स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज काठमाडौं महानगरपालिकाका लागि १६ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभा गृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा ४ जना महिला र १२ जना पुरूषले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ७ जनाले र स्वतन्त्र रूपमा ९ जनाले मनोनयन दर्ता गराएका छन्।
यसरी मनोनयन दर्ता गराउने पार्टीहरूमा विवेकशील साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी छन्।
यससँगै उपमेयर पदमा १७ जनाले मनोनयन दर्ता गराएका छन्।
यसैगरी वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ७ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
निर्वाचन तालिकाअनुसार भोलि ५ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुनेछ।
वैशाख १३ बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ।
१५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ। त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ।