कोही बिरामी पर्यो रे भन्नेबित्तिकै हामीमध्ये धेरैजसो ओहो के भएछ भनेर अस्पताल पुगी हाल्छौं। आफन्त वा नजिकका साथीसंगी बिरामी पर्दा अस्पताल गएर भेट्ने चलन नै बनाइसकेका छौं। कति आफन्त तथा साथीसंगी त नर्सहरू जत्तिकै सहयोगी पनि बन्छन्।
लाग्छ, यो हाम्रो संस्कार नै बनिसक्यो। भेट्न नगए आफू टाढाको भएजस्तो अनुभूति धेरैलाई हुने गरेको हामीले सुन्दै आएका छौं।
तर बिरामी भेट्न वा हेरविचार गर्न अस्पताल जानुअघि धेरै कुरामा ध्यान दिनुपर्छ। सावधान रहनुपर्छ।
यो लेखमा मैले यही विषयमा चर्चा गरेको छु।
यसका लागि सबभन्दा पहिले थोरै इतिहासतिर लागौं।
किटाणु र सरसफाइको इतिहास
सन् १८५३ देखि १८५६ सम्म क्रिमियन युद्ध भएका बेला बेलायती सैनिकहरूको उपचार्थ भनी सन् १८५४ मा बेलायतले डाक्टर र नर्सहरूको टोली क्रिममा पठायो। त्यो टिममा बेलायती नर्स फ्लोरेन्स नाइटिंगेल पनि सहभागी थिइन्।
युद्धमा घाइते भएकाहरूलाई विभिन्न कोठामा राखी उपचार गरिएको थियो। तर घाइते धेरै सैनिकहरू भटाभट मर्न थाले।
नाइटिंगेलले अवलोकन गरिन् र थाहा पाइन्, ती सैनिकहरूको धेरै रगत बगेर वा धेरै चोटका कारण भन्दा पनि संक्रमणका कारण मृत्यु भइरहेको छ। उदांग घाउबाट किटाणुहरू बिरामीको शरीरमा सजिलै छिरेर संक्रमण गराउन सक्ने रहेछन्। अनि एउटा संक्रमित बिरामीबाट अर्कोमा सर्ने रहेछ। मृत्युको खतरा बढ्दो रहेछ।
नाइटिंगेलले अर्को कुरा पनि थाहा पाइन्, किटाणुहरू बिरामीबाट बिरामीमा मात्र होइन, नर्सले हेरविचार गर्दा पनि सर्ने रहेछन्।
उनले त्यतिबेलै डाक्टर र नर्सहरूको टिम बनाएर बिरामी हेरचाह गर्दा कोठाको सरसफाइ, स्वच्छ हावा, सफा पानी, उज्यालो प्रकाश र स्वच्छता (हात धुने, कपडा र कपाल बाँध्ने र छरपस्ट नपार्ने) नियमहरू अगाडि सारिन्।
सबैले नियम पालना गरेपछि के कस्तो सुधार हुन्छ भनेर उनले बिरामी स्वास्थ्यमा भइरहेको सुधार र मृत्यु हुनेको संख्या रेकर्ड राखिन्। उनको अनुमान सही सावित भयो। यसले गर्दा धेरै सैनिकको जीवन बच्यो।
यसपछि बेलायत फर्किएर नाइटिंगेलले नर्सहरूको पढाइका लागि पाठ्यक्रम तयार गरिन्। सन् १८६० मा विश्वकै पहिलो नर्सिङ कलेज, नाइटिंगेल नर्सिङ कलेज स्थापना भएसँगै उनले सरसफाइ, स्वच्छ हावा, प्रकाश, सफा पानी र स्वच्छताबारे पढाउन सुरू गरिन्।
आज मेडिसिन र नर्सिङ क्षत्रमा हुने स्वच्छताको आधार नाइटिंगेलले नै सुरू गरेकी मानिन्छ।
अब बिरामी भेट्ने कुरासँग यो स्वच्छता र संक्रमणको कुरा कसरी जोडियो भन्ने लाग्ला।
