गोसाईकुण्डको निम्तो

तस्बिरः जीवन सुवेदी


घुम्न जाने ठाउँको सूचीमा गोसाईकुण्ड थिएन।

सुरज दाइको फोनले मलाई ततायो। भन्नुभयो ‘यसपालि १३ गते जनैपूर्णिमा परेछ। हामी रसुवा जाने योजना बनाउँदैछौं। तिमी जाने हो?’

श्रावण ५ गतेको कुरा थियो त्यो।

घुम्ने कुराले मलाई नछुने कुरै थिएन। अचानक बनेको योजना भएकाले मैले एकपल्ट सल्लाह गर्छु भनेँ।

सल्लाह भयो। मैले गाईघाटबाट आफ्नो टोली लिएर जाने भएँ, सुरज दाइको आफ्नो टोली। काठमाडौँमै भेटेर सँगै जाने निर्णय भयो।

विराटनगरबाट सूर्य दाइ, गाईघाटकै प्रविन सर र सिन्धुलीबाट शिव सरसँगै संजीव र हेमविक्रम सर। ६ जनाको टोली तयार भयो।

अन्तिम समयमा सुरज दाइको टोली भने नजाने भएछ। अफिसको डोरीले टुँईक्क कसेछ। यति तयारी भइसकेपछि हामी भने रोकिनेवाला थिएनौँ। उहाँकै कोठालाई सेल्टर बनायौँ, झोला मिलायौँ, हिँड्ने अन्तिम तयारी गर्‍यौँ।

१३ गते जनैपूर्णिमा। १२ गते बिहानै धुन्चेबाट हिँड्नुपर्ने। त्यसको लागि ११ गते बेलुका धुञ्चे पुग्नै पर्ने। तर १० गते सबैजना काठमाडौँ पुगिएन। पुग्नेले थप तयारी गर्‍यौँ। आवश्यक किनमेल गर्‍यौँ।

धेरै सुन्दर ठाउँमा पुगेर पनि दुरुस्त फोटो उतार्न नपाउँदा धेरै ठाउँमा धेरै पटक चुकचुकाउनुपरेको थियो मैले। यसपटक भने हिम्मत गरेर निकोनको जुमलेन्स क्यामेरा मिलाएँ।

यो यात्रामा मेरो महत्व ह्वात्तै वढ्नेवाला थियो।

काठमाडौँ, अनामनगरस्थित दाइको कोठाबाट ६ युवा बोकेर ३ वटा मोटरसाइकल गोसाईकुण्ड यात्राका लागि निस्किए।

काठमाडौँ टु धुन्चे

काठमाडौँका मूल सडकमा सवारी दौडको अघोषित प्रतिस्पर्धामा आफूलाई उतार्दा दिउँसो साढे दुई बजिसकेको थियो। जामबारे त के लेख्नु ! थानकोट-नागढुंगा खण्ड त झन् सम्झनै मन छैन।

नागढुंगाबाट ओरालो लागेपछि भने जाममा मोटरसाइकल हुँदा सहज हुँदो रहेछ। आफ्नो साईडका गाडी ओभरटेक गर्दै गयो, अर्कोतिरबाट गाडी आए, आफ्नो साईडमा कहाँ खाली छ, स्वाट्ट छिरायो! गाडी पार भएपछि यसो यता- उता हेर्यो, निकाल्यो, फेरि हुँईक्याइहाल्यो।

‘जाममा फसेका गाडीभित्रका मान्छे कति चुकचुकाउँदा हुन्!’

गल्छी पुग्दा ४ बजेको थियो। मोटरसाइकल पछाडि बसेका सूर्य दाइ, म र सञ्जीव सर झट्ट हेर्दा नचिनिने भएका थियौँ, धूलोले।

‘काठमाडौँबाट धुञ्चे ११८ किमी टाढा। बाटो बालाजु- ककनी-रानीपौवा- विदुर हुँदै जान्छ, बाटो पूरै पिच छ’-  मैले गुगलबाट पाएको जानकारी थियो यो। काठमाडौं पुगेपछि सल्लाह पायौं कि, काठमाडौं- गल्छी- विदुरको बाटो राम्रो र छोटो छ। हामीले त्यही बाटो प्रयोग गर्‍यौं।

