ओपरा विन्फ्रेले आफ्नो टेलिभिजन करिअरमा हजारौं अतिथिलाई उनीहरूको व्यक्तिगत उतारचढावदेखि विश्व राजनीतिसम्मका लाखौं प्रश्न सोधिन्। त्यति नै प्रश्न उनले आफ्नो अन्तर्मनलाई सोधिन्।
ओपराले कति जवाफ पाइन्, आफ्नै प्रश्नको जवाफ आफूलाई कति दिइन्, सायद उनले नै बताउने छिन्।
म ओपराले प्रश्न गरिरहँदा ती प्रश्नको वजनसँगै प्रश्नवाचक चिह्न झन् ठूलो हुँदै गएको देख्छु। त्यही प्रश्न कोठामा एक्लै बसेर दोहोर्याउँछु। ओपराले पाउने जवाफभन्दा उनले गरेका प्रश्नले मेरो मन जित्ने गर्छ।
उनले सोधेका प्रश्न सुन्दा लाग्छ, ती प्रश्न अचानक सिर्जना भएका होइनन्। यस्तो लाग्छ, उनले ती प्रश्न वर्षौंदेखि सँगालेर राखेकी थिइन्। भनिन्छ बच्चा गर्भमा आएपछि एउटी महिला पूर्ण हुन्छिन्। ओपराको जीवनमा अर्कै भयो।
मिसिसिपीमा जन्मिएर गरिबीसँगै हुर्किएकी ओपरा १४ वर्षमै गर्भवती भइन्। त्यो गर्भ स्वेच्छाको थिएन।
आफूसँग वा आफूमाथि के भइरहेको छ भन्ने ज्ञानसमेत नहुने उमेरदेखि उनी आफ्नै काकाबाट बलात्कृत भइरहेकी थिइन्। यी सबै पीडाका बाबजुद उनको गर्भबाट जन्मिएको बच्चा बाँच्न सकेन। तर उनी बाँचिन्। बाँचेकी मात्रै होइनन्, हजारौं ओपराहरूलाई बाँच्न सिकाइन्, प्रेरणाको स्रोत बनिन्।
ओपरा आफूले गरेको प्रश्नले आफैंलाई धेरै दुखाएको भावमा प्रश्न सोध्छिन्। जवाफ पाउनासाथ उनी अर्को वजनदार प्रश्न गर्छिन् जुन प्रश्नमा दानव र देवता दुवै मिसिएको प्रतीत हुन्छ।
मैले सोध्ने प्रश्न ओपराका जस्तै नभए पनि, उनका प्रश्नसँग नमिले पनि, मेरा प्रश्नले पनि जवाफ खोजका हुन्छन्।
मलाई लाग्छ मैले सोधेका प्रत्येक प्रश्नको जवाफ पाऊँ। अझ भन्न मन लाग्छ, मैले सोधेका सबै प्रश्नको पूरै जवाफ पाऊँ।
हरेक प्रश्न जवाफको हकदार हुन्छ। ओपरालाई पनि यस्तै लाग्दो हो र त उनका लागि प्रश्न प्रिय छन्। प्रिय लाग्नेसँगै त हक खोजिन्छ, म पनि चाहन्छु मेरा प्रश्न केवल प्रश्न नहोऊन्, जवाफ बोकेर फर्किऊन्।
सायद अरूलाई गरिने प्रश्न सबैलाई मन पर्छ। किनभने कहिलेकाहीँ आफूले सोध्न नसकेका प्रश्नमा आफूले खोजेको जवाफ पाइन्छ।
बिस्ताराबाट उठ्नुअघिदेखि नै मेरा अघिल्तिर उभिएका हुन्छन् प्रश्नहरू, घरबाहिर गएपछि थपिन्छन्, अझ अफिस पुगेपछि खात लागिदिन्छन्।
त्यही बेला कोही बिरामी भएर अस्पताल लैजानुपर्यो भने दिमागमा प्रश्नबाहेक केही हुँदैन।
अस्पताल पुग्दासम्मको बाटो, गाडी र संरचनाहरूले राति बिस्तरामा पुगुन्जेलसम्म पागलबाहेक सबै बनाएका हुन्छन्। ज्यान थाकेर पानी भएको हुन्छ। मेरा प्रश्नहरू भने जिद्दी बनेर जाग्राम बस्छन्।
यी प्रश्नमध्ये कतिको जवाफ आफैंले दिनुपर्ने होला, कतिको अरूले। जवाफ नदिनु र नपाउनुमा प्रश्नको कुनै गल्ती हुँदैन। प्रश्न गलत हो भने पनि गलत भनिदिनु नै जवाफ हो।
म सोच्छु, बिहानदेखि ठिंग उभिएका मेरा प्रश्नले जवाफ पाऊन् र मलाई आनन्दले निदाउन दिऊन्। मेरो सपनामा नआऊन्, रातभरि मलाई नसताऊन्, निद्रा बिथोलिएर भोलिपल्ट मेरो आँखा नपोलून्, राता नदेखिऊन्।
