‘अबिरल बग्दछ इन्द्रावती’, रमेश विकलको यो चर्चित कृति जहाँ जन्मियो, त्यसैको सेरोफेरोमा हाम्रो यात्रा अगाडि बढ्ने छ। अर्थात, इन्द्रावती नदिको किनारै–किनार।
यात्राको प्रारम्भ करिब १२०० मिटर उचाइमा अवस्थित मेलम्ची बजारबाट हुन्छ। त्यसो त सिन्धुपाल्चोक जिल्लाकै सदरमुकाम चौताराबाट पनि पाँचपोखरी पुग्न सकिन्छ तर त्यताबाट जानुका आफ्नै प्रशस्त फाइदा र बेफाइदाहरु छन्।
हिउँदको समयमा हो भने गाडी धेरै माथि भोताङ गाउँसम्म पुग्छ तर बर्खामा जाने सोच बनाउनुभएको छ भने मेलम्ची बजार वा त्यहाँभन्दा एक घण्टामाथिको गाउँ टिपेनीबाटै पैदल यात्राको थालनी हुन्छ।
टिपेनीहुँदै थाङपाल धाप (१३०० मि) र भोताङ (१६०० मि) सम्मको बाटो त्यति कठिन छैन। बिहान सबेरै काठमाडौँबाट गाडी चढे, अलि कस्सेर हिँड्दा भोताङ नभए धापसम्म त त्यसदिन अवस्य पुगिन्छ। बाटोमा गाउँ–बस्ती, चिया पसल, धारा र होटलहरु पनि प्रशस्तै छन्। भूकम्पले क्षतबिक्षत बनाएका ती गाउँहरु बिस्तारै उठ्दै छन्।
भत्किएका भग्नावशेषहरु अझै बाँकी नै छन। तर त्यसले भने तपाइको यात्रामा कुनै पनि प्रभाव पार्दैन। आखाँमा आँसु लुकाएरै भएपनि सिन्धुपाल्चोक बासीहरु मिठो मुस्कान पस्किन खप्पिस छन्। आफ्ना गाउँमा आएका पर्यटकलाइ सक्दो माया गरिरहेकै छन्।
भोताङ गाउँपछि बल्ल कठिन यात्राको प्रारम्भ हुन्छ। त्यसपछि भने गाउँ–बस्ती , चिया पसल, धारा र होटलहरु भेटिदैनन्। छन् त केवल, वन–जङ्गल, खोला–नाला, बडेबडे झरना, पुल–पुलेसा र खर्कमा बस्तु चराउन खडा गरिएका गोठहरू। बाटो पनि उकालै मात्रै। अझ बस्तु हिँड्ने बाटोमा ठडिएर बसेका लेकाली जुकाहरुले यात्रालाई झन रोमान्चक बनाउन मद्दत गर्छन्।
कहिलेकाहिँ त घण्टौ हिँड्दा पनि मानिस, बस्तु वा गोठ केही भेटिदैनन्। बाटो बिराइएछ कि जस्तो भान हुन्छ। तर, आत्तिनु पर्दैन इन्द्रावती नदिले जबसम्म तपाईँको कानमा सुसेलिरहन्छ तबसम्म तपाईँ ठिक बाटोमा हुनुहुन्छ।
‘ताङ्गुमा छुर्पी सुकाउने, माया मनको कुरा मनमै लुकाउने...’
