मैले यसअघिको लेखमा बाबु बन्नुको अर्थ र महत्त्वका बारेमा चर्चा गरेको थिएँ। नवजात शिशु र बालबालिकाका बारेका मैले लेखेका लेखहरूमा हेरचाह र शिक्षाको कुरा मात्र छैन, मैले आफ्नो भोगाइ र अनुभव पनि समावेश गर्ने गरेको छु।
यो लेखमा म आफू बाबु बन्दाको आफ्नो भोगाइ र अनुभव समेटेको छु। उमेर पुग्यो, जागिर भयो, बिहे भयो। बिहेपछि बच्चा जन्माउने रहर हुने नै भयो। यो रहर सबैलाई हुन्छ होला भन्ने लाग्छ।
नयाँ जीवनको भ्रूण हुर्किँदै गर्दा शिशुको भविष्य निर्माणमा कस्तो भूमिका निर्वाह गर्न सकूँला भनेर धेरै कल्पना हुँदो रहेछ।
स्वीडेनमा बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सरकारको जिम्मेवारी हुने भए पनि मेरो मनमा अनेक कुराहरू खेलिरहे।
मलाई मेरा बाआमाले १६ वर्षको उमेरमै केटी हेर्न पठाएका थिए। म पातलो जिउ भएको केटो थिएँ। केटी चाहिँ मभन्दा अग्ली र अलि बलियो जिउडाल भएकी रहिछन्। केटी हेर्न जाँदा जुनार र सुन्तला टन्न खाएको कुरा आज पनि झल्झली सम्झना हुन्छ। केटीकी आमाले 'ए, माइली लु, सुन्तला र जुनार काटेर ले, पानी पनि ले' भनेर अह्राएको सम्झिन्छु।
एसएलसी परीक्षा दिन बाँकी थियो। राम्रो नम्बर ल्याएर डाक्टर बन्छु भन्ने सपना देखेको थिएँ।
छोराले बिहे गरेर घरजम गर्नुपर्ने र आमाबाबु पाल्नुपर्ने पारिवारिक जिम्मेवारी बोध गर्नु पर्थ्यो। मलाई पनि १८ वर्ष पुग्दा नपुग्दै यस्तो जिम्मेवारी बोध भएको थियो।
मैले उच्च शिक्षा, राम्रो जागिर र उज्ज्वल भविष्यको सपना देखाएर आमाबाबुको इच्छा विपरीत बिहेको कुरा टार्न सकेँ। एसएलसी परीक्षा उत्तीर्ण भएपछि मेरा सामु पढ्ने र जागिर खाने कुरा आयो। यसमै भौंतारिँदै काठमाडौंका अनेक गल्ली चहारेँ।
मनमा पढाइ, जागिर र भविष्यको चिन्ता माकुराको जालो झैं फैलिँदो थियो। हुँदाहुँदा विदेश जाने धुनले सताउन थाल्यो। आम युवाझैं मैले पनि नेपालमा अवसर छैन, भविष्य सुखद छैन भन्ने निष्कर्ष निकालेँ। तँ सोच म पुर्याउँछु भने झैं युरोप जाने अवसर एकाएक देखा पर्यो।
नियतिकै परिणाम होला, म आफ्नो देशको भन्दा बिल्कुलै भिन्न प्राकृतिक वातावरण भएको स्कान्डिनेभियन मुलुक स्वीडेन आइपुगेँ, २३ वर्षको उमेरमा। पृथ्वीको उत्तरी गोलार्धमा चिसो हावा भएको यो मुलुक मेरा लागि सर्वथा नौलो र अनौठो थियो। संघर्षका अप्ठ्यारा बाटाहरू पार गर्दै, अर्काको देश र संस्कृतिमा भिज्दै त्यही समाजमा आफूलाई अनुकूलन गर्नु चानचुने काम होइन रहेछ।
शिक्षा र पेसाले बलियो भएपछि बिहे गर्ने चाहना भयो। अध्यात्मवादी होऊन् वा भौतिकवादी, सबैका लागि आफ्ना गुणहरू सन्ततिमा प्रवाह गर्ने चाहना हुँदो रहेछ र जीवनको महत्त्वपूर्ण पाटो पनि रहेछ। साँच्चै, आफ्नो जैविक गुणको नयाँ जीवन उत्पति गर्नु संसारका सबै प्राणीसरह मानवका लागि पनि अपरिहार्य रहेछ।
वैवाहिक जीवनका प्रारम्भिक दिनहरू खुसीयालीमै बिते। खुसीखुसीमै आमाबाबु बन्ने संकेत देखा पर्यो। यसपछि पो मनमा अनेक सोच विकास हुँदो रहेछ, थोरै चिन्ता पनि। यस्तो बेलामा सात समुद्रपारिको विदेशी भूमिमा परिवारका सदस्य र आफन्तजनको याद आउने रहेछ।