भोलिपल्ट हरेक बिहान 'रोएको हो' भनेर कसैले नसोधोस्। मेरा प्रश्न अनुत्तरित हुने शृंखला नदोहोरियोस्। मैले निद्रा लाग्ने औषधि खानु नपरोस्। मलाई कसैसँग पनि बोल्न मन नलाग्ने नहोओस्। ममाथि यी यावत् प्रश्न नउठून्।
हरेक प्रश्न सन्दर्भसँग जोडिने रहेछन्। हिजो जवाफ हो भन्ने लागेका कति कुरा आज प्रश्न लाग्ने रहेछन्। हिजो सोधिएका प्रश्नको जवाफ आज भेटिने रहेछ अनायासै। अस्तित्व प्रश्नको पनि रहेछ, मेटिने–मेटाउने त प्रश्नकर्ताले नै हो रहेछ।
मलाई प्रश्नसँग डर लागेको होइन। कुनै दिन मेरा हरेक प्रश्नले जवाफ पाउनेछन्, ओपराका प्रश्नले पाएजस्तै।
ठूलो डर प्रश्नभित्रकै लडाइँको मात्रै हो।
म चाहन्छु, म्याद सकिएका प्रश्नले आफूलाई नाम दिन नखोजून्। कुनै प्रश्नले म सान्दर्भिक हुँ, मैले जवाफ पाउनुपर्छ भन्नु नपरोस्। अर्को प्रश्नले आफू संवेदनशील भनेर जवाफको दाबी नगरोस्।
केही प्रश्न शान्त छन्, उनीहरूको पनि मन नदुखोस्। रिसले भरिएका प्रश्नहरू जवाफ पाऊँ भनेर मेरो मस्तिष्कमा अनसन नबसून्। प्रश्नै प्रश्नको रणभूमिमा मन र मस्तिष्कको बेमेल नहोओस्। युद्ध नचलोस्।
यसरी मेरो मनमा प्रश्न उब्जाउने को थिए? कहाँकहाँका थिए? व्यक्ति मात्रै कारक थिए कि परिस्थितिको पनि भूमिका थियो?
भूमिका स्थितिको पनि हो भने त्यो कसरी सिर्जना भयो? मेरो प्रश्न सोधिनबाट नरोकिएझैं, जवाफ दिनुपर्नेहरूलाई केले रोक्यो?
ओपराका प्रश्नहरूले सोधिनुपर्छ भने, ओपराले सोधिरहिन्, लुकेका जवाफहरू बाहिर आउन थाले।
जजसले गर्दा मेरो निद्रा हराएको थियो, ऊनीहरूसँग मेरो भेट एक छिनको थियो। एक छिनको भेटमै निद्रा खलबल्याइदिन सक्नेले निद्रा ल्याइदिन सक्नु पर्दैन? बिगार्न जान्नेले सपार्न पनि जान्नुपर्छ। पर्खाल भत्काउनेले पर्खाल बनाउन पनि जानेको हुनुपर्छ।
जवाफ पाएन भने प्रश्न अमूर्त भइरहँदो रहेछ। त्यसैले त अन्यायमा परेकाहरूको मुद्दा सधैं जीवित भइरहँदो रहेछ। प्रश्नको अन्त्य जवाफले मात्रै गर्न सक्ने रहेछ, अन्यायको अन्त्य न्यायले गरेजस्तै।
प्रश्न नउब्जिएको कहिले छ र? सृष्टिको सुरूआत पनि त प्रश्नबाटै भएको थियो। त्यसपछि कल्पना गरिएका हरेक संरचना तिनै प्रश्नका जवाफ हुन्। म बाँचिरहेको परिवेशमा प्रश्नले जवाफ पाउन त्यति सजिलो रहेनछ अहिले जति सजिलो ओपराका प्रश्नलाई भएको छ।
हुन त नेपालमा अभिव्यक्ति स्वतन्त्रता २००४ सालको संविधानमै थोरै भए पनि समेटिएको थियो। त्यसपछि २००७ को क्रान्तिले ल्याएको परिवर्तनपछि वाक अर्थात् अभिव्यक्ति स्वतन्त्रताको कानुनी हक प्राप्त भयो। सायद मेरा बाजेबजैका पनि अनेक प्रश्न थिए। त्यसले त जवाफ पाउने आशामा बोल्न पाउनुपर्छ भन्ने आवाज उठाएका थियो होला।
त्यो हक पाएर मेरा बाजेबजैले घाँटी सुक्ने गरी नारा लगाएका थिए। त्यो विद्रोहको फल अहिले यति नमिठो कसरी भयो?
