२०७४ सालको दसैं छुट्टीमा महाबु लेकको बाटो हिँडेर जुम्ला जाने रहर आयो। नवरात्र सुरु भैसकेको थियो। काठमाडौंबाट कामको सिलसिलामा नेपालगञ्ज पुगेको थिएँ। दसैंमा घर जान लागेका प्रशस्तै भेटिए। कोही जहाजमा त कोही गाडीमा घर जाने तयारी गर्दै थिए।
मैले 'यसपालि हिँडेर जाने' भन्दा कतिपय अचम्म मान्थे। त्यसपछि 'को को जान लागेको' भनी सोध्थे। 'एक्लै' भनेपछि झन् पत्त्याउन मुश्किल मान्थे। कर्णाली राजमार्ग खुलेयता हिँडेरै जुम्ला जाने भन्दा हाँसउठ्दो सुनिन्थ्यो होला। मलाई भने त्यो भुल्न थालिएको महाबु लेकको बाटो एकचोटी फेरि हिँड्ने रहर थियो।
एसएलसीपछि पहिलोचोटी तराई झर्दा र त्यसपछि मोटरबाटोले नजोडिञ्जेलसम्म जुम्लादेखि सुर्खेत पुग्न हिँडेरै महाबु वा हाउडी लेक हुँदै १०-१२ चोटी ओहोरदोहोर गरेको थिएँ। जुम्लाको सबै भाग, कालिकोट, मुगु र डोल्पाको केही भागमा बस्ने मान्छेका पूर्खा यही बाटो हिँडेका थिए। सानोमा देशारु र हटारुले सुनाउने बाटाका डरलाग्दा र रोमाञ्चक कथा सुनिथ्यो- महाबुको बाटो कठीन छ, ठाडो भीर छ, हिउँले खान्छ, चोरको बिगबिगी हुन्छ आदि।
आफ्नो अनुभवमा भने यो बाटोको केहीखण्ड एउटा साहसिक यात्रा झैं थियो। त्यही 'फिल' गर्न फेरि हिँडे- बिर्सिएको त्यो पुरानो बाटो।
अतिरिक्ति झोला र पैसा प्लेनबाट जुम्ला जान लागेका विष्णु भाइ र धर्म भान्जालाई जिम्मा लगाएँ। म एउटा क्यामरा र सानो झोला बोकी नेपालगञ्जबाट माइक्रो चढेर सुर्खेत लागेँ। त्यो रात त्यहाँ बसेँ। अर्को दिन बेलुका सुमो चढेर दैलेखबजार पुगेँ। भोलिपल्ट एउटा लठ्ठी टेक्न मिल्ने छाता किनेँ। एक जनाको बाइकमा भैंसीखोरसम्म गएँ। एक बजेको थियो होला। अब बल्ल मेरो 'हिँड्ने' यात्रा सुरु भयो।
पहिलो दिनः
केहीबेर हिँडेपछि उकालोनेर सानो बस्ती आयो। एउटा घरमा पानी मागेँ।
महिलाले सोधिन् 'कता जाने?'
