जाडो दिनानुदिन बढ्दैछ। यस्तो जाडोमा पनि घुम्न जानु? धेरैले यस्तै साेच्नुहुन्छ होला! तर जाडोमा घुम्नुको पनि बेग्लै मजा छ।
जाडो महिना लागेसँगै हिमाली भेगमा हिमपात हुन्छ। आँखैअगाडि हिमाल हेर्दै हुर्किएकाले हुनसक्छ, हामी हिउँमा धेरै रमाउँछौँ। केही समययता हिउँ खेल्ने ठाउँ खोज्दै हिँड्ने 'ट्रेन्ड' पनि चलेको छ।
विशेषगरी फूल्चोकी, दामन र हालैका वर्षहरूमा चन्द्रागिरी, कालिञ्चोक लगायत ठाउँ हिउँ खेल्न लोकप्रिय छन्। लोकप्रियता सँगसँगै यी ठाउँमा भीडभाड उत्तिकै हुन्छ। बाटैभरी जाम हुन्छ। त्यही हुलमुलका कारण सोचेजति रमाइलो पनि हुन्न।
यही भीडभाडबाट उम्केर केही दिन समय निकाल्नसके सुन्दर दृश्यावलीसँगै निस्फिक्री हिउँ खेल्न पाइने गन्तव्य नेपालमा जताततै छन्। तिनैमध्ये हामी पुगेका वा हामीले थाहा पाएका ५ गन्तव्य यस्ता छन्ः
१. क्रपु डाँडा, ३०८५ मिटर, कास्की
पोखरेलीका लागि हिउँ खेल्न यो सम्भवत: सबैभन्दा नजिक र सहज गन्तव्य हो। पोखराबाट करिब तीन घण्टाको दुरीमा सुन्दर गुरूङ गाउँ ताङतिङ हुँदै क्रपु डाँडा पुग्न सकिन्छ। डाँडामा खाने-बस्ने व्यवस्था राम्रो छ। हिउँमा रमाउँदै अन्रपूर्ण श्रृंखला, लम्जुङ हिमाल, माछापुच्छ्रे हिमाल हेर्दै आनन्द लिन सकिन्छ। पोखराबाट नजिक भएकाले काठमाडौंबाट पनि यहाँ पुग्न सहज छ।
तस्बिरहरूः रिसव अधिकारी र हिमाल गुरूङ
२. सैलुङ्ग डाँडा, ३१४६ मिटर; दोलखा, रामेछाप
काठमाडौंबाट नजिक पर्ने सैलुङ डाँडा कालिञ्चोकको उत्तम विकल्प हो। झण्डै उही उचाइमा भएको सैलुङ डाँडालाई १०१ थुम्काको डाँडा पनि भनिन्छ। हिउँ पर्दा यी थुम्का रमणीय लाग्छन्। काठमाडौंबाट करिब ४-५ घण्टाको यात्रामा सैलुङ डाँडा पुग्न सकिन्छ। दोलखाको मुढे वा रामेछापको दोरम्बा हुँदै जाने दुई विकल्प छन्। थुम्काहरूमा सिधा घाम पर्ने भएकाले हिउँ भने यहाँ छिट्टै पग्लिन्छ।
तस्बिरहरूः वन्डरलस्ट विस्ट
३. हल्जुरे, २४४५ मिटर, पर्वत
पैदलयात्रा नै नगरी गाडिबाटै पुग्न सकिने अर्को उत्कृष्ट गन्तव्य हो पर्वतको हल्जुरे डाँडा। अन्नपुर्ण श्रृंखला, धौलागिरी आँखै सामुन्ने देखिने यो डाँडा हिउँ पर्दा अझै रमणीय हुन्छ। पोखरादेखि यहाँसम्म करिब ४-५ घण्टाको गाडी यात्रामा पुग्न सकिन्छ। खासै चर्चामा नआएको ठाउँ भएकाले यहाँ अहिले केवल एउटा मात्र होटल छ तर छेउछाउका घरहरूमा बासको जोहो गर्न सकिन्छ।
तस्बिरहरूः समिर रेग्मी र डिस्कोभर पर्वत
४. धाप, ओखलढुंगा र पत्ताले, सोलुखुम्बु
सोलुखुम्बु जिल्ला र ओखलढुंगाको सीमानामा पर्ने दुई बजार पत्ताले र धाप हिउँ खेल्न जानेहरूका लागि अर्को सहज गन्तव्य हो। वि.पि. राजमार्ग हुँदै खुर्कोटबाट पहाडी लोकमार्ग पछ्याएर धाप करिब ६ घण्टाको सडक यात्रामा पुग्न सकिन्छ। सर्वोच्च शिखर सगरमाथा सजिलै हेर्न पाउनु यी दुई स्थानको अर्को विशेषता हो। चल्तीको बाटो भएकाले खाने-बस्ने व्यवस्था पनि यहाँ राम्रो छ।
तस्बिरः सरोज राई
५. रामारोशन, अछाम (२५००-३५०० मिटर)
नेपालको घुम्नै पर्ने ठाउँमा मैले कहिल्यै नछुटाउने नाम हो रामारोशन। कारण हरेक मौसममा यहाँ घुम्न अर्कै आनन्द छ। हिउँ परेको बेला रामारोशन छुट्टै देखिन्छ। वरपरका डाँडा सेताम्मे हिउँले हिमालझैँ देखिन्छन्। ताल वरपर र यहाँका मैदानमा हिउँकै सेतो गलैँचा बिच्छ्याएजस्तो लाग्छ। उत्तरी युरोपको कुनै सुन्दर निकुञ्जझैँ लाग्छन् यहाँका जंगल। यहाँ पनि घाम सिधा पर्ने भएकाले हिउँ धेरै समय टिक्दैन। बाक्लो हिउँ खेल्ने इच्छा भए आधा-एक घण्टा माथिका डाँडातिर उक्लिन सकिन्छ। त्यसो गर्दा हिउँसँगै पूरै रामारोशन क्षेत्रको मनोरम दृश्य पनि हेर्न पाइन्छ। खाने-बस्ने सुविधा उपलब्ध छ। स्थानियहरू फरासिला छन्।
तस्बिरहरूः शमशेर बोहोरा
माथिका यी सबै गन्तव्य सडक यात्रामै अथवा बढीमा आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। २-३ दिन समय भएकाहरूका लागि १-२ दिनको छोटो पदयात्रामा पुगिने विकल्प प्रशस्त छन्। खुमै डाँडा, कोर्चन डाँडा, कोखे डाँडा, पाँच पोखरी, कोरी, पिके, दूधकुण्ड लगायतका स्थान अलिकति समय र पदयात्रा रूचाउनेका लागि उत्कृष्ट र सजिला विकल्प हुन्।