मूल कथा सुरू गर्नुपहिले दुइटा कुरा स्पष्ट पार्न चाहन्छु।
पहिलो, यो लेख कुनै मेडिकल सल्लाहका लागि लेखिएको होइन। यहाँ मैले प्रयोग गरेका मेडिकल टर्मिनोलोजीहरू आफ्नै बुझाइ अनुसारका हुन्। मेरो उद्देश्य केबल मजस्तो आफ्नो स्वास्थ्यबारे हेलचेक्र्याइँ गर्ने आमा, दिदी, बहिनी, छोरीलगायत अन्य महिला साथीहरू समेत सचेत हुनुहोला भन्ने मात्रै हो।
दोस्रो, यो लेख पढेर ममाथि कसैले सहानुभूति नजनाउनुहोला। किनकी मलाई कसैको सहानुभूति या दया पटक्कै पच्दैन। बरू यो स्थितिमा आफूलाई राखेर आत्मानुभूति गर्नुहोला।
अब मूल कथा सुरू गर्छु।
एउटा मानिस सधैं हिँड्ने बाटोमा आफ्नै सुरमा हिँडिरहेको हुन्छ। नचिताएको कुनाबाट अकस्मात एउटा बाघ गर्जिँदै आउँछ र झम्टिन्छ। बटुवा ढ्यांग सडकमा पछारिन्छ। बाघले उसको शरीरमा दाह्रा र नंग्रा गाडे पनि मृत्यु चाहिँ हुन पाउँदैन। शरीरभरि चोट र पीडा दिएर बाघ आफ्नो बाटो लाग्छ।
अहिले मेरो जीवन त्यस्तै भएको छ।
२०७९ साल असारको पहिलो हप्ता मेरो जीवनमा एउटा अप्रत्यासित घटना भयो। त्यो व्यक्तिगत कुराले मलाई लामो समय मानसिक प्रताडना दिइरह्यो।
एक दिन सुतेको ठाउँबाट उठ्दा मेरो छातीको देब्रे भाग एकदम नराम्रोसँग दुख्यो तर कसैलाई भनिनँ। सायद दुई/चार दिनपछि त्यो दुखाइ यसै बिर्सेँ। म त्यति बेला क्यानडामा थिएँ।
असारको अन्तिम हप्ता म काठमाडौं फर्केँ। यता आएपछि फेरि दुखाइ बढेको महसुस गरेँ। मानसिक रूपमा तनावग्रस्त भएँ। यसपटक अमेरिकामा रहेकी कान्छी बहिनी बबितालाई भनेँ।
उनले ढाडस दिइन्– कहिलेकाहीँ तनावले शरीरको कुनै भागमा असर गर्छ, त्यही भएको हो कि!
मलाई पनि त्यस्तै लाग्यो। रोगले नच्यापी डाक्टरकहाँ नजाने अधिकांश महिलामध्ये नै पर्छु म पनि। डाक्टरको सम्झना पनि गरिनँ।
दिनहरू पहिले जसरी नै चल्दै गए। यसबारे न कसैसँग कुरा गरेँ न घरमा सुतेरै बसेँ।
केही दिनदेखि एक्कासि हातका औंला र खुट्टा सुनिन्थे। हातका औंलाहरू त सुतेर उठ्दा मुठ्ठी बनाउनै नसक्ने गरी मोटा भएका हुन्थे। औंठी साबुन लगाएर बल्लबल्ल फुकाल्थेँ। घरको काममा चिसो पानी चलाएर होला भन्ठान्थेँ।
कहिलेकाहीँ पिठ्युँको देब्रे भागको माथिल्लोपट्टि नराम्रो दुखाइ महसुस गर्थेँ। आफैंलाई सान्त्वना दिँदै भन्थेँ– कम्प्युटर चलाइरहेको कारणले यस्तो दुखेको होला!
