कोरोनाभाइरसले नेपाल मात्र होइन, विश्वभर नै मानिसहरूलाई दु:ख दिइरहेको छ।
कोरोना संक्रमण नफैलियोस् भनेर नेपालमा लगाइएको लकडाउन पनि आज ४७ दिन पुगिसकेको छ। अझै लकडाउन बाँकी नै छ।
विश्वका विभिन्न देशका मानिसहरू कोरोना त्रासमा छन्। यस्तो अवस्था अझै केही थपियो भने मानिसमा मनोवैज्ञानिकलगायत समस्या देखिन पनि सक्छ।
हामीले उच्च मनोबलका साथ कोरोनालाई जित्नुपर्नेछ। मानसिक वा शारीरिक रूपमा आफूलाई स्वस्थ राख्नुपर्नेछ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण भएपछि हामी पुन:सामान्य अवस्थामा फर्कनेछौं। मलाई लाग्छ- त्यो दिन छिटो आउनेछ।
जनजीवन सामान्य भएपछि हामी आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि जुट्न सक्छौं। घुम्न जान सक्छौं। हाम्रो देशमा मनोरम ठाउँहरू प्रशस्तै छन्। जता गए पनि भयो!
कहाँ घुम्न जाने तपाईंको इच्छामा भर पर्छ नै। तैपनि म मनाङमा रहेको तिलिचो घुम्न जानुपर्छ भन्छु।
तिलिचो समुन्द्र सतहदेखि करिब पाँच हजार मिटर उचाइमा अवस्थित ताल हो।
यो तालमा जाने हो भने तपाईं पहिले आफू बसिरहेको ठाउँबाट लम्जुङको वेंशीसहर पुग्नुपर्छ। तपाईं पदयात्रामा रूची राख्नुहुन्छ? त्यसो हो भने वेशीसहरबाट नै तपाईंले पैदलयात्रा गर्न सक्नुहुन्छ है।
हिड्न समस्या छ, अलि परसम्म गाडिमै जान्छु भन्नुहुन्छ भने पनि विकल्प छ। वेशीसहरदेखि मनाङको चामेसम्म जीपमा चढेर जान सकिन्छ।
विहान १० बजेतिर वेशीसहरबाट जीप चढ्नुभयो भने त्यो दिन मनाङको चामे पुगिन्छ। बासको प्रवन्ध भने तपाईंले पहिले नै त्यहाँका होटलमा टेलिफोन गरेर बुकिङ गर्न सक्नुहुन्छ।
म त तिलिचो घुमेर फर्किसकेको छु। मलाई अहिले पनि वेशीसहरदेखि चामे यात्राका क्रममा देखिएका ठूला पहाड अनि पत्थर खोपेर भीरमा बनाइएको सडकको सम्झनाले रोमाञ्चित बनाउँछ।
अझै भीरको फेदीमा सुसाइरहेको मस्याङ्दीले झनै यात्रा यादकर बनाइदिन्छ।
अँ म तपाईंहरूलाई तिलिचो ताल जाने बाटो देखाउँदै थिएँ। विहान चामे बजार घुमेर खुला आकाशमा चिसो हावासँगै खाजा खाएर मनाङतर्फ लाग्दा आनन्द आउँछ।
चामेबाट पाँच घण्टाजति पैदल यात्रा गरेपछि पिसाङ पुगिन्छ। यो ठाउँ रमणीय मात्र होइन सुन्दर र कलात्मक छ। यहाँ तिब्बतीय मणि पत्थर देख्न सकिन्छ।
यतिमात्र हो र! यहाँबाट अन्नपूर्ण हिमश्रृंखला पनि देख्न सकिन्छ। सेता हिमाल देखेपछि उकालीमा लागेको थकाइ पनि हराएर गएको पत्तै नपाइने। यहाँ खाना खाएपछि मनाङ गाउँतिर यात्रा सोझिन्छ।
