‘सफारी गईस?’ सोधीहाले साथीभाई र आफन्तहरूले। म भने भर्खर मात्र पहिलो पल्ट केन्याको राजधानी नैरोबी गएर फर्किएको थिएँ। थाईल्याण्ड हुँदा को कुरा हो यो, जब म बैककस्थित संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम अथवा युनेपमा काम गर्थेँ।
नयाँ नयाँ जागिर खान सुरू गरेको अनि भर्खर भर्खर विदेश घुम्ने मौका पाएको हुनाले काम सकेर लुरुलुरु घर फर्किएको थिएँ। दुइ-चार दिन छुट्टि लिएर घुमेको भए पनि हुने रहेछ तर हाकिमले के भन्लान् भन्ने डर लाग्थ्यो त्यो बेला। पछिल्ला वर्षमा त हरेक विदेश भ्रमणमा जाँदा कामको व्यस्तताको बाबजुद एक दुई दिन फुर्सद निकालेर कुनै न कुनै पर्यटकीयस्थल घुम्न थालेँ। बेला बेला परिवार पनि लिएर जान थालेँ।
‘सफारी गईनस?’ भनेको कुरा दिमागमा खेली रहेको थियो। अर्को चोटी अफ्रिका जाँदा सफारी जान्छु भन्ने सोच बनाई रहेको थिएँ।
मैले काम गर्ने युनेपको मुख्य कार्यालय नैरोबीमा भएकोले त्यहाँ पटक पटक जानुपर्ने हुन्थ्यो। जब म दोस्रो पटक बैंकक देखिको लामो यात्रा तय गरेर ‘जोमो केन्याटा नैरोबी अन्तर्राष्ट्रिय विमानस्थल’ पुगेँ तब मेरो लगेज आएन। समान नआएको रिपोर्ट सम्बधित एअरलाईन्समा गरेर म शहरको मुटुमा रहेको ‘हिल्टन होटेल’ तर्फ लागेँ।
भोलिपल्ट बिहानै मिटिङमा जानु छ तर म सँग लाउने लुगानै छैन। मैले गल्ति के गरेँ भने कमसे कम एकजोर लुगा आफू सँगै ह्यान्ड क्यारी गरेर ल्याउनुपर्ने थियो। हातमा एउटा कम्पुटरको ब्यागबाहेक म सँग केही थिएन। पाठ सिकेँ, पछि पछिका सबै ट्रिपमा अत्यावश्यक कुराहरु र एक जोर लुगा ह्यान्ड क्यारीमा लिएर हिँडन थालेँ। पहिले त्यस्तो बुद्धि किन आएन भनेर आफैंलाई धिक्कारेँ।
संसारभरिबाट आएका करिब २५० जना सहभागीमध्ये धेरै जना त्यहीँ होटेलमा बसेका थिए। हामी विश्वको वातावरण के कस्तो छ र भविस्यमा के गर्न सकिन्छ भनेर छलफल गरि एउटा दस्तावेज तयार गर्ने क्रममा भेला भएका थियौँ।
होटेलले एउटा टी-सर्ट, दन्त-मन्जनका र दारी काट्ने सर समान सित्तैमा उपलब्ध गरायो। होटेलले दिएको ‘हिल्टन होटल्स एंड रिजोर्ट्स’ लेखेको टी-शर्ट लगाएर त्यहीँ साँझ होटेलकै बारमा छिरेँ। बारमा बसेर वाईन पिउँदै, गफ गर्दै जाँदा मेरो कहानी सुनेर एक जना सम्मेलनकै सहभागीले क्रेडिट कार्ड कम्पनीलाई फोन गर्ने सुझाव दिए।
कोठामा गएर फोन गरेँ। बिहानै नाप लिन एक जना ब्यापारी आएका रहेछन्। एक घण्टा जतिमा एक जोर सुट ल्याएर मलाई दिए। मेरो अमेरिकन एक्सप्रेस क्रेडिट कार्डले समान नआएमा ५०० डलर सम्मको लुगा किनिदिने ब्यवस्था रहेछ। त्यहीँ सुट लगाएर जसोतसो धानेँ।
