हजुरआमाले नुहाएर सुनपानी नछर्के चोखो भइँदैन है भनेदेखि मलाई सुन मूल्यवान धातु हो भन्ने थियो। मम्मी, हजुरआमा, सानिमा सबैले सुनपानी छर्कनुपर्छ भनेरै नाक कान छेडेर सुन लगाएका होलान् जस्तो लाग्थ्यो।
तर कक्षा ८ मा पढ्ने हुँदा पनि मेरो नाक भने छेड्दिनु भएको थिएन। सानो हुँदा श्री पञ्चमीमा नाक छेड्न भनेर सुनारको पसलसम्म पुगेपछि पनि म रोएर छेड्न नमानेपछि मम्मीले घर फर्काउनु भएको याद छ।
पछि भने मेरी फुपूले ‘नानीको नाक नछेड्दिनु है भाउजू’ भनेको भएर नछेड्दा पनि हुन्छ भनेर हो भन्नु हुन्थ्यो मम्मी।
हजुरबुवा आमासँगको बसाइँ र साथीहरूको संगतसँगै मलाई आफ्नो नाक नछेडिएकोमा अरूभन्दा फरक भएको महसुस भने हुन्थ्यो।
महिनावारी भएर नुहाएपछि कतै मान्छे मरेको ठाउँमा गएर आएपछि केही अशुद्ध खाएपछि सधैं सुनपानी छर्कनु पर्छ भन्ने संस्कार भएको वातावरणमा हुर्कंदै गएर पनि आफ्नो नाकमा फुलीको अभाव खड्किएको हुन सक्छ।
म त्यस्तै ७ कक्षामा पढ्दै गर्दाको घटना होला, एकदिन हजुरबुवा मलामी गएर आउनुभयो। हाम्रो हिन्दू परम्पराअनुसार फर्केर आएपछि सुनपानी छर्कनु पर्ने हुन्छ तर घरमा म मात्र थिएँ, हजुरआमा घाँस काट्न जानु भएको थियो। मेरो नाक र कान दुवैमा सुन थिएन। नाक नछेडे पनि कान त छेडेको थियो तर मलाई सधैं एउटै सुनको जुली लगाउन मन नपर्ने भएर मेरो कान पनि खाली नै थियो।
सुनपानी छर्कने सुन नभएर हजुरआमा नफर्कुन्जेल हजुरबुवा बाहिर नै बस्नु भयो। बेलुका खाना खाने बेला हजुरबुवाले ‘छोरी नाक त छेड भो’ भनेपछि मलाई पनि अब छेड्नु पर्छ भन्ने लाग्यो।
तर सुनारकोमा गएर छेड्न भने डर लाग्यो। पछि मैले आफैं नै सिउँडीको काँडाले नाक छेडें। अरूले दुखाइदिएको दुःख सहनुभन्दा आफैं छेड्छु भन्ने आँट आएर त होला त्यो उमेरमा।
हुन पनि डेढ घण्टा नै लागेको थियो मलाई। छेड्ने बेर फुली लगाउन मिल्दो रहेनछ। हजुरआमाले बिहानको सितको थोपा, नुनबेसार के के लगाइदिनु हुन्थ्यो। नाक छेडेको पनि ३-४ महिनापछि मात्र फुली लगाउन पाएँ। त्यसपछि मलाई पनि मम्मी, हजुरआमा बराबर नै भए जस्तो लाग्न थाल्यो। घरमा सुनपानीको कुरा आउनेबित्तिकै म म भन्दै अघि सर्थें। फुली लगाएर सुनपानी छर्कने रहर पूरा गरें।
तर जे कुराको पनि निश्चित अवधि हुन्छ, अवधि सकिएपछि त्यसको मूल्य हराउँछ। मलाई पनि आफ्नो बढ्दो उमेरसँगै फुलीको रहर कम हुँदै गयो।
९ र १० कक्षा पढ्न तराई झरेपछि पो बल्ल थाहा भयो फुली नलाउने केटी त धेरै हुँदा रहेछन्। आफूमा परिपक्वता बढ्दै गएपछि, देश विदेशका केटीहरू देख्दै गएपछि मलाई त्यति रहरले लाएको नाकको फुली बिझाउन लाग्यो।