'जुम्ला,' मैले भने।
उनी हाँसिन्।
'रोड बन्द छ र? सोधिन्।
'खोइ, थाहा भएन' मैले भनेँ।
'एक्लै?' फेरि सोधिन्।
मैले वृतान्त सुनाएँ।
कुरा गर्दै जाँदा उनीहरू धनाडा, कालिकोटबाट आएका न्यौपानेहरू रहेछन। मेरा मावली परेछन्। तीन पुस्तामा ७-८ घर फैलिएको रहेछ। बात मार्ने चाहना हुँदाहुँदै हिँड्न पर्यो।
पहिलो उकालो जोशले उक्लिएँ। फाट्टफुट्ट ओरालो झरिरहेका महिला र गाई चराइरहेका केटाकेटी भेटिए। हावा चलिरहेको थियो। घाम टाउकोतिरै थियो। पर अनेक डाँडाहरुको तुवाँलोमय तरेली देखिन्थ्यो। पूर्वोत्तर भागमा नौमूले, पश्चिमतिर डाँडिमाडी पर्छन्। पछाडी दक्षिणतर्फ दैलेख बजारको केही अंश अझै देखिन्थ्यो। तल केही बस्ती, जंगल र खेतका सुन्दर तरेली देखिन्थे।
एकघन्टा हिँडेपछि उकालो सकियो। ट्रयाक खोलेको रोड घुमेर यता मिसियो। केही माथि बाटैको आडमा एउटा घर भेटियो। बुढी महिला थिइन्। बुढा बिरामी रहेछन्। ४ जना नातिनातिना रहेछन्। एउटी नातिनी त पाथरखोला, जुम्लाकी रहिछन्। यतै प्लस टू पढ्ने। म हिँडेरै जुम्ला जाने भनेकोचिया त सुरुमा कसैले पत्याएनन्।
चियासँगै बुढी महिलाले पुराना दिन सम्झिन थालिन्- उबेला जुम्ली हटारुको घुइँचो यति हुन्थ्यो कि बास मिलाउन र खाना ख्वाउन हम्मे पर्थ्यो। एकहुल खच्चर उँभो, अर्को हुल उँधो।
'यो बाटोले जुम्ला जोडेपछि त फेरि त्यो रौनक फर्किएला नि!' मैले भनेँ।
'खोइ हामी बाचुन्जेल देख्न पाइन्छ कि नाइँ' शंका गरिन्। 'आउला, आश गरौँ ' भन्दै चिया सकेर म हिडेँ।
अलि उकालो काटेर डाँडाकै डिलमा तेर्सो बाटो आयो। दुईजना मान्छे भेटिए। एकजना मै जाने बाटोतिर जाँदै रहेछन्। जयबहादुर कटुवाल। माथि महाबुसैनतिर कतै तिनको भेडीगोठ रहेछ। त्यहाँसम्म साथी भए। भेडा पाल्ने उनको पुस्तैनी पेसा रहेछ। चरन क्षेत्र साँघुरिएकोले अचेल भेडा पाल्न गाह्रो पर्दै गएको उनले सुनाए। तर भेडा/खसीको भाउ पनि निकै पाइन थालेछ।
'केटाकेटीहर पढ्न सहर पठायो। फेरि यता फर्की कामधाम गर्ने हैनन्! यो यत्तिकै हराउने त होला,' उनले चिन्ता व्यक्त गरे। आधुनिक तरिकाले व्यवसायिक भेडापालन गर्नसके बजार र भविष्य छ। जयबहादुर दाइसँग करिब दुई घण्टा उकालै-उकालो हिडिसकेँ। उनी विश्रामको नामै लिन्नन्। मभन्दा १० वर्ष जेठा मान्छेसँग हिँडेको मैले जति नथाकी हिँड्ने प्रयास गरे पनि सकिनँ।
