बिहीबार दिउँसो ४ बजेतिर नेपालगन्ज उपमहानगरपालिकामा जारी मत गणना हुन ८ हजार मात्रै बाँकी थियो।
त्यतिखेर गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका साझा उम्मेदवार ४३ वर्षीय प्रशान्त विष्ट ९ हजार मतले अगाडि थिए। उनको जित सुनिश्चित भइसकेको त्यो यथेष्ट प्रमाण थियो।
नेपालगन्जमा कुल ८१७९४ मतदाता रहेकामा ६१२०५ मत खसेको थियो।
२०७४ सालमा नेपालगन्जमा राप्रपाका धवल शमसेर राणा निर्वाचित भएका थिए। अहिलेको परिणामले धवलको कुर्सीमा विष्ट बस्ने लगभग निश्चित प्रायः भइसकेको छ।
धवल पार्टी भन्दा पनि व्यक्तिगत लोकप्रियताका कारण निर्वाचित भएका रहेछन् भन्ने पुष्टि यतिखेरको राप्रपाले पाएको मतले पनि देखाउँछ। नेपालगन्जको विकासका लागि धवलले ठूलो जोखिम उठाए। डोजर चलाएर साँघुरा गल्ली र बाटा फराकिला बनाए। वर्षाको डुबानमा पर्ने नेपालगन्जमा नाला विकासमा भूमिका खेले। यसले गर्दा शमसेरप्रति भरोसा नेपालगन्जवासीमा उत्तिकै छ। उनको त्यो विरासत थाम्न विष्टलाई अवश्य पनि चुनौती छ।
विष्ट पनि त्यसलाई चुनौतीसँगै केही गरेर देखाउने अवसरका रूपमा लिन्छन्। महेन्द्र बहुमुखी क्याम्पसमा २०५७ र २०५९ सालमा दुई कार्यकाल स्ववियु उपसभापति र पछिल्लो तीन कार्यकाल दस वर्षदेखि लगातार तीन कार्यकाल नेपाली कांग्रेसको नेपालगन्ज नगर सभापतिको जिम्मेवारी सम्हाल्दै आएका विष्ट उमेरभन्दा पनि नागरिकसँगको सम्बन्ध र सामिप्यताले धेरै कुरा सिकाउने तर्क गर्छन्।
आफूले प्राप्त गरेको मतलाई विष्ट गठबन्धन प्रतिको विश्वास र आफूले विगतमा गरेको कामप्रतिको विश्वासका आधार मान्छन्।
'हामी गठबन्धन दलका मेयर/उपमेयरलाई जुन ढंगले मत आयो त्यो युवा पुस्ता प्रतिको लहर पनि हो भन्नु पर्छ,' विष्टले भने, 'हामीमाथि यी युवाले अवश्य केही गर्ने छन् भनेरै मत दिएका हुन् भन्ने मेरो बुझाइ छ।'
धवलको कुर्सीमा बस्दै हुनुहुन्छ के चुनौति देख्नु हुन्छ ? भन्ने प्रश्नमा – बिष्टले नेपालगन्जलाई उपमहानगरपालिका बनाउँदा गाभिएका साबिकका वडाहरुमा समान बिकाश पु¥याउन प्राथमिकतामा राखेर काम गर्ने बताए।
उपमहानगर बनाउँदा वडा नम्बर १३ देखि २३ नम्बर वडासम्म नेपालगन्जमा गाभिएको भए पनि अहिले पनि ती वडाहरूमा राम्रो बाटो, भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षाको पहुँच, स्वास्थ्य पहुँच पुग्न नसकेको हुँदा पहिले ती कुराहरूको स्तरोन्नतिमा आफू लाग्ने उनको कथन थियो।
'ती ठाउँहरू नाम मात्रैका उपमहानगरपालिका भन्ने अवस्था छ। ती ग्रामीण बस्तीमा समान रूपमा विकास गर्नु चुनौती छ,' उनले थपे, 'यसभन्दा पहिले यहाँ एसियाली विकास बैंकको पनि लगानी थियो। तर अहिले छैन। मैले सोचेअनुरूप काम गर्न म प्रदेश र संघीय सरकारलाई गुहार्ने छु।'
गठबन्धनले जित्ने अवस्था आएको हुँदा त्यही मर्मअनुरूप नेपालगन्ज सहरलाई थप व्यवस्थित गर्न पाउने अवसर पनि सँगसँगै आएको उनले बताए।
