सानैदेखि सुन्दै आएको कुरो, 'नानी सानी मान्छे भएर ठूलाहरूसँग मुखमुखे लाग्नु हुँदैन। धेरै प्रश्नोत्तर नगर्नू। भनेको चुपचाप मान्नू।'
सानै उमेरदेखि वादविवाद गर्नुहुँदैन भनेर सिकेकी थिएँ मैले।
समाजले मलाई सानै उमेरमा यस नियमको पालना गर्न सिकाएको थियो। ममात्र हैन हाम्रो समाजमा आज्ञाकारिता र अनुरूपता जबर्जस्ती थोपरिन्छ। आफूभन्दा ठूलाको कुरा गलत नै भए पनि मान्नुपर्ने।
हामीलाई बाल्यकालदेखि नै हाम्रो लागि पूर्वनिर्धारित एउटा सामाजिक प्रणाली, सामाजिक संरचना र सामाजिक पदानुक्रम अनुरूप बाँच्न सिकाइएको थियो। हाम्रा विचारहरू सामान्य अरूसँग मिल्दोजुल्दो थिए। हाम्रा विश्वासहरूलाई यी विचारहरूले आकार दिए।
कताकता आफूले सोच्न, प्रतिरोध गर्न, नाइँ भन्न हामी सक्दैनौं।
धेरै समयसम्म म यस्तै थिएँ। म त्यही बाटोमा हिँडें, जुन मेरो लागि तय गरिएको थियो। शान्त रहन सिकाएको समाजमा म शान्त नै रहने प्रयास गर्थेँ। ‘क्रिटीकल थिन्किङ' भन्ने कुरोको बारेमा केही पत्तो थिएन। विद्यालयमा पनि सर मिसले जे भन्नुभयो त्यसमा हो मा हो मिलाउनु पर्थ्यो। आलोचनाको लागि कुनै ठाउँ थिएन।
४ क्लाससम्म पढ्दा यसैगरी दिनहरू बिते।
दिन बित्दै जाँदा, म आफै सोच्ने सन्दर्भमा अधिक निष्क्रिय हुँदै गएँ। नेपालको अधिकांश ठाउँको समस्या नै हो; कक्षाहरूमा न्यूनतम अन्तर्क्रियाको साथ विद्यार्थी पढ्छन्। शिक्षकले जे उत्तर भने, त्यसलाई सुँगाले रटे जसरी रटेर परीक्षा दिन जान्छन् विद्यार्थी। बोर्डमा जे टिचरले लेख्यो खुइँखुइँ सार्ने प्रवृत्ति थियो। चित्त बुझ्दैनथ्यो सानै उमेरमा पनि तर मुखमुखे नलाग्नु भनेर बारम्बार सिकेको मैले कहिले बहस गर्न सकिनँ।
एकदिन विद्यालयमा इन्टरहाउस डिबेट कम्पिटिसन हुने भयो। त्यो भन्या के हो केही थाहा थिएन। लाइन लागेर ४ कक्षाका विद्यार्थी पनि ८ कक्षाका विद्यार्थी बोलेको हेर्न गयौं। डिबेटको विषय, 'धनभन्दा विद्या ठूलो'। पक्ष र विपक्ष गरेर मान्छेहरू यसरी बोलेर गए कि म त ट्वाल्ल परेँ। जिन्दगीमा पहिलोपल्ट त्यस्तो केही देखेकी थिइनँ। सधैं सहमति मात्र जनाउनु पर्छ भनेर सिकेको कलिलो दिमागले, पहिलो पल्ट खण्डन सुनिरहेको थियो। असहमति सुनिरहेको थियो। म निकै प्रभावित भएँ त्यो दिन। मानौं पहिलोपल्ट मलाई कसैले यथार्थ अगाडि राखेर झकझकाएको थियो।
पाँचौं कक्षामा पुगेपछि फेरि इन्टरहाउस वादविवाद प्रतियोगिता हुने भयो। मलाई साह्रै रहर लाग्यो त्यसैले भाग लिएँ। अंग्रेजी र नेपाली दुवै भाषामा भाग लिएँ। कक्षामा बोल्न नपाएको भएभरको कुण्ठा निस्किने गरी मैले बोलेकी थिएँ। बल ठूलो कि बुद्धि भनेर तर्कवितर्क भयो। आखिर म प्रथम भएँ।
मैले जीवनमा महसुस गरेको पहिलो सन्तुष्टि त्यही हुनुपर्छ। मैले पहिलोपल्ट बोल्न सिकेको थिएँ। उत्तर दिन सिकेको थिएँ। बहस गर्न सिकेको थिएँ। यसले मलाई धेरै ठूलो आत्मविश्वास दियो। म विस्तारै बदलिन थालेँ।
