जब हामी बच्चा जन्माउने र हुर्काउने कुरा गर्छौं तब आमाको कुरा पनि धेरै गर्छौं। आमाको महत्त्वको धेरै वर्णन गर्ने र स्याहारसुसारको अभिभारा पनि आमालाई मात्र थोपर्ने चलन छ।
नेपाली परिवारमा आर्थिक व्ययभारको जिम्मेवारी पुरुषले लिने अनि महिलाले बच्चाको स्याहारसुसार र घरको काम गर्नुपर्ने चलन बस्यो। शारीरिक परिश्रम पर्ने काम, जागिर, व्यापार, आर्जनको कुनै पेसा इत्यादि गरेर परिवारको आवश्यकता परिपूर्ति गर्ने जिम्मेवारी पुरूषको भयो।
छोराछोरी जन्माएर स्याहार्ने, घरभित्रको काम गर्ने र खेतीमा सघाउने जिम्मेवारी महिलाको भयो।
अझै पनि ग्रामीण क्षेत्रका धेरै परिवारमा यस्तै चलन छ।
शिक्षा, चेतना र अवसरको व्यापकता तथा आधुनिक सुविधाका कारण परिवारमा पुरूष र महिलाको जिम्मेवारीमा पनि फेरबदल हुन थाल्यो। महिलाहरू पनि प्रत्यक्ष आर्थिक उपार्जनको काममा लाग्न थाले। अवसरका हिसाबले महिला र पुरूष बराबर हुँदै गए।
यस्तो बदलिँदो परिस्थितिसँगै छोराछोरीको स्याहारसुसार र हेरचाहमा पुरुषको जिम्मेवारी कति हो भन्ने प्रश्न उठ्न थाल्यो, यस विषयमा छलफल हुन थाल्यो। यसले व्यापकता पनि पाएको छ।
यो लेखमा म विशेषतः कुनै पुरुष बाबु हुँदा उसको शरीर र मनोविज्ञानमा हुने परिवर्तनका विषयमा चर्चा गरेको छु। बालबच्चाको हेरचाह र उनीहरूको शारीरिक–मानसिक विकासमा बाबुको भूमिकाको महत्त्व पनि चर्चाको विषय हुनेछ।
जीवन र दैनिक व्यवहारका सबै कुरा पढेर मात्र जानिने होइन। पढेरभन्दा परेर धेरै जानिन्छ भन्ने त कथन नै छ। धेरै कुरा त परेर अर्थात भोगेर जानिन्छन्। बारम्बारको प्रयास र भुलबाट पनि सिकिन्छ।
मैले पनि बाबु बन्नुको अर्थ आफूले दुई सन्तान हुर्काउँदै गर्दा थाहा पाउँदै गएको छु। बच्चाको स्याहारसुसार र शारीरिक–मानसिक विकासबारे सिक्दै र महसुस गर्दै गएको छु।
बाबु बन्नुको अर्थ र अनुभव प्रत्येक व्यक्तिका लागि फरक–फरक पनि हुन सक्ला। हरेक पुरूषले सन्तान जन्माउँदा र हुर्काउँदाको समय–परिवेश र सन्तानप्रतिको लगावले निर्धारण गर्छ।
बालबालिका आमाप्रति नै बढी रमाउँछन्, सजिलो मान्छन्। यसो हुनुमा आमाले नौ महिना गर्भमा राखेर जन्माउनु मात्रै मुख्य कारण होइन। बच्चामा वंशाणुगत गुण आमा र बाबुबाट बराबर सरेको हुन्छ। भावनात्मक सम्बन्ध पनि आमा र बुबा दुबैसँग बराबर हुन्छ।
जन्म भइसकेपछिको परिस्थिति भने फरक हुन सक्छ। जन्मपछि सबभन्दा नजिक रहेर जसले स्याहारसुसार र पालनपोषण गर्छ, बच्चा उसैप्रति बढी आकर्षित हुन्छ, उसँगैसँग रमाउँछ, लहसिन्छ। नेपालको सामाजिक परिवेशमा र प्रायः संसारभर नै बच्चा आमासँग नै सबैभन्दा बढी नजिक हुन्छ। हुर्किने क्रममा सबैभन्दा बढी समय आमासँगै बिताएको हुन्छ।
अक्सर गरेर पारिवारिक जिम्मेवारी, पेसा–व्यवसाय इत्यादिका कारणले बाबु बढी समय घरबाहिर हुन्छ। घरमा हुँदा पनि बालबालिकासँग धेरै समय बस्दैन।
हुर्किँदो उमेरका छोराछोरीहरू यसरी आमासँगको तुलनामा बाबुसँग कम सम्पर्कमा हुन्छन्। सैद्धान्तिक रूपमा जेजसो भनिए पनि अपवादबाहेक नेपाली समाजको यथार्थ यही हो। विज्ञानले प्रमाणित गरेको कुरा के हो भने शिशुले बाबु र आमा दुबैको आवाज गर्भस्थ अवस्थामै पहिचान गर्न सक्छ। आमाको गर्भमा रहने भएकाले शिशु आमाकै आवाजसँग बढी परिचित हुन्छ।
