हाम्रो नेपाली समाजमा आमाबाबुहरू आफ्ना साना छोराछोरीको भविष्यप्रति निकै चिन्तित रहन्छन्। म सानो छँदा पनि मेरो भविष्यलाई लिएर आमाबुबामा चिन्ता देख्थेँ।
आजकाल पनि म बेलामौकामा नेपाल पुग्दा धेरै आमाबाबुहरू छोराछोरीको भविष्यको कुरामा चिन्तित देख्छु। उनीहरूमा छोराछोरीको भविष्य उज्ज्वल होओस् भन्ने भावना र कामना रहेको पाउँछु।
छोराछोरीले तोतेबोली बोल्न थाल्दैदेखि आमाबाबुहरू मेरो बाबु ठूलो भएपछि पाइलट बन्छ, डाक्टर बन्छ; मेरी नानी इन्जिनियर बन्छे, डाक्टर बन्छे भनेर प्रभावित पार्ने प्रयास गर्छन्। स्कुल भर्ना भएपछि १२ कक्षा पूरा गर्दासम्म भविष्यको यस्तै कुनै न कुनै लक्ष्य देखाइरहन्छन्।
यसमा आमाबाबुको माया र खुसी पनि झल्किएको हुँदो हो तर यसले छोराछोरीमा अनुचित दबाब पनि सिर्जना गरिरहेको हुन्छ। हुँदाहुँदा बालबालिकाहरू अभिभावक, शिक्षक, आफन्त, समाजका अन्य व्यक्तिहरू लगायतबाट प्रभावित भएर पढाइको विषय छनोट गर्ने हुन्छन्।
सकारात्मक रूपले प्रभावित हुँदा त प्रोत्साहन नै मिल्ला तर दबाब महसुस गरे भने आफ्नो क्षमताले नभ्याउने र रूचिसमेत नभएको विषय छान्न बाध्य हुन सक्छन्।
आमाबाबुको चाहनाअनुसार भविष्यको पढाइ र पेसा छान्नुपर्ने भयो भने भविष्यमा छोराछोरी पीडामा पनि पर्न सक्छन्।
ठूलो भएपछि के बन्ने भन्नेमा सानैदेखि प्रभावित पारेअनुसार उपलब्धि हासिल नहुन सक्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। मनोबल कमजोर हुन सक्छ।
अन्ततः छोराछोरीहरू ठूलो विशादमा पर्न सक्छन्।
आमाबाबुले साना छोराछोरीलाई के कुराले प्रभावित पार्ने र के कुराको बढी प्रभाव पर्न नदिने भन्नेमा ख्याल राख्नुपर्छ।
यसबाट उनीहरूको भविष्यको मार्ग तय हुन्छ।
यो आलेखमा मैले आफ्नै केही अनुभव र केही बालमनोविज्ञानका पक्षहरू समेट्ने प्रयास गरेको छु।
म विद्यालय पढ्दा मेरा शिक्षक र समाजका अन्य व्यक्तिहरूले यो केटो डाक्टर बन्छ भनेको सम्झिन्छु। अलिक राम्रो पढाइ भएका विद्यार्थीलाई धेरैले भविष्यका इन्जिनियर वा डाक्टरका रूपमा देख्थे। यसै भनेर फुर्क्याउँथे। यसो भन्नु एक किसिमको संस्कृति नै बनेको रहेछ भन्ने कुरा अलिक ठूलो हुँदै गएपछि बुझ्दै गएँ।
एकातिरबाट हेर्दा बालबालिकालाई भविष्यको सपना देखाउनु ठिकै सुनिए पनि यस्तो कुराले उनीहरूमाथि अनुचित दबाब सिर्जना गर्छ। अनुचित ढंगले प्रभावित हुन सिकाउँछ। आफ्नो खास क्षमता पहिचान गर्नेभन्दा पनि भविष्य भनेर देखाइएको सपनाबारे सोच्ने बनाउँछ।