मानेखर्क, टुप्पी डाँडा, ताङ्गुखर्क, याकखर्क, छिम्ती आदिमा रहेका हरेक गोठहरुले यस्तै सुरिला भाका र गीत जन्माएका छन्। दिनभर बस्तुका चरनसँगै लिरिक्सहरू लेखिन्छन् र रातभर तिनै गाइवस्तुका घाँटीमा झुण्डिएका घण्टहरुका ट्याङ–ट्याङ, टुङ–टुङसँगै सुमधुर सङ्गितको जन्म हुन्छ। सायद यसरी नै सदिऔँदेखि लेकमा गीतहरु बनिरहेका छन्।
तिनै गोठहरुमा ८–१० वर्षका कलिला साङ्गे तामाङहरू पनि भेटिन्छन् जो काखीमै किताब च्यापेर गाई–बाख्रा चराउन जान्छन् अनि कहिले–काहिँ यसो फुर्सद मिल्यो भने ३–४ घण्टा तलको विद्यालय धाउँछन्। विद्यालयमा पनि कहाँ दिनभर बस्न पाउनू। साँझ गोठमा नपुगिएला भनेर दिउँसै निस्कन्छन् अनि त्यही बाटो ठसठस गर्दै बेलुका आफ्ना बा/दाजुलाई सघाउन गोठमै आइपुग्छन्।
यदि भोताङबाट तपाईँ नसिमपाटी (३७०० मिटर) सम्म पुग्न सक्नुभएन भने यस्तै गोठहरुमा बस्ने अवसर पाउनुहुनेछ जहाँ साङ्गेले तातो भात र स्वायबिन पकाएर खुवाउँछ अनि गाई, बाख्रा र कुखुराहरुका बिचमा रहेको उसको प्यारो ओछ्यानमा नै तपाइलाई सुत्ने व्यवस्था मिलाउँछ।
नसिमपाटीमा भने केही घरहरु छन् जुन पर्यटकहरुको न्यानो आतिथ्यका लागि वर्षौदेखि पर्खिबसेका छन्। नसिमपाटीले विशेष केही दिन नसके पनि तपाईलाई एक छाक दाल–भात र सुत्नका लागि न्याना राडी–गुन्द्री भने अवश्य दिनेछ।
स्थानीयले बताएअनुसार, कात्तिकपछि त्यहाँ हिँउ पर्छ र हिँउ परेसँगै सबैजना तल गाउँ झर्छन्। त्यसपछिको ५–६ महिनासम्म ती घर/गोठहरुमा न आगो बल्छ न त चौरीका घण्टहरुबाट ट्याङ–ट्याङ, टुङ–टुङ नै। पूरा सन्नाटा।
नासिमपाटीबाट पाँचपोखरी पुग्न ३ घण्टा लाग्छ। करिब ३५०० मिटरभन्दा माथिको उचाइमा पुगिसकेपछि अक्सिजनको कमि भइ अल्टिच्यूड सिकनेस (लेक लाग्ने) हुनाले यात्रा अलि कठिन बन्दै जान्छ।
उकालाहरू अप्ठ्यारा लाग्छन्। झन त्यसमाथि ठाउँ–ठाउँमा खसेका पहिरोहरुले बाटो साघुँरो बनाइदिएका छन्। तल त मात्र कहालिलाग्दो भिर छ। पाँच पोखरी नपुगन्जेलसम्म नै मौसम बदलिरहन्छ। कहिले डम्म हुस्सु लागेर अगाडिको बाटो केहि देखिदैन त कहिले सिमसिम पानी पर्छ।
करिब ४३०० मिटर उचाइमा रहेको पाँचपोखरी आफैंमा अद्भूत छ। वरिपरि अग्ला टाकुराहरु र बिचमा पोखरीहरुको उपत्यका। १–२–३–४–५। गनेरै टपक्क मिलेर बसेका पाँच पोखरीहरू। तिनै अग्ला टाकुराका काप–कापबाट पानीका मूल फुटेका छन् र पोखरी बनेका छन्। फेरि पोखरीहरु भरिएर झरना अनि झरनाहरु बग्दै बग्दै इन्द्रावती।
