शान्तिपथ टोल धरानमा सोमबार साँझ गीत घन्काउँदै एउटा अटो रिक्सा मन्द गतिमा अघि बढिरहेको थियो।
धरान उपमहानगरपालिका वडा नम्बर ७ स्थित धरान टोलमा हरेक पचास/सय मिटरमा अटो रोकिन्थ्यो, एक हुल मान्छे छेउछाउका घर-पसलमा छिर्थे।
हातमा बोकेको चुनावी प्रतिवद्धता पत्र उनीहरूलाई थमाउँथे। अटोमा जडित साउन्ड बक्समा गीत गुन्जिरहेको थियो:
हर्क साम्पाङको चुनाव चिन्ह आयो लौरो लट्ठी
स्वतन्त्रको चुनाव चिन्ह आयो लौरो लट्ठी
‘नमस्कार, म हर्क साम्पाङ, तपाईंको घरमा खानेपानी सजिलै ल्याउनुछ, यो बाटोको समस्या समाधान गर्नुछ, त्यसका लागि मलाई मेयरमा मत दिनुहोला, मेरो चिन्ह लौरो,’ चन्द्र-सूर्य अंकित राष्ट्रिय झण्डा काँधमा भिरेका हर्क मत माग्दै थिए, ‘अहिलेसम्म पार्टीहरूलाई भोट दिनुभयो। उनीहरू जनताका कहिल्यै भएनन्। अब म तपाईंहरूको साथमा हुनेछु।’
पछिल्लो एक दशकमा हर्कले धरान उपमहानगरभित्र बनाएको मुख्य पहिचान हो, सामाजिक अभियन्ताको। दशकौंदेखि सुल्झिन नसकेको खानेपानी अभावविरूद्ध होस या धरानको वैभव बनेर रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितिविरूद्ध हर्कले जवाफदेही निकायलाई तीखो भाषामा प्रश्न गर्दै आएका छन्।
बिजुलीको हाइटेन्सन लाइनको समस्या सुनाउन आफैं अघि सरेर कुलमान घिसिङ गुहारेका छन्। विपीका उपकुलपतिको कार्यकक्षमा पुगेर ज्ञापनपत्र बुझाउन धेरै पटक लड्डी खेलेका छन्।
उपमहानगरका मेयर-उपमयेर हुन् वा कुनै सरकारी कार्यालयका हाकिम, सबैलाई कडा प्रश्न जहाँसुकै र जहिलेसुकै गर्ने भएकैले एकथरीले उनलाई ‘अराजक’ पनि भन्ने गरेका छन्।
लामो समयदेखि धरानका विभिन्न विषयमा खरो आवाज उठाउँदै आएका उनै हर्क यसपटक उपमहानगरमा स्वतन्त्र रूपमा मेयर लड्दैछन्। स्थानीय चुनावमा यसपटक सबैतिर स्वतन्त्र उम्मेदवार लर्को छ।
देशभरिका अरू स्वतन्त्र उम्मेदवारभन्दा हर्कको कथा किन फरक छ भने उनले टिम नै बनाएका छन्। जुन टिमले मेयर, उपमेयरदेखि आठ वटा वडामा वडाध्यक्षको उम्मेदवार नै दिएको छ। ती सबै उम्मेदवार सोमबारदेखि घरदैलो अभियानमा छन्।
घरदैलो अभियानमा व्यस्त रहेका उनीसँग सेतोपाटीले कुराकानीका लागि समय माग्यो। उनी राजी भए। सडक पेटीमा थ्याच्च बसेर कुराकानी सुरू गर्न इशारा गरे। नजिकै रहेको अटोमा बज्दै गरेको गीत बन्द गर्न लगाए। त्यसपछि उनी सुरू भए, ‘हाम्रो चुनावी माहोल एकदमै राम्रो बन्दै गएको छ। हामी चुनाव जित्दैछौं।’
धरान भन्नेबित्तिकै वामपन्थीहरूको पुरानो किल्लाका रूपमा चिनिएको सहर हो। २० वटा वडा रहेको यो उपमहानगरमा स्थानीय चुनावको पछिल्लो ३० वर्षे इतिहासमा एमाले वर्चश्व स्थापित हुँदै आएको छ। २०७६ मा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसका तिलक राईले जितेर नयाँ इतिहास कोरेका थिए।
अहिले एकातिर कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा छ। अर्कातिर सधैंको शक्तिशाली एमाले उपनिर्वाचनमा गुमेको विरासत फर्काउने घोषणासहित चुनावी अभियानमा छ।