प्रश्न गर्न जजसले रोक्छन्, उत्तर दिन पनि के तिनैले रोक्छन्? रोकिनु त आफैंमा कमजोर हुनु हो, होइन र? प्रश्न नाजवाफ हुनु भनेको जवाफ रोकिनु हो।
अनि के कसैले दिने जवाफ प्रश्नभन्दा कमजोर हुन्छ? जवाफ कसरी मौन बनिदिन्छ? कसरी नाजवाफ बनिदिन्छ?
२०७२ मा संविधान सभाबाट जारी भएको नेपालको संविधानसम्म आइपुग्दा अभिव्यक्ति स्वतन्त्रताको दायरा बलियो र फराकिलो भएको छ। यतिन्जेलसम्म मेरा बाजेबजै पुस्तादेखि बाआमा पुस्तासम्म आइपुग्यो। बितेको ७५ वर्षमा अभिव्यक्ति स्वतन्त्रता अझ बलियो हुनुपर्ने हो। अमेरिकामा ओपराले पाउनेजस्तो जवाफ मैले पनि पाउनुपर्ने हो।
आज पनि सोध्न मन लागेका मेरा प्रश्न कोठाबाट निस्किसकेपछि किन निसासिन्छन्?
केही दिनअघि शिक्षण पेसाबाट अवकाश पाउँदै गरेका मेरा बासँगै म काठमाडौंको छाउनीस्थित शिक्षक किताबखाना पुगेँ। बिहान १० नबज्दैदेखि शिक्षकहरू उभिएका छन्। त्यहाँ उभिएका प्रायः शिक्षक ६० वर्ष उमेरका छन्। बस्नलाई दुई-तीनवटा बेन्च छन्।
निवृत्तिका लागि आएका शिक्षकहरू कपाल फुल्न थालेका र तालु टल्किन थालेका देखिन्छन्। गाला खुज्मुज्ज परेका छन्। बैसाखी टेकेका पनि देखेँ। कोही नाम बोलाएको नसुनिएला भन्ने डरमा थिए।
मेरा बाले तीन दशकसम्म हजारौं विद्यार्थीका प्रश्नको जवाफ दिए। तिनै बाले अवकाशको कागजपत्र मिलाउन किन मेरो सहारा खोजे होला?
मनभरि यही प्रश्न बोकेर किताबखाना पुगेकी म दिउँसोभरिमा जवाफ होइन, अनेक प्रश्न बोकेर फर्किएँ।
आफ्ना विद्यार्थीको भविष्य नखुम्चियोस् भनेर प्रश्न र उत्तरको परीक्षामा जीवन व्यतीत गरेका मेरा बा र बाजस्ता हजारौं शिक्षकले पाउने नतिजा करेली परेको निधार र चाउरी परेको अनुहार मात्रै हो?
होइन भने झरी–बादल, हिउँद–बर्खा केही नभनी कुदेका ती खुट्टा बुढेसकालको सहारा पेन्सनपट्टा लिन जाँदा मेरा बा बस्ने कुर्सी किन पाउँदैनन्? कार्यालयमा कर्मचारी कति बेला आउँछन्? मेरो काम कति दिनमा हुन्छ?