इँटभन्दा माथि उकालोको बीच हामी एउटा अग्लो चट्टानमा सितलहावा खाँदै केहीबेर बस्यौं। दशरते भन्ने ठाउँका बाटैमा उनका भेडा बथान भेटिए। उनका साथी भेडी गोठालासँग परिचय गराए। र, मलाई छोड्न भनी ओखरबाससम्म आए। बाटोमा केही केटाकेटी हाम्रो साथ लागे। एउटा २० वर्ष हाराहारीको निकै 'स्टाइलिस' युवक थियो। भर्खरै गुजरात, भारतबाट फर्केको रहेछ। मेरो क्यामरा देखेछ, फोटो खिची माग्यो। जिन्स पेन्टको पछाडि खल्तीबाट काँइयो झिक्यो।जुल्फी कपाल मिलायो। चट्टानमा, बाटोमा थरिथरि पोजमा फोटो खिचायो। र, अन्तमा व्ह्वाट्सएप माग्यो। मैले छैन, चलाउन्नँ भने। अनि मेरो फेसबुक आइडी माग्यो र भन्यो 'म छुट्टी सकेर सहर फर्केपछि फेसबुकमा जोड्छु, यी फोटो त्यसैमा पठाइदिनु है'। ऊ ओखरबाससम्म साथ लाग्यो।
पुराना भैसकेका ४-५ वटा पसल थिए। भोक लागेको थियो। उसैले एउटा पसलतिर डोर्यायो। हँसमुख साहुनी थिइन् पसलमा। उसैकी दिदी रहिछन्। निकै परिकार पकाउन जान्दछु भन्दै यताउता खोज्यो तर चाउचाउमात्र भेटियो। त्यही उमाल्न लग्यो।
'जुम्लातिर मान्छे हिँड्न छोडे पछि ओखरबास बजार पुरै सुक्यो। धेरैले ठाउँ छोडिसके। हामी जाने ठाउँ नहुनेहरू मात्र यता छौं,' उसकी दिदीले भनिन्।
'म पनि यता गाउँतिर केही काम नहुने भनी काठमान्डु गएँ। तर महँगो। अनि इन्डिया गएँ,' केटोले थप्यो।
गाउँतिर अवसर छैन, काम पाइन्न। कुरा यस्तै थिए।
'अनि यो ठाउँको दिन फिर्न लागे जस्तो छ त? जुम्लातिर जाने यो बाटो र मध्यपहाडी राजमार्ग पनि नजिकैबाट रहेछ। फेरि मालामाल होला नि यो ठाउँ,' मैले थपेँ।
'खोइ कैले हो कैले,' दिदीले शंका जनाइन्। 'यो बाटो त निकै छोटो हुन्छ रे नि त सर तपाईंहरूलाई जुम्ला पुग्न।" जयबहादुर दाइले थपे।
'हो, तर माथि लेकतिर कसरी जाला?' मैले भने। 'महाबुको लेकमा यसपाला साउने मेलामा ट्याक्टर पुगिसक्यो नि,' दिदीले भनिन्। बाटो बन्ने र गाडी गुड्ने सम्भावना निकै रहेछ।
चाउचाउको तात्तातो झोल खाएपछि जयबहादुर दाइ फर्के, म अगाडि बढेँ।
बस्ती कट्न लाग्यो। अब एक्लै परियो भन्ने सोच्दै थिएँ। पछाडि पाँचजनाको टोली देखेँ। रोकिएँ। उनीहरू 'डिल्लीकोट' जाने रहेछन्। आज सकेसम्म नाउली पुग्ने। यहाँबाट अगाडि महाबुसैन र त्यसपछि नाउली। उनीहरू खाजाखान अल्मलिने भएकोले मैले हिँड्दै गर्ने बिचार गरेँ। तुरुन्तै जंगल सुरु भयो। घना। कुहिरो लाग्यो। अँध्यारो भयो। कीरा र चराको एकनास आवाज। एकसुरले हिँडिरहेँ। बाटोमा कोही मान्छे भेटिएन। पछाडि हेरेँ। ती डिल्लीकोटकाहरू पनि देखिएनन्।