मेरो कायापलट भएको थियो। कहाँ क्लासमा घोसेमुण्टो लगाएर चुपचाप बस्ने म र कहाँ ६ क्लासमा शिर उठाएर बहस गर्ने म। अरूले चाहन्थे होला बहस प्रतियोगितासम्म मात्र सीमित थियो। तर वादविवाद गर्दा अदृश्य रूपमा मेरो मस्तिष्कमा अमिट छाप बसिसकेको थियो।
एकदिनको कुरो हो हाम्रो अंग्रेजी सरले ‘शर्लोक होल्मस’ लेख्ने आर्थर कोनन डोइलको ‘द डाइङ डिटेक्टिब’ भन्ने कथा पढाइरहनुभएको थियो। पाठ सकिएपछि उत्तरहरू भन्न थाल्नुभयो। त्यहाँ एउटा प्रश्न थियो--कथाको पात्र ‘कुल्भर्टन स्मिथ’ साँच्चै डाक्टर थियो कि थिएन? तिमीलाई के लाग्छ? आफ्नो भाषामा उत्तर देऊ। सरले सबैलाई ऊ डाक्टर थिएन भनेर उत्तर लेखाइराख्नु भएको थियो। मलाई चित्त बुझेको थिएन। आफ्नो विचार लेख्ने प्रश्न थियो। मैले ठानेँ म मेरै उत्तर लेख्छु। मलाई ऊ डाक्टर हो नै जस्तो लागेको थियो। म कारणहरू दिँदै आफ्नै उत्तर लेखिरहेको थिएँ। सरले मलाई गाली गर्नुभयो। किन मैले भनेको उत्तर नलेखेको भन्दै।
मैले भनेँ, 'सर यो प्रश्नमा आफ्नो ओपिनियन सोधेको छ। हजुरको र मेरो उत्तर फरक हुन सक्दैन र?'
सर झनक्क रिसाए, 'के रे? मुखमुखे नलाग्!' भन्दै मुर्मुरिए।
मलाई मैले केही गलत गरेको जस्तो लागेको थिएन। मैले सरी भनिनँ। त्यो दिन जीवनमा पहिलो पटक मैले बहस गरेको थिएँ।
कक्षा उक्लिदै गयो। मेरो भनाभन थुप्रै शिक्षकहरूसँग पर्यो। मलाई सबैले ओभरस्मार्ट, ओभरटल्केटिभ भनेर भन्न थाले। शिक्षकलाई सोच्न बाध्य पारेर केही प्रश्न सोध्थेँ। उहाँहरूलाई अनादर गरेको जस्तो लाग्दोरहेछ। तर म बिस्तारै प्रश्न गर्न सिकिरहेकी थिएँ। किन ? कसरी? केको लागि ? हो मा हो भनेर टाउको हल्लाउने अपेक्षा गरिरहेका मेरा शिक्षकहरू नाइँमा हल्लिने मेरो टाउको र प्रश्नमा उठ्ने मेरा हात देखेर आजित भएका थिए। अनुशासन एक ठाउँमा छ। तर हाम्रो शिक्षा यस्तो छ कि गाईबाख्रालाई जसरी एउटै हुलमा जबरजस्ती विचार थोपरिन्छन्। म समाजसँग आक्रोशित हुँदै थिएँ। सामाजिक प्रणालीदेखि दिक्क हुँदै थिएँ।
घरमा पनि भनाभन पर्थ्यो। म अरूले जे गरिरहेका छन्, त्यसमै सीमित हुन चाहन्नथेँ। यसलाई समाजले घमण्ड भन्थ्यो। कतिले घमन्डी भन्थे, कतिले हाम्लाई सिकाउने भनेर रिसाउँथे। म आफैसँग तर्कवितर्क गर्थेँ। आखिर सोचको बहस हुन सक्दैन र? जीवनमा वादविवाद हुन सक्दैन र? म सोच्थेँ। सानोमा गरेको कलमभन्दा तरबार, बलभन्दा बुद्धि, सहरी जीवनभन्दा गाउँले जीवन, यस्ता वादविवादले मलाई सन्तुष्टि मिलेन। म हरेक ठाउँमा पक्ष प्रतिपक्ष देख्न थालिसकेकी थिएँ।
निकै समयसम्म मेरो यो तिर्खा मेटिएन। पहिलाभन्दा बोल्न, सोध्न स्वतन्त्र थिएँ तर त्यो बौद्धिक भोक निकै समय मेटिएन। मलाई संसार बुझ्नु थियो। समाज बुझ्नु थियो।
म नियमित बोल्थेँ। कार्यक्रम सञ्चालन गर्थेँ । स्पीच प्रतियोगितामा भाग लिन्थेँ। तर यी सबै एकतर्फी थिए।