एक पटक अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हिलारी क्लिन्टनले दिएको स्पीचको भिडिओ हेर्दै गर्दा तिनले पनि त फुली लगाएकी छैनन्, तिनलाई सुनपानी छर्कनु पर्दैन होला त भन्ने कुरा मनमा आयो। त्यसपछि मैले नोटिस गर्दै गए फुली त कमैले लाउँदा रहेछन्। मैले नाकको फुली निकालें।
त्यसपछि मलाई ‘तिमी नेवार हो?, फुली किन नलगाएको?, बिहेपछि त नाकमा फुली नलगाएकी बुहारीले पकाएको खाँदैनन् त’ भन्ने जस्ता व्यंग्य आइ नै राख्थे। मैले पनि नखाए मलाई सजिलो भो नि त पकाउनु परेन! भनेर हाँसेर जवाफ दिन्थें।
मनमा भने के साँच्चै मैले बिहेपछि फुली लगाउन पर्ला त भनेर प्रश्न चाहिँ उठी नै रहन्थ्यो। प्लस टु मा मास कम्युनिकेसन पढ्दा एकदिन प्रसंग बस म्यामले हातमा चुरा, खुट्टामा पाउजू, नाक कान छेडेर गहना लगाउन पर्ने त महिलालाई गाईभैंसीलाई जसरी बाँध्न बनाएको हुन सक्छ भनेर जोक गरेपछि त झन् मैले निश्चय नै गरें कि अब फुली लाउँदिनँ भनेर।
तर यी सबै कुराहरू भनिरहँदा म महिला श्रृङ्गारको विपक्षमा भने होइन। गरगहना, वेशभूषा त हाम्रो मौलिकता हो। जसले हामीलाई हजारौंको भीडमा पनि फरक पहिचान दिएर चिनाएको हुन्छ। नारी सभ्यता जोगाउनु हाम्रो दायित्व हो। तर वेशभूषा र गरगहना करले भन्दा पनि रहरले लगाउने वातावरण सृजना हुनुपर्छ जस्तो लाग्छ मलाई। जसरी मैले आफ्नो रहरले फुली लगाएर आफ्नै रहरले निकालें। त्यसरी नै सम्पूर्ण महिलाले आफ्नो रहर अनुसारको श्रृंगार गर्न पाउनु पर्छ।
कसैले तँ केटी मान्छे हो र यी कुराहरू लगाउनै पर्छ भनेर बाध्य पारिनुभन्दा आफ्नो लिंग पहिचान गराउन आफूलाई जे मनपर्छ त्यही नै लगाउन पाउनु पर्छ।
अहिले मेरो बिहे भइसकेको छ तर मैले फुली लाएकी छैन। बिहेपछि कहिले पनि सासूले तिमीले नाक नछेडेसम्म हामी तिम्ले पकाएको खाँदैनौं भन्नुभएन। मैले बिहेअघि नै श्रीमानलाई मैले कुनै पनि परिस्थितिमा नाक छेड्ने छैन भन्ने कुरा जनाएकी थिएँ। तर श्रीमानले मेरो पक्ष लिएर बोल्नु पर्ने अवस्थाको सृजना भएन। किनकि ममाथि किन नाक नछेडेको भनेर प्रश्न उठेन।
अहिले यो लेख लेखिरहँदा मलाई के अनुभूति भएको छ भने साँच्चै समय कति छिटो परिवर्तन भएछ। कुनै बेला नाकमा फुली नहुनुको स्पष्टीकरण दिँदै हिँड्नुपर्ने समय थियो भने अहिले कसैले लाएको/ नलाएको ख्याल पनि गर्न छोडेछन्।
आजकाल बाहिर हिँड्दा प्राय: मैले अरूले फुली लाएको/नलाएको नोटिस गर्छु। धेरै दिदी-बहिनीले लगाउनु भएको हुँदैन। अनि आफैंलाई प्रश्न गर्छु के उनीहरूलाई पनि मलाई जस्तै सुनपानी छर्कनुपर्छ भनेर फुली लगाउन मन लागे होला त?