नाइटिंगेलले बिरामी हेर्ने बेलासम्म एन्टिबायोटिक आएको थिएन। किटाणु मार्ने प्रमुख औषधि सरसफाइ र स्वच्छता नै बन्यो। नाइटिंगेलको त्यो 'आविस्कार' ले स्वास्थ्य सेवा दिँदा स्वच्छताको महत्त्व धेरै बढायो। हात, हावा र पानीबाट किटाणु सर्ने रहेछ भन्ने जानकारी भयो।
फलतः ब्याक्टेरिया र भाइरस सर्न नदिन बिरामी वरपर अन्य मानिसहरू हुनु हुँदैन र उपचार गर्नेहरूले पनि संवेदनशील भएर स्वच्छताको रूटिन अपनाउनुपर्छ भन्ने नियम सुरू भयो। धेरै बिरामी संक्रमण हुनबाट जोगिन थाले। यस्ता स्वच्छताका नियम शल्यक्रिया गर्दा प्रयोग गरिन थालियो र बिरामीको मृत्युदर घट्दै गयो।
सामान्य मानिसहरूमा किटाणुबाट बिरामीलाई र आफूलाई कसरी जोगाउने भन्ने ज्ञान कम हुन्छ। जसकारण बिरामी र भेट्न जाने या कुरूवा बस्नेलाई संक्रमण हुने सम्भावना बढी हुन्छ।
सरसफाइ र स्वच्छताबाहेक यी कारणले पनि स्वस्थ मानिस अस्पताल जान ठीक हुँदैन।
बिरामीलाई किटाणु सर्न सक्नु
हामी बिरामी नै नभए पनि हाम्रो शरीरमा ब्याक्टेरिया वा भाइरस हुन सक्छन्। बिरामीको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले भेट्न जानेहरूमा भएका ब्याक्टेरिया वा भाइरसले बिरामीलाई नयाँ संक्रमण दिन सक्छ। उनीहरू पुनः बिरामी परी लामो उपचार गर्न बाध्य हुन सक्छन्।
अस्पतालबाट संक्रमण हुन सक्ने सम्भावना
सर्ने र नसर्ने दुवै प्रकारका रोग लागेर मानिसहरू अस्पतालभित्र आएका हुन्छन्। नसर्ने रोग लागेर आएका कयौं बिरामी अन्य बिरामीको किटाणु सरेर संक्रमित हुन सक्छन्। यस्तो संक्रमणलाई अस्पताल-निमित्त संक्रमण भनिन्छ। स्वस्थ मानिस पनि अस्पताल जाँदा सरूवा रोग बोकेर घर आउने वा आफू नभए रोगप्रतिरोधात्मक शक्ति कम भएका परिवारका अरू सदस्य वा मानिसलाई सार्न सक्ने र बिरामी पार्न सक्ने सम्भावना बढी रहन्छ।
एन्टिबायोटिकले काम गर्न नसक्ने ब्याक्टेरियाको बिगबिगी
एन्टिबायोटिक आउनुअघि ब्याक्टेरियाका कारण लाखौं मानिसको जीवन गयो। दुई सय वर्षभन्दा बढी समय किटाणु मार्ने औषधि खोज्दै बित्यो। बल्ल बल्ल एलेक्जान्डर फ्लेमिङको टिमले सन् १९४० मा एन्टिबायोटिक पत्ता लगायो।
यो खबरले सुरूमा सबै मानिसहरूमा खुसी फैलायो। लाखौं मानिसको जीवन बचायो।
तर एन्टिबायोटिकको प्रयोग बढ्दै गयो। विश्वभरि छरिएर खुलेका मेडिसिन कम्पनीहरूले अर्बौं डलर कमाए। बिस्तारै सस्तो हुँदै गएको एन्टिबायोटिक विश्वका कुनाकुना पुग्यो। प्रयोग व्यापक भयो।
फलस्वरूप एन्टिबायोटिकले काम नगर्ने किटाणुहरू (रेसिस्टेन्ट ब्याक्टेरिया) को विकास हुँदै गयो। जति बढी एन्टिबायोटिक प्रयोग गर्यो, उति नै ब्याक्टेरिया बलियो र नस्ट पार्न नसक्ने बन्दै गए। मेडिसिन भाषामा यसलाई मल्टिरेसिस्टेन्ट ब्याक्टेरिया भनिन्छ। यसको अर्थ थरीथरीका कडा एन्टिबायोटिकले पनि काम नगर्ने ब्याक्टेरिया भन्ने हो।