नेपालगन्ज साविकका मध्य र सूदुरपश्चिमको प्रमुख व्यापारिक केन्द्र भए पनि नेपालमै सबभन्दा सस्तो जग्गा पाइने ठाउँ रहेको भन्दै औद्योगिक क्षेत्रको रूपमा विकास गर्न मिलेर भूमिका खेल्ने उनले अठोट व्यक्त गरे। त्यस्तै नेपालगन्जको शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूला लगानीकर्ताहरूलाई आकर्षित गर्न जरूरी रहेको उनले औंल्याए।
अघिल्लो कार्यकालमा राम्रै काम भए पनि शिक्षाको क्षेत्रमा नयाँ ऐन नबनेको भन्दै उनले मौलिक र मातृभाषामा पढ्न पाउने व्यवस्था मिलाउन भूमिका खेल्ने सुनाए।
त्यस्तै विष्टले नेपालगन्जसँग भारतको सीमा रहेकाले पर्यटन क्षेत्रसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी काम गर्ने बताए।
'हामीसँग बोर्डर पनि छ, एयरपोर्ट पनि छ,' उनले भने, 'यहाँनेर थप केही गर्न जरूरी छ। यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न हाम्रो पहल रहने छ।'
हिन्दु धर्मावलम्बीको एउटा ठूलो शक्तिपिठका रूपमा रहेको नेपालगन्जको बागेश्वरी माताको मन्दिरको उचित विकास र प्रचारप्रसार गर्न जरूरी रहेको उनले औंल्याए। तर त्यसो गर्दै गर्दा नेपालगन्जको सामाजिक सद्भावलाई केन्द्रमा राखेर काम गरिने उनले बताए। प्रदेश फरक भए पनि कर्णाली र सूदुरपश्चिमको केन्द्रको रूपमा नेपालगन्जलाई विकास गर्न सबैले अपनत्व ग्रहण गर्ने गरी काम गर्ने विष्टले बताए।
'शिक्षाको क्षेत्रमा होस वा स्वास्थ्य क्षेत्रमा, नेपालगन्जसँग कर्णाली र सूदुरपश्चिमसँग धेरै कुरामा लामो समयदेखि सम्बन्ध छ,' उनले भने, 'अब ती लगायत आसपासका अन्य जिल्लाबासीको माया फर्काउने गरी काम गर्ने मेरो चाहना छ।'
ती क्षेत्रसँग व्यापारिक सम्बन्ध कायम गरी नेपालगन्जको विकासमा भूमिका खेल्ने उनले बताए।
बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा दाङ उपत्यकासँगको सामिप्यतालाई आपसी विकासका रूपमा जोडेर अगाडि बढ्ने योजना उनको छ।
'यहाँका मानिसका लागि काठमाडौंभन्दा आकर्षक र पहुँचयोग्य सहरका रूपमा नेपालगन्जलाई विकास गर्ने सपना छ,' उनले भने।
नेपालगन्जबासीले आफूप्रति देखाएको विश्वासलाई आत्मसाथ गर्दै मानिसहरूका जनजीवन सहज गराउन भूमिका खेल्ने गरी काम गर्ने विष्टले जानकारी दिए।
सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने गरी प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
'तीन चार घन्टा लामो दुरी पार गरेर, घन्टौं लाइन बसेर भत्ता लिनुपर्ने बाध्यता समाधान गर्ने छौं,' विष्टले भने, 'राम्रोसँग बैंकिङ प्रणाली विकास गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने प्रयास हुनेछ।'
नेपालगन्ज डुवान क्षेत्र भए पनि धेरै काम भइसकेको र साविकका केही वडामा पुरिएका कुला र नालीहरू सफा गर्ने र थप व्यवस्थित गरी नेपालगन्जलाई सुरक्षित ठाउँ बनाउने योजना रहेको उनले सुनाए।
एकथरी मानिस भने नेपालगन्जमा धवलको कुर्सीमा बस्न विष्टलाई उति सहज नहुने तर्क गर्छन्।
'धवलले जति गरेका छन्, त्यति गर्न विष्टलाई सहज हुन्छ जस्तो लाग्दैन,' एक जना सामाजिक अभियन्ताले भने, 'धवलको कुर्सी र विरासत थाम्न विष्टले बहुतै बुद्धिमत्तापूर्वक कदम चाल्न सक्नु पर्छ।'