पोखरीका वरिपरि फूलका बगैँचाहरु पनि छन्। अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरु पाँच पोखरीका देवताले रोपेका हुन रे। सायद तिनै देवताले बगैँचामा मलजल गर्दा हुन्, गोडमेल गर्दा हुन्। त्यसैले त खप्तड उपत्यकालाई नै बिर्साइदिने गरि त्यहाँ डाँडै भरि फूल फुलेका छन्।
अरूबेला प्रायः शान्त रहने पोखरीहरु जनै पूर्णिमाका मेलामा भने भरिभराउ हुन्छन्। भगवान शिवको दर्शन गर्ने र पोखरीमा स्नान गरि जनै फेर्न भक्तालुहरुको घुँइचो लाग्छ। स्थानीयले बताएअनुसार गत वर्ष मात्र करिब दश हजार तिर्थालुहरु पूर्णिमाका दिन पाँचपोखरी पुगेका थिए।
यस वर्षको जनै पुर्णिामालाई पनि मध्यनजर गर्दै सम्पूर्ण तयारी पूरा भइसकेको छ। ठाउँ-ठाउँमा थर्पुहरु बनिसकेका छन्। होटलहरु थपिएका छन्। साङ्गे तामाङका गोठहरु पनि चिटिक्क बनाइएका छन्। खानेखानेकुराहरु प्रसस्त लगेर राखिएको छ। बाटो सुधार गरिएको छ।
कात्तिक अघिसम्म त पोखरी वरपर पनि केही थान होटलहरु खुला नै रहन्छन्।
पाँचपोखरीबाट फर्कदाः
फर्कने मुख्यतः दुई विकल्प छन्। पहिलो मेलम्ची हुँदै चढेकै बाटो र दोस्रो हिले हुँदै चौतारा तिरबाट।
चौतारा हुँदै फर्कने बाटो निकै नै अप्ठ्यारो छ प्राय मानिसहरु ओहोर–दोहोर पनि गर्दैनन्। तर, साँच्चै ‘एडभेन्चरस ट्रेकिङ’ रुचाउनेहरुका लागि दोस्रो विकल्प उत्तम विकल्प हो।
त्यसमाथि चौतारा तिरको बाटोमा यति धेरै प्राकृतिक भेरियसन छ कि एकै दिनमा तपाईँले प्रकृतिका अनेका स्वरुपहरु देख्न पाउनुहुनेछ।
नासिमपाटीदेखि हिले भञ्ज्याङसम्मको बाटो अग्ला पहाडका टुप्पै–टुप्पो हुँदै अघि बढ्छ जतिखेर तपाइलाईँ आफू बादलमाथि हिँडिरहको छु जस्तो महशुस हुन्छ। ठिक तल बादलका टुक्राहरु एक–अर्कासँग ठोकिदै ठोकिदै जिस्किरहेका हुन्छन्। माथि हेर्यो छ्याङ्ग निलो आकाश।
हिलेदेखि पौवाबाससम्मको बाटो अलि ‘ट्रिकी’ छ। एकैछिनमा उकालेर डाँडाको टुप्पोमा पुर्याउँछ र फेरि ओरालेर फेदमा। यो क्रम झर्को नलागुन्जेलसम्म चलिरहन्छ।
पौवाबासदेखि कामिखर्क पुग्ने बाटोमा भने अचम्मको जङ्गल फेला पर्छ। कहिले ‘एनिमेटेड हलिउड’ चलचित्रमा देखाइने जस्ता लेउ लागेका रुखहरु त कहिले चारकोसे झाडीमा जस्तो निस्पट अन्धकार। वरपर चराका चिरबिर र बेलाबेला रुखका हागाँमा ठोकिदै बहेका बतासका झोकाहरुले यात्रामा कत्ति पनि थकान महशुस हुन दिँदैनन्।
कामीखर्कबाट ठाडै ओरालो झर्दै गर्दा गजबको उपत्यका फेला पर्छ। समथर भूमिमा हरिया घाँस। छेउमै रहरलाग्दो पोखरी अनि अनेक प्रजातिका रङ्गि–चङ्गि फूलहरु। मिल्ने भए सधैँभरि त्यहि बसिरहौँ जस्तो लाग्ने।
