(सुरज सुवेदीको काठमाडौंदेखि अप्पर मुस्ताङसम्मको मोटरसाइकल यात्रा अनुभव शृंखला 'भोएज् लोमान्थाङ' को अन्तिम भाग)
युनेस्कोले आफ्नो वेबसाइटमा लोमान्थाङको बारेमा यस्तो लेखेको छ ‘यस्तो मानव बस्तीसँग तुलना गर्न लायक संसारमा अर्को कुनै सहर छैन।’
हामी त्यही सहरमा भर्खरै रात बिताएर उठेका छौं। नयाँ ठाउँको पहिलो बिहान विशेष हुन्छ। हेर्न निस्किन्छौं। चिसो हिजोजस्तै छ तर घाम समुद्र लिएर उदाएको छ।
निलो . . .
पुरानो सहर बाहिर बस्ती बाक्लो भइसकेको छ। 'सिटी अफ क्ले' भनिने लोमान्थाङमा सिमेन्ट पुगिसकेको छ। राजाको दरबार अझै पनि पर्खालभित्रै छ। अहिले राजा छैनन्। रानी छिन्। राजाका भतिजालाई गाउँलेहरूले त्यो आदर दिएका छन् तर उनी राजा हैनन्। उनी दरबारमा बस्दैनन्। नजिकै रिसोर्ट छ।
पर्खालबाहिर घुम्नलाई लोमान्थाङसँग धेरैथोक छैन। किनकि ती चिजको इतिहास छैन।
हामी होटेल चलाउने कासाङ दिदीसँगै पुरानो लोमान्थाङ सहर छिर्छौं। पुरानो सहर। सात शताब्दी पुरानो। लो राजाको राज्य भनिने यो सहरलाई वरपरबाट पर्खाललाई घेरिएको छ।
पर्खालको गेट नाघेर उनको पदचाप पछ्याउँछौं। सात सय वर्ष पुरानो सहर अर्थात् उतिनै पुरानो बस्ती। गल्ली।
ती बाटोमा को को हिँडे होला? के के देखे होला ती घरमा झ्यालहरूले। के के सुने भित्ताहरूले?
गल्ली साना छन् तर साँघुरा छैनन्। माथि हेरे आकाश देखिन्छ। आकाश देखेसम्म बाटो साँघुरो हुँदैन।
त्यहाँका घरका पुराना ढोका देख्दा काठमाडौंमा नयाँ ढोका याद आउँछ। राजधानीमा सबै ढोकाले स्वागत गर्दैनन्। कसैको घर जाऊँ र कसैको घर नजाऊँ त्यसै लागेको कहाँ हो र? ती सुरक्षा हैन असुरक्षा दिन बसिरहेका जस्ता लाग्छन्।
तर लोमान्थाङका हरेक ढोका, भित्ता, बाटो, छानो, आकाश स्वागत गर्न तत्पर छन्। बन्द ढोकामा पनि आत्मीयता देखिन्छ।
केही समय पहिला दुबई पुगेर फर्किएपछि सुनिल दाइ भन्नुहुन्थ्यो ‘भर्खर बनेको सहरमा देखाउन लायक केही पनि नहुने रहेछ।’
लोमान्थाङसँग इतिहास छ। इतिहास भएका चिजहरूले मान्छे चिन्छन्। चिन्ने मान्छे नजिक हुन्छन्। बाटोमा भेटिँदा बोल्छन्। नबोलिपनि बोल्छन्।
चौतारा कति मजाले पर्खिन्छन् यात्रा?
इतिहास भएको बस्तीसँग सुनाउने धेरै कथा हुन्छन्। बुढाबुढीसँग पनि सुनाउने धेरै कथा हुन्छन्।
पर्यटन भनेको कथा सुनाउनु पनि हो। कथा भन्नेहरूलाई जोगाउनुपर्छ। एउटा पुस्ताले अर्को पुस्तालाई सुनाउँदै जानुपर्छ।
तपाईं कत्तिको कथा सुन्नुहुन्छ?