ती सबै दुखाइहरू खासै ठूलो कुरा लाग्दैनथे।
दसैंको नौरथा सुरू हुनु केही दिनअघि ममीलाई डेंगीले नराम्रोसँग ढलायो। ममीकहाँ गएर बसेँ। एक तला भर्याङ तलमाथि गर्दा पनि शरीर निकै थाकेको महसुस भयो। यसबाहेक खासै केही भएजस्तो लागेको थिएन। बरू निद्रा कम हुँदै गएको थियो, कहिलेकाहीँ रातभरि निदाउन सक्दिनथेँ।
दसैंपछि आफ्नो अपार्टमेन्टमा आएँ। फेरि छाती चस्केको महसुस हुन थाल्यो। राति सुतेको बेलामा पनि देब्रेतिरको स्तनमा सियोले घोचेको जस्तो, बेस्सरी लुछेको जस्तो हुन थाल्यो।
मध्यरातमा दुखाइले ब्युँझाउन थाल्यो। काकाको बरखी कर्मको समय थियो, त्यतै लागियो।
बरखीको भोलिपल्ट पूजा थियो। त्यो पनि सकेर काकीसहित चितवन र पोखरा घुम्न गयौं। चितवनको होटलमा काकाकी छोरी रश्मी र म एउटै कोठामा सुतेका थियौं। उनले म राति ऐया! भन्दै पटकपटक बिउँझिएको थाहा पाइछन्।
उनले के भएको हो भनेर सोधिन्। मैले देब्रे स्तनको भित्रसम्म लुछेको जसरी दुख्न थालेको र देब्रे कोल्टो सुत्नसमेत मुस्किल हुन थालेको कुरा बताएँ।
मलाई डर लाग्न थाल्यो। त्यसको पनि कारण छ।
करिब ३५ वर्षअघि मैले स्तन क्यान्सर भएकी एक महिला देखेकी थिएँ। बानेश्वरको रत्नराज्य स्कुलनिर घर भएकी, नेपाल थरकी ती महिलालाई हेर्न जाँदा उनको हातको कुइनामाथिको भाग हात्तीको खुट्टाजस्तो मोटो भएको थियो। घाउ कुहिएको गन्धले कोठा दुर्गन्धित थियो। हामी हेर्न गएको केही दिनमै उनको देहावसान भयो।
मलाई पनि क्यान्सर नै भयो कि भन्ने शंकाको अव्यक्त भयबाट गुज्रिन थालेकी थिएँ। मलाई हत्तपत्त कोहीसँग आफ्नो दुखाइबारे भन्न मन थिएन। डाक्टरले क्यान्सर भएछ भन्दिए भने के गर्ने होला!
दिमागमा यस्तै सोच आउन थाल्यो।
सात वर्षअघि मेरो पाठेघर र ओभरी पूरै निकालिएको थियो। अर्थात् हिस्टेरेक्टोमी गरिएको थियो।
त्यति बेला म्यामोग्राम गर्दा देब्रे स्तनमा गिर्खा देखिएको कुरा नर्भिक अस्पतालको रिपोर्टले भनेको थियो। रिपोर्टले के पनि भनेको थियो भने त्यो गिर्खा बोसो जम्मा भएको कारणले हो, चिन्ता लिनु पर्दैन।
त्यसपछिका दिनमा पनि धेरै पटक मेरो टाउकोबाट 'सिबाइसस सिस्ट' निकालिएको थियो, ती कुनै पनि क्यान्सरका सिस्ट थिएनन्।
त्यस्तो सिस्ट हामो मावलकी हजुरआमादेखि हामी नातिनीहरूसम्म सबैको केही मात्रामा थियो र निकाल्ने गरेका थियौं। त्यसैले पनि 'फ्याट डिपोजिट' अर्थात् 'बोसो जम्मा' भएको कुराले खासै डर लागेको थिएन।
केही महिनाअघि टाउकोको पछाडि भागमा सुत्नै नमिल्ने गरी बढेका दुइटा ठूला 'सिबाइसस सिस्ट' निकालिएको थियो।
मेरो लागि त्यस्ता ससाना चिरफार त सामान्यजस्तो थियो। अनि स्तनमा बोसो जमेको भन्ने रिपोर्टले किन झक्झक्याउँथ्यो र!