प्रमुख दलहरूको यो रोचक भिडन्तको थलो धरानमा स्वतन्त्र हैसियतमा चुनाव लड्दै गर्दा पनि हर्कले आफ्नो उपस्थिति दर्शाएका छन्। स्थानीयबासी धेरैले उनको अभियानबारे जानकार रहेको र उनको ‘लौरो’ चुनाव चिन्ह रहेको बताए।
‘उहाँले चुनावै जित्ने गरीको मत ल्याउनुहोला/नहोला अनुमान गर्न कठिन छ,’ धरानका सुकुम्बासी अगुवा कुमार कार्कीले सेतोपाटीसँग भने, ‘तर, उहाँको उम्मेदवारी यहाँ राम्रो चर्चा पाएको छ। मत पनि राम्रो ल्याउने अनुमान सबैको छ।’
धरान १८ को बौद्धचोकका बासिन्दा ४० वर्षीय हर्कले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातक तहसम्म अध्ययन पूरा गरेका छन्। पेशाले यातायात व्यवसायी उनीसँग इराक र अफगानिस्तानसम्म पुगेर वैदेशिक रोजगारी गरेको अनुभव पनि छ।
करिब १० वर्षअघि विदेशबाट फर्केपछि हर्कले आफ्नो गृहनगरमा सर्वसाधारणले भोगिरहेको खानेपानी समस्याविरूद्ध आवाज उठाउन थाले। अहिले पनि धरान सहरमा खानेपानीको दैनिक माग अढाई करोड लिटर हाराहारी छ। दैनिक ५० देखि ६० लाख लिटर मात्रै खानेपानी आपूर्ति हुने अवस्था छ। यो अवस्था दलहरूको मनपरीले ल्याएको ठहर उनको छ।
‘यहाँ दलहरूबाट निर्वाचित जनप्रतिनिधि एसीवाला कोठामा बसेर, एसीवाला गाडीमै हिँडेपछि जनताको समस्या भुल्छन्’, उनको आरोप छ, ‘म सबैभन्दा प्राथमिक रूपमा धरानको खानेपानी समस्या समाधान गर्न चाहन्छु।’
त्यसबाहेक उनले विपी अस्पताल सुधार, भ्रष्टाचारको अन्त्यजस्ता कुरालाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
धरानका सार्वजनिक सेवाका क्षेत्रमा देखिएका कमजोरीबारे प्रश्न उठाउँदा उठाउँदै उनी मेयरकै उम्मेदवार बन्ने तहमा कसरी उक्लिए? यसबारे उनको निष्कर्ष छ, ‘जनताको समस्या उठाउँदा सम्बोधन गरिदिनेहरू तयार भए हामीजस्ता अभियन्ता नै नचाहिने रहेछ। मैले १० वर्ष त यो आवाज उठाइरहेँ, कहिलेसम्म यसरी उठाउनु?’
अब अभियान मात्रैले नपुग्ने ठहर गरेपछि मेयरमा उठेको उनी बताउँछन्।
‘काम गर्नु पर्नेले नगरेपछि उनीहरूभन्दा राम्रो काम गर्नेले अघि सर्नुपर्छ ’, उनले भने, ‘उनीहरूभन्दा हामीसँग राम्रो भिजन छ। बढी निष्ठा हाम्रो छ। यही ठहरले म र मेरो टिमले धरानमा उम्मेदवारी दिएका हौं।’
उनका अनुसार दत्तकुमार लिम्बू उनको टिमबाट उपमेयरका उम्मेदवार छन्। आठ जना वडाध्यक्षमध्ये सात जनाले ‘लौरो’ र एकले ‘धारा’ चिन्हबाट चुनाव लड्दै छन्।
न संगठन न त कुनै राजनीतिक अनुभव साम्पाङ भने आफूले चुनाव जित्ने दाबी गरिरहेका छन्। त्यसको आधार के?
उनले भने, ‘दलहरूले भने सबै आधार गुमाएका छन्। भ्रष्टाचार गर्ने, जनताको मौलिक हकमाथि नै खेलवाड गर्ने काम गरेका छन्। उनीहरूले गुमाएको आधार नै हाम्रो आधार हो।’
काठमाडौंमा चर्चा बटुलिरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहसँग चुनाव चिन्ह मिल्नु संयोग मात्रै भएको उल्लेख गर्दै उनले आफूले फेसबुकमा बालेनलाई जीतका लागि शुभकामना भने दिएको सुनाए।
‘राजनीतिप्रति जनतामा वितृष्णा छ। यसपालि हामीले जित्यौं भने राजनीति गर्न पार्टीकै झोला बोकेर २० औं वर्ष कोठे बैठक गर्नुपर्दैन भन्ने सन्देश जानेछ,’ साम्पाङले भने।