यो आलेखमा मैले दुई महिनासम्म उमेरको शिशुको कुरा गरेको छु। आमाबाबु र अभिभावकलाई शिशु हलक्क बढेको र हुर्केको हेर्ने इच्छा हुन्छ।
शिशु पूर्ण रूपमा आमाबाबुको भरोसामा हुन्छ। पोषण, सरसफाइ, सुताइ, सुरक्षा, खेल, मनोरञ्जन, आमाबाबुसँगै रहने अवस्था इत्यादि शिशुको शारीरिक र मानसिक विकासका प्रमुख आधारहरू हुन्।
शिशुको विकास र वृद्धिको चर्चा गर्नुअघि उसको विकास प्रक्रिया बुझ्नुपर्ने हुन्छ। शिशु र बालबालिकाको विकास अद्वितीय हुन्छ, यसको खास विशेषता हुन्छ। बालविकासमा केही पक्ष चाँडो र केही पक्ष अलिक ढिलो हुन्छ। यसो हुनु सामान्य कुरा हो। स्वास्थ्य अवस्था सामान्य रहेका शिशुहरूको विकास सामान्यतया समान रूपमा हुन्छ।
अभिभावकले आफ्नो शिशुको क्षमता विकास ‘सामान्य’ छ कि छैन भन्ने जानिराख्न आवश्यक हुन्छ। यहाँ ‘सामान्य’ भन्नुको अर्थ अन्य धेरै जसो शिशुको तुलनामा आफ्नो शिशुको विकास ठिकै छ थाहा पाउनु हो। फरक छ भने असामान्य अवस्था हुन सक्छ।
हरेक शिशुको विकास फरक–फरक रूपमा हुने भए तापनि खासखास उमेर अवधिमा उसको क्षमताबारे भने जानिराख्नु पर्छ। असाधारण छ भन्ने लागेमा स्वास्थ्यकर्मीसँग परामर्श लिएर समयमै समाधान खोज्न सकिन्छ। विशेष गरी गर्भको अवधि पूरा नहुँदै जन्म भएका, कुनै किसिमको अपांगता भएका र कुनै ठूलो कठिनाइयुक्त वातावरणमा हुर्कनु परेका शिशुको विकासमा नकारात्मक असर पर्न सक्छ।
यहाँ नवजात शिशुमा विकास हुने क्षमताहरूबारे थोरै चर्चा गरौं।
मानिसमा पाँच वटा गुण (सुन्ने, देख्ने, स्पर्श, स्वाद र बासना थाहा पाउने) भ्रूणावस्थामै विकास भएको हुन्छ। गन्ध लिने र स्वाद लिने क्षमता जन्मिँदै राम्रो विकास भएको हुन्छ। शिशुले आमाको दूधको स्वाद सुरूमै थाहा पाउँछ। शिशुलाई केही गुलियो मन पर्ने हुन्छ। टर्रो, तितो र अमिलो मन नपर्ने वा कम मन पर्ने हुन्छ। शिशुको यो गुण अभिभावकलाई पनि राम्ररी थाहा हुन्छ।
सुन्ने र स्पर्श थाहा पाउने गुण अझै राम्रो विकास भएको हुन्छ। यसै कारण शिशुले आफ्नी आमाको पहिचान गर्छ। आमाको स्पर्श पनि थाहा पाउँछ। निकटमा भए शिशुले बुबाको पनि आवाज र स्पर्श थाहा पाउँछ। त्यसैले रूँदै गरेको शिशु पनि आमाबुबा बोल्दा वा उनीहरूले सुम्सुम्याउँदा चुप लाग्छ।
शिशुहरूलाई शान्त वातावरण र मधुर आवाज मन पर्छ। उनीहरू मधुर संगीत रूचाउने हुन्छन्। विभिन्न परीक्षणहरूले यी तथ्यहरू पुष्टि गरेका छन्। सुन्न सक्ने क्षमता जन्मको एक महिनामा पूर्ण रूपमा विकास हुन्छ। शिशुले परिवारका सदस्यका फरक–फरक आवाजहरू पहिचान गर्छ। आवाजबाटै उनीहरूलाई चिन्छ।
