पहिलो पटकछिमेकी देशमा पाइला टेक्दै थियौं हामी। केहीबाहेक लगभग सबैको पहिलो यात्रा थियो – भारत ।
नेपालभन्दा करिब २२ गुणा ठूलो छ भारत। नेपालको जस्तै भारतमा पनि विभिन्न पर्यटकीय स्थल छन्। समुन्द्रदेखि मरुभूमिसम्म सबै यही छन्। भारत जाने भएपछि त्यहाँ गएर कुन/कुन ठाउँ घुम्ने भनेर पहिल्यै नै छानिसकेका थियौं। भारत भ्रमणलाई अविस्मरणीय बनाउनु थियो।
केही महिनाअघि हामी पाटन संयुक्त क्याम्पसमा अध्ययनरत् बिबिएका विद्यार्थी भारत भ्रमणमा जाने भयौं।
त्यतिबेला अहिलेको जस्तो कोरोना महामारी र लकडाउनको अवस्था थिएन। सबै सामान्य तरिकाले नै चलिरहेको थियो।
सबै तयारी पूरा गरेर माघ २२ गते राति हामी काठमाडौंबाट निस्कियौं।
मुग्लिङ, बुटवल हुँदै बिहान लुम्बिनी पुग्यौं।
लुम्बिनीमा रहेको मायादेवी मन्दिर, शान्ति स्तुपा, अशोका पिल्लर जस्ता पर्यटकीय स्थल केही समय घुमेर सुनौलीतिर लाग्यौं।
सुनौली नेपाल र भारतको सीमा नाका भएकाले त्यस ठाउँभन्दा अगाडि नेपाली गाडी प्रवेशमा रोक लगाएको थियो। सबै आ–आफ्ना सामान बोकेर सीमा पार गर्न थाल्यौं।
अब हामीले नेपाली भूमि छोडेर भारतको भूमिमा टेकिसकेका थियौं। सुनौलीबाट फेरि भारतीय बस चढेर गोरखपुर हुँकियौं। गोरखपुरमा सिधै रेलवे स्टेसनमा ओर्लियौं। त्यसदिन हामी सबै निकै उत्साहित थियौं किनभने हामी धेरैजसो पहिलो पटक रेल चढ्दै थियौं।
“रेल धेरै समयसम्म रोकिँदैन है। सबैजना छिटो छिटो चढिहाल्नु, नत्र छुट्छ।” यस्तै भन्दै हुनुहुन्थ्यो हामीसँगै आउनु भएको अर्पण दाइ।
सबैजना आ–आफ्नो झोला समाएर रेल आउने प्ल्याटफर्ममा बसिरहेका थियौं। “लोकमान्य तिलक सुपर एक्सप्रेस नामको रेल आउँछ, अनि सबैजना भित्र पस्नू।” अर्पण दाइ सम्झाउँदै हुनुहुन्थ्यो सबैलाई।
रातिको १० बजे लोकमान्य तिलक सुपर एक्सप्रेस नामको रेल आयो र सबैजना हतार हतारमा सामान बोकेर मुम्वईको लागि रेल चढ्यौं।
सबैजना आ–आफ्नो सिटमा मिलेर बस्यौं। कोही साथीहरू वल्लो कुनामा थिए भने कोही पल्लो कुनामा।
“रेलमा धेरै चोरी हुन्छ, आफ्नो सामानको सुरक्षा राम्रोसँग गर्नू है !” दाईले फेरि सतर्क हुन भन्नुभयो।
पहिलो पटक रेल चढेको, त्यसमाथि चोरी हुन्छ भन्ने सुनेपछि राति कसलाई पो निन्द्रा लाग्छ र! त्यसैले हामी सर्तक भयौं।
केहीबेरमा “बिरयानी आयो बिरयानी ...” भन्दै बिरयानी बेच्न ल्यायो। खाना खाएर चढेकाले केही खाएनौं। त्यो रेलको पहिलो रातमा त निदाउन पनि सकेनौं।
बिहानै “चाए लिनुस् चाए ... ” भन्दै चिया बेच्न ल्यायो र चिया पियौं। दिउँसो पनि त्यहीको बिरयानी खायौं। यसरी करिब ३१ घण्टाको लामो यात्रापछि बिहान ४ बजे मुम्वई पुग्यौं र सिधै होटलतर्फ लाग्यौं।
