समय मध्याह्न १ः४० बजे । घनाबस्ती रहेको घट्टेकुलो क्षेत्रका पसल, चोक र गल्लीमा मानिसको चहलपहल सधैंजस्तो सामान्य छ । बस्तीबीचमा ९ तले भवन । व्यस्त गल्लीमा हिँड्ने कोही त्यस भवनमा प्रवेश गर्दैन । भवनभित्र ती चोक र गल्लीमा देखिनेजति पनि चहलपहल छैन । यद्यपि यो राज्य प्रणालीले दैनिक सयौंको चहलपहल र उपचार हुने प्रमाणित गरेर सम्बन्धन दिएको काठमाडौं नेसनल मेडिकल कलेजको शिक्षण अस्पताल हो । यो खबर दीपक दाहाल र दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।
सम्बन्धन पाएपछि पनि अस्पतालका सुनसान तस्बिर पत्रपत्रिकामा देखिन थालेपछि सञ्चालकले बिरामी बढाउने रणनीतिअनुसार भदौ १० मा विज्ञापन छापेर ‘निःशुल्क उपचारको अफर’ घोषणा गरे पनि अस्पतालमा बिरामी गएका छैनन् । अस्पतालले भदौ ३० सम्मका लागि जारी अफरमा ओपिडी, बेड शुल्कमा शतप्रतिशत, रेडियोलोजिकल परीक्षणमा ४० र प्रयोगशालाजन्य परीक्षणमा ५० प्रतिशत छुटको अफर घोषणा गरेको थियो । त्यसको केही दिनअघि मात्रै अस्पतालले डाक्टर÷नर्सका लागि विज्ञापन खोलेको थियो ।
बुधबार अपराह्न इमर्जेन्सी, ओपिडी र वार्डको भ्रमण गर्दा एक जना पनि विरामी थिएनन्, न डाक्टर नै थिए । अस्पतालका कुनै पनि वार्ड र ओपिडीमा डाक्टरको नेमप्लेटसम्म थिएन । अस्पतालमा १० जनाको हाराहारीमा एप्रोन लगाएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी देखिन्थे । अस्पतालको इमर्जेन्सीमा एकजना नर्समात्रै थिइन् भने सम्पूर्ण विभागमध्ये नाक, कान, घाँटीको फ्याकल्टी कक्षमा तीनजना इन्टर्न चिकित्सक थिए ।
स्रोतका अनुसार काठमाडौं नेसनलकै सञ्चालकको स्वमित्वमा वीरगन्जमा सञ्चालनमा रहेको नेसनल कलेजका इन्टर्नसिप चिकित्सक काठमाडौं नेसनलमा ड्युटीमा खटाइएका छन् । ‘राति पनि तीनजनालाई ड्युटीमा राख्न थालिएको छ,’ एक इन्टर्न चिकित्सकले भने, ‘मेडिकल अफिसर पनि एकदुई जना थपिएका छन्’ ।
२०७० कात्तिक २७ गते करवीरनाथ योगी नेतृत्वको टोलीले बुझाएको प्रतिवेदनमा अस्पतालमा ६५ जना फ्याकल्टी (सिनियर कन्सल्टेन्ट) कार्यरत हुनुपर्छ । योगी समितिले दिएकै प्रतिवेदनलाई आधार मान्ने हो भने ३ सय शड्ढयाको अस्पतालमा कम्तीमा १ सय ८० जना बिरामी भर्ना भएको हुनुपर्छ । चार सयभन्दा बढीले ओपिडी भ्रमण गरेको हुनुपर्ने हो भने कम्तीमा सय बिरामी दैनिक भर्ना भएको हुनुपर्ने हो ।
सम्बन्धनको खबर पाएपछि अस्पतालमा केही दृश्य भने फेरिएका छन् । अस्पतालमा झ्यालढोका मिलाउने र सिसा हाल्ने काम चालिरहेको छ । नेपाल मेडिकल काउन्सिलको रिपोर्टलाई आधार मान्दा २०६९ सालमै सञ्चालनमा आइसकेको भनिएको अस्पतालका वार्डमा बल्ल बुधबार इलेक्ट्रिसियनले बल्ब हाल्दै गरेको भेटिए । करिब १ः५० बजेतिर पुरानाजस्ता लाग्ने उपकरण बोकेर एउटा भ्यान छि¥यो । लबीमा केही नयाँ उपकरण प्याकेजसमेत नखोलिएको अवस्थामा थिए । इमर्जेन्सीअगाडिको एउटा कोठामा केही ¥याक राखेर केही औषधिसमेत राख्न थालिएको छ । मेडिकल कलेज शिक्षण अस्पतालको फार्मेसीमा स्वास्थ्य चौकीको स्टोरमा जति पनि औषधि देखिन्न ।
अस्पतालको पूर्वाधार र उपकरण अवस्थाको अनुगमन गर्न स्वास्थ्य मन्त्रालयको टोली भदौ ८ मा अस्पताल पुगेको थियो तर अस्पताल सञ्चालकले आफूहरुले शिक्षा मन्त्रालयबाट अनुमति पाएको भन्दै छिर्नै रोकेका थिए । अनुगमन गर्न नपाएको स्वास्थ्य मन्त्रालयसमेत एक सातादेखि मौन छ । यसअघि योगी समितिले अनुगमन गर्दा पनि केही उपकरण र सबै प्राध्यापक नेसनल मेडिकल कलेज वीरगन्जबाट ल्याइएको थियो ।
इमर्जेन्सी लेखिएको प्यासेजजस्तो साँघुरो गल्ली (जहाँ समानान्तर रुपमा बेडसमेत राख्न मिल्दैन) मा भएको ६ बेड सबै रिक्तै थियो । आकस्मिक कक्षमा अक्सिजन, भेन्टिलेटर, मोनिटरजस्ता महŒवपूर्ण उपकरण थिएनन् । अब्जरभेसन वार्डको अवस्था पनि उस्तै थियो ।