डेढघण्टा पछि एउटा डोजर देखियो। एउटा झुपडीमा मान्छे देखेँ र बाटो सोधेँ। शर्टकट बाटो बुझाए। रुख र झारले जेलिएको बिल्कुल अप्ठ्यारो र अँध्यारो बांगोटिंगो रेखाजस्तो गोरेटो बाटो। बल्लतल्ल पार गरेर सजिलो बाटो पुग्दा कुहिरो झन् बक्लिएर वरिपरि केही नदेखिने भयो। नजिकको बाटो पहिल्याउँदै अघि बढ्दा माबुसैनको होटल भएको ठाउँ छुटेछ। पत्तै भएन। अगाडि एकैचोटी नाके उकालो भेटिएपछि थाहा पाएँ। साँझको छ बजिसकेको थियो। यो उकालो नकाटी नाउली पुग्निन्न। बाटो, घाँस र चट्टानको उबडखाबडभित्र कतै हराए भेट्न मुश्किल हुन्थ्यो। चिन्ता थियो, विकल्प थिएन। (फेदीको अल्टिच्युट २५३० मिटर)
'ओ सर! रोकिनुहोस्,' कसैले बोलाएको सुनें। अघि ओखरबासमा छोडेका मान्छे रहेछन्।
'पख्नुहोस्! अँध्यारो भैसक्यो, सँगै जाउँला,' एकजनाले फटाफट नजिकै आएर भने।
'तपाईं त फटाफट आइहल्नु भएछ। माबुसैनमा हेर्यौं, तपाईंलाई देखेनौं। अनि हामी पनि हिड्यौं। माथि बाटो अप्ठ्यारो छ। नाउलीमा एउटामात्र होटल छ। बास मिल्न मुश्किल हुन्छ कहिले। हाम्रा चिनजानको होटल हो, सँगै बसौंला। सँगै जाउँ,' सास फुलाउँदै एकैचोटी सबै बताए। मलाई त देउता भेटे झैँ भयो। धन्यवाद दिएँ र उनीहरुलाई पछ्याएँ। उनीहरूको गति र चालमा हिँड्दा बाटो छिचोल्न सजिलो लाग्यो। उनी (शाहीजी), उपचार गराएर फर्केकी उनकी श्रीमती, भारतबाट फर्केका दुई युवा र तीमध्ये एक युवाकी श्रीमती। मसहित छ जना भयौं। ती युवाकी श्रीमती अनमी पढाइको छुट्टीमा घर फर्किएकी रहिछन्। शाहीजीकी श्रीमती टर्च बोकेर अघि लागिन्। तिनलाई पछ्याउन निकै हम्मे पर्यो मलाई। नाउली (२६९० मि) पुग्दा राती ८ बज्यो।
ढुंगैढुंगाको ठाडो बाटो उक्लेपछि फलेक छाएको दुईतले झुपडी होटल आयो। बुढी साहुनी, उनकी छोरी र नाति थिए। म सँगैका साथी नातेदार पर्ने रहेछन्। त्यहाँ एकजना भेडीगोठाला पनि भेटिए- सापुल्ली जुम्लाका वीरबहादुर रावत। विगत १२ वर्षदेखि उनी आफ्ना भेडासँग यतै वनचरनमा हिँडिरहँदा रहेछन्।आज उनकी छोरी भेडीगोठमा एक्लै रहिछन्। बेलाबेला स्काइफोन नेटवर्कको मोबाइलमा कुरा गरिरहेका हुन्थे। रावतजी बातैपिच्छे यति टुक्का जोड्थे कि बुझ्न हम्मे पर्थ्यो। सुन्न भने निकै रमाइलो। लोकल रक्सी र आलुको तरकारीसँग मिसिएका उनीहरुका गफ सुन्दै म छेउको पेटीमा पल्टिएँ। उनीहरूका जीवनका आरोहअवरोहका कथाहरू सुनिए।
सुत्न अर्को झुपडीमा गयौं। चिसो कोठामा त्यहाँ चार बेड थिए। दुइटा जोडीलाई दुइटा बेड, म र अर्को केटो एउटामा र वीरबहादुर बड्डा अर्कोमा सुत्यौं। कतिबजे निदाएँ पत्तै भएन। ब्युँझिदा त छ्याङ्ग उज्यालो भैसकेको थियो। उता चुलोमा बलेको मुढो निभेकै थिएन। पानी तातिसकेको र सादा चिया पाकिसकेको थियो। हामी तयार भएर यात्रामा अघि बढ्यौं। एकैछिनमा फेरि कुहिरोले ढाक्यो। फाट्टफुट्ट खुलेकाबेला माथि आकाश निलो देखिन्थ्यो। अगाडि उत्तरतर्फ माहबु देखियो। ठडिएको। त्यो पार गर्नुछ।
