विश्वमै उत्कृष्ट पदमार्ग मानिन्छ, अन्नपूर्ण सर्किट।
हरेक वर्ष हजारौं आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जान्छन्। अन्नपूर्ण सर्किटभित्र धेरै ट्रेकिङ रूट रहेका छन्। पर्यटक ट्रेकिङका लागि मर्दी हिमाल बेसक्याम्प रूट निकै उत्कृष्ट ठान्छन्।
छुट्टीको समय। केहीगरी त सदुपयोग गर्नैपर्यो। विशेषगरी छुट्टीमा कुनै न कुनै नयाँ ठाउँमा घुम्ने मन हुन्छ। हुन त नयाँ ठाउँ घुम्ने नयाँ नयाँ अनुभव बटुल्ने मन कसलाई पो नहोला र! मानिसहरू छुट्टीको समयलाई विभिन्न तरिकाले सदुपयोग गर्न रुचाउँछन्। तर म भने घुम्नलाई प्राथमिकतामा राख्छु। छुट्टीको समयलाई सकेसम्म यसै खेर जान्न दिन्नँ।
यसपालि पनि छुट्टीको समयलाई सदुपयोग गर्नको लागि हामीले चुन्यौं- मर्दी हिमाल बेसक्याम्प।
केही महिनाअघिको कुरा हो, साथीहरू म, अनुप, दिवस र मनिला मर्दी जान तयार भयौं।
अघिल्लो दिन नै हामीलाई चाहिने सम्पूर्ण सामान किनेर भोलिपल्ट बिहानै कलंकीबाट पोखरा हुँकियौं।
मुग्लिङमा खाना खाएर ३ बजेतिर हामी पोखरा पुग्यौं। अलमल नगरी धम्पुसको गाडी चढ्न हरि चोकतिर लाग्यौं। तर बस साढे ४ बजेमात्र जाने रहेछ। केहीबेर त्यतै अल्मलियौं। साँझ ६ बजेतिर हामी धम्पुस पुग्यौं। दिनभर गाडीको यात्रा, शरीर निकै गलेकोले सबेरै खाना खाइवरी सुत्यौं। फेरि बिहान सबेरै उठेर हिँड्नु पनि थियो।
चिऽऽऽसो बिहानी तर मनमा एक किसिमको रोमान्चकता अनि मर्दी कतिखेर पुग्ने हुटहुटी। त्यसैले चियामात्र पिएर अघि बढ्यौं हामी। बाटामा धेरै मान्छे भेटिए कोही अन्नपूर्ण बेस क्याम्प जाने त कोही मर्दी। हामी पनि उनीहरूसँग गफिँदै हिँड्यौं।
सुरूकै दिनबाट देखिन थालेको माछापुच्छ्रे हिमालले हामीलाई डोर्याइरहेको थियो। हामी पनि के कम ऊसँग जिस्किँदै अघि बढ्यौं। तर कहिले कुहिरोले छपक्कै ढाकिदिन्थ्यो त कहिले छ्याङ्ग उग्रिएर आउथ्यो। ती हरियाली वनपाखा, टल्किरहेका हिमाल र गाउँ बस्ती छिचोल्दै धम्पुसबाट पोथाना हुँदै प्रितम देउराली पुग्यौं। खाना र बस्न राम्रो व्यवस्था रहेछ। खाना खाएर अघि बढ्यौं र दिउँसो ३ बजेतिर फरेस्ट क्याम्प पुग्यौं।
त्यस दिन फरेस्ट क्याम्पमै बस्ने निधो गरियो। त्यसैले समय बाँकी रहेकोले सामान त्यहीँ राखी घुम्न निस्कियौं।
साँझतिर पानी पर्न थाल्यो। भोलिको यात्रा कठिन हुने भो। हिँड्न सकिएला त!आपसमा कुरा गर्यौं। जे भए नि आखिर मन न हो। यही मनले यहाँसम्म त डोहोर्यायो भने अबको बाँकी यात्रा तय गर्न नि हिम्मत देला नि! आश्वस्त हुन खोज्यौं।
फरेस्ट क्याम्पबाट माथि उक्लिएपछि फोन नलाग्ने भन्ने थाहा पाएपछि सबैले घरमा फोन गरेर जानकारी दियौं।
चिसो बढ्दै थियो। अनि जाडोमा आगो ताप्नुको मज्जा बेग्लै हुन्छ। आगो ताप्दै अनुभव साट्दै रात कटायौं।
