कोरोनाको म्याराथुन दौड विश्वव्यापी भएसँगै हाम्रो जीवन दुई कालखण्डमा विभाजित भएझैं लाग्दैछ। कोरोनाअघि र कोरोना पछिको।
कोरोनाबाट बाँच्नका लागि मान्छेले धेरै कुरा छोड्न बाध्य छ। मान्छे निराशताको च्यादर ओढिरहेछ। मान्छे मान्छेको भेटघाट हराएको छ। हिँड्डुल, यात्रा व्यापार व्यवसाय, पठनपाठन सबै प्रभावित भएको छ। यस्तो लाग्छ समय पनि टक्क अडिएको छ। स्मृतिमा विगत सलबलाउँछ। एकदिन स्थिति सामान्य होला भनेर बाँचिरहेछ र आशाहरू साँचिरहेछ मान्छे। विज्ञानका अनेक चमत्कारबाट सुसज्जित मान्छे घरभित्र लुकेर महामारी युद्ध जित्ने प्रयत्नमा छ।
हामीले बहुप्रतिक्षित नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेर बस्यौं। हाम्रो मौलिकताले पर्यटकलाई लोभ्याउने तयारी गरिरहेको बेला आफैंलाई दैलो लगाएर बस्नुपर्यो।
अनिश्चयको तुवालोले संसारलाई छोपेको छ। कहिले बन्छ खोप, कहिले निस्तेज हुन्छ कोरोना। कहिले फर्किन्छौं हामी सामान्य जीवनमा। आशा निराशा, विश्वास शंका, वेदना र सान्त्वनाको समिश्रण बनेको छ वर्तमानको घडी।
शरीर बन्दी बने पनि मनलाई कैद गर्न सकिँदैन। विगतका पानाहरू आफैं पल्टिरहन्छन्। विगत चलचित्रको पर्दाझैं नाच्छ। झल्याकझुलुक गरेर। यादको एक पाना पेरिसको आइफेल टावर सधैं आँखामा नाचिरहन्छ। यो फलामे टावरको यादले बारम्बार घोचिरहन्छ। यादको पर्दामा संसारकै अग्लो टावर दुबईको बुर्ज खलिफा नआएको पनि कहाँ हो र! मलेसियाको केएल टावर पनि आँखै अघिल्तिर घुम्छ। तर अलि ज्यादा सताइरहन्छ घोप्ट्याएको सोली आकारको ग्रिलवाला आइफेल टावरले।
फ्रान्सेली युद्धको डोब छ आइफेल टावरमा।
राजधानी सहर पेरिसले आफ्नो शान ठानेको आइफेल यतिबेला पर्यटनविहीन भएर फेल भएको छ। टावरको माथिमाथि गस्ती गरिरहेका युद्धक विमानले धूवाँका सेता धर्साहरू पाँच/पाँच मिनेटमा छोडिरहन्थे।
कोरोनाका कारण अहिले ती सुस्ताए होलान्। मान्छेहरू चलमलाउन कम गरेसँगै अलमलिएका होलान् फ्रान्सेलीहरू। आइफेल अनिश्चयको आकाशमा ठिंग उभिएरहेको होला। घनघोर शून्यता सहन बाध्य होला। सेइन् नदीको छेउमा आइफेलको छिद्रमा हावा ठोक्किएर भुनभुनाएको होला। आइफेल सजीव प्राणी हुन्थ्यो भने एक्लोपनाको छट्पटीमा आत्तिएर बेस्सरी चिच्याउँथ्यो शायद।
एउटा अन्तर्राष्ट्रिय मेला सम्पन्न गर्नको लागि आइफेल टावर बनाइएको थियो। सिभिल इन्जिनियर गुस्ताभ आइफेलले यो टावर निर्माणको नेतृत्व गरेका थिए। यसलाई अस्थायी हिसाबले बनाइएको थियो। तर यसको लोकप्रियता विश्वव्यापी बन्यो।
शताब्दी लामो हिउँद र वर्षातको अनुभव लिन पाएको छ। पिट्ठयूँमा अरबौं मायालु जोडीको स्पर्शको निर्जीव साक्षी बनेर आइफेल हावामा उभिन लागेको १३३ वर्ष भयो।
आइफेल पेरिसमा ठडिएको ग्रिलवाला टावर हो। अचम्मको कुरा यसका ग्रिल न त वेल्डिङ गरिएका छन् न नटबोल्टको प्रयोग गरिएको छ। तलदेखि माथि साँघुरिँदै गएको आइफेल टावर रिपिट सिस्टमबाट अड्याइएको छ। चारपाटे आइफेल टावरको आँखीझ्यालबाट पेरिस सहरको दृश्यावलोकन गराउँदै लिफ्टले ४ मिनेटमा तीन सय मिटरको उचाइमा पुर्याएर ढोका खोलिदिन्छ।
फेसबुक लाइभ गर्ने सेल्फी खिच्नेदेखि भिडिओ सुटको भीड लाग्छ।
आइफेल पेरिसको पर्याय हो। जीवनमा एकपटक आइफेल चढ्ने धोको धेरैको हुन्छ। । पेरिस सहर टेक्नेबित्तिकै आँखाले आइफेलको खोजी गर्छन्। आइफल इमारत मान्छको स्वागतमा हतारिन्छ।