सपना देखाए वा फुर्क्याएअनुसार उपलब्धि हुन सक्ने मार्ग बन्दै गयो भने त राम्रै हुन्छ। त्यसो हुन सकेन भने निकै खराब परिणाम पनि देखा पर्न सक्छ। अर्को, बालबालिकाहरू आफ्नो खास क्षमता पहिचान गर्न असफल हुन्छन्। डाक्टर, इन्जिनियर, पाइलट वा यस्तै उच्च प्रतिष्ठित मानिएका बाहेक निकै राम्रा अन्य काम र पेसा पनि छन् भन्ने थाहा पाउन असफल हुन्छन्।
मेरो सन्दर्भ कस्तो भयो भने मैले एसएलसी परीक्षामा धेरै उच्च अंक हासिल गर्न सकिनँ। चिकित्सा शिक्षा पढेर डाक्टर हुन खर्च गर्ने गरी बलियो आर्थिक अवस्था थिएन। मेरो मनमा चाहिँ सबैले डाक्टर हुन्छ भन्थे तर हुन सकिनँ भन्ने परिरह्यो।
चिकित्सा शिक्षा पढ्न नसके पनि मैले शिक्षाशास्त्रतर्फ गणित विषय पढेँ। गणितमा स्नातकोत्तर पूरा गर्दा स्कुल कलेजमा पढाएर, ट्युसन चलाएर पनि जीवन चल्छ भन्ने सोचेँ।
मेरो भित्री मनमा चाहिँ कलाकार या गायक बन्न सक्छु भन्ने थियो। म नाटकमा अभिनय गर्न चाहन्थेँ। मनमा भए पनि मैले आमाबुबालाई भनिनँ। शिक्षकहरू त डाक्टर बन्छ भन्थे, उनीहरूलाई म कलाकार बन्छु भन्ने कुरै भएन।
धेरै पछि मलाई लाग्यो, मेरो चाहनाअनुसार अघि बढ्न पाएको भए म थिएटरको राम्रो कलाकार पो हुन्थेँ कि! राम्रो गायक पो हुन्थेँ कि। साहित्यकार पो हुन्थेँ कि!
सबैले भविष्यमा डाक्टर हुन्छ भनेपछि मैले आफ्नो भित्री चाहनामा ध्यान नै दिइनँ। आखिर म न आफ्नो रूचि अनुसारको भएँ, न अरूले भने अनुसारको भएँ।
किन आफ्नो इच्छा हेर्छन् आमाबाबु?
नेपाल आर्थिक रूपमा निकै पछि परेको छ। उद्यमशीलता निकै कम छ। बेरोजगारी बढ्दै छ। पारिवारिक र व्यक्तिगत खर्च निकै बढेको छ। घरजग्गा जोड्न कठिन हुँदै गएको छ। यस्ता अनेक कारणहरूले गर्दा आमाबाबुमा भविष्यमा आफ्ना छोराछोरी राम्रो आम्दानी हुने काममा लागून् भन्ने चाहना बढ्दै गएको छ।
यसै पनि आमाबाबुलाई आफ्ना छोराछोरी उच्च प्रतिष्ठित होऊन्, जीवन सुखी होओस् भन्ने चाहना हुन्छ, यस्तै कामना गर्छन्।
छोराछोरीले विशेष क्षमता देखाउन सकून् र राम्रो विषय पढेर उच्च अंक प्राप्त गर्न सकून् भन्ने चाहना सबै आमाबाबुमा हुनु स्वाभाविक हो।
व्यक्ति प्रतिपर्धी हुन सक्यो भने रोजगारी चाँडो प्राप्त हुन्छ, सुरक्षित रोगजारी हुन्छ, सामाजिक प्रतिष्ठा हुन्छ भन्ने धारणा निकै बलियो छ। डाक्टर, इन्जिनियर भयो भने बढी कमाइ हुन्छ भन्ने विश्वास छ।
सुरक्षित भविष्य र प्रतिष्ठायुक्त व्यक्तित्वको चाहना सबैमा हुन्छ। सबै आमाबाबु आफ्ना छोराछोरीको जीवन यस्तै होओस् भन्ने चाहन्छन्। आमाबाबु अशिक्षित नै छन् भने पनि छोराछोरीलाई उच्च शिक्षासम्म पुर्याउन चाहन्छन्।
