पहिलेपहिले मुखसम्बन्धी स्वास्थ्यलाई सामान्यतया दाँतको स्वास्थ्यसँग मात्र जोड्ने गरिन्थ्यो। दाँत दुख्यो, दाँत कीराले खायो अनि नफुकाली भएन। यस्ता बाध्यताहरू धेरैले अनुभव हुनुपर्छ। थाहा पाउनुपर्ने कुरा के छ भने मुखको स्वास्थ्य केवल दाँतको स्वास्थ्य होइन; गिजा, जिब्रो र घाँटीको पनि हो।
दाँत बिग्रिनुको असर पूरै मुखमा पर्न सक्छ। मुख शरीरको मुख्य अंग हो। मुखभित्र कुनै समस्या भएमा सिंगो शरीरको स्वास्थ्यमा असर पर्छ। खानाको स्वाद नआउने, दाँत दुख्ने र खाना टुक्रा गर्न नमिल्ने हुँदा खानमै समस्या हुन्छ। आवश्यकताअनुसार खाना नपुग्दा बालबालिका र वृद्धहरूमा त पौष्टिक पदार्थको कमी भएर कुपोषण हुने सम्भावना पनि हुन्छ।
त्यति मात्र होइन मुखको स्वास्थ्य मानसिक स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। दाँत र गिजासम्बन्धी समस्या हुँदा मानिसमा धेरै पीडा हुन्छ। दाँतमा संक्रमण (इन्फेक्सन) हुँदा उपचार हुन सकेन भने व्यक्तिको रगतमा संक्रमण भएर मृत्यु पनि हुन सक्छ। यसरी दाँतको स्वास्थ्य पूरै मुखसँग र मुखको स्वास्थ्य पूरै शरीर र मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ।
सानै उमेरदेखि बालबालिकाको दाँतको र मुखको रेखदेख गरेर उनीहरूलाई दन्त स्वास्थ्यमा असल बानी बसाउनुपर्छ। यसो भयो भने दन्त स्वास्थ्य सधैं राम्रो हुन्छ।
यसरी हुन्छ दाँतको विकास
शिशु गर्भमा हुँदा नै दाँत बन्न सुरू भएको हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। गिजा मुन्तिर दूधे दाँत र त्यसपछि आउने स्थायी दाँतको जिनको स्तम्भ गर्भको सुरूको अवस्थाबाटै खडा भएको हुन्छ। जन्मिनुअघि गिजाभित्र ससाना दूधे दाँतहरू उम्रिसकेका हुन्छन् र करिब छ महिनाको उमेरमा बाहिर निस्किन सुरू गर्छन्।
दाँत निस्किएपछि बालबालिकाहरू चपाउन सिक्छन् र बिस्तारै चपाउन सक्ने हुन्छन्। राम्ररी चपाउन सक्ने भएपछि पौष्टिक पदार्थहरू पनि राम्ररी प्राप्त हुन्छ। सामान्यतया जन्मेको ६ देखि ८ महिनाभित्र दाँत आउँछ। कतिपय बालबालिकामा एक वर्षसम्ममा मात्रै दाँत आउने हुन्छ। एक वर्ष पूरा हुँदा पनि आएन भने दन्त चिकित्सकसँग परामर्श लिएर ढिलो हुनुको कारण थाहा पाउन आवश्यक हुन्छ।
दाँत ढिलो आउनुको अर्थ बालबालिकाको विकासमा असर परेको भन्ने होइन। प्राकृतिक रूपमै केही छिटो वा ढिलो हुन सक्छ। बालबालिकाको विकास पनि फरक फरक हुन्छ। यस्तो फरकले बौद्धिक विकासमा फरक पर्दैन।
दूधे दाँत र स्थायी दाँत
सबैका दाँत दुई प्रकारका हुन्छन्– दूधे र स्थायी।
दूधे दाँत अलि सेता हुन्छन् र उमेरसँग मिल्ने गरी बनेका हुन्छन्। ससाना बालबालिकाको मुखको आकारसँग मिल्ने हुन्छन्, धेरै ठूला हुँदैनन्। स्थायी दाँतहरू समयानुसार बढ्ने र ठूलो हुने अनि मुखको आकार बढ्दै जाँदा त्यसमा मेल खाने हुन्छन्।
