प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले महानगरपालिमा उम्मेदवार टुंगो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार अबेर सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
कुन महानगरमा कसको उम्मेदवारी
काठमाडौं महानगरपालिका
नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।
पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।
त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा ललितपुर महानगरका इन्चार्ज ब्यञ्जनकार यसअघि पनि ललितपुर मेयरमा झिनो मतले पराजित भएका थिए, उनैलाई पार्टीले पुनः ललितपुरमा सिफारिस गरेको हो।
यस्तै ललितपुरका उपमेयरमा मञ्जली शाक्य बज्राचार्यलाई एमालेले मेयर बनाउने भएको हो। शाक्य महानगर कमिटिको अध्यक्ष समेत हुन्।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) ले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ।
सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसकेका थिए। उनी हाल पार्टीको बागमती प्रदेश सचिवसमेत हुन्।
सुवेदी बागमती प्रदेश सभाका सदस्य हुन्। उनी चितवन निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए।
मेयरको उम्मेद्वार घोषणा गरिएका सुवेदी वृहत चितवनको गुरूयोजना निर्माणका अगुवा हुन्। उनी चितवनमा विकासको भिजन भएका नेताका रूपमा परिचित छन्। उनी बागमती प्रदेशमा अष्ठलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएका थिए।
सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन्।
महानगरले उपमेयरमा राप्रपासँग तालमेल गर्ने भएको छ। राप्रपाका उपमेयरलाई एमालेले सघाउने भएको छ।
पोखरा महानगरपालिका
नेकपा एमालेले पोखराको मेयरमा दीपक पौडेललाई उठाउने भएको छ। उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ।
पौडेल पूर्व शिक्षक हुन् । मञ्जु अहिले नै उपमेयर छिन्। मञ्जु पार्टी केन्द्रीय सदस्य हुन् भने पौडेल प्रदेश कमिटी सदस्य छन्।
तत्कालीन माले, हालको एमालेको गाउँ कमिटी सदस्यबाट पार्टी गतिविधिमा सक्रिय हुन थालेका पौडेल क्षेत्रीय कमिटी, १८ वर्षसम्म जिल्ला कमिटी सदस्य, ८ वर्ष जिल्ला सचिवालय सदस्य, एमाले र माओवादी मिलेर बनेको नेकपाको पोखरा महानगर कमिटी संयोजक र अहिले प्रदेश कमिटीका सचिवालय सदस्य छन्।
वीरगन्ज महानगरपालिका
नेकपा एमालेले वीरगन्ज महानगरपालिकामा हालै पार्टी प्रवेश गरेका विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ।
संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गरेका थिए।
उनलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली वीरगन्ज पुगेका थिए।
उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ। लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गर्ने भएकाले उपमेयरमा लोसपाले उम्मेदवारी दिनेछ।
विराटनगर महानगरपालिका
एमालेले विराटनगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी राखेको छ। यसअघि प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरको प्रमुखका लागि एमाले महानगर नगर कमिटीले ५ जनाको नाम सिफारिस गरेको थियो।
कमिटीले एमाले केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम भन्ने कृष्ण बस्नेत र महेश भट्टराई, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र महानगर अध्यक्ष सागर थापाको नाम सिफारिस गरेको थियो।
यस्तै महानगर कमिटीले महानगर उपप्रमुखमा प्रदेश कमिटी सदस्य विमला घिमिरे दाहाल, जिल्ला सदस्य अन्जु उपाध्याय र महानगर कमिटी उपाध्यक्ष शिल्पा कार्कीको नाम सिफारिस गरेको थियो। सम्भवतः आज विराटनगरको टुंगो लाग्नेछ।