नवलपुरको बुलिङटार गाउँपालिका अध्यक्षमा २८ वर्षीय दिपेन्द्र मगर सुनारीले बाजी मारेका छन्।
२०४८ सालदेखिको स्थानीय निर्वाचन लगातार कांग्रेसले जित्दै आएको बुलिङटारमा दिपेन्द्र एमालेबाट उम्मेदवार बनेका थिए।
कांग्रेसको गढ मानिने यहाँ दिपेन्द्रले कांग्रेसका शशिकिरण बस्ताकोटीलाई पराजित गरेका हुन्। बस्ताकोटी अघिल्लो निर्वाचनमा विजयी भएका थिए।
दिपेन्द्रले काठमाडौंको थापाथली इञ्जिनियरिङ क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङ गरेका थिए। उनले चीनको हाउझोङ युनिभर्सिटीबाट मेकानिकल इञ्जिनियरिङमै मास्टर्स गरेका छन्।
पढाइका लागि बुलिङटारबाट सधैं बाहिर समय बिताएका दिपेन्द्रले कोरोना भाइरसले देश आक्रान्त भइरहेको बेला गाउँमा समय बिताउने मौका पाए। कलेज पढ्दासम्म कहिल्यै राजनीति नगरेका दिपेन्द्रले त्यही कोरोनाकालमा बस्दा गाउँको समस्या बुझ्ने मौका पाए।
'कोभिडको बेला गाउँका शिक्षा, स्वास्थ्य, पूर्वाधारको समस्या र चेतनाको समस्याले मलाई परिवर्तनका लागि राजनीतिमा आउनुपर्ने रहेछ भन्ने भयो,' दिपेन्द्रले भने, 'समस्याको हल राजनीतिबाट सुधार्नुपर्ने रहेछ भन्ने भयो।'
दिपेन्द्रलाई गाउँको राजनीतिबारे थोर-बहुत जानकारी थियो। उनको बुबा २०५४ र २०७४ मा वडा अध्यक्ष उठे पनि पराजित भएका थिए।
'२०७४ मा बुबा वडाअध्यक्ष लड्दा म सघाउन खटिएको थिएँ। त्यतिबेला मलाई स्थानीय सरकार कति महत्वपूर्ण छ र कस्तो हुनुपर्छ भन्ने थाहा भयो,' दिपेन्द्रले भने, 'तर बुबा निर्वाचनमा पराजित हुनुभयो।'
राजनीतिको रस बसेका दिपेन्द्रलाई विश्वव्यापी महारामारी बनेको कोरोना अवसरको रुपमा आइदियो।
त्यति बेला उनी गाउँ-गाउँ पुग्न भ्याए। पढेलेखेका दिपेन्द्रले प्रभाव पार्न सके।
'गाउँ ठाउँको पढेलेखेको, देशविदेश देखेको र प्रविधि थाहा भएको मान्छेले गाउँमा काम गर्न सक्छ भन्ने मानिसहरुको धारणा थियो,' दिपेन्द्रले भने, 'मैले चुनाव उठ्छु भनेपछि पार्टी भन्दैनौं, विचार भन्दैनौं, यसपटक सक्षम युवा हेर्छौं भनेर धेरैले भन्नुभयो। खट्ने र दौडन सक्ने मान्छे चाहियो भन्ने यहाँको मान्छेको धारणा छ।'
उनले गाउँका मान्छेको धारणाकै कारण आफूलाई चुनावमा पनि आत्मविश्वास जागेको बताए।
'२०७४ को निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर सहित सबै पदमा क्लिनस्विप गरेको थियो,' दिपेन्द्रले भने, 'यसपटक हामीले मेयर र एउटा वडा मात्र जितेका छौं।'
दिपेन्द्रले बुलिङटारलाई बस्नयोग्य र हेर्नलायक ठाउँ बनाउने योजना बनाएका छन्।
'गाउँमा आधारभूत तहबाट काम गर्नुपर्नेछ। मैले इञ्जिनियरिङ गर्दा धेरै टेक्नोलोजी देखेको छु। तर त्यो यहाँ बुलिङटारमा ल्याएर प्रयोग गर्न सम्भव छैन,' दिपेन्द्रले भने, 'गाउँमा अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनबाट बिजुली बलेको छैन। कालिगण्डकी करिडोरको बाटो बनेको छ तर अव्यवस्थित छ। ७० प्रतिशत मान्छे कृषिमा छन्। कृषिका लागि काम गर्नुपर्नेछ। माटो हावापानी परीक्षण गरेर कृषि प्राविधिक ल्याउनुपर्नेछ।'
राष्ट्रिय प्रशारण लाइन जोड्न आफू विद्युत प्राधिकरणसँग डेलिगेसन गएर भए पनि काम गर्ने उनले बताए। अघिल्लो नेतृत्वले विद्युत जोड्न ध्यान नदिएको उनको आरोप छ।
दिपेन्द्रले गाउँलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन काम गर्ने बताए।
'स्वास्थ्य चौकीमा रुघाखोकी र ज्वरोको औषधि मात्र दिने अवस्थामा छ। यहाँ हात-खुट्टा भाँचिदा प्लास्टर गर्नुपर्नेदेखि डाइग्नोसिस गर्ने अवस्था छैन। त्यसलाई व्यवस्थित गर्नुपर्नेछ', दिपेन्द्रले भने, 'जनतालाई स्थानीय सरकार भएको महसुस होस् भन्ने हो।'
उनले गाउँको विद्यालयको व्यवस्थान सुधार गर्ने सिपमूलक शिक्षा दिने योजना बनाएका छन्।
'गाउँपालिकामा आधारभूत विषयको दह्रो पिल्लर राख्ने योजना छ,' दिपेन्द्रले भने, '३१ वर्षपछि गाउँले विकल्प रोजेको छ। फरक पार्टी जिताएको छ। त्यसअनुसार काम गर्छु।'