तराई भन्ने बित्तिकै सम्झना के आउँछ? उखर्माउलो गर्मी, भेलसरी बाढी अनि त्यही शितलहर सरि जाडो!
चैत्रदेखि चलेको लकडाउनले गर्दा कतै निस्कने कुरै भएन, फेरि कोरोना लाग्नु भनेको कालै निम्त्याउनु सरह गाउँघरमा त्रास सुरुसुरुका दिनमा फैलिएको थियो। अहिले? अहिले त सबैजना अस्तव्यस्त हुन थालिसकेका छन। सरकारले केही खुल्ला गरेसँगै सबैको व्यस्त जीवन सुरु हुन थालिसकेको छ। आफू भने सधैको फुर्सद!
चैत्रदेखि नै कतै निस्किन नपाएको। त्यसैले कहिले पुस्तक त कहिले समाचार अनि अन्तर्वाता हेर्दै समय बिताइयो। देशमा राजनीतिले बेलाबेला तरंग सिर्जना गर्दा साथीभाइसँग सामाजिक संजालमा चर्चा गर्यो बस्यो, यस्तै त हो नि हैन र फुर्सदिलो जीवन?
एउटा कोठामा पुस्तक पढ्ने र राजनीतिक मन्थन गर्ने बाहेक केही नगरेकाले बोर भएको पनि हप्तै नाघिसकेछ। अति भयो, आज त पूरा जिल्ला नै चक्कर मार्छु, कम्तिमा मनलाई शान्ति त हुन्छ। एका बिहानै थन्काएको बाइकको साँचो खोज्छु र निस्कन्छु फन्को मार्न आफ्नै जिल्ला सुनसरीतिर…
‘साउजी, दुई कप मिठो चिया खाउँ न।’ (पर्किङ्ग गर्दै गर्दा साथीले अर्डर गर्दै गरेको सुनियो)
‘हुन्छ, बस्नुस न’
‘तपाई त निकै पछि आउनु भो त’ (भित्र छिर्दै गर्दा साउजीले आश्चर्य मान्दै भने)
‘सम्झना भए ढिलो-चाँडो आइहालिन्छ नि दाजु! बरु तपाईको खबर के छ?’
‘तपाईहरुले क्याम्पस छोडेपछि भित्रै क्यान्टिन बन्यो, पुरानो ठाउँमा चलेन र यता सरेको भाइ। यता नि व्यापार छैन फेरि कोरोनाले खाइगयो, अब त टिक्न पनि गाह्रो छ हौ भाइ। ’
‘यस्तै हो साउजी, देशमा केही हुँदैन। त्यसैले त युवा बाहिर जान्छन नि’ (साथीले बिरक्तिएको आवाजमा भन्यो)
‘कता नि भाइ बिहान बिहानै?’ (चिया खाएर निस्कनै लाग्दा दाइले सोधिहाले)
‘यसो धरान-भेडेटारसम्म दाजु। गर्मी छ, शितल हावा खानलाई भनेर।
भुर्-भुर् पार्दै साथीले बाइक अगाडि बढाएपछि उसकै पछी लाग्दै कोशी राजमार्गमा हुइँकिदै धरान पुगियो। ‘जिरो पोइन्ट पुगेपछि साथीले रोकिदै भन्यो यही आउँछौ भन्दै थिए के गर्ने?’
‘फोन घुमा न, नेपालमा समयको पालना भन्ने चिज हुन्न! यस्तै छ यहाँ अनि दोष चै देशलाई। ’
‘१५ मिनेट जति लाग्छ रे, के गर्ने?’