गल्छीबाट अगाडि २ किमी बाटो केही असहज थियो। बाढी-पहिरो केही होइन। बाटो विस्तारका कारण घाममा धूलो र पानीमा हिलो मात्रै।

धुञ्चेबाट फोन आएर ‘अलमल नगरी आउनू, माथि बाटो खराब छ। अँध्यारो नपार्नू, समस्या हुनसक्छ।’ भनिएपछि तीनवटै मोटरसाइकल साविकभन्दा जोडले हुँईकिए।

राम्चेनिर पुगेपछि बाटोमा उखडवाखड सुरु हुँदो रहेछ। पानी उम्रिरहने ओसिलो भिर ठाउँ-ठाउँमा बगिरहने। हिलेबाट तुम्लिङटार जाँदा बाटोमा पर्ने क्यावाँ खोलाको पहिरो जस्तै। राम्चे, ठाडे, मुलखर्क जस्ता ठाउँमा बाह्रै महिना पहिरोको जोखिम हुने भएकोले तत्काल मर्मतका लागि २ वटा स्काभेटर तयारी अवस्थामा राखिएको रहेछ।

पहिरोग्रस्त क्षेत्र बाहेक अन्त बाटो पूरै पिच। एकदम ठीक। सबैथोक सहेर बेलुका करिब आठ बजे मात्रै हामी धुञ्चे पुग्यौं। त्यहाँ कार्यरत एक जना सरलाई हिँड्नुभन्दा पहिलानै सम्पर्क गरेका थियौं। नत्र धुञ्चेमा होटेल पाउनै मुस्किल! त्यो रात गोसाईकुण्ड जाने यात्रीले टनाटन थियो, धुञ्चे बजार।

बिहान चाँडो उठ्न सकेनौं। आ-आफ्नो झोला बोकेर पदयात्राका लागि खडा हुँदा बिहानको आठ बजिसकेको थियो।

पैदल यात्रा र किस्ताबन्दी दृश्य

‘आइ लभ नेपाल’ लेखिएका टिसर्ट लगाएका ६ युवाको सामूहिक फोटो खिचेर क्यामराले औपचारिक काम सुरु गर्‍यो। मैले फेसबुकमा पोस्ट गरेँ।

बाटोमा लठ्ठी बेच्न बसेका भाइबहिनी भेटिए। प्रतिलौरा १० रुपैयाँ। शिव सर बाहेक सबैले एक-एक वटा टेक्यौं। काजी सा’ब पारा नै अर्कै- उहाँले २ वटा टेक्नु भो ! हामी उकालो लाग्यौं।

१९५० मिटर उचाइबाट २३०० मिटरको देउराली उक्लिँदासम्म सबैको गति चुस्त थियो। देउरालीबाट माथि चढेपछि भने म छोडिन थालेँ। म हिँड्न नसकेका कारण सूर्य दाइ छाडिनु भो। अरूसँग उकालो नाप्न नसक्दा हेम सर पनि छाडिनु भो। ३ जना अगाडि ३ जना पछाडि भयौँ।

मेरो भाते ज्यान ! भात नखाइ ‘इनर्जी’ नै नआउने ! ‘इनर्जी’ नआई शरीरै नचल्ने! बेलुकाको भातले देउरालीसम्म र बिहानको नास्ताले बिस्तारै उकालो ठेल्दै थियो।

नहिँडि पुगिनेवाला थिएन।

चन्दनबारीसम्म ठाडै उकालो, सिधै भिर चढे जस्तो। बाटोमा अग्ला-अग्ला धुपीका रुखहरु ! ‘यस्तो बाड्गो (भिरालो) धरातलमा रुख चाहिँ कति सिधा ! रुख पनि बाङ्गै हुनु नि!’ सूर्य दाइले हँसाउनु भो।