करिब पाँच घण्टा यात्रा गरेपछि पुगिने गाउँ मनाङ हो। यहाँ बसोबासका लागि राम्रा होटल छन्। ढुंगाले छाएका घर सुन्दर त छ नै यहाँ पाक्ने परिकार पनि मीठा।
यहाँबाट पनि अन्नपूर्ण हिमश्रृंखलालाई नजिकबाट नियाल्न सकिन्छ। अग्ला पहाड, समथर फाँटको दृश्यले लोभ्याउँछ।
दिनभर यात्राले थकाइ लाग्छ। मीठो थकाली खाना खाएपछि एकैछिनमा निन्द्रा पर्ने! कस्तो आनन्द। यहाँ बास बसेर भोलिपल्ट खाङसार र श्रीखर्क हुँदै तिलिचो बेश क्याम्पसम्मको यात्रा पूरा हुन्छ।
करिब ७ घण्टा हिडेपछि क्याम्पसम्म पुगिन्छ। त्यहाँ बास बसेर सूर्योदय हेर्न मात्र होइन नि, फोटो पनि खिच्नुपर्छ। हामीले त कति धेरै फोटा खिचेका छौं।
मनाङबाट विहान ८ बजे हिड्ने हो भने दुइघण्टामा खाङसार पुगिन्छ। त्यसपछि खाना खाएर एकछिन आराम गर्ने अनि यात्रा श्रीखर्कतिर सोझिन्छ।
श्रीखर्क आफैंमा सुन्दर ठाउँ हो। यहाँ चियाको चुस्की लगाउन पनि पाइन्छ। बौद्ध गुम्बा छन् त्यसले यहाँको सौदर्यतामा थप मुस्कान थपिदिएको छ।
बाटोमा चौरी चरिरहेका हुन्छन्। कहिले हामी कहिले चौरी हामीसँग डराउँछ। बाटोबाट चिप्लियो भने मस्याङ्दीमा पुगिने डर त छ नै!
केही पर तीनवटा घर देखिए। बेश क्याम्प रहेछ। तिलिचोमा विदेशी तथा स्वदेशी पर्यटक भेटिन्छन्। यहाँको बेश क्याम्प होटलमा बसोबास गर्ने हो भने पहिले नै बुकिङ गर्नुपर्ने रहेछ।
तपाईंलाई तिलिचोमा पुगेर सूर्योदय हेर्ने रहर छ? त्यसो हो भने तपाईंले विहानसम्म सुत्न पाउनु हुन्न। राति २ बजेतिरै यात्रा सुरू गर्नुपर्छ। करिब तीन घण्टा हिडेपछि मात्रै यहाँबाट ताल पुगिन्छ।
अब हामी विस्तारै उचाइमा पुग्दैछौं। टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने र वाकवाकी लाग्नेजस्ता समस्या देखिन पनि सक्छ।
यी अप्ठेराबीच स्वर्गको टुक्राजस्तो तिलिचो हेर्न पाइन्छ। सेता हिमाल, मरूभूमि जस्ता पहाड र समथर सुख्खा फाँट र बीचमा निलो तिलिचोले यहाँको सुन्दरता बढाएको छ। म त शब्दमा बणन गर्न पनि सक्दिनँ यहाँ कति सुन्दरता देखिन्छ भनेर!
तिलिचोमा सिजनअनुसार रङ परिवर्तन हुन्छ रे। यहाँ पानीको निकास कतै छैन। जाडोमा ताल जमेर हिउँ हुने रहेछ।
तालमा धेरैबेर बस्नु हुन्न। वेशक्यामतिर झर्नुपर्छ। यात्रा कता मोड्ने जिम्मा तपाईंकै हो। यहाँबाट थोरङला पासका लागि जान पनि सकिन्छ। लकडाउन खुलेर जनजीवन सामान्य भएपछि तिलिचो घुम्न जानुहोस् है त!