तेस्रो दिन सबेरै हामी फरेस्ट क्याम्पबाट हाइ क्याम्पको लागि हिँड्यौं। राति पानी परेकाले बाटो चिप्लो र कठिन।
निकै थकाइ लागेकाले हामी लो क्याम्पमा विश्राम लियौं। फरेस्ट क्याम्पबाट उक्लिएदेखि नै दिन पूरै धुम्मिएको थियो। बादलले ढाकिएर हिमाल देखिन छाडेको थियो। बाटोमा अन्य साथीसँग गफिँदै हिँड्यौं।
बादल डाँडा भन्ने ठाउँमा पुगेपछि हामी फेरि बस्यौं र केही तस्बिर कैद गर्यौं। दिनभरको हिँडाइपछि साँझमा हाइ क्याम्प पुग्यौं। यो ट्रेकिङ रूटको अन्तिम होटल पनि हाइक्याम्पमा भएकाले त्यस दिन हामी त्यहीँ बास बस्यौं।
बाटोमा भेटिएका साथीहरू पनि त्यहीँ बसेका रहेछन्। जाडो निक्कै बढेकोले होटलकी दिदीले आगो बाल्दिनु भयो। निकै जाँगरिला, उद्यमी, हँसिला र सहयोगी भावनाका थिए त्यहाँका मानिस। साथीहरूसँग बिहानसँगै बेस क्याम्प जाने सल्लाह गरेर हामी सुत्यौं।
अर्को दिन बिहान चार बजे नै मर्दी बेसक्याम्पका लागि बाटो लाग्यौं। फर्किएर फेरि हाइ क्याम्प आउनुपर्ने भएकाले हामीले हाम्रो झोला होटलमा नै राख्यौं।
सबै जना हातमा टर्च लाइट बालेर हिँड्न थाल्यौं। केही मानिस हामी भन्दा अघि पुगिसकेका थिए भने केही पछि आउँदै थिए।
बाटो निकै उकालो। अँध्यारोमा उकालो उक्लनु पर्ने भएकाले निक्कै सकस भइरहेको थियो। बेसक्याम्प पुग्न हामीलाई करिब ४ घण्टा लाग्यो।
फाइनल्ली अन्तिम गन्तव्य पुगियो। मर्दी बेसक्याम्प पुगेपछि अघिका थकान कहाँ गए कहाँ। मर्दीको त्यो मनमोहक स्वरूपले हायलकायल भएँ।शब्दमा पनि वर्णन गर्न नसकिने मर्दीको सुन्दरता। यो भन्दा पहिल्यै किन आइएन भन्न थकथक भो। यति सुन्दर र मनमोहक दृश्य सायद जिन्दगीमै पहिलो पटक देख्दै थिएँ।
आँखैअगाडि मर्दी हिमाल, अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रे हिमालको सौन्दर्य मनमा कैद गर्ने मौका मिल्यो। हिमालको अगाडि आफू उभिँदा यति आनन्दित त सायदै भएको थिएँ होला! छुट्टै संसारमा पुगेंझैं भयो। आफ्नै आँखाअगाडि उभिएको त्यो हिमाललाई हेर्न धोको पुगेकै थिएन। तर सिरेटो बैगुनी बनिदियो। चिसोले समाउला कि भनेर धेरैबेर नरोकी हाइक्यापतिर फर्कियौं।
हाइक्याम्प फर्किएर खाना खायौं र सामान प्याक गरी त्यसैदिन सिदिङ झर्यौं।
उकालो चढ्न जति कठिन भयो, ओरालो झर्न त्योभन्दा गाह्रो। बिहानैदेखि हिँडेकाले पनि होला हामीलाई निकै गाह्रो भएको थियो।
सिदिङ पुग्दा अँध्यारो भइसकेको थियो। सिदिङमा केही मानिस पोखरा पुग्ने भन्दै थिए र हामी पनि सँगै मिलेर गाडी रिजर्भ गरी राति १० बजे पोखरा पुग्यौं।
मनभरि ती याद, नयाँ अनुभव र अविस्मरणीय पल अनि मर्दीको सौन्दर्यता मनमा कैद गरी छैठौं दिन हामी यात्रा सकाएर काठमाडौं हुकिँयौं।