यसपालि धेरै दुख्यो। हिँड्दा पनि देब्रे स्तन भारी जस्तो हुन थाल्यो। त्यसपछि छाम्दा त स्तनको टुप्पामा पनि साह्रो गिर्खा आइसकेको रहेछ।
यही कात्तिक पाँच गते साँझ पोखराबाट फर्कियौं। लगत्तै त्रिवि शिक्षण अस्पतालकी नर्सिङ डाइरेक्टर, मेरी सानिमा कविता देवकोटालाई फोन गरेँ, म्यामोग्राम गर्नुपर्यो भनेँ।
उहाँले तिहारको छुट्टीले गर्दा के हुन्छ, अफिस गएर फोन गर्छु भन्नुभयो। भोलिपल्ट ६ गते साढे नौ बजे अस्पताल बोलाउनुभयो। म्यामोग्राम भयो तर तिहारको बिदाले गर्दा रिपोर्ट १४ गते मात्रै आउने भयो।
तिहार लाग्यो। घरमा सुतेर बसेको पनि छैन, दुख्न कम भएको पनि छैन। क्यान्सरको सिस्ट यसरी नदुख्नु पर्ने भन्ने धेरैको अनुमान थियो।
मलाई चाहिँ हिँड्दा, बस्दा, सुत्दा, जे गर्दा पनि ऐया भन्नुपर्ने हुन थाल्यो।
त्यस बखत दिनभरि बहिनी रश्मी साथमा हुन्थिन्। उनी बुबा (मेरा काका) को बरखीका लागि बेलायतबाट आएकी थिइन्। उनले अमेरिकामा बस्ने मेरी कान्छी बहिनीसँग कुरा गरिछन्।
उनीहरूले मलाई क्यान्सर अस्पताल, हरिसिद्धि लैजाने कुरा गरेछन्। ज्वाइँ राजीव नेपालीले आफ्नो चिनजानको माध्यमले हरिसिद्धि अस्पतालका डाक्टर सुदीप श्रेष्ठलाई फोन गर्नुभएछ। डाक्टरले एक घण्टाभित्र इमर्जेन्सीमा ल्याउन भन्नुभएछ।
हामी कात्तिक ८ गते नै डाक्टरले भनेको समयमा अस्पताल पुग्यौं। इमर्जेन्सीमा डाक्टर सचिन श्रेष्ठले हेर्नुभयो। सबै परीक्षणको लागि लेखिदिनुभयो। दुई दिनका लागि पेन किलर (दुखाइ कम गर्ने) औषधि लेखिदिनुभयो।
त्यसै दिन स्तनको अल्ट्रासाउन्ड भयो। रगत जाँच भयो। अस्पतालका धेरै कर्मचारी छुट्टीमा थिए, म्यामोग्राम हुन पाएन।
विशेष गरी क्यान्सरको संक्रमण देखाउने 'सिए–१५.३' र 'सिए–१२५' जाँच पनि भयो। बिहान दिएको रगतको रिपोर्ट साँझ आयो। रगतको रिपोर्टमा संक्रमण देखिएन।
यो कुरा लेख्दै गर्दा एकजनाले भनेको कुरा याद आयो। उनकी आमाको घाँटीको क्यान्सरले देहावसान भएको रहेछ। यसपछि उनले हरेक वर्ष 'सिए–१५' र 'सिए–१२५' परीक्षण गराउने गरेका छन् रे!
मेरो त यो रिपोर्टमा केही खराबी देखिएन।
हामीले यो क्यान्सर नभएर मुटुको समस्या पो हो कि भन्ने अनुमान गर्यौं। डेढ वर्षअघि ल्यापकोली गरेपछि अचानक ब्लड प्रेसर बढेर मुटुको पनि अलिकति समस्या हुन थालेको थियो।
फेरि बुबापट्टि हजुरआमा, बुबा, काकालगायत परिवारका केही सदस्यहरूलाई मुटुकै समस्याले दुःख दिएको थियो। यो रोग मैले पनि बिरासतमा पाएकी थिएँ।
भाइटीकाको भोलिपल्ट बहिनी सुनिताले मलाई हरिसिद्धि अस्पताल लिएर गइन्। म्यामोग्राम भयो, रिपोर्ट लियौं। यो रिपोर्टमा क्यान्सरको शंका भयो।
डाक्टर सुदीपले तुरुन्तै बायप्सी गर्न भन्नुभयो तर उहाँले मेरो स्तनको दुखाइ क्यान्सरको कारणले हुन नसक्ने पनि भन्नुभयो।
उहाँको भनाइअनुसार क्यान्सर नै भएको रहेछ भने पनि भर्खरै सुरू भएको हुनसक्छ। स्तनमा हरमोन परिवर्तनका कारणले दूधका ग्ल्यान्ड सुक्दै गएर रगत जमेर दुखेको हुन सक्छ।
बायप्सी गर्न आइतबार मात्रै समय मिल्ने भएपछि हामीले फेरि शिक्षण अस्पताल, महाराजगञ्ज नै जाने निर्णय गर्यौं।
आइतबार शिक्षण अस्पतालमा बायप्सी गराउन पुगेँ। डाक्टरले एक कुरेतको सियो स्तनमा घुसाएर कटकट आवाज निकाल्दै टिस्यु झिक्दै गर्दा मैले सोधेँ– बच्चालाई दूध चुसाउने आमाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुन्छ भन्छन्, होइन रहेछ त?
