो।
श्रीलंकाका मानिसहरूले जताततै बुद्धका बडेमानका मुर्ति बनाएर सजाएका रहेछन्। गुम्बा पनि निकै राम्रा लाग्यो मलाई त।
कुरोन्यागल भन्ने ठाउँमा पहाडको चुचुरोमा अदभूत लाग्ने बुद्धका बडेमानका मुर्ति रहेछ। यहाँ बहुसंख्यक जनता बौर्द्धमार्गी छन् भन्ने मैले सुनेँ।
अरू धर्माबलम्बी पनि रहेछन्। धार्मिक सहिष्णुता कायम रहेछ त्यहाँ। धेरै ठाउँमा नजिक नजिक गुम्बा र मस्जित देखेँ। यसबाट पनि यहाँका मानिस मिलेर बसेका रहेछन् भन्ने मलाई लाग्यो।
यहाँ राज्यले भिक्षुसँग गाडीभाडा नलिने रहेछन्। एउटा बसमा तीन जनासम्म भिक्षु छन् भने पनि भाडा नलिने रे। अझ जहाज चढ्दा पनि भिक्षुलाई पैसा नलाग्ने रहेछ।
त्यसबेला त्यहाँका विद्यालय तथा क्याम्पस बन्द थिए। जाडो बिदा भइसकेको रहेछ। स्कूल बिदा भएकोले एक जना शिक्षक फुर्सदिला भेटिए। उनै हुन् हाम्रा गाइड निर्मल।
एक साँझ उनले हामीलाई आफूले पढाउने स्कूल लगेका थिए। त्यहाँको सुरक्षा व्यवस्था कडा रहेछ। स्कूलको तस्बिर खिच्न पनि गार्डले अनुमति दिएनन्। ढिला विद्यालय आउने शिक्षकलाई गार्डले नै घर फिर्ता पठाइदिन सक्ने अधिकार दिइएको छ भन्ने निर्मलको कुरा सुनेर म अचम्मित भएँ।
यति सुनेपछि एउटा कुरा सोध्न खसखस लाग्यो। सोधिहालेँ- राजनीति के कस्तो छ नि विद्यालयमा?
यहाँका स्कूलमा त राजनीति गर्न नपाइने रहेछ। विद्यार्थी संगठनहरूले पनि। सरकारी विद्यालय निजीभन्दा गुणस्तरीय शिक्षा दिनेमा कहलिएका रहेछन्। ठ्याक्कै हाम्रोमा भन्दा उल्टो! नेपाल सम्झिएँ सरकारी विद्यालय र त्यहाँ पढ्नेलाई हेला गरिएको छ।
यो पनि नयाँजस्तो त्यो पनि नयाँजस्तो लाग्यो मलाई। प्रश्नहरू सोधेँ चासो राखेँ त्यसले शरीर त निकै थाकेछ। लखतरान नै परेँ नि। खाना पनि खाइएको थिएन बल्लबल्ल दिउँसो २ बजेतिर निर्मलको घर पुगेर खाना खाएपछि आनन्द आयो।
ब्याइल्ड राइस, माछा, दाल तरकारी ओहो कति धेरै परिकार नै परिकार। पाहुनालाई स्वागत गर्न निर्मलले धेरै दु:ख गरेछन्। होटलबाट नेपाली परिकार नै मगाएका रहेछन्।
एकछिन आराम गरेपछि यात्रा फेरि तय भयो। इन्डियन ओसनमा सन बाथ गर्ने कुरा भयो। निर्मलका दुई जना छोरा रहेछन्- १२ वर्षे निशुरा र १४ वर्षीय अनुदा। उनीहरू हामीलाई देखेर उत्साहित बने। हामीसँगै घुम्न जान तम्तयार। हामीभन्दा पहिले नै कारमा चढिसकेका थिए।
हामी समुन्द्र पुग्दा हल्का घाम लागेको थियो। निर्मल पौडी खेल्न हतारिए। पसे समुन्द्रमा। म पनि के कम! पसे समुन्द्रमा। श्रीलंकाका स्थानीयहरू पनि सन बाथ गर्न त्यहाँ थिए।
स्यानी दिदी समुन्द्रमा जानु भएन। किन हो कुन्नी डर पो लाग्यो कि! फोटा खिच्न मै रूची राख्नुभयो।
महिना पुसको थियो। तर पनि श्रीलंकाको मौसम हाम्रा लागि गर्मी। चौथो दिनको साँझ कुरोन्यागल बस स्टेशनमा पुग्दा तापक्रम ३८ डिग्री सेल्सियस थियो। तर दिन नबिराई पानी भने पर्ने रहेछ यहाँ। छिनमै घामपानी घामपानी भइरहने। पर्यटकका मन भुटुक्कै पार्ने कस्तो सिपालु मौसम!