प्लस टु मैले विज्ञान पढेको हुँ। विज्ञानमा वादविवाद गर्ने कुरो आएन। मेरो लामो समयदेखिको प्रतिक्षा १२ क्लासको अन्त्यमा बल्ल टुट्यो। हाम्रो कलेजमा संसदीय बहस प्रणालीमा वादविवाद हुने भयो। मलाई त्यसको केही अनुभव थिएन। पहिले उही पुरानो शैलीमा बहस गरेको मैले, संसदमा कसरी बहस हुन्छ भनेर बुझ्नुपर्ने भयो। सरकार पक्ष र प्रतिपक्षमा गरिने यस्तो किसिमको वादविवाद मेरो लागि नौलो थियो। अझ अब त तरबार र कलमको लडाइँ होइन, गहन विषयमा प्रस्ताव पो राखिँदो रहेछ।
केपी ओलीलाई पुनः निर्वाचित गर्नु नेपालका लागि राम्रो हो कि होइन भनेर हामीले बहस गर्नुपर्यो।
कहिले सिद्धान्तमा बहस गर्यौं, कहिले व्यावहारिकतामा बहस गर्यौं।
समाज, संस्कृति, मान्यता, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, नियम, इत्यादि कैयौं विषयमा बहस गर्यौं। यसले संसारलाई बुझ्ने मेरो तिर्खा मेटाइदियो। तर यसले सिक्ने र प्रश्नहरू सोध्नको लागि अझ गहिरो जोश जगायो।
२०१७ मा, डिबेट नेटवर्क नेपालले महाकुम्भ नामक राष्ट्रिय डिबेटिङ च्याम्पियनसीप आयोजना गर्यो। मैले पनि कलेजबाट भाग लिएँ। विभिन्न विद्यालयका बौद्धिक बालबालिकाहरूको सहभागिता रहेको यो निकै प्रतिस्पर्धात्मक कार्यक्रम थियो। त्यहाँ पनि हामीले संसारका वास्तविक मुद्दाहरूमा बहस गर्यौं। नारीवाददेखि मार्क्सवादसम्म, हामीले हाम्रा भाषणहरूमा विभिन्न सिद्धान्तहरू प्रयोग गर्यौं, सबैले जित्ने प्रयास गर्यौं। हाम्रो कलेजबाट गएका अमीशा, आर्या र मेरो टिमले आखिरमा फाइनल जित्यो।
बहसले मलाई मुक्ति दियो। त्यहाँ कसैले मलाई मापदण्डमा अडिग रहन वा प्रश्न नगर्न भनेन। म सोच्न र आफैलाई प्रश्न सोध्न बाध्य थिएँ जुन मैले पहिले कहिल्यै गरेको थिइनँ। संसदीय बहस एक व्यवस्थित बहस हो, जसले वास्तविक संसदको नक्कल गर्दछ। तपाईं सरकारी बेन्च र विपक्षी बेन्चमा विभाजित हुनुहुन्छ र त्यहाँ स्पिकरको भूमिका फरकफरक हुन्छ। संसदीय बहसको फरक फरक स्वरूप हुन्छ। ब्रिटिस संसदीय ढाँचा, एसियाली संसदीय ढाँचा, आदि। मैले सोचे जस्तो सजिलो थिएन।
मैले बहस गर्छु भनी सुन्दा धेरै जान हाँस्ने गर्थे ‘डिबेट गरेर के हुन्छ ?’ भनेर नाक खुम्च्याउँथे।
महाकुम्भ जितेपछि म देशकै १० उत्कृष्ट हाइस्कुल डिबेटरमध्ये एक भएँ। म क्रोएसियामा भइरहेको वर्ल्ड स्कुल डिबेटिङ च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय बहस टोली २०१८ का लागि आवेदन दिन योग्य थिएँ। अन्ततः म टोलीमा छनोट भएँ र देशको प्रतिनिधित्व गर्न गएँ। क्रोएसियामा बहस गर्न आएका सबै देशका सहभागीहरू थिए।
म किन बहस गर्छु भनेर प्रश्न गर्नेहरूलाई मसँग जबाफ थियो। म ग्लोबल सिटिजन हुन बहस गर्छु। म राजनीति, अर्थतन्त्र, समाज र वातावरण बुझ्न बहस गर्छु। अल्पसंख्यक र सीमान्तकृतहरूको मुद्दा उठाउन बहस गर्छु। म आफूलाई राम्रोसँग चिन्नको लागि बहस गर्छु। प्रश्न गर्न बहस गर्छु। बुझ्नको लागि बहस गर्छु।