जवाफ छैन।
जीवनमा कयौं प्रश्नको जवाफ नपाएको ओपराले मात्रै होइन रहेछ। मेरो पनि स्थिति उही रहेछ।
मेरा शिक्षक बाले सोधका प्रश्नको सटिक जवाफ दिएर उनका कति विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट इत्यादि बने। कतिले मलाई पनि प्रश्न सिकाए।
यता किताबखानामा बाका प्रश्नले जवाफ पाएनन्।
दाँत झरेका एक जना बाजे नाम बोलाउँछन्। कथंकदाचित सुनिएन भने कर्मचारीले शिक्षकलाई हकार्छन्। के बालाई पहिले नै थाहा थियो कि किताबखानाका कर्मचारीले प्रश्न मात्रै थोपर्छन् र जवाफमा अपमान दिन्छन्? विद्यालयमा पढाउन्जेल मेरा बासँग सबै विद्यार्थी डराउँथे। तिनै बा किताबखानाका कर्मचारीसँग डराए।
किताबखानामा बाले प्रश्न त गर्दै गरेनन्। बरू आफ्नो परिचयले मात्रै काफी नहोला भन्ने ठानेर चिनेजानेका केही व्यक्तिको नाम लिए।
'यो कुरा पहिल्यै भन्नुभएको भए त हामी काम छिट्टै गरिदिन्थ्यौं।'
कर्मचारीले किन यसो भने?
के कर्मचारीहरू जिनजान, नातागोता, वर्ण, भूगोल इत्यादि हेरेर मात्रै काम गर्छन्?
किताबखानाको आँगनमा ७७ वटा जिल्लाबाट आउने शिक्षकले कस्तो स्थान–मान पाउँछन्? किताबखाना किन बनेको हो? ती कर्मचारीलाई पढाउने को थिए?
मैले यी प्रश्न कसलाई सोध्नुपर्ने हो?
यसको जवाफ मेरा बाले दिने कि किताबखानाका कर्मचारीले? कि बाले गणितका फर्मूला सिकाएका विद्यार्थीले दिने?
प्रश्न किताबखानासँग मात्रै होइन, अस्पतालसँग पनि छ।
पोहोर साल आमालाई अस्पताल लैजानुपरेको थियो।
आमा अस्पतालमा आफ्ना प्रश्नको जवाफ पाउन नर्सलाई खोज्न टाढाटाढासम्म आँखा डुलाउँथिन्। तोलामा तौलेजसरी बोल्ने मेरै उमेरका जस्ता सिस्टरहरू आमासँग टर्रो बोल्थे। जवाफ दिँदैनथे, जवाफ लगाउँथे। बिरामीले सोध्ने प्रश्नको जवाफ त्यति साह्रो कर्कस हुन्छ? मेरी आमाका जस्तै कति आमामा प्रश्न जवाफविहीन बनेका होलान् र बन्दा हुन्!
मलाई प्रश्न सिकाइरहेकी ओपराले त आमा भएको आभास गर्न नपाउँदै सन्तान गुमाउँदा पनि आफूलाई जवाफ दिन छोडिनन्। सांसदले जनताका मुद्दा उठाउनु, डाक्टरले उपचार गर्नु, शिक्षकले विद्यालयमा पढाइको राम्रो वातावरण बनाउनु, किसानले समयमा मल पाउनु आदि त सामान्य कुरा हुनुपर्ने हो। यी सबै कुरा ओपराको देशमा सामान्य भए पनि मेरो देशमा असामान्य छ। त्यहाँ जवाफ हुने कुरा यहाँ प्रश्न हुन्छ।
यहाँ त राहदानी लिन खुट्टा काँप्ने गरी लाइन बस्दा सर्भरमा राजनीति हुन्छ। खाडीमा पसिना बगाएर युवाले पठाएको रेमिटेन्समा पनि राजनीति हुन्छ। युवाको उमेरमा, महिलाको शरीरमा, किसानको पसिनामा, विद्यार्थीको किताबमा, व्यासको तुइनमा, बाघको मूर्तिमा, ऋणको ब्याजमा राजनीति फस्टाउने थलो हो यो।
यी एकएकसँग मेरा हजार प्रश्न छन्।
वर्ण, आवरण, पद र व्यवस्थाजस्ता विषयमा ओपराका हजार प्रश्न भएजस्तै मसँग पनि हजार प्रश्न छन्।
प्रश्न? प्रश्न हिम्मत हो, प्रश्न आशा हो।
प्रश्न सोधिनका लागि मात्रै होइन, जवाफका लागि हो।
(क्रान्तिशिखा धितालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @krantishikha