नदुख्ने इन्जेक्सन दिएर पनि मलाई निकै पीडा भएको थियो। डाक्टरले फेरि औषधि थपिदिनुभयो।
डक्टरले भन्नुभयो– तपाईंले चुसाउनु भएन होला!
किन नचुसाउनु नि! एउटीलाई ६ महिना र अर्कोलाई ११ महिना ख्वाएँ।
डाक्टरले अंग्रेजी भाषामा भन्नुभयो– इट्स अल अबाउट जिन, ह्वाट यु ह्याब गट इट, यु ह्याब टु एसेप्ट इट।
मैले सुनेअनुसार यस्ता रोगहरू प्रायः आमाका तर्फबाट जिनमा जान्छ। भगवानको कृपाले मेरी आमातर्फ अहिलेसम्म कसैमा त्यो खराब जिन भेटिएको छैन।
बल्ल मैले दिमाग खियाएँ, मेरा बुबातर्फ मसमेत ६ जनाले उक्त जिन बोकेर हिँडेछौं।
कात्तिक १४ गते, सोमबार शिक्षण अस्पतालमा गराएको म्यामोग्रामको रिपोर्ट आयो। यो रिपोर्ट हरिसिद्धिको भन्दा प्रष्ट थियो। क्यान्सर त छ भन्ने प्रष्ट भयो। कुन स्टेजको भन्ने थाहा पाउन बायप्सीको रिपोर्ट कुर्नुपर्ने भयो।
सकेसम्म चाँडो सर्जरी गर्नुपर्छ भन्ने मनस्थिति बनायौं। सर्जरी गर्न शिक्षण अस्पतालकी 'कन्सल्ट्यान्ट ब्रेस्ट अंकोप्लास्टिक सर्जन' डाक्टर सुजिता हिराचनसँग सम्पर्क गर्यौं।
उहाँले छाती र पेटको पनि सिटी स्क्यान गर्न भन्नुभयो। त्यसबाट क्यान्सरको सिस्ट कहाँसम्म फैलिएको छ भन्ने थाहा हुन्थ्यो। बुधबार त्यो पनि गर्यौं।
कात्तिक १७ गते बिहीबार डाक्टर सुजितासँग समय लिएका थियौं। उहाँले पनि त्यो सिस्ट त्यसरी दुख्न नपर्ने भन्दै एक हप्ताको लागि दुई थरी एन्टिबायोटिक्स लेखिदिनुभयो।
उहाँले मलाई काउन्सिलिङ पनि गर्दै भन्नुभयो– यो सेकेन्ड स्टेजमा छ, सर्जरी गरेपछि रोग फालिन्छ। किमो दिनै पर्छ। चार/पाँच महिना केही गाह्रो हुन्छ। त्यसपछि लाइफ फेरि नर्मल हुन्छ। स्तन निकालेर फ्याँकेपछि फेरि बनाउन पनि सकिन्छ।
डक्टर सुजिताको सल्लाह जतिसुकै सकारात्मक भए पनि डरलाग्दो रोग छ भन्ने थाहा पाएपछि प्रफुल्ल भएर हिँड्न को सक्थ्यो र!