महाबु लेकको फेद उनपाटा (३१०० मिटर) पुग्दा एउटा पसल भेटियो- राजबहादुर सिंहको। बाटोमा उनकाबारे निकै सुनेको थिएँ। दैलेख बजारमा भेटेका पत्रकार भुपेन्द्र शाहीले राजबहादुर र उनकी छोरीको नम्बर दिएका थिए। बाटोमासँगै हिँडेका जयबहादुरले पनि भनेका थिए। महाबु लेक पुग्नुअघि भेटिने यही मात्र अन्तिम पसल रहेछ। सिंहजी कतै गाउँतिर गएका रैछन्। छोरीको बिहे भैसकेछ। पसलमा उनका ज्वाइँ थिए। उनले पानी र चिया/बिस्कुट खुवाए।
१२-१५ होटल/पसल भएको यो ठाउँ विगतमा निकै चल्ने बजार रहेछ। जुम्लीहरूले हिँड्न छोडेपछि स्वात्तै सुकेछ। यता बाटो काट्ने काम हुँदा बीचमा केही समय चलेछ पनि। त्यस्तै महाबु मेला चलेका बेला केही दिन अस्थायी रुपमा केही पसल खुल्ने रहेछन्। बाँकी समय खण्डहर झैं सुनसान। अचेल फाट्टफुट्ट आउने बटुवाको सेवा यही पसलले दिएको छ।
'मान्छे यै पसल भेटिन्छ भन्ने आशले हिँडेका हुन्छन्। छोड्न नि नसकिने। चलाइरहेका छौं। यो रोड बाटो खुले त दिन फर्किन्थे कि,' ती ज्वाइँले बाध्यता र आभिलाषा एकैचोटी सुनाए।
'हामीले पनि त्यै खोजेको, एकदिन त बन्ला नि,' हाम्रो टिमको कसैले भन्यो। यी साथीहरूको गाउँ डिल्लीकोट यो लेकको ठ्याक्कै अर्को पट्टी पर्छ। उनीहरूलाई अहिले नजिकको राजमार्ग भेट्न उल्टो बाटो हिँड्नुपर्छ। यो बाटोले उनीहरुमा पनि दिन फर्किने आशा थियो।
हामी दिउँसोको खाना खान त्यही डिल्लीकोट गाउँ पुग्ने गरी महाबु लाग्ना काट्न लाग्यौं।
'रोड'को बाटो कुहिरोले ढाकेको थियो। काँध पुग्न केही घण्टा लाग्ने रहेछ। पहिला खच्चड र भेडा हाँक्ने बाटो पनि यही हो। तर हामी भरिया हिँड्ने परिचित छोटो बाटो उक्लियौं। भीर र पखेरोको चट्टान उक्लिने बाटो बाटोजस्तो थिएन। कतै ठूला लाम्चा ढुंगा अड्याएर पाइला टेक्ने ठाउँ बनाइएको थियो। ती ढुंगाका काप र चिराबाट घाँस उम्रेर त्यही गोरेटो पनि ढाकिएको। लाग्थ्यो, यो बाटोमा अचेल मान्छे हिँड्दैनन्।