दूधे दाँत साधारण खाना चपाउन सक्ने हुन्छन् तर धेरै बलिया हुँदैनन्। यस्तो दाँत सानै उमेरमा ठोक्किएर झरे पनि स्थायी दाँत आउँछ। सामान्यतया दूधे दाँत २० वटा हुन्छन्, १० वटा माथि र १० वटा मुनि।
यी दूधे दाँत लगभग पाँचदेखि सात वर्षको उमेरमा फेरिन सुरू हुन्छन्। सबै दाँत बिस्तारै फेरिँदै जान्छन्। सरदर ९ देखि १३ वर्ष हुँदासम्ममा सबै दूधे दाँत फेरिएर स्थायी दाँत आउँछन् र दाँतको संख्या २८ वटा पुग्छ। पछि बुद्धि बंगारो आउँछ। बढीमा चार वटा बुद्धि बंगारो आएर ३२ वटासम्म दाँत हुन्छन्।
स्थायी दाँत अर्को पटक फेरिँदैन। यसकारण दाँतको हेरचाहमा ध्यान पुर्याउनुपर्छ। राम्रो हेरचाह नभएमा दाँतमा खिया पर्ने, कीरा पर्ने, प्वाल पर्ने र भाँचिने सम्भावना हुन्छ।
धेरैजसो देशमा दाँतको उपचार गर्न, दाँत फेर्न महँगो हुन्छ। कमजोर आर्थिक अवस्था हुनेलाई त दाँतको उपचार गर्न धौधौ नै पर्छ। अभिभावकले आफ्ना बालबालिकाहरूलाई दाँतको हेरचाह र दन्त स्वास्थ्यमा सजग बनाउनुपर्छ। यसका लागि अभिभावकले पनि दन्त स्वास्थ्यबारे जानकारी राख्नुपर्छ।
यी हुन् दाँत बिगार्ने पदार्थहरू
बालबालिकाको दाँतको स्वास्थ्य अवस्था उनीहरूले खाने र पिउने पदार्थमा भर पर्छ। मुखभित्रको ‘पिएच लेभल’ सामान्यतया ६.८ देखि ७.५ सम्म हुन्छ। पिएच लेभलले हाम्रो खानेकुरा र मुखको वातावरण सामान्य बनाउने काम गर्छ। पिएच लेभल जति कम भयो दाँत खराब हुने सम्भावना त्यति नै बढी हुन्छ।
कार्बोनिक एसिड मिसिएका चिसो पदार्थले मुखभित्रको वातावरण असन्तुलित बनाउँछ। यसले दाँतका भागहरू नस्ट गर्ने सम्भावना हुन्छ। विशेष गरी निबुवा, कागती, लप्सी जस्ता सबै प्रकारका अमिला पदार्थ धेरै सेवन गर्नु उचित हुँदैन। कार्बोनिक एसिड मिसिएका र प्याकेटका जुस जस्ता पेय पदार्थ दाँतका लागि हानिकारक छन्।
बालबालिकालाई यस्ता पेय पदार्थ नखान वा अन्यन्त कम खान सिकाउनुपर्छ। अमिलो पदार्थ खाएपछि दूध पिउने गर्दा मुखमा अमिलोपन सन्तुलित हुन मद्दत पुग्छ।
दाँत, मुख र शरीरको स्वास्थ्यका लागि सबैभन्दा स्वस्थ पेय पदार्थ पानी नै हो। बालबालिकालाई तिर्खा लाग्दा कार्बोनिक एसिडयुक्त पेयको साटो पानी पिउने बानी बसाउनुपर्छ।
दाँत बिगार्ने र कीराले खाने समस्या गराउने अर्को हो गुलियो खानेकुरा। गुलियो खानाले दाँतलाई धेरै असर पुर्याउँछ। एकै दिनमा धेरै गुलियो पदार्थ धेरै पटक खाने गरेमा दाँतमा कीरा लाग्ने हुन्छ।