विज्ञानको यो तथ्य थाहा पाएका बाबुहरू आजकाल गर्भवती श्रीमतीसँग बढी समय बिताउन र गफ गर्न चाहन्छन् ताकि बच्चाले बाबुको आवाज पनि पहिचान गरोस्। गर्भस्थ शिशुलाई बाबुको आवाज सुनाउने अन्य उपाय पनि गर्छन्। यसो हुँदा नवजात शिशुले आमासँगै बाबु पनि पहिचान गर्छ। परिचित आवाजहरू सुनेर सुरक्षित महसुस गर्छ, खुसी हुन्छ।
बच्चा जन्मिएपछि आमामा ‘अक्सिटोसिन’ भन्ने हर्मोन उत्पादन हुने गर्छ। अक्सिटोसिन आमाको मनमा सकारात्मक प्रभाव पार्ने; आनन्द, सन्तुष्टि र खुसी दिने हर्मोनका रूपमा चिनिन्छ। केही अध्ययनहरूले बच्चा जन्मिएको बेला बाबुमा पनि अक्सिटोसिन हर्मोनको मात्र बढेको तथ्य पत्ता लगाएका छन्।
सन्तान जन्मिँदा बाबुमा पनि उमंगको भाव पैदा भएको हुन्छ, मनमा खुसी छाएको हुन्छ। अक्सिटोसिन हर्मोन वृद्धिले नै यसो भएको हो भन्ने प्रमाणित भएको छ।
बच्चा जन्मने समय नजिकिँदै गर्दा आमामा एक किसिमको भय उत्पन्न हुन्छ। मनमा के कसो होला भन्ने कुरा हुन्छ। पहिलो पटक बच्चा जन्माउनेलाई यस्तो भय तुलनात्मक रूपमा बढी हुन्छ। यस्तै भय बाबुमा पनि हुन्छ। बच्चा जन्मेपछि दुबै जना खुसी हुन्छन्।
अझ आमालाई त बच्चाको स्याहार, स्तनपान लगायतका कामको पनि चासो हुन्छ। यस्ता काम आमाले मिडवाइफ र परिवारजनबाट सिक्छिन्। स्वीडेनमा महिला गर्भवती भएदेखि सुत्केरी हुँदासम्मका प्रक्रियाहरूमा पुरुष अर्थात हुनेवाला बाबु संलग्न गराइन्छ। बच्चा जन्मेपछिका प्रक्रियाहरूमा आमासरह बाबु पनि संलग्न गराइन्छ। बच्चालाई पुग्ने गरी आमाको दूध नआएमा र पोषण पर्याप्त नभएमा उत्पन्न हुने जटिलता, पोषक तत्त्व परिपूर्तिको उपाय, आमालाई गर्नु पर्ने सहयोग इत्यादिबारे पुरूषलाई जानकारी गराउने चलन छ।
नेपालमा नर्सहरूले गर्भवतीलाई आवश्यक कुरा भन्छन्, शिशुको स्याहारसुसार र पोषणबारे बताउँछन् तर पुरूषलाई जानकारी गराउन आवश्यक ठान्दैनन्। सामान्यतया नेपाली समाजमा बच्चा जन्मिँदा सहयोग गर्नेहरू धेरै हुन्छन्– हजुरआमा, ठूलीआमा, काकी, परिवारका अन्य महिला सदस्य, छिमेकी महिला इत्यादि।
गर्भवतीको अवस्था जटिल भएमा पुरुषहरू पनि जुट्छन्।
स्वीडेनको हकमा भने बच्चाको स्याहारसुसारको जिम्मेवारी मुख्य गरी आमाबाबुकै हुन्छ। यसकारण बाबुको भूमिका पनि आमाकै बराबर हुन आवश्यक मानिन्छ। हुन त स्वीडेन र अन्य विकसित मुलुकमा पनि रोजगारी/बेरोजगारी र अर्को कुनै कारणले चाहेरै पनि बाबुले बच्चालाई आमासरह समय दिन नसक्ने हुन सक्छ। यस्तो अवस्थाबाहेक सामान्यतया आमाबाबु दुवैले बच्चाको स्याहारसुसारमा सरदर बराबर समय दिन्छन्।
नेपालमा भने बच्चाको स्याहारसुसारको जिम्मा जानेर–नजानेर वा परम्परागत सोचका कारण आमाकै हो भन्ने ठानिन्छ। बाबु फुर्सदमै भए पनि बच्चाको स्याहारसुसारमा आफ्नो जिम्मेवारी महसुस गर्दैन। फुर्सद भएसम्म बच्चासँग रमाउन र खुसी हुन भने अघि सर्ने गर्छ।