‘कस्तो बाङ्गो? तपाईंको कपाल जस्तै?’ मैले भनेँ।

हामी हास्यौँ। बाटाका मान्छेले हामीलाई हाँस्न सघाए।

बर्खाको बेला, हुस्सुले छिन छिनमै छोप्थ्यो। उचाइका दृश्यहरू रहस्यमै रहन्थे। बेला-बेला कुहिरो र हुस्सुले घुम्टो उघार्दा बारी पारिका बाक्लै छहराहरु भने हाम्रो यात्रा रोमाञ्चक बनाउन पर्याप्त थिए। किस्ताबन्दीमा दृश्य हेर्न पाउनुको मजा अर्कै।

जताजतै ठूल्ठूला झरनाहरु झर्दै गरेको देखेपछि सुर्यदाइले भन्नुभो, ‘धेरै पानी रसाउने भएरै होला है, रसुवा भनिएको!’

हामीभन्दा अगाडिका साथीहरूले चन्दनबारीमा खानाको बन्दोवस्त गरेछन्। त्यो ठाउँ करिब ३३०० मिटर उचाइमा छ।

यात्रामा टिसर्टका अक्षरले आफूलाई मनौबैज्ञानिक पावर दिने, अरूले महत्त्व दिने र आफ्नो ग्रुप समेत स्पष्ट छुट्टिएका थियौं। यो आइडिया प्रविन सरको थियो। बाटोमा ‘जय शम्भो!’ भन्दै क्रस हुनेमध्ये कतिपय ‘आइ लभ नेपाल’  भन्दै जान्थे। हामी ‘वि लभ नेपाल’  भन्दै जवाफ दिन्थ्यौं। एक ग्रुप युवाले त ‘रातो र चन्द्र सूर्य……’  गाए।

चन्दनबारीबाट उकालो लागेपछि टाउको झमझमाउन थाल्यो। उकालोमा स्वाँ स्वाँ हुने त छँदैछ। पाइला नचालुञ्जेल ठीक थियो। तर जति पाइला चाल्यो, उति टाउको चड्किने ! यही बहानामा आफ्नो झोलाको केही तौल घटाएर सूर्य दाइकोमा थपिदिएँ। व्यथा भने उस्तै !

बिस्तारै उकालो चढिरहेँ। विकल्प पनि त थिएन।

तस्बिरः जीवन सुवेदी

त्यो कोल्टे परेको रात

धुञ्चेमा हामीलाई सुझाइएको थियो-  बेला छँदै पुगिन्छ भने मात्र गोसाईकुण्ड जानू। नत्र लौरीबिना वा बुद्ध मन्दिर तिरै बास बस्नू।

‘किन?’ मैले सोधेको थिएँ।

गोसाईकुण्डमा पर्याप्त होटेल छैनन्। जनै पूर्णिमा मेला भर्न जानेको भिडभाड हुन्छ। बेलुका पुग्ने सबै मान्छे अटाउँदैनन्। बास पाउन मुस्किल हुन्छ।

सुझाव नमान्ने कुरै भएन। करिब ३९५० मिटर उचाइको ‘लौरीबिना’ मा बास बस्ने निधो गर्‍यौं।

तल धुञ्चेबाट अगाड‍ि बढेदेखि नै खान-बस्नका लागि पर्याप्त थर्पु (त्रिपाल टाँगेर बनाइएको अस्थायी टहरा) रहेछन्। त्यो क्रम गोसाईकुण्ड सम्मै छ भन्ने सुनियो। मान्छे बास नपाएर अभरै पर्ने त हुँदैन रहेछ। तर, चिसो ठाउँमा, होटलका कोठाभित्र सुतेजस्तो कहाँ हुन्छ र त्रिपाल मुनि !

एउटा होटलमा छिर्यौं। सबै कोठा प्याक। अर्कोमा छिर्यौं। कोठा पाइयो तर भाउ साह्रै चर्को। एउटा कोठामा एक रातको मूल्य सात हजार रुपैयाँ रे !

