‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८’ टोलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा कैद गरेका आकर्षक एवं मनमोहक तस्बीरको प्रदर्शनी गरिएको छ ।
सोह्रौ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल ९किम्फ० को अवसरमा नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत बोर्ड परिसरमा गत शुक्रबारदेखि प्रदर्शनी आयोजना गरिएको हो ।
‘वुमन अन टप’ शीर्षकमा सगरमाथा आरोहण क्रममा लोबुचे (४,९४० मिटर) क्षेत्रदेखि समिट (८,८४८ मिटर) सम्मका विभिन्न ५० तस्बीर प्रदर्शनीमा राखिएको छ।
चर्चित खुम्बु आइसफल, आरोहण शिविरदेखि आरोहीका गतिविधि र अवस्थितिबारे तस्बीरमा उजागर गरिएको छ ।
उक्त प्रदर्शनीको प्रधानमन्त्री पत्नी राधिका शाक्यले उत्सुकतापूर्वक अवलोकनसमेत गरेकी थिइन्। अवलोकनपछि शाक्यले आगन्तुक पुस्तिकामा ‘भेरी वन्डरफुल, इन्सपाइरिङ’ लेखेकी थिइन्।
संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियाण्डले प्रदर्शनीको अवलोकन गर्दै महिलाको उच्च सफलताले अत्यन्त प्रभावित भएको र उनीहरुप्रति सधैं सम्मान रहेको उल्लेख गरे।
हिमाल आरोहण र पदयात्राबारे विद्यार्थी र युवा पुस्तामा प्रोत्साहन गर्ने लक्ष्यका साथ ‘स्कुल अफ क्रियटिभ कम्युनिकेसन’ले संयोजन गरेको प्रदर्शनी आगामी मङ्गलबारसम्म चल्नेछ। महिला पत्रकारको टिमले सगरमाथाको सफल आरोहण गरेपछि महिलाको स्थान उच्च छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रदर्शनी गरिएको आरोहण दलकी सदस्य पत्रकार रोशा बस्नेतले जानकारी दिइन्।
प्रथम महिला सगरमाथा आरोहण टोलीका रोशा बस्नेत, कल्पना महर्जन, देउराली चाम्लिङ्ग र रोजिता बुद्धाचार्यले गत जेठ ९ गते सर्वोच्च शिखरको सफल आरोहण गरेका थिए।
बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीकाअनुसार किम्फको अवसरमा महिला पत्रकारले कैद गरेका तस्बीरको प्रदर्शनी आयोजना गरिएको हो। तस्बीरले सगरमाथाको भौगोलिक अवस्था, वातावरणीय प्रभाव र गतिविधिबारे जानकारी दिएको उनले जानकारी दिए।
बोर्डले अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार प्रदर्शनी गर्दै आएको छ । फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोर्डले विगत तीन वर्षदेखि फोटो प्रदर्शनी गर्दै आएको छ।