म फर्केपछि मैले प्रतियोगिताहरू जज पनि गर्न थालेँ। मैले विभिन्न टुर्नामेन्टहरू र कार्यशालाहरू आयोजना गर्ने काम गरेँ। मैले डिबेट नेटवर्क नेपालसँग नजिकबाट काम गरेँ। डिबेट नेटवर्क नेपाल, नेपालको राष्ट्रिय डिबेटिङ संस्था हो जुन देशमा बहस संस्कृतिलाई संस्थागत गर्न काम गरिरहेको छ। युवाहरूको लागि युवाहरूद्वारा सञ्चालित यस संस्थाले मलाई देशमा बहसको लहरको ल्याउने सपना साकार पार्न मद्दत गर्यो।
आज हामी विद्यार्थीहरूलाई मात्र होइन विभिन्न संस्थाहरू, एनजिओ र आइएनजिओहरूलाई कार्यशाला र तालिमहरू सञ्चालन गर्छौं।
समाजमा एउटा ठूलो खाडल छ, जहाँ विद्यार्थीहरूलाई आलोचनात्मक रूपमा सोच्न सिकाइँदैन। हाम्रो पाठ्यक्रममा तर्कहरू कसरी बनाउने, सभ्य ढंगले बहस कसरी गर्ने र आफूलाई स्पष्ट रूपमा अभिव्यक्त कसरी गर्ने भन्ने तरिका मार्गदर्शन गर्ने उपयुक्त प्रणालीको अभाव छ। बहस महत्त्वपूर्ण छ किनकि यसले तपाईंलाई राम्रो वक्ता बनाउँछ, तर यसले तपाईंलाई आफूभन्दा भिन्न विचारहरूको पनि सम्मान गर्न सिकाउँछ।
बहस लोकतान्त्रिक समाजको जग हो। बहसको माध्यमबाट, म मेरो विचारमा धेरै प्रगतिशील भएँ। दृष्टिकोणमा अधिक उदार बनेँ। यौन अल्पसंख्यकहरूको अधिकारको लागि लड्नु किन महत्त्वपूर्ण छ भनेर बहस गर्नु अघि मलाई थाहा थिएन। नीतिमा रहेका कमीकमजोरीहरूमाथि प्रश्न उठाउनेदेखि तर्कमा तार्किक त्रुटिहरू औंल्याउनसम्म, आज मैले गर्ने सबै कुराको लागि बहसलाई धन्यवाद दिन्छु।
बहस भनेको विचारको लडाइँ हो। सभ्य ढङ्गले बहस गर्दा क्रान्तिकारी विचारहरू प्रज्वलित हुन्छन्।
हामीले हाम्रा छोराछोरीलाई नियमहरूमाथि प्रश्न गर्न, अधिवेशनहरूलाई चुनौती दिन, बहस र तर्क गर्न सिकाउनुपर्छ। जब एक पुरूषले आफ्नी पत्नीलाई घरेलु दुर्व्यवहार गर्छ। समाजले श्रीमतीलाई सम्झौता गर्न आग्रह गरेको धेरै घटनाहरू छन्। यस्तो अवस्थामा उनी रूढिवादी समाजसँग बहस गर्न र त्यो विषाक्त सम्बन्धबाट बाहिर निस्कन सक्षम हुनुपर्दछ। जब हाम्रो आवाज अनुशासनको बहानामा मौन हुन्छ, हामीले बहस गरेर आफ्नो माग अगाडि ल्याउनुपर्छ।
बहस भनेको प्रतिस्पर्धा मात्रै होइन, यो अनुभूति हो। यो वक्तृत्व हो। यो जीवनको कला हो।
एक पटक म बसमा थिएँ र एक मध्यम उमेरका मानिसले मलाई अनुपयुक्त तरिकाले छोए। मैले प्रतिवाद गर्दै आवाज उठाएँ।
कसैले पछाडिबाट भनेको सुनेँ, ‘छोडेदेऊ नानी, यस्तासँग बहस गर्नु हुँदैन।'
तब मैले शिर उठाएर भनेकी थिएँ, 'बहस भनेको कुनै बन्द कोठामा टेबल ठटाएर हुने कुरो हैन। यदि समाजमा भएका विकृतिको विरूद्ध पनि आवाज उठाउन सकिएन, बहस गर्न सकिएन भने, आफूलाई कसरी मान्छे भन्ने?'
बहसले मलाई आवाज दिएको छ। एक पहिचान, एक आत्मविश्वास दिएको छ। म सही कारणहरूको लागि बहस गर्न सक्छु र लोकतन्त्रलाई प्रतिध्वनि गर्ने आवाज बन्न सक्छु।
मलाई लाग्छ कि, म कहिले पनि बहस र प्रश्न गर्न छोड्ने छैन।
सायद मलाई, 'मुखमुखे नलाग्' भनेर चुप गर्न खोज्ने सबै आवाज आज नि:शब्द भएका छन्।