२०७४ को निर्वाचनमा दोलखाका ९ स्थानीय तहमध्ये कांग्रेस र माओवादीले ७ पालिकामा तालमेल गरेका थिए। त्यो बेला सबैभन्दा धेरै स्थानीय तहमा तालमेल भएको जिल्ला सम्भवत: दोलखा नै थियो।
दोलखामा एमाले एक्लै बलियो भएकाले कांग्रेस र माओवादी दुबैले सोहीअनुसार तालमेल गरेको त्यतिबेलाको मत परिणामले देखाउँछ।
७ स्थानीय तहमा तालमेल भए पनि कांग्रेस र माओवादी केन्द्रले वैतेश्वर र विगु गाउँपालिकामा मात्रै विजय हासिल गरेका थिए। दुबै गाउँपालिकामा कांग्रेसका अध्यक्ष र माओवादी केन्द्रका उपाध्यक्ष विजयी भएका थिए। तालमेल गरेर पनि माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख लिएका ठाउँमा भने गठबन्धन पराजित भएको थियो।
कालिञ्चोक, गौरीशंकर, तामकोशी, मेलुङ गाँउपालिका र भीमेश्वर नगरपालिकामा कांग्रेस र माओवादीले एमाले एक्लैसँग हारेका थिए।
जिरी नगरपालिका र शैलुङ नगरपालिकामा भने कांग्रेस-माओवादी गठबन्धन थिएन।
यसपटक सत्ता गठबन्धन दलले दोलखाबम सबै पालिकामा तालमेल गरेका थिए।
एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा सहभागी भएपछि यसपालिका दोलखामा एमालेको गढ भत्किएको छ।
एमालेले यो निर्वाचनमा विगतमा जितेका अधिकांश पलिका गुमाएको छ। उसले जितेका ७ मध्ये ५ पालिका गुमाएको छ। अर्थात् दोलखाका ९ स्थानीय तहमा विगतमा ७ ठाउँमा निर्वाचित भएको एमाले अहिले २ स्थानमा खुम्चिएको छ।
२०७४ मा कांग्रेस-माओवादी गठबन्धन हुँदा पनि नहल्लिएको एमालेको किल्ला नेकपा एकीकृत समाजवादी पनि थपिएपछि हल्लिएको हो। यसपालि एमालेले जिरी नगरपालिका र मेलुङ गाँउपालिकामा मात्रै जितेको छ।
२०७४ मा धादिङका १३ मध्ये ५ स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।
जसमध्ये निलकण्ठ नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेको थियो।
बेनीघाट रोराङ गाउँपालिकामा माओवादीले अध्यक्ष जितेको थियो भने कांग्रेसले उपाध्यक्ष जितेको थियो।
कांग्रेस र माओवादीको तालमेल भए पनि गजुरी, ज्वालामुखी र थाक्रे गाउँपालिकामा गठबन्धन पराजित भएको थियो। १३ स्थानीय तहमध्ये ८ ठाउँमा एमाले विजयी भएको थियो भने कांग्रेस ३ ठाउँमा विजयी भएको थियो। राप्रपा र माओवादी १/१ स्थानीय तहमा विजयी भएका थिए।
२०७९ को निर्वाचन त्यस्तो रहेन। एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण गठबन्धन थप बलियो भयो। त्यही भएर सत्ता गठबन्धनले ११ गाँउपालिका जितेको छ। सत्ता गठबन्धनलाई हराउँदै एमालेले गल्छी र थाक्रे गाँउपालिका मात्रै जितेको छ।
मकवानपुरमा पनि एमालेले त्यस्तै क्षति व्यहोरेको छ। उसले मकवानपुरमा विगतमा जितेका ४ पालिकामा पराजय भोगेको छ।
मकवानपुरका १० पालिका मध्ये एमालेले २०७४ मा ६ पालिका जितेको थियो। तर यसपटक उसले २ पालिका चित्त बुझाएको छ।
एमालेले १० पालिकामध्ये हेटौंडा उपमहानगरपालिकासहित ईन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा विजय हासिल गरेको थियो। यसपालि एमालेले भीमफेदी र कैलाश गाँउपालिकामा मात्रै जितेको छ।
यसपटक सत्ता गठबन्धनले मकवानपुरका सबै पालिकामा साझा उम्मेदवार उठाएको थियो।
२०७४ को स्थानीय निर्वाचनमा काभ्रेका १३ मध्ये ७ पालिका जितेको एमालेले यसपटक धुलिखेलमा मात्रै चित्त बुझाएको छ। २०७४ मा एमालेले धुलिखेलसहित पनौती, बनेपा, नमोबुद्धजस्ता महत्वपूर्ण नगरपालिकासमेत जितेको थियो।