डोरीले बाँधिएको मान्छे भीरबाट हाम फाल्ने साहसिक खेल। सुन्दा पनि झस्यांग हुन्छ। घरको छतबाट तल हेर्दा त सिरिंग हुन्छ । त्यत्रो अग्लो ठाउँबाट खस्दा त मान्छे आधा जति मर्छन्! मान्छेका रहर पनि कस्ता कस्ता। अनौठो एडभेन्चर रोज्छन्। यस्तै रहरको बीउ कता कता मभित्र उम्रिएर हुर्कंदै रैछ। जुन रहर भोटेकोसीमा पूरा गरें। त्यो थियो मंसिर १२ गते २०७६ साल मंगलबार, रातको समय।
भिडिओ सुटको सिलसिलामा गायक समृद्धि राई, साथी बिशाल श्रेष्ठसहित ६ जनाको हाम्रो टोली विकेन्ड मनाउन भोटेकोसीको यात्रामा निस्किएको थियो। काठमाडौंबाट कोटेश्वर धुलिखेल हुँदै तातोपानी जाने बाटोमा एक सय किलोमिटरको दूरी पार गरेर त्यहाँ पुगिएको थियो। यो थियो सिन्धुपाल्चोक जिल्ला।
‘द लास्ट रिसोर्ट’ ले बञ्जीजम्प सञ्चालन गरेको ठाउँ। हामी त्यहाँ पुग्दा घाम अस्ताइसकेको थियो। तन्नेरी युवा रातिको बञ्जीजम्प गर्न आतुर थिए ।
समृद्धि दिदी,बिशाल र म बञ्जीका ग्राहक थियौं। त्यहाँ हामीलाई वेलकम ड्रिंक्स् खान दिए। खसीलाई पानी छम्किन लागेजस्तो लाग्यो। मुटु ढक्क फुल्दै थियो। सबैले बञ्जीकै चर्चा गरिरहेका थिए। बञ्जी हुनुअघि अलग्गै राखेर छोटो क्लास दिइयो। तीन, दुई, एकको काउण्ट डाउनमा जम्प गर्नेुपर्ने, डोरी हल्लाएर इशारा गर्ने, तल पुगेपछि हुकलाई सारेर माथि फर्किर्ने आदि.. आदि।
जम्प पनि अनेक खालका हुँदा रै’छन्। उल्टो, तेर्सो,डबल, सिंगल, सुतेर, उठेर, कुर्चीमा बसेर।
आफैं हामफाल्ने जम्प अनि अरुले धकेलिदिने जम्प। हाँसेर उफ्रिएर गर्ने सफल जम्प, लत्र्याकलुत्रुक भएर रूँदै गरिने असफल जम्प। मलाई बेस्ट जम्प गरेर देखाउनु थियो । बञ्जीफल होइन। मुटु बेस्सरी हल्लिन्थ्यो मैले हिम्मत जुटाउँथें।
नाम दर्ता गराएर डकुमेन्ट तयार गर्ने काम भयो। अपरेसन थिएटरमा बिरामीको औंलाको छाप लगाएजस्तै सहमति पत्रमा हस्ताक्षर भयो। त्यसपछि हामफाल्ने अनुमति पाइयो। बिस्तारै हामी पुलतिर लाग्यौं।
अचानक साथी बिशालले बञ्जी गर्दिनँ भन्दै आत्मसमर्पण गरे। शायद उनी डराए। त्यत्रो योजना बनाएर आएको मिल्ने साथी तर्किएपछि खल्लो लाग्यो। रातिको जम्प गर्दै गर्दिनँ भन्न थाले। हामीले धेरै फकायौं। मान्दै मानेनन्। अब त टिममा समृद्धि दिदी र म मात्रै थियौं। डरको पारो चढेको चढ्यै।
रातको ८ बज्नै लाग्यो।
बत्तीको झिलिमिलीमा बञ्जीस्पट दिउँसो जस्तै थियो। हामीले हामफाल्ने तलको खोल्सो अँध्यारो थियो। भोटेकोसी भने सुसाइरहेको थियो। प्रकाशमा टल्किने कपडा लगाइयो। जसको नाम जुनकिरी भन्दै थिए। जुनकिरी ड्रेसमा बञ्जीजम्पको पालो कुरिरहेका साथीहरू टलक्क टल्किरहेका थिए। अनुहारमा चाहिँ त्रास थियो। कोही मौन थिए,कोही सुस्केरा हाल्थे। कोही थरथर काम्थे।