माथि चढ्ने र झर्नेको लस्कर टिकट काट्ने र साउती मार्नेको गुनगुन। जताततै उस्तै घुइँचो हुन्छ। जताततै मेला देखिन्छ। युरोपका मन्दिर, पार्क ,पुल,नदी,ताल तलैया जहीँतहीँ प्रेमिकाको नाममा ताला झुण्डाउने चलन छ।
आइफेल चढ्दा गोजीमा ताला लिएर जानेहरू धेरै हुन्छन्। स्क्यानरले चेक गरेर तालाको थुप्रो लगाइदिन्छ। आइफेल परिसरको भीड र ठूलो मात्राको युरो डलरको आम्दानी यतिबेला फ्रेन्चहरूलाई कथा जस्तो लागेको होला। आजकल आइफेल हेर्न कोही आउँदैनन्। टावरको एकाग्रताले पेरिस छट्पटाएको छ। स्वच्छन्द घुमफिर प्यासले आकुलब्याकुल छ।
युरोपेलीहरू स्वतन्त्रमात्रै होइन स्वच्छन्द लाग्छन्। चोकचोकमा अंकमाल गर्ने संस्कार छ। हात मिलाएझैं ओठ मिलाउँछन्। निर्धक्क सडक छेउमा बियरको चुस्की लिन्छन्। आइफेल टावरलाई दायाँबायाँ पारेर डेटिङ गर्छन्। सबैसबै उमेर र वर्णका मायालुहरू छ्यापछ्याप्ती भेटिन्छन्।
लाख रुपैयाँसम्म पर्ने मोन्टब्लाँक पेनले लवलेटर लेख्छन्। गिफ्ट गर्छन्। बिजनेस मार्टको शोकेसमा रोकिएका घडीको हिसाब गर्दा हाम्रो घर घडेरीले भ्याउँन्न। त्यो मार्टमा कोरोनाले भोटेताल्चा ठोक्यो होला। लुभरे म्युजियममा मेडिटेसन गर्नेको भीड पक्कै हराएको छ। डिज्नेल्याण्डमा रमाउनेहरूको लावालस्कर सुनसान बनेको होला।
एउटै डिजाइन एउटै रङ अनि एउटै साइजमा छन् पेरिस सहरका घरहरू। यति पुरानो र नाम चलेको पेरिस सहरमा मान्छेको चहलपहल यतिसारो कम किन होला भनेर सोच्न बाध्य बनाएको थियो।
सुत्नेबेला जहाज उड्न लागेको जास्तो आवाज भुनभुनाएको सुनियो। रहस्य भोलिपल्ट उजागर भयो। पेरिस सहरको आधा जनसंख्या जमिनमुनी रैछ। मान्छेको आवतजावत यही जमिनमुनिको मेट्रो ट्रेन सञ्जालबाट हुँदो रैछ। सहरका अग्ला घरको मुन्तिर दिनरात भुनभुनाउँछन् ट्रेन। अनेक गन्तव्यतर्फ जाने आउने मान्छेहरूको लस्कर हुन्छ जमिनमुनि। सहर मुनि रेल अनि रेलको मुनि अर्को रेलको अनेक तह। सोसिएल डिस्टेन्सिङ भूमिगत मेट्रोसञ्जाल आजभोलि ओढारमा परिणत भए होला।
पेरिसमा दश बजे रात पर्छ। छ नबज्दै उज्यालो हुन्छ। खानु पिउनु मोजमस्ती गर्नेहरूको यत्रतत्र भेटिन्छन्। हँसिला र रसिला छन्। उनीहरूभित्रको सहयोगी भावना छताछुल्ल देखिन्छ। कुनै कुराको जानकारी लिन या ठाउँ सोध्ने हो भने हमीले नबुझेसम्म सिकाइरहन्छन्।
फ्रान्स,स्वीटजरल्याण्ड लगायत छब्बीस युरोपेली देशले सेन्जेन सञ्जाल बनेको छ। यिनीहरू आपसमा खुला छन्।
आन्तरिक र बाह्य पर्यटक फुक्काफाल हुन्छन्। स्थानीय मुद्राका अलावा युएस डलर चल्ने भए पनि साझा रूपमा युरो चल्छ।
आइफेललाई फन्को मारेर पेरिस घुमिन्छ। छेवैको सेइन नदीमा अनेक रूपरङ्गका साना ठूला पानी जहाजमा मान्छेहरू घुइँचो लगाएर तैरिन्छन्। सय मिटरको अन्तरालमा किसिम किसिमका पुलमुनिबाट होहल्ला गरेर तैरिन्छन् पर्यटक।
नदीको डिलमा अद्र्धनग्न नौजवानहरू निर्लज्ज माया साटिरहेका हुन्छन्।
विभिन्न चरणमा ठूलाठूला युद्ध लडेको फ्रान्स कोरोनाबाट भने आजित बन्यो। साढे सत्ताइस हजार मानव शरीर ढल्नबाट रोक्न सकेन। भाइरसको आगो पौने दुई लाख मान्छेमा सल्किएपछि अहिले केही कन्ट्रोल हुँदैछ। त्रासको घुम्टो अलिकति उघार्ने कोशिस गर्दैछ र कडा लकडाउनलाई खुकुलो बनाउने अभ्यास गर्दैछ।
सम्झनामा आइरहने,सताइरहने अनि मानसपटलमा ठिङ्ग उभिइरहन्छ आइफेल। कतारलाई ट्रान्जिट बनाएर दशघण्टा बढीको लामो आकाशे यात्राको जेटलेक भुलाउने, ओई आइफेल। मिसयू ब्याड्ली!