अघि बढिसकेपछि पछाडि फर्किनै मुश्किल हुने। आफ्नै झोला र लठ्ठी कतै अल्झेर, ठोक्किएर चिप्लिएला जस्तो। भीरको बाटो, तल हेर्यो पूरै रिङ्गटा लाग्ने, माथि हेर्दा 'क्याप' टोपी खस्ने। घाँसका त्यान्द्रा समातेर वा ढुंगाका चुच्चा पक्रिँदै ६०-७० डिग्री भिरालो उक्लिन पर्ने। 'रक क्लाईम्बिङ्ग' गरेको जस्तो लाग्ने। सास र मुटुको गति दौडिरहने, पसिना बगिरहने। लेकको टुप्पो हेर्दा नजिकै देखिन्थ्यो तर २-३ ठाउँ आराम गर्नुपर्यो। त्यहीबेला माथि आकासमा जहाज देखेँ। सायद त्यो जुम्लाबाट नेपलागञ्ज उडेको थियो। एकछिन त्यो हेर्दै हवाइयात्राको आनन्दानुभूति कल्पना गरें। ती मेरा साथीले कुनै गुनासोबिनै उकालो काटे र मैले पनि पछ्याएँ। केही संघर्षपछि हामी महाबु (३४५० मिटर) पुग्यौं।
महाबुको काँधमा दाहिनेतिरको चट्टाने पखेरोमुनि 'सिमेन्ट'ले बनेको धरमशाला थियो। देब्रेतिर घाँसिलो डाँडामा घोडाघोडी चरिरहेका थिए। उत्तरतिर कालिकोटका केही बस्ती, पर क्षितिजतिर जुम्ला, मुगु र हुम्लातिरका डाँडा देखिए। एकधर्को हिमालचुचुरा देखिए। त्यसभन्दा पर तिब्बत पर्छ सायद। काँधबाट झर्दै गर्दा पानीका मुहान देखिए।
भर्खर खनेको ढुंगैढुंगाको बाटो केही तल पुग्दा 'महादेव' थान भेटियो। साउन-भदौतिर ठूलो मेला लाग्छ रे। दर्शन गर्यौं। नांगो घाँसेडाँडा सकिएपछि आउने खर्सु लगायत उच्च भेगमा हुने बनस्पतिको जंगल, खोल्साखाल्सी हुँदै लसुनढुंगा पुग्न एकघण्टा जति लाग्यो। जंगलले घेरिएको सुन्दर घाँसे फाँट लसुनढुंगामा गाईवस्तु चरिरहेका थिए। बीचतिर केही गोठ।
एउटा भत्केको गेट थियो। गेटकै तल घेरबार गरेको झुपडी। एउटी सानीकेटी र बाख्राको पाठा उफ्रिरहेका देखिन्थे। फाँट सकेर गाउँ झर्ने ओरालोको छेउमै पसल भेटियो। बाटैमा बसेका महिला र काठको पेटीमा बसेका पुरुषहरू गफिँदै थिए। मेरा सहयात्रीहरूको ढोगभेट चल्यो। हालचाल सुन्न-सुनाउन थाले। केही मिनेट ओरालो झरेपछि डिल्लीकोट गाउँ देखियो। खेतका तरेली, थुम्का र फाँटमा कतै छरिएका, कतै जोडिएका काठ र ढुंगाले छाएका घरहरु। मकै बारी र आसपास घना जंगल। सुन्दर डिल्लीकोट।
गाउँको बीचतिर शाहीजीको घर रहेछ। उनका सानोछोराले मकै भाँचेर ल्यायो। बाटामा सँगै आएकी उनकी श्रीमतीले पोलिदिईन्। ठूल्ठूला दुई घोगा खाइ नसक्दै केहीबेरमा रोटी तरकारी ल्याइदिईन्। फटाफट खाएर हिँड्ने तरखर गर्दै थिएँ, उनले भनिन्, 'खाना पाक्दैछ, एक्कैछिन है।'
शाहीजीले थपे 'घरमै आएका मान्छे, खाना नखाई त जानु भएन है।' मतलब त्यो २ घोगा पोलेको मकै, तीन वटा रोटी र दुई बटुका तरकारी पछि अब भात नखाई हिँड्न नपाउने भएँ म।