‘दरदाम अलि मिलाउँ न दाइ!’ सकेसम्म नरम भएर केही मिलाउन खोज्यौं। तै सुनुवाइ भएन।

‘तपाईंहरु बस्ने कि नबस्ने? नत्र अर्को दाइहरु आउनु भा’छ !’ जवाफ आयो।

हामीसँग विकल्प थिएन।

हामीले नबस्ने भनेका भए त्यो कोठा दस हजारमा लाग्ने रहेछ। हामीभन्दा अगाडि आएका ५ जनाले चारै हजारमा एउटा कोठा लिएका रहेछन्, भने पछाडि आउने ४ जनाको टोलीले एघार हजार तिरेर कोठा पाएछन्।

जति ढिला बस्न पुगियो उति भाउ बढ्दै जाने। मान्छेका विवशतामाथि प्रहार गर्न घन बोकेर बस्दा रहेछन्, त्यहाँका होटल व्यवसायी !

सुत्न दुईवटा सिंगल खाट जोडेर डसना र तन्ना ओछ्याइएको। सुत्नुपर्ने ६ जना। कसरी अटाउने?

ती दुई खाट पुरै नजोडी अलिकति ग्याप राख्यौँ, ता’की सबै अटियोस्! अनि त्यसमाथि डसना ओछ्यायौं। तर, त्यसरी पनि सबै जना कोल्टे परेर सुते मात्र अटाइने भयो।

खाना खानै मन थिएन। शरीरमा ताकत नभएकोले नखाई पनि भएन। टाउको दुखिरहेको र वान्ता आउला जस्तो भइरहेको थियो। अलिकति खाना खाएँ। अरू साथीले पनि मन लगाएर खाएको देखिएन। धेर-थोर सबैको टाउको दुखेकै थियो।

हेम सरले लेक लागेको औषधी खानु भो, मैले सिटामोल।

मुटु काँप्ने जाडो। सबैका जिउमा ज्याकेट। ज्याकेट नखोली सुत्दा त कोल्टे परे पनि नअटिने भो ! मोटा ज्याकेट हुनेले खोल्यौं। शिव सरले खोल्न मान्नुभएन। भन्नुभयो ‘यो ज्याकेट लगाएसी बल्ल म तपाईंहरूको साइजमा बराबर हुन्छु।”

सबै हाँस्यौं।

दुई खाटबीचको खाली भागमा म परेछु। कोल्टे सुत्दा डसना झन् लुत्रुक्कै भयो। रातभरीमा धन्न दुवैपट्टीका साथीहरू एकैचोटी उठेनन्, नत्र म छिरेर सिधै खाट मुनि पुग्थेँ ! एक त उचाइमा शरीरमा अक्सिजनको कमी। अर्को निरन्तरको टाउको दुखाइ, वान्ताको सकस। अनि त्यसमाथि चेपाचेपको सुताइ। फेरि चल्न चटपटाउन मिल्दैन भनेपछि झन्, फर्किन मन लाग्ने ! जिउ चिलाएजस्तो हुने! सकसक लाग्ने, झन् धेरै कोल्टे फेर्न मन लाग्ने !

निन्द्रा लाग्ने छाँटकाँट थिएन। छटपटी भइरह्यो। एकछिनमा झकाएछु तर ब्युँझिहालेँ। उज्यालो भयोजस्तो लागेको थियो तर बाह्र पनि बजेको रहेनछ।

अर्कोपल्ट ब्युझिँदा पेट दुखिरहेको रहेछ। उठेर ट्वाइलेट गएँ। ट्वाइलेट बाहिर त लाइन रै’छ। त्यै पनि केटीहरूको।

‘क्यु छ यहाँ त !’ एउटीले भनी।

‘तपाईंको नम्बर कति ?’

‘तीन।’

लौ जय होस् भन्दै कोठामा आएर ओछ्यानमा पलेँटी कसेर बसेँ।

अति कष्टले रात बित्यो। तर भोलि फेरि हिँड्नु त थियो नै।

लौरीबिनाको उकालो

लौरीबिनाभन्दा माथि ठाडो उकालो रहेछ, बुद्ध मन्दिरसम्मै।

अलि मास्तिर लौरीबिनायक रहेछ। तलबाट टेक्दै ल्याएको लौरी त्यही बिनायकमा चढाएर बिना लौरी उकालो चढ्नुपर्ने रे!