घरहरू पुराना छन्। कुनैलाई भुइँचालोले चर्काएको छ। दिवंगत राजा जिग्मे दोर्जे पर्बल विस्ट बस्ने दरबार पुनर्निर्माण भइरहेको थाहा हुन्छ। १०८ कोठा भएको दरबार।
भुइँचालोपछि सरकारले पुनर्निर्माणमा ढिलो गरिरहेको छ। आफ्नै आँखा अगाडिको काष्ठमण्डप अझै उठेको छैन। कथा सुन्न आउनेहरूको मनमा कति ठेस पुर्याएको होला।
यो समयमा हुर्किने केटाकेटीले भत्किएको काष्ठमण्डप देखेर हुर्किनेछन्।
सरकारलाई संरचनाको मतलब छैन। संरचनासँग जोडिने संस्कृतिको के मतलब? संस्कृतिसँग जोडिएका मान्छे ते केवल भोट भइहाले।
उनी भन्दै जान्छिन्। त्यहाँ १८० भन्दा धेरै घरहरू छन् जसलाई पुरानो राजाले सँगै बसाएका थिए। एउटा मात्र गेट भएको पर्खालभित्र त्यस्तो व्यवस्थित बस्ती बसाइएको थियो। जसलाई पछि ‘वाल सिटी’ भनियो। त्यहाँ भित्र दुइटा गुम्बा छन्।
जाम्पा लाकाङ र तोप्चेन लाकाङ। १५ औं शताब्दीमा बनेका।
पहिला गुम्बा जान्छौं।
गल्लीबाट केही खुड्किला ओर्लिएपछि भित्र ठूलो आँगन। त्यसबाट चढेर पहिलो तला। तला आँगनभन्दा दुई गुना ठूलो। तीन/चार खुड्किला ओर्लिएपछि गुम्बाको सानो ढोका स्वागत गर्न तयार छ। हामी छिर्छौं। भित्र न्यानो छ। मिठो सुगन्ध छ। त्यहाँ हामीभन्दा धेरै विदेशी छन्। गुम्बाका गुरु उनीहरूलाई विशेषता सुनाउँदै छन्।
गुम्बाको वरपर भित्तामा भित्ताभरिका मण्डला चित्र छन्। त्यहाँका पुजारीका अनुसार त्यो खाले चित्र संसारमा तीन ठाउँमा मात्र छन्।
मुस्ताङमा, चिनेको तिब्बतमा र भारतको लद्दाखमा। सुन, चाँदी र रङको संयोजन मिसाएर बनाइएका ती चित्र जति नियालो उति भव्य हुँदै जान्छन्।
त्यसैले त युनेस्को यो ठाउँको तुलना छैन भन्छ।
ती हात कस्ता थिए जसले यस्ता अद्भूत कला भित्तामा छोडेर गए। भविष्यलाई केही दिन सक्नेहरू महान् हुन्।
तर वर्तमानमा बाँच्नुलाई अवमूल्यन गर्दिनँ। बाँच्नु पनि धेरै ठूलो जिम्मेवारी हो।
गुम्बामा बुद्धको मूर्ति छ। 'फ्युचर बुद्ध' भन्छन् उनीहरू त्यसलाई। तल्लो तलाबाट माथिल्लो तलासम्म उभिएको। ५५ फिट अग्लो भव्य मूर्ति। सात सय वर्ष उमेर लिएर बाँचेको। र पनि जवान।
उसले कुरिरहेको 'फ्युचर' कहिले आउने हो? त्यहाँ आउने हामीजस्ता मानिसको आँखामा के देख्दो हो मूर्तिले?
बाहिर निस्किन्छौं।
त्यो भन्दा माथिल्लो तलाबाट देखिन्छ लोमान्थाङको 'एरियल' आकाश। यस्तो लाग्छ कुनै टापुमा उभिएर समुद्र हेरिरहेको छु। शान्त। विशाल।
वरपर भएका घरहरूमा छानो माटोको छ। माटोमा सुकाइएको छ भविष्यको तयारी। हिउँ पर्दैछ केही समयपछि।
समुद्र आकाश भएको ठाउँमा पानी पर्ने चिन्ता छैन? केवल हिउँ पर्छ। हिउँले माटोलाई केही गर्दैन।
हामी पानी पर्ने ठाउँमा बसेर छानोको लागि लडिरहेछौं। लोमान्थाङ हिउँ पर्ने ठाउँमा बसेर छानोको लागि बाँचिरहेछ।
अर्को गुम्बा जाने बाटो उसै गरी साँघुरो छ। तर चौडा लाग्छन् ।
सबै कुरा छाती हो। छाती चौडा हुनुपर्छ। मनले स्वागत गर्नुपर्छ।
हामी पुग्दा गुम्बा खुल्दै छ। भित्र उही भव्यता। उस्तै मूर्ति। उस्तै पेन्टिङ। २० फिट भन्दा अग्ला खाँबाहरूको बीचमा डुलिरहेको उस्तै शान्ति।
बाहिर बाटोमा हिँडुन्जेल बोल्ने ती बोली त्यहाँ पुग्दा के ले बन्द गराउँछ?
ती खाँबाहरूलाई तीनलाई कसले ल्यायो होला बोकेर? कसले अह्रायो? ठूलो रुख नहुने त्यो ठाउँमा कसरी पुगे ती खाँबा?