बिहान ब्रेकफास्ट खाएर एसियाकै ठूलो वाटर पार्क जाने कुरा थियो। सबैजना रेडी भयौं र गाडी चढेर वाटर पार्कतिर लाग्यौं। टिकट काटेर भित्र पस्यौं। निकै नै ठूलो थियो पार्क। एकातिर वाटर पार्क र अर्कातिर एसल वर्ल्ड फन पार्क थियो।
विभिन्न वाटर स्पोर्ट्स बनाइएको पार्कमा फ्री फल हुनेदेखि वेभ पुलमा आनन्द लियौं। छुट्टै संसारमा पुगेजस्तो भान भयो।
केहीबेर पानीमा खेलेर फन पार्कतिर लाग्यौं। त्यहाँ भएको केही खेल निकै रामाइला र मनोरञ्जनात्मक थिए त केही डरलाग्दा पनि।
त्यहाँ रहेका खेलहरू खेल्न रहरमात्र भएर नहुने रहेछ, मुटु पनि दह्रो चाहिने रहेछ।
केही साथीहरू रहर हुँदाहुँदै पनि मुटु कमजोर बनाएर खेल खेल्न छुटाए। फन पार्कमा रहेको खेलहरू खेल्दा मनमा एक किसिमको डर अनि रोमान्चकता दुवै मिश्रित हुन्थ्यो।
दिनभर त्यही बितायौं र राति होटल फर्कियौं। दिनभरिको थकानले गर्दा हामी खाना खाएर छिट्टै सुत्यौं।
अर्को दिन हामी मुम्वईमा रहेको गेटवे अफ इन्डिया, बम्बई इस्टक एक्सचेन्ज, जुहू बीच र भारतीय कलाकारहरू बस्ने बङ्लाहरूको पनि अवलोकन गर्यौं।
जूहू बीचमा बसेर सबैजना समुन्द्री किनारमा एकछिन तस्विरहरू खिच्दै थियौं। “यहाँको भन्दा ठूलो समुन्द्र हेर्न जान बाँकी नै छ, त्यहाँ पुगेर फेरि फोटो खिचौंला।” यसो भन्दै अर्पण दाईले सबैलाई बसमा बोलाउनु भयो।
त्यहाँका फराकिला र चिल्ला बाटो, अग्ला घर र महल देख्दा निकै विकसित देखिन्थ्यो। सोचें, हाम्रो देशले यस्तो विकास कहिले गर्ला?
दिनभरको अवलोकनपछि हामी त्यस रात फेरि गोवा जानको लागि रेल चढ्यौं। अब रेल चढ्दा के/के गर्नुपर्छ भनेर सबैलाई थाहा भइसकेको थियो। सबै जनालाई कहिले गोवा पुगिन्छ जस्तो भइसकेको थियो।
बिहान ६ बजे गोवा पुग्यौं। गोवा भन्ने बित्तिकै सबै जना ठूलो समुन्द्र हेर्न आतुर थियौं। नेपाल भूपरिवेष्ठित राष्ट्र भएकोले समुन्द्र देख्न पाइँदैन। होटलमा सामान राखी खाजा खाएर सुरूमा समुन्द्र हेर्नतिरै लाग्यौं।
निकै ठूलो समुन्द्र देखेर सबै जना उत्साहित देखिन्थे। खोलाको किनारमा खेलेको अनुभव भए पनि समुन्द्री किनारमा भने पहिलो अनुभव थियो। आफ्नो आँखाले भ्याएसम्म जताततै हेरे पनि मात्रै पानी नै पानी।
कोही तस्वीर खिच्न व्यस्त थिए त कोही त्यहाँको मनोरम दृष्य हेर्न। कोही भने समुन्द्री किनारमा नामहरू कोर्दै थिए तर त्यो एकछिन मै समुन्द्रको छालले मेटाइदिन्थ्यो।
मानिसहरू समुन्द्रमा विभिन्न खेलहरू खेलिरहेका थिए। समुन्द्र किनारमा मानिसहरू सबै आफ्नै धुनमा हुन्थे। निकै रमाइलो र त्यहीँ बसिराखौं लाग्ने वातावरण थियो त्यस ठाउँमा।
त्यसपछि त्यहाँको बजार घुम्न निस्कियौं। सामानहरू पनि सस्तो पाइने रहेछ। सबै जना सामानहरू किनमेल गर्न थाल्यौं। दिनभर घुमेर हामी सूर्य अस्ताएको हेर्न फेरि समुन्द्री किनारतिरै लाग्यौं।
