काठमाडौं क्षेत्र नम्बर-५ मा उम्मेदवारी दर्ताको समयअघिसम्म सत्ता गठबन्धनका कोही पनि नेता उम्मेदवार बन्न इच्छुक देखिएका थिएनन्। कारण थियो, उक्त क्षेत्रमा नेकपा एमालेको बलियो संगठन र स्थानीय तहमा एमालेले प्राप्त गरेको मतपरिणाम।
एमालेबाट उक्त निर्वाचन क्षेत्रबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्ने निश्चितप्राय: थियो। उनले यसअघि तीनपटकसम्म यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए र २०७४ मा जित पनि हात पारेका थिए।
एमालेका यी 'हेभिवेट' उम्मेदवारविरूद्ध कांग्रेसबाट प्रकाशशरण महतदेखि स्वर्णिम वाग्लेसम्मले चुनाव लड्नेबारे परामर्श गरेका थिए। कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेलसम्मको मन दोमनमा परेको थियो।
कांग्रेसका प्रकाशशरण महत २०७४ को निर्वाचनमा यहाँ पोखरेलसँगै ९ हजार ८ सय ६० मतले पराजित भएका थिए। त्यही भएर उनले यहाँ दोहोर्याएर उठ्न चाहेका थिएनन्।
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेका वडाध्यक्ष उम्मेदवारहरूले यो क्षेत्रमा सत्ता गठबन्धनभन्दा बढी मत पाएका थिए। एमालेका वडाध्यक्षहरू एक्लैले यो क्षेत्रमा १९ हजार ७३ मत ल्याएका थिए भने गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीको कुल मत १७ हजार ८ सय ४८ थियो। स्थानीय तहको मतपरिणामका आधारमा पनि गठबन्धनका उम्मेदवारहरू यो क्षेत्रमा उठ्न हिच्किचाइरहेका थिए।
कांग्रेसका प्रदीप पौडेलले काठमाडौं-५ बाट उम्मेदवार बन्ने निर्णय गरेपछि पनि धेरैले उनले जित हात पार्नेमा संशय व्यक्त गरेका थिए। तर मंगलबार राति सार्वजनिक मतपरिणाममा पौडेलले यो क्षेत्रमा बाजी मारेका छन्। उनले एमालेका वरिष्ठ नेता पोखरेललाई ५ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका छन्। पोखरेलले यसपटक स्थानीय तहमा एमालेलाई मत दिएका मतदातालाई समेत आकर्षण गर्न सकेको देखिँदैन।
जारी मतगणनामा पोखरेल अहिलेसम्म एमालेबाट पराजित भएका सबभन्दा 'हेभिवेट' नेता हुन्।
पोखरेलले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारका रूपमा सार्वजनिक जीवन सुरू गरेका थिए। त्यसपछि २०५४ सालमा पहिलोपटक राष्ट्रियसभा सांसद बनेका पोखरेल २०५६ सालमा राष्ट्रियसभाबाट राजीनामा दिएर निर्वाचन लडेका थिए। त्यति बेला उनले काठमाडौंको क्षेत्र नम्बर ३ बाट जित निकालेका थिए।
त्यसपछि २०६४ र २०७० सालको संविधानसभामा जाने पोखरेलले प्रयास गरेका थिए। तर दुवैपटक उनी नेपाली कांग्रेसका नरहरि आचार्यसँग पराजित हुन पुगे। निर्वाचनमा पराजय भोगेपनि उनी २०६५ र २०७० सालमा गरी दुईपटक नेकपा एमालेका महासचिव बने। त्यसले उनको राजनीतिक उचाइ बढ्यो।
२०७४ को निर्वाचनमा भने पोखरेल वाम गठबन्धनबाट विजयी भए। त्यसपछि सरकारमा उपप्रधानमन्त्रीको 'पोर्टफोलियो' पाएका पोखरेल एमाले र माओवादी मिलेर बनेको नेकपाको सचिवालय सदस्यसमेत थिए। एमाले र माओवादीलाई अदालतले फरकफरक दलका रूपमा विभाजित गरिदिएपछि पोखरेल अहिले एमालेमा वरिष्ठ नेता छन्। यो अध्यक्षपछिको दोस्रो वरियता हो।
यसपालि दोस्रोपटक निर्वाचित भएर संसदमा पुग्ने पोखरेलको चाहनामा पौडेलले तुषारापात गरिदिएका छन्। पछिल्लोपटक राजनीतिमा युवा उम्मेदवारको खोजी भइरहेका बेला ७० वर्षीय पोखरेल मतदाताको रोजाइमा परेनन्।
त्यसमाथि पछिल्लो समय नेकपा एमालेभित्र पनि उनी ओलीको विश्वासपात्र थिएनन्। सरकारमा भएका बेला ओलीले उनलाई सोधखोजसमेत नगरी मन्त्रालय परिवर्तन गराइदिएका थिए।
त्यस्तै पोखरेलले रक्षामन्त्री भएका बेला कोरोना महामारीमा आवश्यक स्वास्थ्य उपकरणहरू नेपाली सेनालाई खरिद गर्ने जिम्मा दिएर जनप्रतिनिधि निकायले भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना खेप्नुपरेको थियो। स्वास्थ्य सामग्री खरिदमा कयौं प्रश्न उठे पनि पोखरेलले त्यसलाई खारेज गर्दै आएका छन्।
पोखरेललाई यो निर्वाचनमा कोरोना महामारीको व्यवस्थापनको विषयले समेत पिरोलेको थियो। निर्वाचनमा पराजयपछि उनले फेसबुकको स्ट्याटसमा घुमाउरो भाषामा 'निर्वाचनमा धेरै किसिमका भ्रम र प्रतिकूलतालाई चिर्दै नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेको' उल्लेख गरेका छन्। उनले निर्वाचनका लागि कस्ता भ्रम र प्रतिकूलता चिरेको भनी खुलाएका छैनन्।