राम्रो अवसर पाउने क्षमतावान् व्यक्तिले नै हो। यसकारणले पनि सबै आमाबाबु आफ्ना छोराछोरी उच्च क्षमताका होऊन् भन्ने चाहन्छन्। आमाबाबुले आफ्नो विगतबाट अनुभव प्राप्त गरेका हुन्छन्। त्यस्तो अनुभवबाट छोराछोरीको भविष्यबारे विचार गर्छन्।
यी अनेक कारणले आमाबाबु र छोराछोरी दुबै दबाबमा परेका हुन्छन्। बालबालिकाले केही राम्रो गर्न सक्ने अवस्था सिर्जना हुन उनीहरूको वास्तविक क्षमता र रूचि पहिचान हुनुपर्छ। आमाबाबुले छोराछोरीलाई त्यसमै सहयोग गर्नुपर्छ, त्यसमै प्रेरणा दिनुपर्छ। सफलता पनि यसमै प्राप्त हुन्छ।
सबै बालबालिकाका गुण, रुचि र चाहना फरकफरक हुन्छन्। यसै अनुसार उनीहरूलाई अघि बढाउन आमाबाबु अग्रसर हुनुपर्छ।
बालबालिकाका क्षमता र गुण
प्रत्येक व्यक्तिमा वंशाणुगत गुण हुन्छ र यो फरकफरक हुन्छ। एकै आमाबाबुबाट जन्मेका कतिपय जुम्ल्याहाको अनुहार उस्तै देखिए पनि, लिंग एकै भए पनि उनीहरूको दिमाग र सोचाइ फरक हुने गर्छ। रूचि फरक हुन्छ।
सबै बालबालिकामा केही न केही विशेष गुण हुन्छ। यही विशेष गुणले व्यक्तिहरू एकअर्कामा फरक हुन्छन्। कोही गणित मन पराउँछन् र छिटो सिक्छन्। कोही भाषामा रूचि राख्छन् र छिटो सिक्छन्। कोही कला मन पराउने, कोही गीतसंगीत त नाच मन पराउने हुन्छन्। कोही साहित्य मन पराउँछन् र पढ्छन्, लेख्छन्।
बालबालिकामा हुने यस्ता अनेक विविधताले नै अनेक विधा सिर्जना गर्छ। सबै विषयमा अब्बल बन्न सक्ने क्षमता र चाहना भएका बालबालिका विश्वमा विरलै पाइन्छन्।
विश्वमा सफल मानिएका अल्बर्ट आइन्स्टाइन, चार्ल्स डार्बिन वा आइज्याक न्युटन जस्ता वैज्ञानिकहरूमा सानैदेखि केही न केही भिन्न गुणहरू थिए। यिनीहरूको रूचि खास एउटा क्षेत्रमा थियो। उनीहरू एउटै काममा लागे, त्यसमै रातदिन लगनशील भएर नयाँ आविष्कार दिए।
आइन्स्टाइनमा फिजिक्सको अगणित क्षमता थियो। उनलाई डाक्टर बन भनेर दबाब दिएका भरमा उनी बन्ने थिएनन्। डार्बिनले आफ्नै रूचिअनुसार गरे। वैज्ञानिक, लेखक–साहित्यकार, चिकित्सक, पाइलट, अनुसन्धाता, कलाकार, गायक, वाद्यवादक, अभिनेता, नेता जोजो भए पनि एउटा खास क्षेत्रको गहन रूचि र लगनशीलताले सफल भएका हुन्।
देशको अनेक क्षेत्रमा जनशक्ति आवश्यक हुन्छ। अस्पताल चलाउन डाक्टर मात्र भएर हुँदैन। डाक्टर त एउटा अंश मात्र हो। नर्स पनि यस्तै एक अंश हो।
अस्पताल भवनको डिजाइन गर्न आर्किटेक्ट चाहिन्छ। भवन बनाउन सिपयुक्त सिकर्मी, डकर्मी चाहिन्छ। बिजुलीका लागि इलेक्ट्रिसियन, पानीको पाइप र धारा जडान गर्न प्लम्बर चाहिन्छ।
अन्य प्राविधिक कामका लागि प्राविधिक र आइटी विशेषज्ञ आवश्यक पर्छ। प्रशासनिक र लेखाका कर्मचारी पनि चाहिन्छ। गाडी चालक पनि चाहिन्छ।