समुन्द्री छालको आवाज र सूर्य अस्ताउन लागेको दृष्य निकै मनमोहक थियो।
अर्कोदिन हामीले समुन्द्रमा वाटर स्पोर्टस गर्यौं। प्यारासेलिङ, वाटर राइडजस्ता खेलहरू खेल्यौं। समुन्द्रको बिचमा लगेर खेलाइने यी खेल निकै मनोरञ्जनात्मक थिए। जति खेले पनि खेलिरहुँ लाग्ने।
वाटर स्पोर्टसले गर्दा त्यहाँ पर्यटकहरू आकर्षित भएको देखिन्छ। साँझसम्म समुन्द्र किनारमा रमाइलो गरेर होटल फर्कियौं र भोलि पल्ट दिल्ली प्रस्थान गर्यौं।
दिल्ली पुगेकै दिन नेपालमा नभएको मेट्रो रेलको अनुभव गर्न मेट्रो रेल चढेर अक्षरधामको दर्शन गर्न लाग्यौं।
निकै सजिलो र छिटो यात्रा हुने रहेछ मेट्रो रेलको यात्रा। नेपालमा पनि यस्तो विकास गर्न सके यात्रा गर्न कति सजिलो हुन्थ्यो होला!
सबैले अक्षरधामको दर्शन गर्यौं र साँझमा त्यहाँ पानी र बत्तीको प्रयोग गरेर निकै कलात्मक दृष्य देखाइने रहेछ। त्यही हेर्न हामी टिकट काटेर गयौं। मोबाइल, क्यामेराजस्ता सबै कुरा लैजान रोक लगाइएको थियो।
त्यहाँको वाटर शो सुरू भएपछि कसैको आँखा झिम्किएन। सबै एकोहोरो भएर हेरिरहे। पानी र बत्तीलाई निकै उत्कृष्ट र कलात्मक ढङ्गले प्रस्तुत गरिएको थियो। हेरिरहूँ लाग्दा लाग्दै सकियो।
अर्कोदिन दिल्लीमा रहेको विभिन्न ठाउँ घुम्न निस्कियौं। दिल्ली गेट, कुतुब मीनार, कमल मन्दिर (लोटस टेम्पल) जस्ता ठाउँहरू घुम्यौं।
त्यहाँ रहेको कमल मन्दिर निकै उत्कृष्ट थियो। त्यस मन्दिर कमलको फूल आकारमा बनाइएको भएकोले कमल मन्दिर (लोटस टेम्पल) भनिएको रहेछ। दिल्ली गेट र कुतुब मीनारको पनि आफ्नै महत्त्व छ।
घुमफिर पछि केहीबेर सामान किनमेल गर्न थाल्यौं र साँझमा रेल चढेर जैसलमेरतिर लाग्यौं।
भोलिपल्ट दिउँसो जैसलमेर पुग्यौं।निकै गर्मी थियो। अब हामी मरुभूमि हेर्न जाँदै थियौं। सबै एकदमै उत्साहित थिए।
जैसलमेरमा हामीलाई टीका लगाएर स्वागत गरियो। त्यहाँ हामीलाई एक रिसोर्टमा राखिएको थियो। एकैछिन आराम गरेर हामी डेजर्ट सफारी गरेर मरुभूमितिर लाग्यौं।
फोटो र भिडिओमा मरुभूमि देखे पनि अनुभव भने कसैले गर्न पाएका थिएनौं। जताततै हेरे नि बालुवा नै बालुवा। हुन त खाल्डाखुल्डी र पिच बाटोमा हिँड्न बानी परेको, बालुवामा हिँड्दा छुट्टै अनुभव हुँदोरहेछ। मनमा छुट्टै आनन्द आइरहेको थियो –मरुभूमिमा बस्दाको पल। हातमा लिएर बालुवा बिस्तारै उडाएँ। सबैजना तस्वीर कैद गर्न लाग्यौं।
“मरुभूमिमा आएर पनि ऊँट चढिएन भने आएको महत्त्व नै भएन नि !”यस्तै भन्दै थिए साथीहरू। हामी सबै जनाले ऊँटमा चढेर पनि सफारी गर्यौं।