बाबु बन्नुको अर्थ र महत्त्व पनि खोजी हुन थाल्दो रहेछ। विदेशी भूमिमा दुई जनामात्र हुनु र बच्चा जन्माउनु निकै सकसको काम हुनेछ भन्ने चिन्ताले घर गर्दो रहेछ। मलाई यस्तै भयो। नेपालमा संयुक्त परिवारमा हुँदा पुरुषले नवजात शिशुको हेरचाहमा खासै ध्यान दिनु पर्दैन। पुरुष अर्थात बाबुले यसमा धेरै जिम्मेवारी बोध पनि गर्दैन।
आमा, दिदीबहिनी, भाउजु, काकी लगायतले मदत गर्छन्। शिशुको स्याहारसुसार गर्न सिकाउँछन्। छिमेकीले पनि मदत गर्छन्।एकल परिवारमै भए पनि आफन्तहरूका माझमा हुने भएकाले विदशी भूमिमा हुनुको सकस बेहोर्नु पर्दैन। साह्रोगाह्रोमा आफन्तहरूले मदत गर्छन्।
नेपाली समाजमा आफन्त र छरछिमेकीले सहयोग गर्ने असल संस्कृति छ। छोराछोरी हुर्काउन यी सबैले प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्छन्। आमाबाबु आतेसमा पर्नु पर्दैन। उनीहरूले आफन्तहरूमाझ सुरक्षित अनुभव गर्छन्।
स्वीडेनको अवस्था बिल्कुलै भिन्न छ। अचम्मकै कुरा छ, यहाँका मानिसहरू 'काम, काम र काम' बाहेक अरू केही पनि थाहा पाउँदैनन्। उमेर १८ वर्ष पूरा भएपछि ६५ वर्ष पूरा नहुँदासम्म मानिस साताको पाँच दिन कामम व्यस्त रहन्छ। शनिबार र आइतबार लुगा धुने, घरको सरसफाइ गर्ने, परिवारमा बस्ने र रमाइलो गर्नेमा बित्दो रहेछ। बाहिरको दुनियाँसँग केही मतलब नहुने।
यस्तो समाजमा बच्चा जन्माउने र हुर्काउने जिम्मेवारीको कुराले मेरो मनमा चिन्ता बढाएको थियो। गर्भ रहेको थाहा भएकै दिनदेखि चिन्ताले घर गर्न थालेको थियो। बच्चा जन्मिएपछि कसरी हुर्काउने होला भन्ने चिन्ता बढी थियो। पूर्वतयारीको पनि चिन्ता थियो।
स्वीडेनमा बच्चाको स्याहारसुसारमा महिला र पुरुषले बराबर जिम्मेवारी लिनुपर्छ। राज्यले आमा र बाबु दुबैलाई मिलाएर बिदा दिन्छ। कानुनले दुबै जना मिलेर बच्चाको स्याहारसुसार गर भन्छ। यस्तो व्यवस्थाका कारण बच्चाको स्याहारका लागि पुरुष पनि निश्चित समय घरमा बस्नै पर्छ। म विदेशी भए पनि त्यही नियम लागू हुन्थ्यो।
नेपालमा भएको भए परिवारका महिला सदस्यहरू सुत्केरी र शिशुको स्याहारसुसारमा लाग्थे। म आफ्नो काममा हिँड्न पाउँथे। अर्थात सबै पुरुषसरह मैले पनि घरभित्रको कामबाट छुट पाउँथेँ। स्वीडेनको सामाजिक र पारिवारिक परिवेशअनुसार मैले पनि स्याहार सुसारको जिम्मेवारी लिनै पर्थ्यो। स्वीडेनमा आमा र शिशुको स्वास्थ्योपचार निःशुल्क र प्राथमिकताका साथ हुने भएकाले यसबारे भने चिन्ता भएन।
नेपालमा राज्यले यसरी जिम्मेवारी वहन गर्दैन। यसतर्फ पुरुषले बढी जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। नेपाली र स्वीडेनी समाज र राज्य व्यवास्थाको भिन्नताले धेरै कुरा बुझ्ने र सिक्ने अवसर पनि दिएको छ।
म सानो छँदा बासँग डराएको सम्झन्छु। मेरा धेरै साथीहरूको पनि कथा त्यस्तै थियो। घरमा माया दिने र सुरक्षित महसुस गराउने भूमिका आमाको हुन्थ्यो। बाबु त साना छोराछोरीलाई डर देखाएर तह लगाउनमा अर्थात अनुशासित बनाउनमा ध्यान दिन्थे।