एकजना ७० केजी तौलवाला दाइको पालो थियो। त्यसपछि मेरो र समृद्धि दिदीको। दाइ चिच्याउँदै तल हराए। मेरो पालो आयो। म भित्रभित्र थर्कमान थिएँ। यस्तो बेला बुवा, ममी, दाइ र साथीभाइ सम्झिन्छन् भन्ने सुनेको थिएँ। मैले त सम्झिने होस् पनि गुमाएछु। जीउमा बञ्जी किट लगाउन थालियो। मन हड्बडाउन थाल्यो।
बञ्जी क्रुले भने – तिमीहरूले १६० मिटर तलसम्म हावामा तैरिनुपर्छ। यस्तो सुनेपछि फेरि सातो गयो। मुटु दह्रो पारें। घडीको सुइँ पनि छिटाछिटो चलेको जस्तो लाग्यो।
बञ्जी कर्डहरू छातीदेखि खुट्टासम्म लगाइसकेपछि जम्प गर्ने ठाउँतर्फ पुगियो। ग्रिल पत्ताले बनेको टाँणजस्तो ठाउँ। लामो डोरीको लठ्ठो एकछेउ खुट्टामा र अर्को साइड त्यही टाँणमा बाँधिएको थियो। त्यही ठाउँबाट अब तल कता हो कता पुग्नु थियो। के गरम, के गरम भयो। मनमा नकारात्मक सोच आउन थाल्यो। मेरै पालोमा डोरी चुँडिने पो हो कि! बेहोस भइन्छ कि! डाँडाकाँडा या चट्टानतिर गैयो भने....
हल्का पिसाब लागेजस्तो भयो। मैले कपाल मिलाएँ। त्यति अग्लो ठाउँ। अनि अन्धकार रातको समय। बञ्जी सञ्चालकका लागि मजस्ता धेरै ग्राहक हुन्छन्। मेरो लागि म एक्लै सबथोक थिएँ। एक मनले त भो भैगो गर्दिनँ भनूँ कि जस्तो लाग्यो।
अर्कोतर्फ सोचें ,यति तयारी भैसकेपछि लाजै हुन्छ गाँठे। फेरि साहस बटुलें।
सौरभ हाई हाई, सौरभ हाई हाई...
हाम्रो टोलीले हुटिङ सुरू गर्यो।
क्रु मेम्बरले सोध्यो - कस्तो लाग्दैछ ?
‘यो मेरो पहिलो जम्प हो एकदम एक्साइटेड भएको छु’ भन्दिएँ ।
भित्र डर कायमै थियो। मुटुले ठाउँ छोड्न लागेझैं भैरहेको थियो।
काउण्ट डाउन सुरू भयो। तीन, दुई, एक...
मैले आफूलाई हुत्याउनु पर्थ्यो, सकिनँ। म आफैंले गन्ती गर्छु भनें। यसपालि आफैं जम्प गरिनँ भने पछाडिबाट धकेलिदिने पक्का थियो।
तीन, दुई, एक... ... ।
एक भन्दा म हावामा गैसकेको थिएँ। त्यसपछिको करिब पाँच सेकेण्ड ज्यान हावामा थियो अनि मन भ्याकुममा। एकैपटक जीउ झट्कारिँदा खोलाको काखमा पुगिसकेको थिएँ। एकदम चिसोचिसो महशुस भयो। स्प्रिङ्गवाला डोरीले तल र माथि गर्दै थियो। एकछिन उत्साही भएर कराएँ अनि आफैंसँग संवाद गरें। आफैंलाई धन्यवाद दिएँ।
एउटा हातको नाडीमा क्यामेरा जडान थियो। त्यसको ख्यालै भएन। केहीबेरमा अघि सिकाएझैं हुकलाई छातीनिर अड्काएर डोरी तानी इशारा गरें। विस्तारै माथि तानेर ल्याएँ। साथीहरूले धाप लगाए। बधाईको ओइरो लाग्यो। लडाइँ जितेर आएझैं भयो।
यसरी त्यो रात मेरो बञ्जीको सपनाले साकार रूप लिएको थियो।
म खुसीले गदगद भएँ। भोलिपल्ट काठमाडौं पुगेर कोहलपुरमा बुवालाई फोन लगाएँ - हजुरको छोराले भोटेकोसीमा जम्प हान्यो नि! यति भन्न नपाउँदै फोन डिसकनेक्ट भयो। शायद बुवा डराउनु भयो!