त्यहाँ केही मानिस राजस्थानी भेषभूषामा गीत गाएर नाचिरहेका थिए। उनीहरूलाई आफूखुसी अलि-अलि पैसा दियौं। घाम डुब्न लागेको दृष्य निकै मनमोहक देखिन्थ्यो। त्यसपछि फेरि रिसोर्टमा फर्कियौं।
रिसोर्ट पुग्दा सानो कार्यक्रम आयोजना गर्न लागिएको रहेछ। राजस्थानी भेषभूषामा सजिएर आफ्नो संस्कृति झल्किने गरी साँस्कृतिक कार्यक्रम गरिएको रहेछ। हामी पनि एकछिन नाचगान गर्यौं। वातावरण निकै रमाइलो थियो।
त्यहाँको लोकल राजस्थानी खाना (महा भोज) पनि खायौं। रमाइला र सबैसँग मिल्ने स्वभावका थिए त्यहाँका मानिसहरू।
मरुभूमिमा आएर स्वीमिङ पुलमा पौडी खेल्न पाइन्छ भनेर हामी कसैले पनि सोचेका थिएनौं। त्यस रिसोर्टमा रहेको स्वीमिङ पुलमा एकछिन पौडी खेलेर हामी जैसलमेरमा रहेको अन्य ठाउँ घुम्न निस्कियौं।
जैसलमेर किल्ला, गडिसर तालजस्ता ठाउँ घुम्यौं। निकै पुरानो इतिहास बोकेको रहेछ जैसलमेर किल्लाले। केही साथीहरू राजस्थानी भेषभूषामा सजिएर फोटो खिच्न लागे र कोही त्यहाँको बजार घुम्दै सामान किन्न। त्यसदिन हामी फेरि जयपुर जनको लागि रेल चढ्यौं।
रातभरि रेलमा यात्रा गरेपछि बिहान जयपुर पुग्यौं। होटल पुगी बिहानको खाजा खाएर हामी त्यस ठाउँमा रहेको विभिन्न ठाउँको अवलोकन गर्न निस्कियौं।
जयपुरमा रहेको आमेर किल्ला, जल महल, हवा महल, विर्ला मन्दिर जस्ता ठाउँहरूको अवलोकन गर्यौं। ती ठाउँहरूको कलाले सबैलाई लोभ्याएको थियो।
बेलुका ढिलोसम्म जयपुरको बजार घुम्यौं। जयपुरको कपडा राम्रो हुन्छ भनेर सबैले कपडाहरू किन्न थाल्यौं। अर्को दिन हामी बिहानै गाडी चढेर आगरातर्फ लाग्यौं।
करिब सात घण्टाको यात्रापछि आगरा पुग्यौं। आगरा भन्ने बित्तिकै सबैलाई ताज महल हेर्ने कौतूहलता जागेको थियो।
भारत पुगेपछि जो कोहीको सापना एकचोटि ताज महल हेर्ने हुन्छ। विश्वका सात आश्चर्यमध्ये एक हो, ताज महल।
हामी पनि सिधै ताज महलतिर लाग्यौं र टिकट काटेर भित्र पस्यौं।
भित्र पस्ने बित्तिकै सबैको मुखबाट “वाउ” शब्द निस्कियो ।प्रेमको निसानी मानिने सानदार ताज महलको दृश्य हेर्दा मनै लोभियो।
ताज महल हेर्दा सबैलाई आफ्नो सपना पूरा भएजस्तो लागिरहेको थियो। सबै एकछिन एकोहोरो हेरिरहे।
अनि फोटो खिच्न थालियो। मानिसहरूको भीडले गर्दा ताज महल अगाडि फोटो खिच्न पनि पालो कुर्नु पर्ने थियो। त्यहाँको कलात्मक बुट्टा र वरिपरिको वातावरणले जो कोहीलाई पनि आकर्षित गर्छ। कसैलाई त्यहाँबाट निस्कन मन लागेको थिएन।
बेलुका गोरखपुरको लागि रेल चढ्न भ्याउनु पर्ने भएकोले त्यहाँबाट निस्केर एकछिन बजार घुम्यौं र गोरखपुरको लागि रेल चढ्यौं।
गोरखपुर ओर्लिएपछि फेरि सुनौली पुग्न गाडी चढ्यौं।
मनभरि ती याद, नयाँ ठाउँ, नयाँ अनुभव र अविस्मरणीय पलहरू कैद गरी हामी सत्र दिनको लामो यात्रा सकाएर सुनौलीबाट काठमाडौं फर्कियौं।
।