अहिले पनि नेपाली समाजको अवस्था यस्तै छ यद्यपि बिस्तारै परिर्वतन पनि हुँदैछ।
पहिलो सन्तान जन्माउनु निकै महत्त्वपूर्ण हुँदो रहेछ। जब हाम्रो पहिलो सन्तानको जन्म भयो, मन, शरीर र हृदय सबै एकै पटक भावविह्वल भयो। त्यो खुसीको वर्णन गरेर साध्य नै छैन। बिल्कुलै विशेष र फरक खुसी थियो जो कुनै पनि खुसीसँग तुलना हुन नसक्ने खालको थियो।
कोमल हातका ससाना औंलाहरू र नरम शरीर हेरेको र मसिनो आवाज सुनेको हिजै जस्तो लाग्छ। म बाबु बन्नासाथ मलाई मेरा बाआमाको स्मरण भएको थियो। बल्ल मनभित्र बाबुआमा हुनुको अर्थ अलि गहिरो रूपमा बुझेको जस्तो भयो।
शिशुलाई नरम गरी छुँदा पनि कतै उसलाई दुख्छ कि, कतै असर पो पर्छ कि भन्ने लाग्दो रहेछ। आफ्नो शिशुलाई दूध खुवाउने, उसको स्याहार गर्ने र आमाबाबुले पालो गरेर निद्रा पुर्याउने कामले एक किसिमको आनन्दको अनुभूति हुन्थ्यो।
शिशु मजाले सुत्दा पनि किन यसरी सुतेको छ भन्ने र रूँदा पनि किन रोयो भनेर चिन्ता हुँदो रहेछ। शिशु हुर्किंदै गएर हाँस्न थालेपछि आमाबाबुलाई पनि सुरक्षा महसुस हुँदो रहेछ।
विदेशी भूमिमा दुई जना मात्रै भए पनि बेसहारा अनुभव गर्नु परेन। शिशुको स्याहारसुसारमा कहिल्यै झन्झट नलाग्दो रहेछ। खुसी पो बढ्दो रहेछ। शिशु हाँस्न, पल्टिन र उसले हातखुट्टा चलाउन थालेपछि आमाबाबुको साथी हुँदो रहेछ। ऊसँग दोहोरो कुरा गरे झैं मायालु पाराले एक्लै बोल्नुको आनन्द झन् बयान गरी साध्य नै नहुने। बच्चा सुतीसुती खेल्न सक्ने भएपछि आनन्दको अर्को सिँढी थपिँदो रहेछ।
यी खुसीका क्षणहरूबाट आमाबाबुलाई धेरै नयाँ र व्यावहारिक ज्ञान मिल्दो रहेछ। कति त परेरै जानिँदो–सिकिँदो रहेछ। बच्चा मुस्कुराउँदा म आफ्नो सबै थकान र तनाव चट भएको महसुस गर्थेँ। बच्चाको कोमल शरीर स्पर्श गर्नु र उचालेर छातीमा टाँस्नुको सुखानुभूति अकल्पनीय र वर्णनातीत अनुभव हुँदो रहेछ।
हाम्रो पहिलो छोरो साढे तीन वर्षको हुँदा दोस्रो छोरो जन्मियो। उसको स्याहारसुसार धेरै सजिलो भयो। पहिलो पटकको अनुभवले सिकाएको थियो। एउटा बाबुका रूपमा मैले आफ्ना छोराहरूलाई पर्याप्त स्याहार र माया दिन सकेको अनुभव भएको छ।
उनीहरूबाट सिक्ने अवसर पनि पाएको छु। बालमोविज्ञान र बालविकासका धेरै पक्षहरू बुझ्ने अवसर पाएको छु। बाबु हुनुको मनोविज्ञान अनुभव गर्न पाएको छु। अनि आफ्ना आमाबाबुप्रति कृतज्ञ भएको छु।
अहिले मेरा दुई छोरा दस वर्ष र छ वर्ष उमेरका भए। म उनीहरूसँग खेल्छु। उनीहरू मसँग खेल्छन्। दुवै छोरा आमा र बाबु दुवैसँग बराबर खुसी हुन्छन्। आमा वा बाबुमध्ये जोसँग पनि रमाउँछन्। म बाबुले पनि छोराहरूको स्याहारसुसारमा आमासरह काम गरेको हुनाले हाम्रा छोराका लागि आमाबाबु बराबर भएका छौं।
बाबुले छोराछोरीमा अनुशासनको भय सिर्जना गर्ने क्रम टुट्न गएको छ। मेरो खुसीको अर्को पाटो यो पनि भएको छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)