मानव समुदायमा सबै किसिमका पेसाको महत्व छ। सबै किसिमका सीपयुक्त जनशक्ति आवश्यक पर्छ। एउटै व्यक्तिले सबै काम गर्न सक्दैन।
समाजको विडम्बना के भयो भने कामअनुसार कोही ठूलो र कोही सानो भन्ने मान्यता बन्यो। पैसा धेरै कमाउने मान्छे प्रतिष्ठित र सुखी ठहरियो। यसो भएपछि आमाबाबुले छोराछोरीका लागि बढी पैसा कमाइ हुने गरी पढाइको विषय रोज्न दबाब दिने भए।
रेस्टुरेन्टमा भाँडा सफा गर्ने व्यक्तिको महत्व खाना बनाउनेको भन्दा कम हुँदैन। भाँडा सफा गर्ने काम रेस्टुरेन्टमा खान आउने ग्राहकको स्वास्थ्यसँग जोडिएको हुन्छ। काम सानो वा ठूलो भन्ने भ्रमपूर्ण धारणाका आधारमा कसैको अपमान गर्नु अमानवीय प्रवृत्ति हो।
विकसित मुलुकमा, विशेष गरी युरोपेली मुलुकहरूमा महिनावारी वा घण्टाको हिसाबमा पारिश्रमिक तोकिएको हुन्छ। होटलमा भाँडा माझे पनि वा अन्य सरसफाइको काम गरे पनि वेटरसँग पारिश्रमिकमा खास फरक हुँदैन।
सानो ठानिएको कामका कारणले व्यक्ति अपहेलित हुनु पर्दैन। म भाँडा माझ्ने वा भुइँ पुछ्ने मान्छे हुँ भनेर अपमानित महसुस गर्नु पर्दैन। यस आधारमा कसैले अपमान गर्छ वा सानो काम गरेको भन्छ भने कानूनी कारबाहीमा पर्छ। नेपालमा यस्तो सशक्त कानुनी प्रबन्ध नहुँदा परिश्रम गर्ने मान्छे अपमानित हुनुपर्ने अवस्था छ।
यस्तै परिदृश्यका कारणले आमाबाबुले छोराछोरीलाई उच्च प्रतिष्ठायुक्त मानिने पेसाका लागि तयार गर्ने प्रयास गर्छन्। यसो गर्नु सर्वथा बेठिक पनि होइन तर छोराछोरीको रूचि र क्षमताबाहिर दबाब थोपर्नु चाहिँ अन्याय हो।
छोराछोरीले कम्तीमा आठ कक्षाको पढाइ पूरा गरेपछि मात्र भविष्यको पढाइ र पेसाबारे छलफल गर्नु उचित हुन्छ। चुरो कुरो स्कुल जान थालेकै दिनदेखि आमाबाबुले आफ्नो इच्छा थोपर्नु उचित होइन भन्ने हो।
भविष्यमा जे काम गरे पनि त्यसमा व्यावसायिकता विकास गर्नु र अधिकतम सिपका साथ काम गर्नु बढी महत्वको कुरा हो। प्रत्येक व्यक्ति आफ्नो रूचिअनुसार आफूले रोजेको विषय र पेसामा नै सफल हुन्छ, थोपरेकोमा हुँदैन। यस्ता उदाहरणहरू धेरै छन्।
उपयुक्त पक्षहरू हृदयंगम गरी आमाबाबु–अभिभावक, आफन्त, शिक्षक र समाजका व्यक्ति आफूबाट भविष्यको पढाइ र पेसाका विषयमा बालबालिकामाथि अनुचित दबाब नपरोस् भन्ने कुरामा सचेत रहनुपर्छ।
(जनस्वास्थ्यविज्ञ डा. दिपराज थापा खोब्दे युनिभर्सिटी, स्वीडेनका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन्। उनी अनुसन्धान संस्था 'निरी नेपाल' मा पनि संलग्न छन्।)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)