आमाले झैं बाबुले बच्चासँग खेल्ने, बच्चा बोल्न नसक्ने हुँदा पनि दोहोरो गफ गरेझैं कुरा गर्ने, गीत सुनाउने जस्ता काम गरेमा बच्चाको मनोविज्ञान बुझ्न र अनुकूल व्यवहार गर्न सहज हुन्छ।
बच्चाहरू खेलेर सिक्छन्, खेलेरै शारीरिक विकास गर्छन्। बच्चासँग खेल्दा उसको सिकाइ र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्छ। यस्तो गतिविधिमा शैशवावस्थादेखि बच्चा १०–१२ वर्ष उमेरको हुँदासम्म बाबु पनि आमासरह संलग्न हुनुपर्छ।
हुर्किँदै जाँदा बच्चाले साथी बनाउँछ, साथीसँग खेल्न थाल्छ। बालबालिकाहरूले आफ्नै खेलटिम निर्माण गर्छन्। बिस्तारै आमाबाबुको भूमिका कम हुँदै जान्छ।
बाबुले बच्चासँग रमाउने समय निकाल्नु पर्छ। हरेक साँझ कुनै न कुनै कथा र गीत सुनाउनु पर्छ। पढ्न थालेपछि सुत्नुअघि आवाज निकालेर केही न केही पढ्ने बानी लगाउनु पर्छ। खेल्न सक्ने भएपछि उनीहरूसँगै खेल्नु पर्छ।
मैले पनि मेरा दुई छोरासँग सकेसम्म यसै गर्ने प्रयास गरेँ।
बच्चालाई सुनाउने कथा–गीत उसमा सकारात्मक भावना विकास गर्ने खालका हुनुपर्छ। खेल पनि ज्ञानबर्द्धक हुनु उचित हुन्छ। बच्चाको मनमा डर लाग्ने र भ्रम सिर्जना गर्ने खालका कथा सुनाउनु हुँदैन।
दोहोरो कुरा गर्न सक्ने र सामान्य रूपमा भाव ग्रहण गर्न सक्ने भएपछि मात्रै कथा सुनाउनु उचित हुन्छ। सामान्यतया पाँच वर्ष नाघेपछि साधारण कथा सुनाउन थाल्नु पर्छ। यसअघि गीत सुनाउनु राम्रो हुन्छ।
बच्चाको लागि खेलको महत्त्व धेरै हुन्छ। सात वर्षभन्दा कम उमेरसम्म बच्चालाई खेलबाट मात्र सिक्ने अवसर दिनु उचित हुन्छ। बच्चाहरू एउटै खेलमा पनि लामो समय अलमलिन सक्ने हुन्छन्। यसो हुँदा आमाबाबुलाई पनि सजिलो हुन्छ। बच्चाले रूचि दिन छाडेपछि भने अर्को खेल सुरू गर्नुपर्छ।
आमासँग त बच्चा सधैं निकटमै हुन्छ। बाबुसँग निकट हुने सबैभन्दा राम्रो उपाय खेल नै हो। बुबा आएपछि खेल्छ पाइन्छ भनेर बच्चा खुसी हुन्छ। बाबुसँग रमाउँछ।
अहिलेको जमानाका बाबुहरूले आफ्ना बच्चालाई अधिकतम समय दिन प्रयास गर्नुपर्छ। आमाले समय दिन नसकेका बेला बाबु साथमा हुनु उचित हुन्छ।
बच्चासँग समय बिताउनु र उसको शारीरिक–मानसिक विकासमा सहयोग गर्नु बाबुको पनि दायित्व हो। यस किसिमले हुर्किएका बच्चाले बाबुसँग पनि बिनासंकोच आफ्नो मनको कुरा भन्न सक्छ।
सामान्यतया नेपाली समाजमा छोराछोरीहरू आमासँग बढी निकट हुने भएकाले आफ्नो मनको कुरा पनि आमासँगै भन्न सजिलो मान्छन्। बच्चाहरू बाबुसँग पनि सजिलो गरी आफ्नो कुरा भन्न सक्ने भए भने उनीहरूलाई आइपर्ने समस्या समाधान गर्न सजिलो हुन्छ।
बालमनोविज्ञान र बालबालिकाको शारीरिक–मानसिक विकासको आधारमा हेर्दा बच्चाको पहिलो ६ वर्ष रमाइला खेलमा र यसपछि खेलसँगै सामाजिक ज्ञान र पढाइलाई प्राथकिता दिनुपर्छ।
मेरा बुबा प्रत्येक पल मेरा साथमा छन्, मेरो कुरा बुबालाई भन्न सक्छु, म बुबाबाट सहयोग पाउँछु भन्ने आत्मविश्वास सिर्जना गर्ने जिम्मेवारी बाबुकै हो।
यसरी छोराछोरीको व्यक्तित्व विकासमा बाबुले आफ्नो भूमिका बढाउनु राम्रो हुन्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)