अहिलेको विकराल स्थिति भनेको केही ब्याक्टेरिया मार्ने एन्टिबायोटिक नै नहुनु हो।
अस्पतालमा धेरैभन्दा धेरै एन्टिबायोटिक प्रयोग गरिन्छ। बिरामीहरूमा मल्टिरेसिस्टेन्ट ब्याक्टेरिया हुन सक्ने खतरा पनि धेरै हुन्छ। त्यो ब्याक्टेरिया स्वस्थ मानिसलाई सर्न सक्छ र बिरामी नपरून्जेलसम्म देखा पर्दैन। बिरामी भएपछि उपचार गर्दा पनि निकै भएन भने बल्ल ब्याक्टेरिया ल्याबमा परीक्षण गरिन्छ। त्यसबाट ब्याक्टेरिया मल्टिरेसिस्टेन्ट भएको र एन्टिबायोटिकले निको नहुने थाहा लाग्छ।
अहिले विश्व मेडिकल समुदायभित्र यसको ठूलो त्रास छ। ब्याक्टेरिया बलियो भएर मानिसलाई मार्न सक्ने भएका छन्। यस्ता ब्याक्टेरिया मार्ने नयाँ एन्टिबायोटिक बन्न सकेको छैन।
अस्पतालमा बिरामी भेट्नै नजाने त?
हाम्रो समाजमा आफन्त भएनन् भने बिरामीलाई पर्याप्त सहयोग मिल्दैन भन्ने सोच छ। नसर्ने रोग हो भने त बिरामीलाई सहयोग गर्न एक जनासम्म मानिस साथमै रहनु बिरामीका लागि उत्तम हुन्छ।
सरूवा रोग रहेछ भने केही दिन उपचार गरेर स्वास्थ्यकर्मीको सल्लाहमा कहिले भेट्न उपयुक्त हुन्छ त्यहीअनुसार गर्न उपयुक्त हुन्छ। अस्पतालमा बिरामीको उपचार गर्न लैजाँदा आफैं बिरामी हुने खतरा छ भने सकेसम्म आफूलाई संक्रमण हुनबाट कसरी जोगाउने भनेर सोच्नुपर्छ।
अस्पताल जानैपर्ने बाध्यता भए आफ्नो स्वच्छता र सरसफाइमा ध्यान दिनुपर्छ। किटाणु धेरैजसो मानिसको हातबाट धेरै मात्रामा सर्ने देखिएको छ। त्यसैले अस्पताल छिर्नुअघि र फर्किने बेलामा साबुनपानीले मिची मिची राम्ररी हात धुनुपर्छ। सकिन्छ भने अस्पतालभित्रका मानिसहरूसँग कम्तीमा एक मिटर दुरी राख्नुपर्छ। कसैसँग हात नमिलाउनु राम्रो हुन्छ। नमस्कार गरेर सम्बोधन गर्न सकिन्छ।
अस्पतालभित्र खोक्दा या हाच्छ्युँ आउँदा मुन्टो निहुर्याएर हातको कुहिना बीचमा पारी या रूमालले मुख छोप्नुपर्छ।
बिरामी कुरूवाले आफ्नो हात धुवाइमा विशेष ध्यान दिनुपर्छ। हरेक काम (सहयोग) गर्नुअघि र पछि, खाना खानुअघि र पछि, चर्पी जानुअघि र पछि, साबुनपानीले राम्ररी हात धुनुपर्छ।
अति नै आवश्यक अवस्थामा बाहेक बिरामी सकेसम्म पूर्ण ठीक भएर घर फर्केपछि मात्र भेट्ने बानी बसालौं।
किटाणु संक्रमणबाट बिरामी र आफूलाई पनि बचाऔं!
(डा. दिपराज थापा जनस्वास्थ्य विज्ञ र प्राध्यापक हुन्। उनी निरी नेपालमा आवद्ध अनुसन्धानकर्ता पनि हुन्।)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)