त्यसैले यो ठाउँको नाम लौरीबिना राखिएको होला।

तर बिना लौरो त्यत्रो उकालो कसरी चढ्नु !

मैले लौरो चढाएँ। सुर्यदाइले पनि चढाउनु भो। अनि, मैले चढाएको लौरो सूर्य दाइले टिप्नु भो र दाइको मैले। मास्तिर पुगेर आ-आफ्नो लौरो साट्यौं, हिसाब बराबर !

लौरीबिनाभन्दा माथि रुख छैनन्। हरिया डाँडा/पहरा र ठाउँठाउँमा गोलाकार भई झुप्प परेका काडेँदार बुट्यान।

वनजंगल नहुँदा स्वभावैले अक्सिजन कम हुन्छ। करिब ४,०००-४,१०० मिटर उचाइको त्यो ठाडो उकालो त्यति सहज छैन। गोसाईकुण्ड जाँदा लेक लाग्ने अधिक जोखिम भएको ठाउँ यही हो।

बाटोमा भेटिएका मेडिकल टोलीका मान्छे भन्दै थिए – ट्रेकिङका लागि सबभन्दा कठिनमध्ये यो गोसाईकुण्ड पनि पर्छ। अन्नपूर्ण ट्रेक पनि यो जति अप्ठ्यारो छैन।

किन?

‘यहाँको ट्रेकिंङ रुट नै यस्तो छ कि, सिधै माथि चढ्नुपर्छ। चिकित्सकहरुले ३५०० मिटरभन्दा माथि एक दिनमा ३ सय मिटरभन्दा नचढ्नू भन्छन्। यहाँ मान्छे एकै दिन तीन हजार चढिदिन्छ, अनि खतरा हुँदैन ? उचाइ अनुकूल सन्तुलन मिलाउन शरीरलाई गाह्रो पर्छ।’

हामी बिस्तारै उक्लियौं।

हाम्रो भाग्य बलियो। मौसम खुलेछ। करिब ४१५० मिटर उचाइमा उकालो घस्रिँदै गरेको मैले आखैँ अगाडि लामटाङ हिमाल देखेँ।

प्रविन सर माथि डाँडामा पुग्नुभएको थियो। हिमाल देखेपछि मैले थकान, उकालो, अल्टिच्युड सबै-सबै भुलेँ। क्यामरा सम्हाल्दै दौडेर उकालो चढेँ। सामन्यतयाः १० मिनेट लाग्ने डाडाँ उक्लिसक्न मलाई १ मिनेट पनि लागेन होला !

अनि त, साथीहरूले कुरो पाइहाले – जीवनलाई हिँड्न सकेन भने हिमाल देखाउनुपर्छ। हिमाल छोपिए, मोबाइलमा फोटो मात्रै देखाए नि हुन्छ।

बुद्ध मन्दिर नजिकैको त्यो डाँडाबाट हामीले लामटाङ, गणेश, अन्नपूर्ण र माछापुछ्रे हिमाल समेत देख्न सक्यौं। झन्, लामटाङ त त्यहाँबाट लङ्जम्प हान्दा सिधै पुगिएला झैं गरी सिधा पारिपट्टि उभिएको थियो।

रसुवाबाट पश्चिम जाँदै गर्दा हिमालय श्रेणी नेपालको सिमानाबाट दक्षिणतर्फ दुरी बढ्दै गएको नक्सामा देखेको थिएँ मैले। धैरैपटक गुगल अर्थ हेरेको थिएँ। तर, त्यहाँबाट प्रत्यक्ष देख्ने मौका पाएँ। मलाई अपार आनन्द लागेर आयो।

बेहुलीले एकैछिनलाई घुम्टो उघारेकी थिइन्, अब बन्द गरिन्। भूकम्पमा भग्नावशेष भई हालसम्म पुनःनिर्माणको पर्खाइमा रहेको बुद्ध मन्दिर नियाल्दै हामी अगाडि बढ्यौं।

आहा! गोसाईकुण्ड

करिब ४४०० मिटर उचाइमा उकालो उक्लिँदै गर्दा फर्केर आउनेले ‘अन्तिम उकालो यहीँ हो’ भनेपछि मन चङ्गा भयो।

