गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको स्याङ्जा जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हो।
जिल्लाका दर्जनौं स्थानहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरू लर्को लाग्ने गरेको छ भने अन्य कैयौं स्थलहरूसम्म पर्यटकलाई भित्र्याउने अभियान चलिरेहको छ।
स्याङ्जाका विभिन्न स्थानहरूमध्ये कोल्मा पनि पछिल्लो समय पर्यटनकको गन्तव्य बनाउन स्थानीय लागिपरेका छन्।
तनहुँको सीमानाबाट समेत नजिकै रहेको कोल्मा पुतलीबजार नगरपालिका वडा नं ९ मा रहेको छ।
स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिकाबाट करिब ९ किलोमिटरमा स्याङ्जा पुग्न सकिन्छ भने तनहुँको दुलेगौडाबाट करिब २२ किलोमिटरमा पनि कोल्मा पुगिन्छ।
कोल्मा पुग्नका लागि ग्राभेल गरिएको सडक गरिएको छ त्यहाँ पुग्नका लागि भाडाको जीपहरू प्रयोग गर्न सकिन्छ। पोखराबाट नजिकै रहेको स्याङ्जाका कतिपय स्थानहरू ओझेलमा परिरहेका बेला कोल्मालाई पर्यटकीय गन्तव्यका लागि पछिल्लो समय पर्यटन प्रवर्द्धनका लागि लागिपरेका छन्।

गुरुङ, मगर, ब्राह्मण र क्षेत्री समुदायको बाहुल्यता रहेको कोल्मामा परम्परागत शैलीका घर, गाउँको प्राकृतिक सुन्दरता, अर्गानिक खाना, टिपिकल होमस्टे पर्यटकका मुख्य आकर्षणका केन्द्रबिन्दुका रूपमा रहेका छन्।
यसका अलवा कोल्माको डाडाँमा रहेको कोल्माकोट मन्दिर, गुरुङ सुमदायमा लोकप्रिय घाटुनाच, गुरुङ सालैजो, झोरा सोरठी, मगर समुदायको मादल नाँच र ब्राह्मण समुदायको चुड्का भजनमा झुम्नका लागि पर्यटकहरू लालायित हुने गर्दछन्।
कोल्मामा रहेको कोल्माकोट मन्दिरमा वडा दशैं, चैते दशैं लगायतका चाड पर्वमा मेला लाग्ने गर्दछ भने यस कोटबाट स्याङ्जाका मनमोहन दृश्यहरू अवलोकन गर्न सकिन्छ।

परापूर्व कालमा कोल्माकोटमा रहेको कालीका मन्दिरमा त्यस वरपरका ७ सय घरधुरीका स्थानीय गएर पुजाआजा गर्ने भएकाले यस ठाउँलाई ७ सय कोल्मा भन्ने गरिएको किम्बदन्ती समेत पाइन्छ।
यो डाडाँको मन्दिरबाट स्याङजा, पोखरा, तनहुँ र गोरखा लगायतका जिल्लाहरूको अवलोकन समेत गर्न सकिन्छ। माछापुच्छ्रे, धौलागिरिलगायत आधा दर्जन हिमालहरूको दृश्यावलोकन गर्दै अर्गानिक खानाका साथमा परम्परागत शैलीका घरमा बसेर नाच र नृत्यमा रमाउँदा जो कोही पर्यटक पनि मोहित हुने गर्दछन्।
पर्यटन प्रवर्द्धनका लागि दौड
अघिल्लो वर्ष माघ महिनामा कोल्मामा पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता प्रभावकारी हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कोल्माको लोकप्रियता बढेपछि यो वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिने भएका छन्।
कोल्मामा जन्मिएर हुर्केका अध्ययन र विभिन्न कामहरूको सिलसिलामा पोखरामा बस्नेहरूको समूह पर्यटकीय सम्भावना बोकेको आफ्नो गाउँलाई देशमा मात्र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले अनवरत रूपमा लागिरहेका छन्।
नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहँदा ‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि दौड’ नारासहित आजदेखि भइरहेको दोस्रो क्रस कन्ट्री दौड प्रतियोगिताले एउटा इँट्टा थप्ने भन्दै आफूहरू लागिपरेको कार्यक्रमको परिकल्पनाकार लालबहादुर (एलबिजेड) गुरुङले बताए ।

गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतका राज्य परिषद्का उपाध्यक्ष समेत रहेका एलबिजेड गुरुङले आफू जन्मेको थलो कोल्मामा र त्यस वरपरका पर्यटकीय गाउँ तथा स्थानहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू भित्र्याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बताए।
प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी कोल्मामा हुने यो प्रतियोगिताले सरकारको लक्ष्यलाई पनि सघाउ पुर्याउने विश्वास गुरुङले लिएका छन् ।
कोल्मा गाउँ सबै सुनसान देखिएको र युवाहरू पनि कोही लाहुरे छन् त कोही रोजगारको सिलसिलामा विदेसिएका छन्, उनीहरूलाई पनि आफ्नो गाउँप्रतिको माया जगाउन वर्षेनी प्रतियोगिताको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक जीत बहादुर गुरुङले बताए।
गाउँहरूमा कसरी पर्यटक पुर्याउने र घुमाउने, ऐतिहासिक, सांस्कृतिक पक्षलाई उजागर गर्ने भन्ने हेतुले कोल्मा आसपासका गाउँ जोड्ने प्रयास स्थानीयहरूले थालेका हुन्।
करिब २ सय जनाको सहभागिता रहको क्रस कन्ट्री दौड प्रतियोगितामा ३१ किलोमिटर खुला र १४ किलोमिटर गरी दुई विद्यामा दौड प्रतियोगिताको सञ्चालन भएको छ।