आफ्नो परिवेशका अन्य आवाज पनि पहिचान गर्छ। शिशुले शान्त वातावरणमा सुनेका आवाजहरू मस्तिष्कमा जम्मा गर्न थाल्छ। शिशुलाई धेरै होहल्लाको वातावरण मन पर्दैन। यस्तोमा उनीहरू रून थाल्छन्। यस पक्षमा अभिभावकहरू सचेत रहनुपर्छ। शिशुलाई हुल वा चर्को आवाज भएको वातावरणमा लैजानु हुँदैन। घरभित्र पनि वातावरण शान्त राख्नुपर्छ। चर्को स्वरले शिशुमा नकारात्मक असर पर्छ।
शिशुमा स्पर्श गरेर थाहा पाउने गुण जन्मको लगत्तै विकसित हुन्छ। नवजात शिशुले तातो, चिसो तुरून्तै थाहा पाउँछ। दुखाइ पनि महसुस गर्छ। पाँच वटा गुणहरूमध्ये हेर्ने शक्ति सबभन्दा ढिलो विकास हुन्छ। नवजात शिशुले १०–२० सेन्टिमिटर देख्न सक्छ, त्यो पनि धमिलो मात्रै।
तर एक महिनाभित्रैमा सामुन्नेका चिजहरू देखेर आँखाले पछ्याउने भइसक्छ। दुई महिना पूरा हुँदासम्ममा राम्ररी देख्न सक्ने हुन्छ। रङ पनि छुट्याउन सक्ने हुन्छ। यस्तो शिशुलाई निलो, रातो र पहेँलो रङ धेरै मन पर्छ। बत्तीको प्रकाश पनि मन पर्छ। यस्तो शिशु सुत्ने ओछ्यान वा कोक्रोमा निलो, पहेँलो, रातो रङका खेलौना या कपडाका टुक्राहरू झुन्ड्याइदिनु राम्रो हुन्छ। यस्ता रंगीन वस्तु हेरेर शिशु शान्त रहन्छ।
प्रारम्भिक दिनहरूमा शिशुले आफ्नो नजिकका अभिभावकको अनुहारमा हेरिरहन्छ र बिस्तारै अनुहार पहिचान गर्छ। जन्मदेखि नै आमाबुबाले काखमा राखेर शिशुको अनुहार हेर्ने भएकाले उसले आमाबाबु राम्ररी चिन्छ। परिवारका अन्य अभिभावकहरू पनि यसै गरी चिन्छ र सबैसँग सम्बन्ध गाढा बनाउँदै जान्छ।
अब शिशुको भावनात्मक विकासको कुरा गरौं।
शिशुको भावनात्मक विकासको क्रम केही ढिलो हुन्छ। सुरूमा शिशुलाई राम्रो–नराम्रो, आफन्त–पराइ केही पनि थाहा हुँदैन। ऊ जोसँग पनि नजिकिन्छ। उमेर दुई महिना हुँदासम्ममा अरूको अनुहार पहिचान गर्न सक्ने हुनाले ऊ अपरिचित व्यक्तिसँग असुरक्षा अनुभव गर्छ। यस्तो अवस्थामा ऊ टाढिन खोज्छ। आमाबाबु वा परिचिततिर टाँसिन्छ।
यो दृश्य भावनात्मक विकासको क्रम हो। अपर्झट नयाँ अनुहार देख्दा शिशुले असुरक्षित महसुस गर्छ र आफन्त गुहार्छ।
शिशु पनि आफू खुसी भएको देखाउन चाहन्छ। यसै क्रममा मुस्कुराउन सिक्छ। जन्मको एक महिना पूरा हुँदासम्ममा अरूले दिएको इशारा हेरेर मुस्कुराउन सक्ने हुन्छ। आमाबाबुले शिशुको आधारभूत आवश्यकता राम्ररी बुझेर उसलाई सहयोग गर्नुपर्छ। ठिक समयमा खानपिन र दिसापिसाब, सरसफाइ, नरम लुगा र ओछ्यान, शान्त वातावरण र आमाबुबाको साथ शिशुका आधारभूत आवश्यकता हुन्।