छोरी मेधावीले आफ्नो जिन्दगीको पहिलो कमाईमध्ये २० डलर अफ्रिकाको एक जना गरिब केटा वा केटीलाई दिनू भनेर दिएकी थिइन्। उनी हाई स्कुल पढ्दा एउटा रेस्टुरेन्टमा काम गरेर कमाएको तलब थियो त्यो। दोस्रो दिन बेलुकी होटेल नजिकै हिंड्दै जाँदा एक जना ७-८ वर्षको माग्ने केटा देखेँ र उसैलाई त्यो पैसा थमाएँ। उसले पैसा चिनेर औधी खुसी हुँदै उफ्रदै अनि दौडदै अलि पर माँगी रहेकी उसकी आमालाई दियो। उनीहरुको खुशीमा म रमाएँ र भावुक पनि भएँ।
चौथो दिन काम सकेर होटेल आउँदा समान आइसकेको रहेछ।
यो पटकको यात्रामा भने एक दिन पुरै समय उपलब्ध भयो। मेरो मिटिङ सकिएको भोलिपल्ट राति १२ बजेको उडान थियो। दिनभरिको समयलाई सदुपयोग गरेर घुम्न जाने योजना बनाएँ।
अफ्रिकन सफारीको बारेमा सुनेको, पढेको र वृत चित्र हेरेको थिएँ। संसारका सबैभन्दा उत्तम ७ वटा वन्यजन्तु सफारी मध्ये ७ वटै अफ्रिकामा छन् भनेर बुझेको थिएँ। ती मध्ये पनि तान्जानिया र केन्याको सीमावर्ती क्षेत्रमा भएका सेरेङ्गेति र मसाई मारा नम्बर एक र दुई मा पर्ने रहेछन्।
मसाइ मारा भने मेरो श्रीमती तेजस्वी र परिवार सँगै घुम्ने चाहना थियो, फेरि एक दिनले नपुग्ने पनि थियो। कम्तिमा पनि ३-४ दिन चाहिने। छोटो समयको सदुपयोग गरेर लेक नकुरू जाने निधो गरेँ। साथीहरु सँग सल्लाह गर्दा, ब्रिटेनका डा आलन बेल्वार्ड पनि जान इच्छुक भए। हामी दुवै जना होटेलले ब्यवस्था गरेको एउटा ट्राभल एजेन्सिको गाडीमा बिहानै निस्कियौं। नैरोबी शहर बाहिर निस्किएपछि बाटो अलि खुकुलो भयो। १४० कि मि को दुरी, एकतर्फी ३ घण्टाको बाटो पार गर्नु थियो लेक नकुरू पुग्न।
म दुई वटा कुराहरु हेर्ने उत्सुक थिएँ: बाटोमा पर्ने ग्रेट रिफ्ट भ्याली र नकुरू रास्ट्रिय निकुञ्जमा भएका फ्लेमिङ्गोहरू।
बाटैभरि पर्यटकीय स्थलहरु रहेछन्। प्राकृतिक सम्पदाको भरपुर फाइदा लिन जानेको रहेछ केन्याले। घुम्ने हेर्ने ठाउँको सुलभ प्रबन्ध मात्र होइन प्रचार प्रसार पनि मज्जाले गरेको रहेछ। नैरोबीको अस्तव्यस्त जीवनबाट बाहिर निस्कँदा म रमाईरहेको थिएँ।
नैरोबीबाट १ घन्टाको बाटोमा रहेको ग्रेट रिफ्ट भ्याली भिउपोइन्टमा गएर गाडी रोकियो। एउटा रेस्टुरेन्टमा ब्रेकफास्टको तयारी गरेका रहेछन ड्राइभर ‘डंकिन’ ले। होटेलबाट बिहान ५ बजेनै निस्किएको हुनाले हामी बसेको होटेलमा सित्तैमा पाईने ब्रेकफास्ट खान पाएका थिएनौं।
