काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी विजयी भएका छन्।
खसेको १० हजार ७ सय ३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी एमालेका कमल प्रसाद तिमल्सिना ३ हजार १ सय ६० मत ल्याए।
काभ्रेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो।
उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४ सय ९८ मतसहित विजयी भइन्। एमालेकी सरला केसीले ३ हजार ५ सय ७३ मत ल्याइन्।
गाउँपालिकामा एमालेले एउटामात्रै सदस्य पद जित्यो। वडा ३ मा एमालेले एउटा सदस्य जिते पनि वडाध्यक्ष र तीन सदस्य कांग्रेसले जित्यो। १,२, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भयो।
त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए। यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुई जना सदस्य निर्वाचित भए।
पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका भगवान अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए।
केही समय प्राध्यापन पेशामा बिताएका अधिकारी नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालेका थिए।
अधिकारीलाई २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसले समानूपातिक सांसद्को बन्दसूचीमा राखेको थियो। त्यसबाट राजीनामा दिएर उनी यसपटक गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका हुन्।