पिरामिडमा कसरी चढे ढुङ्गा?
पिरामिड मर्नेहरूको लागि बनाइयो। लोमान्थाङ बाँच्नेहरूको लागि बनाइयो। त्यसैले त अहिले पनि त्यहाँ कथा सुनाउने मानिस भेटिन्छन्। स्वागत गर्ने मन भेटिन्छन्।
तर यति हुँदाहुँदै पनि लोमान्थाङ चौडा छाती बोकेर बसेको छ। ती पुराना सहरहरूले छातीमा केही मिसाएका छैनन्। तर मिसिने खतरा छ।
लोमान्थाङको त्यो सिटीलाई विश्व सम्पदा सूचीमा राख्न खोजिएको रहेछ। तर रोकेका रहेछन् छेउछाउमा भएका संरचनाहरूले। ती संरचना मानिसहरू गएर बस्नको लागि हुन्।
तिनले गर्दा सताब्दीऔं पुरानो यो सहर अभरमा पर्नु हुँदैन।
यो कुरा कसले उनीहरूलाई बुझाउने। बुझाउनुपर्ने निकायले कहिले बुझ्ने। सबैभन्दा कठिन काम हो कसैलाई बुझाउनु।
यस्तो नहोस् कि लोमान्थाङ घडेरी बेच्न थालोस्।
हामी लगभग एक घण्टा घुमेर बाहिर निस्किन्छौं।
कोरला पुगेर मात्र फर्किनु छ।
जाने बाटो उनीहरूले भनेको जस्तो राम्रो छ। कोरला नाका खुल्ने तरखरले चौडा भएको। तर जति जति अगाडि बढ्दै जान्छौं चिसो उत्तिनै थपिँदै जान्छ।
बग्दै आइरहेको खोलाको पानी अलिसम्म भुगोलमा जमिसकेको।
बग्न ढिलो हुनासाथ जम्नुपर्ने। पानीको दु:ख पनि कम कहाँ छ? जम्दा पानी थकाई मार्दो हो वा हिँड्न नपाएको दु:ख मान्दो हो?
खोला तर्दा भिजेको जुत्ताको तुना अलि माथि पुग्दा बरफ भइसक्छ। हामी हाँस्छौं। नभिजेको कोही छैन।
नाका आउने बेला लगभग २ किलोमिटर बाटो सम्म छ। आँखाले भ्याएसम्म देखिने मैदान। अनि समानान्तर देखिने हिउँ भरिएका डाँडा। ४९०० मिटर उचाइमा त्यति ठूलो मैदान र सम्म बाटो होला भनेर कल्पना गर्नै गाह्रो।
त्यहाँबाट त आकाश पनि नजिकै।
हावाले उडाई ल्याएको -७ डिग्री तापक्रम हाम्रो फोटोसेसनमा रमाउँछ। भन्छ ‘धेरैबेर नफुर्किनू। आत्तिएर कपडा नखोल्नू।’ उचाइमा खुसी पनि थामेर मनाउनुपर्ने रहेछ।
नाका खोल्नको लागि चिनेको सिमानातिर भव्य भवन बन्दै छ। नेपालतिर सुरसार छैन। आयात मात्र गर्नलाई उताको भए भइहाल्यो।
सिमानाको पिलरछेउ उभिन्छौं। झन्डा बोकेर फोटो खिच्छौं। सिमाना नजिकै पुग्दा देश ठूलो लाग्ने रहेछ। त्यो सिमाना जोगाउने भूगोलप्रति श्रद्धा लाग्ने रहेछ। पारिको माटो र यताको माटो फरक हुने रहेछ।
यो सिमाना के चिज हो अझै बुझेको छैन। एउटा सिमाना अर्को सिमानासँग जोडिएको मलाई मनपर्छ। सँगै भएर पनि टाढा। एउटै भएर पनि अलग।
कसले बाँड्यो होला विश्वलाई यो सिमानामा?
हामी फर्किन्छौं। बल्ल आएको बाटो याद हुन्छ। त्यही बाटो फर्किनुपर्ने।
जाउन्जेल फर्किने बाटो याद नहुने रहेछ। जाँदा जति सुन्दर बाटो फर्किँदा नलाग्ला। जाँदा जति मजा फर्किँदा नहोला।
जीवनको बाटो त झन् फर्किँदैन।
लोमान्थाङ, जोमसोम, बेनी, पोखरा, काठमाडौं। सिमानाबाट राजधानी सम्झिँदा कति टाढा लागेको?
साँच्ची रेल त आउँदै छ नि है?
सबै तस्बिरः सुरज सुवेदी