चाँडो चाँडो खाएर त्यो मनोरम दृश्यको आनन्द लिन आतुर थियौँ हामी दुबै। करिब सात हजार किलोमिटर लामो ग्रेट रिफ्ट भ्याली लेबनान देखि मोजाम्बिकसम्म फैलिएको छ। अहिले पूर्वी अफ्रिकन रिफ्ट मात्र सक्रिय छ। पूर्वी अफ्रिकन रिफ्ट संसारको भौगोलिक आश्चर्यमध्ये एकमा पर्दछ।
प्लेट टेक्टोनिकहरू चल्नुले गर्दा यो भ्यालीको जन्म भएको हो। यहाँ केही पुराना र केही सक्रिय ज्वालामुखीहरु छन्। ८ वटा सुन्दर तालहरु पनि छन्।
हामी करिब १८ हजार फिट उचाईमा थियौं र बाटोको छेउमा बसेर अवलोकन गरिरहेका थियौं। प्रकृतिको बरदान भन्नुपर्छ, कति राम्रो अनि कति मनमोहक ठाऊँ यो। मनोरम दृश्यहरु देखेर म त मन्त्रमुग्ध भएँ। पर परसम्म आँखा झिमिक्क नगरी हेर्न मन लाग्यो।
घामका किरणहरू टाढा-टाढा फैलिएका थिए। स-सना पहाडहरु, घाँटीहरु, ठाउँ ठाउँमा बन-जङ्गलहरु,बन्य जन्तुहरु, सभाना र लेक (ताल) हरुको मिश्रण पूर्णतया जादुई तवरको थियो। एउटा अमूर्त चित्रकलाको अनुभूति दिएको थियो त्यो ठाउँले। त्यो डाँडामा बहेको चिसो हावाले सुनमा सुगन्ध थपि रहेको थियो।
त्यो रमणीय ठाउँको फोटो त खिचेँ तर मैले जे देखेँ त्यो क्यामेरामा कैद गर्न सकिनँ। शब्दमा पनि ब्याख्या गर्न सक्दिनँ। जुनकुरा आँखाले देखिन्छ र स्वर्गीय आनन्दको अनुभूति गरिन्छ ति कुरा क्यामेरामा कैद गर्न र शब्दले ब्याख्या गर्न नसकिने रहेछ। यद्यपि कुनै कुनै बेला मेरो आँखाले भन्दा क्यामेराले अझ राम्रो खिचेको पनि भान भयो मलाई।
बाइनोकुलर बोकेका टुरिस्टहरू भौतारीरहेका थिए। कुरा बुझ्दा उनीहरू चरा र दुर्लभ स्तनधारी जनावर खासगरी गैंडा र ‘पहाडी बोंगो’ हेर्न त्यहाँ आएका रहेछन्।
रिफ्ट भ्यालीको काखमै रहेको लेक नकुरू हाम्रो दोस्रो अनि अन्तिम गन्तब्य थियो। ड्राइभरले गाडी उतै तिर हुँइक्याए। लेक नकुरूमा पनि गैंडा, जिराफ, सिंह र चितुवा भए पनि म चाहीं ‘फ्लेमिङ्गो’ हेर्न त्यहाँ पुगेको थिएँ। मेरो साथी डा बेल्वार्ड पनि त्यहीँ चाहन्थे। बाटोमा देखिने शुन्दर दृश्यले हाम्रो यात्रा छोट्याई रहेको थियो।
लेक नकुरूको मुख्य गेट छिर्नासाथ हात हातमा क्यामेरा लिएर हामी तम्तयार भयौं। प्याकेज टुर लिएको हुनाले ‘इन्ट्रान्स फिस’ होटलमानै तिरिसकेका थियौँ। हातमा क्यामेरा किनकि पुरै आनन्द ले हेर्न छोडेर फोटोमा कैद गर्न पट्टि पनि लाग्छु म हरेक यात्रामा। मज्जाले आफ्नो आँखाले हेरेर रमाउनु पर्ने हो तर फोटो खिच्नै हतार हुन्छ। क्यामेरा फालेर यो दृश्यको आनन्दले न, एउटा मनले भन्छ। तर सम्झनाको लागि फोटो खिच्नैपर्यो। आइफोनको जमानामा त यी दुई कुराहरु पर्यायबाची हुनै सक्दैनन्।