अघि हामी यहाँ पुगेको केहीबेरमा घरकी बुढीआमा रोइरहेको देखेको थिएँ। किन भन्ने बुझ्न सकेको थिइनँ। अहिले गाउँकी एक महिला आएर सोधपुछ गरिरहेको सुन्दा थाहा पाएँ, उनकी बुहारी, अर्थात हामीसँगै हिँडेर आएकी शाहीजीकी श्रीमती बिरामी भएर दैलेख बजार गएकी रहिछन्। उतै उनको गर्भ तुहिएछ। त्यत्रो बाटो हामीसँगै हिँड्दा उनी सहयोगी, फरासिली, छरिती थिइन्। हामी सबै भन्दा चाँडो हिँडिरहेकी हुन्थिन्। कतै पनि त्यो पीडा बोकेर हिँडेको भेउ नै पाइनँ। 'खाना' खाएर उनीहरुसँग छुट्टिदा तीन बजिसकेको थियो। शाहीजीकी श्रीमतीले 'बाटोमा खानु' भन्दै दुइटा पोलेका मकै झोलामा हालिदिइन्।
म ओरालो झरेर खेतैखेतको बाटो खोल्सो तरेर पारिपट्टी पाखाको बाटो काम्खेत गाउँ हुँदै अघि बढेँ। गाउँमा बिहे रहेछ। सहनाई र दमाहाको आवाजले डाँडाकाँडा गुञ्जिरहेको थियो। हुड्के नाच हेर्न परपर गाउँका मान्छे आइरहेका भेटिए। ओदाँ गाउँको मुनिपट्टीबाट झोलुंगेपुल तरेर पादमघाट (१,५२० मिटर) पुग्दा साढे चार बज्यो। चिल्खाया पुग्न अब एक डेढ घण्टाको उकालो। चिया खाने ठाउँमा सानी नानीहरू गीत बजाएर नाच्न थाले। अघि शाहीजीको घरबाट बोकेको मकै दिएँ र थप नाच्नअनुरोध गरेँ। उनीहरु निकै सुन्दर नाचे।
एक्लै उकालो लागेँ। कोही साथी भेटिएनन्। केहीबेर मै अँध्यारो हुन थाल्यो। माथि डाँडातिर घाँस काटेर फर्किंदै गरेका महिला देखिए। मैले उनीहरूलाई भेट्नै सकिनँ। कतमपुर गाउँ नपुग्दै झमक्कै भयो। खेतको आली र कुलो मिसिएको बाटो निकै चिप्लो थियो। जुत्ता हिलोमा गढेर भिजिसक्यो। मोबाइलको टर्चले नजिक त देखिन्थ्यो तर बाटो चाहिँ अनुमानका भरले अघि बढ्नुपर्थ्यो। संघर्षमय डेढघण्टा पछि एउटा पसल भेटेँ।
साउजीले पानीसँगै काँक्रो पनि दिदैं सोधे, 'काँ जाने?'
'चिल्खाया।'
'यतिबेला? अबेर भैसक्यो त। यतै बस्नुस्,' उनले सुझाव दिए।
मलाई यता बस्नु थिएन।
'साथीहरू अगाडि गैसके,' मैले भनेँ।
'खै कुनबेला गएछन्, हामीले त देखेनौं,' उनले मेरो कुरो पक्रे। केही नभनी मैले हिँड्ने तरखर गरेँ।
'पर्खनुस्! बाटो चिप्लो, अप्ठ्यारो छ। राती डर पनि हुन्छ। हाम्रा केटाले पुर्याइदिन्छन,' भनेर ३ जना केटालाई मेरो साथ लगाइदिए। मनमा केही तर्कना लिँदै उनीहरुका साथ लागेँ। उनीहरूले बोकेको टर्चले बाटो उज्यालो र सजिलो भयो। केहीबेरमा ठिन्के (२१३० मिटर) पुग्यौं। उनीहरु फर्किए। म त्यतै पसलतिर भेटिएका मान्छेको साथ लागेर पर गाउँमा इन्द्रराज दाइको घरमा बास बस्न पुगेँ।
भोलिपल्ट दिउँसोतिर चन्द्रप्रकाश भाइ र म गाउँको पूर्वउत्तरतर्फबाट जंगलको ठाडो ओरालो बाटो हुँदै तिलानदीको झोलुंगे पुल तरेर पारिपट्टी 'बाली' भन्ने ठाउँ पुग्यौं। यो कर्णाली राजमार्ग हो। केहीबेरमा बस भेटियो र म जुम्लातिर लागेँ। मेरो पूर्ववत् योजनाअनुसार फूलपातीको दिन घर पुगेँ।