डाँडा/पहरा भरी मसिना झारका रंगीविरगीं फूल फुलेका थिए। मैले क्यामेरा निकालेँ। कसैले भनिदिए, ‘तीमध्ये सेतो फूलेको झार लेक लगाउने झार हो।’

हामीले त्यहाँ अलमलिरहन उचित ठानेनौं।

कुहिरोको गर्भभित्र मधुर-मधुर एउटा कुण्ड देखियो। एकैछिनमा कुहिरोले छाड्यो। वाह ! सरस्वती कुण्ड। जाँदाजाँदै बाटै मुनि पर्दो रहेछ। अगाडि फेरि अर्को कुण्ड देखियो। गुगलमा मैले लिएको पूर्व जानकारी अनुसार त्यो भैरव कुण्ड थियो। राम्रोसँग खुल्नै नपाई कुहिरोले छोपिहाल्यो।

अनि हाम्रो प्रतिक्षाको घडी सकियो। हाम्रो सपना, रहर, प्राप्ति, अनि हाम्रो यात्राको अन्तिम गन्तव्य गोसाईकुण्ड हाम्रै अगाडि थियो। ‘आइपुग्यौ केटा हो ?’ भनेर सोधेजस्तो लाग्ने।

वरिपरि होचा अग्ला पहाडको काखमा, शान्त तालमा छिनमै कुहिरोले ढाक्ने, छिनमै खुल्ने, छिनमै घाम लाग्ने, छिनमै पानी पर्ने! कस्तो चञ्चल मौसम, कस्तो गज्जब ! ताल हेर्दैमा आनन्द लाग्ने! हेरिरहुँ लाग्ने। त्यसै त्यसै मन शान्त हुने। तालकै किनारमा अधिक समय बिताउन मन लाग्ने ! वाह! प्रकृतिको क्या सुन्दर उपहार!!!

घुम्न आउनेले यहाँ जाडोयाममा आउनुपर्छ रे ! तालको पानी जमेको हुन्छ, टेक्दा नभास्सिने गरी। वरिपरिका पहाड हिउँले ढाकिन्छन्, सेताम्मे हुन्छ गोसाईकुण्ड क्षेत्र।

‘हिउँ भएको ठाउँमा पुग्न पाए औंलाले मेरी फुच्चीको नाउँ लेख्ने थिएँ यार।’ शिव सरले ‘फुच्ची’ शब्द उच्चारण गरेको करिब दर्जन पटक भयो। केही राम्रो कुरा देख्यो/भेट्यो कि, ‘मेरी फुच्ची’ भनिहाल्ने। मलाई दिक्क लाग्न थालेको थियो। तर, यो हिउँको कुरा आएपछि चाहिँ मलाई नि कता-कता रहर पलाएर आयो। भनेँ- अब अर्कोपटक जाँदा हिउँ खेल्न मिल्ने ठाउँमा जाने, पक्का !’

पानी अति चिसो। गोसाईकुण्डमा पुगेपछि ननुहाई फर्किने कुरै भएन। साथीहरू पानीमा पस्ने आँट नै गर्दैनन्! बरु सबै मिलेर मलाई उकासे। मैले कुण्डमा हाम फालेँ, एकैछिन पौडिएँ। अनि मात्र पालैपालो सबै साथीहरूले डुवुल्की मारे।

जनै फेर्यौँ। पूजा गर्‍यौँ। कुण्डको उत्तर कुनामा रहेको त्रिशुल धारामा जल लिन गयौँ।  अलिकति उचाइमा रहेछ। माथिवाट फर्केर हेर्दा गोसाईकुण्ड साह्रै मनमोहक देखियो। सुन्दर दृश्य क्यामेरामा उतार्यौँ।

निलाद्री पहाडको काखमा अवस्थित शान्त गोसाईकुण्ड प्राकृतिक रूपमै मनोरम छ। त्यसमाथि धार्मिकताले यसको महत्त्व झन् धेरै बढाइदिएको छ।