जब हामी लेकको छेउमा पुग्यौँ, एक्कासी लाखौँ फ़्लेमिङ्गो देखिए। उनीहरु हामीलाई न्यानो स्वागत गरिरहेका थिए। फ़्लेमिङ्गोले गर्दा पुरै लेक गुलाबी रङ्गले पोतिएको थियो। उनीहरू आफ्नै दुनियाँमा मस्त थिए। कोही उडिरहेका र कोही खाईसकेर आराम गरिरहेका। कहीँ अलि बढी झुम्म्म छन् भने काँही फाट्ट फुट्ट। उनीहरुको आवाजले अलि अलि कोलाहल पनि थियो। त्यो भीड भाडमा एकाध फ़्लेमिङ्गोहरु एक्लै रमाईरहेका थिए।
फ्लेमिङ्गोहरू कति जति होलान् भनेर अनुमान गर्नै नसकिने। नजिकै काममा खटिएका पार्क रेञ्जरलाई सोध्न मन लाग्यो। उनले भने ‘हालको संख्या ५ लाख छ तर यो संख्या घटबढ भइरहन्छ। सन् १९९३ तिर १० लाख थियो’। मान्छेले गनेर साध्य नभएर ‘एरियल फोटोग्राफ’ प्रयोग गरेर गनिँदो रहेछ। मेरो आफ्नो रिसर्च पनि यहीँ क्षेत्रमा भएको हुनाले अझ बढी जान्न उत्सुक भएँ।
अग्ला अग्ला खुट्टा र नरसिंहा जस्तो घाँटी हुँदो रहेछ यिनीहरुको। यहाँ दुई किसिमका फ्लेमिङ्गोहरु रहेछन्: लेसर र ग्रेटर फ्लेमिङ्गो।
नामले भने जस्तै ग्रेटर फ्लेमिङ्गोहरु अलि ठूला र अग्ला रहेछन् अनि रङ पनि अलि गाढा। यी प्रजातिका फ्लेमिङ्गो यहाँ जति विश्वमा कहीँ पाइदो रहेनछ। त्यहाँ अरू प्रजातिका चराहरु पनि फाट्ट फुट्ट देखिन्थे तर सबै टुरिस्टको ध्यान फ्लेमिङ्गोमा केन्द्रित थियो।
नुनिलो पानी र त्यति गहिरो नभएको तालमा फ्लेमिङ्गोले खान मन पराउने ‘एल्जी’ प्रसस्तै पाईदोरहेछ। बेला बेलामा आउने बाढीले भने उनीहरुको खाना नस्ट गरिदिँदो रहेछ। एउटा लेकमा खानाको कमि भए नजिकैको अर्को लेकमा जाँदा रहेछन्। लाखौको संख्यामा अर्को ठाउँ जाँदा पनि त्यहाँ भएका फ्लेमिङ्गोसँग मिलेर जिबिका चलाउने। कस्तो राम्रो भाइचारा।
यसरी गएका मध्ये कोही फर्किदा रहेछन् कोही उतै बस्दा रहेछन्। फर्किन भने वर्षौ लाग्न पनि सक्दोरहेछ। एउटा लेकबाट अर्कोमा जाँदा समाचार बन्दोरहेछ केन्याको अखबार र टिभीमा। मानव जातिमा पनि यस्तो सहिष्णुता भए हुन्थ्यो नि। मेक्सिकोको सीमाहुँदै अमेरिका आउने शरणार्थी र पूर्वी नेपालका भुटानी शरणार्थीले खाएको हण्डर र मानसिक तनाव सम्झिएँ।
