एमाले नेता विष्णु पौडेलको गृह वडामा समेत एमालेले हार बेहोर्नुपरेको छ।
उनको घर बुटवल उपमहानगरपालिका वडा नम्बर ८ हो।
स्थानीय चुनावको पछिल्लो मतगणना अनुसार यहाँ कांग्रेससँग एमाले वडाध्यक्षमा पराजित भएको छ।
जम्मा ३१ मतले एमालेका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद अर्याल पराजित भएका हुन्।
नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार ज्ञान प्रसाद पंगेनी १५३९ मत ल्याएर विजयी भएका छन्। एमालेका अर्यालले भने १५०८ मत पाएका छन्। यो वडामा यसअघि एमालेले नै जित्दै आएको थियो। कांग्रेसले भने ३० वर्षअघिको स्थानीय चुनावमा यो वडा जितेको थियो।
बुटवल उपमहानगरको पछिल्लो मतगणना अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिइरहेका छन्। उनले २३४३३ ल्याएका छन् भने एमालेका मेयर उमेदवार बाबुराम भट्टराईले १७०३९ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सावित्रा अर्यालले १८८७५ मत ल्याएर सत्ता गठबन्धनबाट एकिकृत समाजवादीका उपमेयर उम्मेदवार चिनबहादुर गुरूङले १३४१९ मत पाएका छन्।