हरक्षण सुरक्षित महसुस गर्नु उसको अर्को आधारभूत आवश्यकता हो।
बोल्ने क्षमता विकासबारे पनि थोरै चर्चा गरौं।
नवजात शिशु फरक–फरक तरिकाले रून सक्ने हुन्छ। उसले आवश्यकता महसुस गरेअनुसार आवाज ठूलो वा सानो बनाउँछ। चिच्याहट पनि हुन्छ। सुरक्षित महसुस गरेको र सबै आवश्यकताहरू पूरा भएको अवस्थामा चुप अर्थात शान्त हुन्छ। कुनै सहयोग आवश्यक परे रून्छ। अझै सहयोग नपाए चिच्याउँछ। खुसी हुँदा मुस्कुराउँछ।
रूनु, कराउनु, चिच्याउनु र मुस्कुराउनु बोल्ने क्षमता विकासको क्रम हो।
शिशुले आफ्नो शरीर विभिन्न प्रकारले चलाएर पनि आवश्यकताको इशारा गर्छ। उसले कुन बेला, कसरी, कुन अंग चलाउँछ भनेर पहिचान गर्न सके आमाबाबुले उसको आवश्यकता पनि पहिचान गर्न सक्छन्।
शिशुले बुझोस् वा नबुझोस्, आमाबाबु र अभिभावकहरू ऊसँग बोलिरहनु पर्छ। भोक लाग्यो, अब बुबु खाने इत्यादि भनेर दोहोरो कुरा गरेझैं बोल्ने, सानो स्वरमा गीत गुनगुनाउने जस्ता कामले शिशुको बोल्ने क्षमता विकासमा मद्दत पुग्छ। परिवारका सदस्यहरू बोलेको सुनेरै हो शिशुले शब्द सिक्ने। जन्मको एक महिना पूरा भएदेखि नैसुत्ने बेलामा शिशुलाई मधुर आवाजमा कथा सुनाउनु सकारात्मक देखिएको छ। शिशु रोएको अवस्थामा गीत वा कथा सुनाउँदा ऊ शान्त हुने गरेको पाइएको छ।
शिशु रूनु र कराउनु इशारा दिने वा आफ्नो कुरा सञ्चार गर्ने माध्यम हो। उसको आधारभूत आवश्यकता पूरा भए–नभएको विचार गरी सुम्सुम्याउँदा वा तेलले मसाज गर्दा पनि शान्त बन्न सक्छ। रोएको शिशुलाई फुल्याउन वा उसलाई निद्रा लगाउन कोक्रोमा राखेर बेस्सरी हल्लाउनु हुँदैन। हातमा राखेर पनि हल्लाउनु हुँदैन। शिशुको शरीर नहल्लिने गरी बिस्तारै हल्लाउनुमा असर छैन।
यस बारेमा मैले अघिल्लो लेखमा चर्चा गरेको थिएँ।
आमाबाबुले शिशु रूनुको कारण थाहा पाउनु सबैभन्दा महत्वपूर्ण पक्ष हो। शिशुलाई ढाडको भागतर्फ उत्तानो पारेर सुताउनु राम्रो हुन्छ। सिरानी सानो र नरम हुनुपर्छ। शिशु एक महिना भएपछि भने जागा रहँदा पेट ओछ्यानतिर पारेर अर्थात् घोप्टो पनि सुताउन मिल्छ।
सुतेको अवस्थामा टाउको बेलाबेला दायाँ–बायाँ फर्काइदिँदा टाउको चेप्टो हुनबाट जोगाउन सकिन्छ।
(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा विद्यावारिधि गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)
ट्विटर @DrDipRajThapa
(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)