हामी एक तलाउ घुम्न पनि गयौं। आर्यदास भन्ने एक जना मानिस भेट्न जाँदा तलाउका वरपर घुमियो। मानिसहरू व्यायम गर्ने ठाउँ रहेछ यो। जिममा जस्तै सामानहरू थिए। जो गए पनि जिम गर्न पाउने पैसा नलाग्ने ठाउँ रहेछ। एक रात हामी यहिँ बस्यौं। दास घरमा एक्लै रहेछन्। उनले चलाएको खाद्यान्न उद्योग पनि हेर्ने अवसर मिल्यो।
उनले जैविक विधिबाट बगैंचामा खेती र उपचार विधि अपनाएका रहेछन्।
श्रीलंकाका प्राचीन अन्नबाली धान, कोदो, विभिन्न जडिबुटी लगायतबारे उनी जानकार रहेछन्। बगैंचामा नरिबलका बोट थिए। नरिबलका पानी खाइयो। ५० रूपैंया लिँदा रहेछन्।
गोलसिटीमा करिब सय वर्ष पहिले डचहरूले बनाएको किल्ला अझै दुरूस्तै छन्। जतिबेला उनीहरुले कब्जा जमाएर श्रीलंकामा शासन गरेका थिए त्यसबेला नै बनाइएका हुन् रे यी किल्लाहरू।
उनीहरूले समुद्र छेउ पर्खालले घेरेका थिए। किल्ला आसपास समुन्द्रमा पानीजहाज रोकिराखिएको थियो। नजिकै अग्ला टावर थिए। त्यो टावरबाट डचहरू आसपास नियाल्थे रे। यहाँ पर्यटक खचाखच थिए। जात्राजस्तै ठेलमठेल भीड।
समुन्द्रको पूर्वतर्फ धना जंगल थियो। ती जंगलमा जडिबुटी पाइन्छन् भन्दै थिए निर्मल। त्यो क्षेत्रलाई उनीहरू धार्मिकस्थल मान्ने रहेछन्। हनुमानले त्यो जंगलमा जडिबुटी खसालेको विश्वास उनीहरूको रहेछ।
यसपछि हामी लाइन रक पुग्यौं। यी चट्टानमाथि पौराणिक कालमा पुष्प विमान अवतरण गरिन्थ्यो रे। त्यहाँ काश्पक राजाले राजकाल चलाएको इतिहास रहेछ।
सन् १९७२ सम्म श्रीलंकालाई सिलोन भन्ने गरिन्थ्यो। निर्मलका अनुसार त्यसपछि एकजना महिला प्रधानमन्त्रीले देशको नाम श्रीलंका राखिकी हुन्।
त्यही नामवाट राखिएको सिलोन टी यहाँको प्रख्यात चिया हो। एभर ग्रिन टी उद्योगमा हामीले पनि हेरियो। श्रीलंकालीहरू आयआर्जनको स्रोत सिलोमन ट्री पनि रहेछ। जस्लाई यहाँका स्थानीयले हिराको संज्ञा दिने रहेछन्। बोक्रा, पातदेखि सबै महंगोमा विक्री हुने रहेछ।
बोक्रा छिल्नेदेखि त्यो भरेर साना साना लठ्ठी तयार पार्ने र त्यो कलात्मक रुपमा बनाएर राख्ने गरिदो रहेछ। त्यो देख्दा मलाई दाङका थारु समुदायले घरमै गुन्द्री पटकी बुनेकोजस्तै लागेको थियो।
स-साना लठ्ठी यूरोपतिर निकै महंगोमा पठाउँदो रहेछन्। यसको पातवाट तेल निकालिन्छ रे। नेपालमा घरेलु मदिरा उत्पादनको विधिजस्तै आगो बालेर तेल उत्पादन गरिँदो रहेछ।
श्रीलंकाको बहुमूल्य पत्थर खानीमा पनि हामी पुग्यौं। ती सबै सरकारले नै उत्खनन् गर्दौ रहेछ। त्यहि पत्थरको औंठीहरु पनि बनाइने रहेछ। एउटा औंठी किन्न खोजेको ३५ हजार रे! भो किन्दिनँ भनेँ। पैसा भए पो!
निर्मलका छोरा अनुदा मार्सल आर्टको खेलाडी रहेछन्। म पनि खेलाडी हुँ भनेको उनी नजिकिए। कम्प्युटर डिजाईनर बन्ने इच्छा भएका उनले विश्वका आकर्षक तस्बिरहरु देखाए। मैले उनलाई एकदिन गुगुलमा सगरमाथा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखाइदिएँ- अचम्मित माने।
टापुको देश श्रीलंका मलाई सुन्दर लाग्यो। समुन्द्र र बुद्धबाट यो देशले मनग्य फाइदा लिइरहेको थाहा पाएँ।
नयाँ ठाउँ घुम्न रमाइलो भइरहेको थियो। नेपाल फर्कने दिन पनि आइगो। अन्तिम दिन हामीलाई विमानस्थलसम्म छोड्न गम्पाहाका उदय कुमार आएका थिए। रातको १२ बज्नै लागे पनि उनका दुई साना छोरी कारमा नसुतेरै गफिए बसे।
उनीहरुको भाषा नबुझेपनि एल्टस् गो टु नेपाल, आइ लभ नेपाल। ‘बुद्ध वाज बर्न इन नेपाल, सगरमाथा लाइन इन नेपाल’ भन्ने शब्द उनीहरुलाई स्यानी दिदीले रटाउनुभयो।
उनीहरुसँगै कति छिट्टै माया बसेछ। हामी फर्किन लाग्दा मलिन देखिए। नेपाल भ्रमण गर्न आउन निम्तो दिएर हामी फर्कियौं।