धरानको बजारमा माया बस्यो एकै नजरमा, माया धरानी... माया धरानी... माया धरानी... हो माया धरानी....।
सिन्धु मल्लले कतै स्टेज प्रोग्राममा लाइभ गाएझै बजीरहेको स्टर्क कफी सपमा पुग्दा अगाडि पट्टि एउटा आकृति चुरोट तानीरहेको हुन्छ।
‘हैन के पारा हो बिहानै सूर्य सल्काई दिने? यसै गर्मीले पोलिरहेको बेलामा’ भन्ने भावले उसलाई हेर्दा बेवास्ता गर्दै फु फु गर्दै धुँवा फालिरह्न्छे। कारमेल लाटे सकेर निस्कनै लाग्दा फोन बज्यो अनि लम्कियौँ हामी जिरो पोइन्टको भेट-घाट तिर।
सुसन (खत्री), कुन्दन (ठाकुर) र सरोज पालैपालो हात मिलाउदै भेटघाटको औपचारिकता सँगै धेरैपछिको भेट भन्ने संकेत गर्छन। विशाल (भट्टराई) र म भने कुर्नु परेको र यसरी ढिलो गर्दा सुनसरीलाई एकफन्को भन्ने नाराका साथ तय गरेको यात्रा नभ्याइने पो हो कि? आशंका गर्छौँ।
शितल खोज्दै अरुण उपत्यका पुग्ने चरा जस्तै सुनसरी र धनकुटाको सिमानामा पर्ने भेडेटारमा तराईको रापले रापिएको ज्यान र मस्तिस्कलाई केही ओझिलो र पहाडी चिसो हावा प्रदान गर्न पूर्वी तराईबाट मात्र नभई बिहार बाट पनि प्रायः पर्यटक आउने गर्थे। शनिबार अर्थात् फुर्सदिलो दिन भेडेटारमा केही महोत्सव नै भए झैँ मान्छेहरु घुम्न आउने गर्थे।
मान्छे बाँधिएको जनावर त हैन, कतै न कतै खुल्ला चरी झैँ उड्ने सोचबाट उप्किएको पत्रले मान्छेको मनलाई थोरै टालेकै हुन्छ। खासै चहल-पहल नभए पनि सिमित केही मान्छे जोसँग साधन छ, त्यहाँ उपस्थिति जनाउदै फर्कदै थिए।
भेडेटार भ्यु पोइन्ट होटलमा गएर खाना अर्डर गरेर लागियो लुरुलुरु पाथिभारा तिर, बिहानको समयले साथपनि दिएकै जो थियो।
नागबेली ओरालो बाटोबाट बेलाबेला देखिने धरान बजारको दृश्य अनि अगाडिबाट आउदै गरेको एक हुलले धरान धनकुटा भेडेटार भन्दै गाएको गितले निकै प्रफूल्लित तुल्यायो।
रेल्वे चोक, सर्बु खोला, पटनाली हुँदै चतरा रोडमा हुत्तिदै बराह क्षेत्र पुग्दा कोकाहा नदी छेउमै केही मान्छे नुहाउँदै थिए। बर्खा याममा कोशी गड्गडाउदै हत्तारिएर दमकल एम्बुलेस कुदेझैँ कुदिरहेकै थियो।
मलाई बगिरहेको पानी हेर्दै मात्र पनि आनन्द लाग्छ। त्यसैले एक्लै एउटा ढुंगामा बसेर नदीको रवाफलाई नियाल्दै थिएँ, अनि सम्झदै थिएँ सोमदत्त, सुम्निमा, बिपि कोइरालालाई अनि बिपिको पुस्तकबाट प्रभावित लेखक अनि म जस्तै कयौँ पाठक र साहित्य छेत्रमा सुम्निमाको योगदानलाई।
‘ओए आइफोन होल्डर, फोटो खिच्ने कि गोजीमै थन्काएर राख्ने?’ (खिल्ली उडाउँदै ठाकुरले भन्यो।)
‘पानीमा पर्यो भने गिद्दि हुन्छ यार, एक कठ्ठा जग्गा नै बेच्नु पर्छ!’ (भट्टराइले अर्को ठट्टा मार्यो।)