त्यसपछिको बाटोमा खासै उकालो चढ्नु पर्दैन। खोङ्ज्योबाट अघि लागेपछि माइथानमा अर्को बस्ति भेटिन्छ जहाँसम्म घनाह जङ्गलको बिचैबिच ओरालो झर्नुपर्छ।
बाटैभरि खानेपानी चाहिँ एकदम सिमित ठाउँमा मात्रै पाइन्छ। त्यही भएर भेटिएको ठाउँमा जुगाड गरिहाल्नु पर्छ।बाटो हराउने सम्भावना त कमै छ तर पनि कतै कतै दोबाटोहरु आउँछन् जसले बेलाबखत झुक्याइरहन्छन्। त्यहि भएर बस्ति भेटिएका ठाउँमा बाटोका बारे उचित सल्लाह लिएर अघि बढ्नु बुद्धिमता ठहरिन्छ।
माइथान–लामीडाँडा–स्याउले हुँदै चौतारा आइपुगिन्छ जुन बाटोमा घर र मानिसहरु प्रशस्तै भेटिन्छन् र हिँड्न निकै सजिलो पनि छ।
माथि उल्लेखित चौतारा हुँदै फर्कने बाटोबाट माथि चढ्न पनि सकिन्छ। तर त्यसो गर्दा मोटा–मोटी एकदिन बढ्ता लाग्ने र बाटो पनि कठिन भएकाले प्राय मानिसहरुको रोजाइमा मेलम्ची कै बाटो पर्ने गरेको छ।
– ट्रेकिङका लागि उचित समयः चैतदेखि असोजसम्म।
– ट्रेकिङका लागि छुट्याउनुपर्ने दिनः ४ देखि ६।
– बोक्नै पर्ने सामाग्रीहरूः रेनकोट/घुम/ओढ्ने प्लास्टिक,टर्च लाइट, पानीको बोतल, चाउचाउ/बिस्कुट, प्रशस्त चकलेट, जीवनजल, चिकित्सकको सल्लाह बमोजिम लेकबाट बच्नका लागि एसिटाजोलामाइड , सिटामोल, फस्ट एड बक्स, दुखाइ कम गर्ने, ग्यास्ट्रिक र एलर्जिका औषधि। ट्रेकिङ जुत्ता र केहि न्याना कपडाहरू।
– अनुमानित खर्च: व्यक्तिमा भर पर्ने। तर पनि यो रुट खासै खर्चिलो छैन। मेलम्चीसम्मको बस भाँडा १६० र फर्कदा चौताराबाट २२०। खाएको र बसेको हेरि–हेरि २०० देखि ५०० सम्म (जति माथि गयो त्यति बढि लाग्ने)।
यात्राका दौरान नासिमपाटीमा एक जना दिदिको घरमा बास बसेका थियौँ। हिँड्ने बेलामा हामीसँग भएको क्यामेरा देखेर दिदिको सानो छोरोले फोटो खिच्ने औधि रहर गर्यो। हामीले फोटो खिच्यौँ। साथै दिदीले एउटा वाचा पनि गराएकी थिइन्, ‘आर्को साल जनैपूणिर्मामा यहाँ थुप्रो मान्छे आउँछ, कसैको साथ लाएर फोटो पठाइदिनुन है।’
त्यति माथिको गाउँमा, त्यस्तो हार्दिकताका साथ अनुरोध गरेकी दिदीलाई निराश बनाउन पटक्कै मन छैन। जनैपूर्णिमा आउनै लाग्यो। विचरी फोटो कुर्दै बसेकी होलिन्।
कोही यस वर्ष पाँचपोखरी जाँदै हुनुहुन्छ भने, कृपया सम्पर्क गरी दिदी र उनको छोराको उक्त फोटो नासिमपाटीसम्म पुर्याइदिनुस् न है!
साँझमा अँगेनामा आगो जोड्दै तिनै दिदीले भनेकी थिइन्:
पहाडका कापकापबाट उम्रिएको ‘पाँचपोखरी’ जब भरिएर पोखिन्छ तब कयौँ गाउँ–बस्तीसँग मितेरी गाँस्दै गाँस्दै अघि बढ्छ। पाँचपोखरी लाखौँ वर्षदेखि यस्तै हजारौँ इतिहासहरुको साक्षी बन्दै आएको छ। आखिर पाँचपोखरी छ र त ‘अबिरल बग्दछ इन्द्रावती।’