एक लेकबाट अर्को लेक चाहार्न, त्यो पनि खाना कहाँ छ भनेर थाहा पाउन कुन प्रविधि प्रयोग गर्छन् यी फ्लेमिङ्गोहरू? म त तीन छक पर्छु। अचेल आफूलाई कहीँ जान ‘जिपिएस’ नभई हुनै छाड्यो। वर्षेनी साईबेरियाबाट कोशीटप्पु राष्ट्रिय निकुञ्ज आउने चरालाई सम्झिएँ। हजारौं किलोमिटर यात्रा गर्ने ‘आर्कटिक टर्न’ र संसारभरिका अन्य चराहरुको बारेमा पढेको सम्झिएँ।
हावा नचलेको र बादल नभएको रात यात्रा गर्दा रहेछन् उनीहरू। दिउँसो उड्नु परे चिलको डरले अलि माथिबाट उड्दा रहेछन्।
लेकबाट अलिकति उकालो चढिसकेपछि ‘लेक नकुरू लज’ रहेछ। त्यहाँ गएर लन्च खायौं हामीले। अत्यन्तै ब्यवस्थित र सफा थियो त्यो लज । भित्र भन्दा बाहिर खान रूचाउँछु म। ‘लुक आउट भ्यू’ जस्तो बाहिर बार्दलीमा बसेर परपर सम्मको फाँट हेर्दै खाना खायौँ हामीले। जनावर नदेख्ने भन्ने प्रश्नै उठ्दैन। जन्तुहरुको गोलमा आएका थियौं हामी। यता हेर्यो जनावर उता हेर्यो जनावर।
करिब १८८ वर्ग किलोमिटर क्षेत्रफलको त्यो पार्कमा पुरै बार लगाइएको रहेछ। यो पार्क युनेश्कोको विश्व सम्पदास्थल अन्तर्गत मान्यता प्राप्त र संरक्षित पनि रहेछ। गेम ड्राइभमा हामी गएनौं।
फर्किँदा अर्कै ठूलो गाडीमा फर्कने ब्यवस्था गरिएको रहेछ, अरू २ जना टुरिस्टसहित। हामी दुई भनेकै समयमा गएर गाडी भित्र बस्यौ। थप २ जना यात्रुलाई केही बेर कुर्नुपर्यो। उनीहरु आएपछि गाडी नैरोबीतर्फ गुड्यो। साधारण चिनजान भयो उनीहरु सँग। इजिप्टबाट आएका रहेछन्।
करिब १ घण्टा पार गरेपछि उनीहरू रिस उठ्दा र झगडालु हुन् थाले। उनीहरूले आफ्नो सक्कली रूप देखाउन थाले। गुरूजीसँग झगडा गर्न थाले। गाडी छिटो चलाए, ढिलो चला भन्ने, ढिलो चलाए छिटो चला भन्ने अनि तथानाम गाली गर्ने। गुरूजी आतिएको प्रष्टै थियो। केही बेरपछि दिशा-पिशाबको लागि गाडी रोकियो।
मैले खुसुक्क हामीलाई अर्कै गाडीमा पठाईदिनुहोस् भने ती गुरूजीलाई। उनले उनका हाकिमलाई फोन गरे। आधा बाटोबाट हामी अर्कै गाडीमा फर्कियौँ। ती गुरूजी हामीसँग आए अर्का नयाँ गुरूजी को के हाल भयो होला भनेर सोची रहेँ। यति धेरै बदमास इजिप्सियनहरू भेटेर दुःख पनि लाग्यो।
फर्किदा बाटोमा रोकेर गिफ्ट किन्न मन लाग्यो। हातले बनाएका विभिन्न प्रकारका चिज-बिजहरु र चित्रहरु सुलभ मूल्यमा ठाउँ ठाउँमा पाईने रहेछन्। नैरोबीको तुलनामा निकै सस्तो पर्नेरहेछ। हरेक यात्रामा केही न केही किन्ने गर्छु म।
होटेल आएर समान लिएर एअरपोर्ट गएँ र मध्यरातको उडान लिएर बैकक तिर लागेँ। लामो उडानमा सोच्दै थिएँ, यो एक दिने यात्राले मलाई मेरो ‘मसाइ मारा सफारी’ जाने धोकोको लागि पूर्वतयारी गरे जस्तो लाग्यो।