केटाहरुलाई मोबाइल दिएर आफैसँग हराउदै बसिरहेँ। उता साथीहरु मेमोरी हुन्छ भन्दै फोटो खिच्नमै लागिरहे।
‘नेता (केटाहरुले बोलाउने नाम) हिड् झुलुङ्गे पुलमा फोटो खिच्नु पर्छ। (जोसिदै ठाकुर करायो)’
केहीबेर झुलुङ्गेपुलमा बसेर लागियो नवनिर्मित (४ वर्ष पुरानो भैसक्यो) कोशी पुल जसले उदयपुर र सुनसरीलाई जोड्छ। होटल ग्यालेक्सी एण्ड लजमा गएर चिया पियौँ अनि खाजा अर्डर गरेर केही समय पुलमै घुम्यौँ या भनौ पुलमै बस्यौँ। उत्तरतिर बाट डाँडाकाँडा छेड्दै कोशी आइरहेको थियो भने दक्षिणतिर समथल भूभागमा फिजारिदै कतै थुम्का बनाउदै अघि बढिरहेको देखिन्थ्यो।
कोशी किनार नै किनार नयाँ बाटो बनाइएको रहेछ। एकापट्टी कोशी बगिरहेको त अर्कोपट्टी रुखहरु र पर पर बेलाबेला देखिने टाढे घरहरु, कतै चरा पानीसँगै खेलिरहेका त कतै गाइवस्तु पानीसँगै रमाइरहेका दृश्य हेर्दै अघि बढ्दै गर्दा मेरो आँखा, मन र मस्तिष्क सम्मोहित भएका थिए। कतै केही मान्छेका झुण्ड फोटो खिच्दै थिए त कतै केही एकान्तमै हराईरहेका थिए।
राजावास, प्रकाशपुर हुँदै लौकही निस्केर महेन्द्र हाइवे समात्यौँ अनि रबाना भयौँ कोशी ब्यारेज अर्थात १ नम्बर प्रदेशको प्रवेशद्वार...।
झिङ्गे, लाम्पुच्रे, चिप्ले अनेक माछालाई तार्दै दिँदै गरिरहेको एउटा भाइलाई सबै मिसाएर ५ प्लेट बनाउन लगाएर लाग्यौँ कोशीको तटीयक्षेत्र अनि पर्खिरयौँ घाम डुबेको हेर्नलाई।
‘उ डुब्यो, डुब्यो’ (सरोज करायो)
मान्छे डुब्यो कि भन्दै कोशी तिर हेर्दा सूर्य त कोशी भित्रै पस्दै गरेको देखियो। एकछिनमै कोशी भित्र सूर्य बिलायो अनि साँझका झ्याउकिरी बिउझिएर कराउन थाले, चराहरु बास बस्न गुडतर्फ उड्न थाले।
च्या च्या, टिर टिर, चु चु, कुर्रर गर्दै चराहरु कराई रहेका थिए। सायद चराहरु रोमान्स गर्न मै व्यस्त थिए। माघमा ल्याएको युवामन्च पल्टाउँदा देखेको प्रश्न र उत्तरले चराहरुले रोमान्स गर्ने उत्कृष्ट ताल बर्जु हो भनेर त्यसै लेखेको रहेनछ जस्तै लाग्यो।
बकाइनोको रुखमा चिबेले परबाट ल्याएको चारो आफ्नो बच्चालाई खुवाउँदै थियो। ढुकुर ढुकुर्नीलाई फकाउँदै थियो। भगेरो भगेरीको साथमा उड्दै थियो।
चिम्डि बजारमा थारु खाना खादै गर्दा हामी सबैजना घुँगी बल गरि-गरि तान्दै थियौँ। मिठो घुँगी तान्दै गर्दा घुँगी खाए बलियो भइन्छ भन्ने किस्सा खत्रीले सुनायो। किस्सा सकिएसँगै हामी निस्कियौँ इनरुवा बासस्थानतिर।
घर आउदा दिनभरीको कुदाइले ज्यान गलेको थियो तर मन भने रत्ति पनि गलेको थिएन। अझ बिहानदेखिका व्यतित समयलाई नै सम्झन हत्तारिदै थियो। फ्रेश भएर ल्यापटप खोलेँ अनि नोस्टाल्जिक हुँदै सुनसरीलाई एकफन्को शब्दले कैद गरेँ।