हिन्दु धर्मअनुसार देवता र दानवबीचको सङ्घर्ष चल्दै गर्दा समुद्र मन्थनमा निस्केको कालकुट विष कसैले सेवन गरेनन्। विष फैलिएर संसार भष्म गर्न लागेको देखेर भगवान शङ्करले विष स्वाट्ट पार्न लाग्दा घाँटीमा अड्कियो। विषले पोलेर औडाहा हुनुभएका भगवान यसै पहाडमा आई त्रिशुल बजार्दा तीनवटा पानीका मूल फुटे। यीनै मुलबाट निस्केको पानी पिएर भगवान् शान्त हुनुभयो र पानीले गोसाईकुण्ड तयार भयो। अनि यहीँ कुण्ड भित्र पसी भगवानले विश्राम लिनुभयो।

‘भगवानले विश्राम लिएको ठाउँ देखिन्छ’ भन्थे मान्छेहरूले। मौसम खुलेको मौकामा त्रिशुलधारा निरबाट हेर्यौं, ताल भित्र केही कालो भाग चाहिँ देखियो। मौसम खुल्दा बिहानीको झुल्के घाममा तालभित्र भगवान शङ्करको स्पष्ट आकृति देखिन्छ रे!

गोसाईकुण्डमा नुहाउँदा चिताएको पुग्छ रे ! मैले पनि चिताएर आएँ। पुग्ने समय अझै बाँकी छ, हेरौँ, पुग्छ कि! तर चिसो भने मुटुसम्मै पुग्यो।

तस्बिरः जीवन सुवेदी

अनि हामी फर्कियौं

पूजा-आजा समेतका काम सक्दा करिब ११ बजेको थियो। पेट भोकाएको, तर मुख चाहिँ अघाएको थियो। खान मन थिएन, तैपनि खाना खाने भइयो। जोडबलले खाएँ। साथीहरू खाँदै थिए। साह्रै टाउको दुखेकोले सिटामोल खाएर, नजिकैको खाटमा सुतेँ, म।

मेरो मात्रै होइन, टाउको सबैको दुखेको रहेछ। करिब एकघण्टा पछि ब्युझिँएर हेर्दा त सबै साथीहरू ओर्तिर-पर्तिर निदाइरहेका रहेछन्। बाहिर मज्जाले पानी परिरहेको थियो। चिसो भनिसाध्य थिएन। अर्कातिर फर्केर म फेरि गुडुल्किएँ।

दुई बजेपछि प्रविन सरले सबैलाई उठाउनुभयो। अघिभन्दा केही हल्का भए जस्तो भो। बाहिर पानी परिरहेकै थियो। ४३८० मिटर उचाइको गोसाईकुण्डमा बास बस्नुभन्दा तल झरेरै बस्नु उपयुक्त ठान्यौँ। आ-आफ्ना वर्षादी ओढेर फर्कियौं।

बुद्ध मन्दिरबाट ओरालो लागेपछि हामी हिडेनौं, दौडियौं। उकालो ढिलो हिँड्ने म ओरालोमा अघि-अघि दौडिन थालेँ।

सूर्य दाइले भन्नुभो – बल्ल जीवनले पिक अप लियो।

ओरालोमा त न्युट्रलमा नि गाडी गुडिहाल्छ नि यार !

जति ओरालो झर्यो टाउको दुख्न पनि उति नै कम हुँदै गयो। हाई अल्टिच्युडले गर्दा टाउको दुखेको रहेछ। जति सिटामोल खाएपनि बीसको उन्नाइस नहुनुको कारण त यो पो रहेछ।

चोलाङपाटीमा आएर चौँरीको दूध खायौँ। चौँरीको भन्नु मात्रै। पानी हालेपछि दूधको स्वादै कहाँ रहन्छ र!

बाटोमा होटल पसलका मान्छेहरू हेर्दा शेर्पा जस्ता ! नेपाली बोल्दा अप्ठ्यारो गरी बोल्ने ! हेम सरले जाँदाखेरी नै धेरै ठाउँमा सोध्नु भाथ्यो- तपाईंहरु शेर्पा हो?’

उनीहरू भन्थे- होइन हामी तामाङ हौँ।

अनि म चाहिँ प्रत्येक चोटि सम्झाउथेँ- शेर्पाहरु हेलम्बुदेखि पूर्वमात्रै बसोबास गर्छन्, हौ !