मुखमा हुने ब्यक्टेरियाका लागि गुलियो वातावरण अनुकूल हुने भएकाले दाँतको र गिजाको भागमा अड्किएको गुलियो पदार्थमा ब्याटेरियाले आफ्नो वासस्थान बनाउँछ। ब्याक्टेरियाले गुलियो पदार्थलाई अमिलोमा परिणत गर्छ र दाँत खियाउन मद्दत गर्छ, दाँतमा संक्रमण हुने सम्भावना धेरै हुन्छ।
बालबालिकाले मिठाइ या यस्तै गुलियो पदार्थ बेलुकीपख खाएका छन् भने खाएको एक घन्टाभित्रमा दाँत माझेर सुत्ने बानी लगाउनुपर्छ। यसो गर्दा दाँतमा गुलियो र अमिलो पदार्थ रहँदैन।चकलेट, बिस्कुट, आइसक्रिम जस्ता गुलिया खानेकुरा हप्ताको एक दिन मात्र खानेबानी लगाउनु उपयुक्त हुन्छ। यसका लागि कुनै खास दिन छुट्ट्याउनु उचित हुन्छ। यसो गर्दा बालबालिकाले गुलियो खाने दिनलाई विशेष ठान्छन्।
अमिलो, पिरो र गुलियो खानेकुरा दिनदिनै वा एकै दिनमा धेरैपटक खानु मुख र दाँतको स्वास्थ्यमा नकारात्मक असर पुर्याउनु हो। अभिभावकले बालबालिकालाई दाँत ब्रस गर्न सिकाउनुपर्छ र यसमा बानी बसाउनुपर्छ। यसो गर्दा मुख र दाँतको स्वास्थ्य राम्रो हुन्छ।
यसरी ब्रस गर्नुपर्छ दाँत
दाँत उम्रेदेखि नै बालबालिकालाई ब्रस गराउनुपर्छ। दूधे दाँत त हो भनेर बेवास्ता गर्नु हुँदैन। दूधे दाँत राम्ररी ब्रस गरिएन भने गिजामा र पछि आउने स्थायी दाँतमा नकारात्मक असर पुग्छ।
बाह्र वर्ष उमेरसम्मका बालबालिकाका लागि विशेष किसिमको मन्जन र ब्रस प्रयोग गर्नुपर्छ। यस्ता विशेष मन्जन र ब्रस किन्न पाइन्छ। बालबालिकाले प्रयोग गर्ने मन्जनमा फ्लोराइडको मात्रा कम राखिएको हुन्छ, ब्रस पनि अत्यन्तै नरम बनाइएको हुन्छ। मन्जन र ब्रस छनौट गर्दा दन्त चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
बालबालिका वा वयस्क जसले पनि हलुका तरिकाले दाँत ब्रस गर्नुपर्छ। ब्रस धेरै घोट्नु हानिकारक हुन्छ। धेरै घोट्दा दाँत र गिजा खिइने र कमजोर हुने सम्भावना हुन्छ।
दाँत ब्रस गर्दा २–२–२ नियम पालना गर्नुपर्छ। यसको अर्थ मन्जनको मात्रा ब्रसमा कम्तीमा २ सेन्टिमिटर, दाँत माझ्ने समय कम्तीमा २ मिनेट र दाँतको भित्र–बाहिर तथा तलमाथि दिनको २ पटक ब्रस गर्ने हो।
बिहान र बेलुका खाना खाएपछि दाँत ब्रस गर्ने बानी बसाल्नु राम्रो हुन्छ। ब्रस गर्नुअघि टुथ पिक वा धागोले दाँतका बीचमा अड्किएको खानाको टुक्रा निकाल्नु राम्रो हुन्छ। बेलुका ब्रस गरेपछि केही पनि खानु हुँदैन।
बालबालिकाको दन्त तथा मुख स्वास्थ्यमा अभिभावकको जिम्मेवारी धेरै महत्त्वपूर्ण हुन्छ। खाने, पिउने र दाँत सफा राख्ने उचित तरिका सिकाउने आमाबुबा अर्थात् अभिभावकले नै हो।
(जनस्वास्थ्यविज्ञ डा. दिपराज थापा खोब्दे युनिभर्सिटी, स्वीडेनका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन्। उनी अनुसन्धान संस्था 'निरी नेपाल' मा पनि संलग्न छन्।)
ट्विटर @DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)