चोलाङपाटीमा चौरीको दूध बेच्ने दिदीले रहस्य खुलाइदिइन्।

उनीहरू तिब्बतेली रहेछन्। धेरैको घर स्याफ्रुवेँशी, टिमुरेतिर रहेछ। तामाङ भनेर खुलाएपछि नेपालमा नागरिकता बनाउन सजिलो पर्दोरहेछ।

अनि उताको नागरिकता नि छ?

‘बाबु आमाको चाहिँ छ। हाम्रो बनाको छैन। यतै बिहे गरेर आइयो। बसोबास यतै छ। तिब्बत जानुपरे पास पाइहालिन्छ।’

‘दुवैतिरको नागरिकता लिने पनि होलान् नि?’

‘छ, कति छ कति ! धेरजसो छोरो मान्छेहरूले दुईतिरको बनाको छ।’

मैले तराईमा भएको  नागरिकताको समस्या सम्झिएँ। एउटा देशको मात्र नागरिकता लिएर पुग्ने भए मानिसहरू अर्को देशको नागरिक हुन किन खोज्लान् र? यो दोहोरो नागरिकताको समस्या चाहिँ सिमानामा जहीँतहीँ हुँदो रहेछ।

चोलाङपाटीबाट हिड्यौं। निरन्तरको वर्षा र हिँडिरहेका मानिसको कारण बाटो एकदमै हिलो। त्यै पनि फटाफट पाइला चाल्यौं। ओरालोमा माथिबाटै पछाडि परेका प्रविन सर र संजिव सर फेरि छाडिनु भो। बाँकी ४ जनाले डिम्सा पुगेर पर्खियौं।

झन्डै पौने घण्टामा उहाँहरू आईपुग्नुभो। ढिला हुँदै गरेका हामी अब झन् ढिला भयौं। माथि हुँदै धुञ्चेमा सम्पर्क गरेर कोठा भनेको थिएँ। त्यै पनि बल्ल तल्ल पाइएको। गोसाईकुण्ड यात्रीले धुञ्चेबजारका होटल दिउँसै भरिसकेका थिए।

ओरालोमा बेतोडले दौडिएका कसैका पनि खुट्टा सग्ला थिएनन्। शिव र म बाहेकका चार जना त खुट्टा खोच्याउने नै स्थितिमा पुगे।

हामीलाई जसरी पनि धुञ्चे पुग्नु थियो, यसैले लम्किरह्यौं। बीच बाटोतिरै बास बस्ने मनस्थिति बनाएका साथीहरूलाई हरेस खान दिएनौं। जसोतसो आधा ज्यान लिएर बेलुका धुञ्चे पुगियो।

मलाई रक्सी मन नपर्ने। शिव सरलाई त झन्, रक्सी खाने मान्छे नै मन नपर्ने ! अरू साथीहरुबारे थाहा भएन। हुन त मैले यात्रा सुरु हुनु अगावै भनेको थिएँ – यात्रा अवधिभर हामी कसैले पनि रक्सी खाने छैनौं।

मैले भनेको मानेर हो, वा परिस्थिति अनुकूल नलागेर हो अथवा आफैं नखाने मान्छे भएर हो कुन्नि कसैले पनि खाने इच्छा व्यक्त गर्नुभएन। मलाई खुसी लाग्यो।

सुत्ने बेलामा शिव सरले भन्नुभो – जीवन सर! लु जाओस् दुई चारवटा मादक गजल!

मैले पनि प्रकट पंगेनीका मादक गजल सुनाइदिएँ-

हातमा समाई उन्लाई खोली तार्नुको मजा बेग्लै थियो॥

सारीको सप्को अलि माथि सार्नुको मजा बेग्लै थियो ॥

भेल थियो डराएर उनले खुट्टा टेक्नै छाडिन्,

मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो।।

साथीहरूले ‘वाह! वाह!’ भन्दै गर्दा पनि म गोसाईकुण्ड सम्झेर ‘वाह! वाह!’ गुन्गुनाउँदै थिएँ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.