त्यो समय मेरा लागि मलाई डोहोर्याएर हिँड्नुभएकी सानिमा; बहिनीहरू सुनिता, बबिता, रश्मी र अरू बहिनीहरू आफ्नो साथ र भावनात्मक साथले मलाई मानसिक रूपमा बलियो बनाउन प्रयास गर्दै थिए।
अब केवल बायप्सीको रिपोर्टको कुर्नु थियो।
बायप्सीको रिपोर्ट नआउन्जेल सर्जरीका लागि रगत जाँच, मुटुको जाँच गरेर प्रमाणपत्र लिने काम सकियो। कात्तिक २४ गते बिहीबार सर्जरी गर्ने तयारी भयो।
भनेकै दिनमा सर्जरी भयो। देब्रे स्तनको पूरै भाग निकालियो अर्थात् 'म्यासेक्टोमी' गरियो। सर्जरी गर्दा थाहा भएछ, सिस्टले त काखी मुनिसमेत झुप्पा जस्तो डेरा बनाएको रहेछ।
नदुखेको भए वा दुखेको खपेर एक हप्ता मात्रै ढिलो गरेको भएको भए ती खराब सेलहरूले आर्टिलरी भेन छुने अवस्था आइसकेको रहेछ।
त्यसरी छोएको भए म आज यो व्यक्तिगत अनुभव लेखेर अरूलाई सचेत गराउने अवस्थामा रहने थिइनँ होला!
मानसिक तनाव र भय
गुगल सर्च गर्नेहरूलाई लाग्न सक्छ, 'म्यासेक्टोमी' भनेको स्तन निकाल्ने त हो! कुनै ठूलो कुरा होइन, एकै दिनमा घर पठाइहाल्छ!
यस्तो कुरा पढेर अनुमान गर्ने र भोग्न नपरेकाहरूलाई कुनै ठूलो कुरा होइन। म पनि सर्जरी गरेको भोलिपल्ट बेलुकी घर गएँ।
सियोले घोचेको त कति दुख्छ भने यहाँ त शरीरको एउटा संवेदनशील अंग निकालेर फ्याँकिएको थियो, महिलाको स्तन।
त्यही स्तन शारीरिक सौन्दर्यको मापक मात्रै होइन, आफ्नो पेटमा नौ महिना राखेर जन्माएको बच्चालाई जीवन दिने पहिलो खुराकको स्रोत थियो। जीवनको यस्तो अमूल्य अंगलाई तिलाञ्जलि दिनुपरेको थियो।
यस्तो सर्जरीका लागि आफूलाई मानसिक रूपले तयार बनाउन पनि सजिलो थिएन। अर्कोतिर अब त जीवन सिद्धिने भयो भन्ने अव्यक्त भयले राति निद्रा पर्दैनथ्यो, भयले सताउँथ्यो।
क्यान्सर डरलाग्दो रोग मानिन्छ भलै स्तन क्यान्सरको 'सर्भाइभल रेट' राम्रै छ।
आफूलाई क्यान्सर भएको शंका लागेपछि जतिसुकै बलियो मुटु पारे पनि केही दिनसम्म आफूलाई सम्हाल्न धेरै गाह्रो हुँदो रहेछ। भन्न त हामी भन्छौं, जन्मिएपछि एक पटक मर्न त परिहाल्छ, केको पिर!
मुखले भन्नु र मनले आत्मसात गर्नुको फरक चाहिँ आफूलाई परेपछि मात्र थाहा हुने रहेछ।
अब मेरो दिन धेरै छैन भन्ने लागेपछि यो गरिसक्न पाए हुने, त्यो गरिसक्न पाए हुने भन्ने सोचले अत्यास लगाउँदो रहेछ। आँखा पनि नबगी बस्न नमान्दो रहेछ।
यति हुँदा पनि मलाई रोगबारे हत्तपत्त कसैलाई भनिहाल्न वा कसैको अगाडि कमजोर देखिन मन लागेन। सर्जरी गर्न अपरेसन थिएटरमा लैजाँदा मात्रै सानिमा र बहिनीको हात समातेर रोएकी थिएँ।
दसैंमा ममीले किनिदिएका दुई जोर लुगा सिलाउन दिएकी थिएँ। दसैंअघि एक जोर मात्र तयार हुन्छ, अर्को तिहारलाई हुन्छ भन्यो।
भाइटीकाको दुई दिनअघि बहिनी सुनिताले त्यो लुगा ल्याइदिइन्। मेरो मुखबाट अनायसै निस्कियो– अब यो कहिले लगाउने हो र! दान गर्ने त होला!
मनस्थिति त्यति कमजोर भइसकेको थियो।
अपरेसन थिएटरमा लैजाने बेलामा र त्यसअघि सानिमालाई पटकपटक भनेकी थिएँ– मलाई भेन्टिलेटरमा राखेर नबचाउनू, मेरो किरिया गर्नु पर्दैन। अमेरिकामा भए त्यो कुरा आफैंले लेखेर जान पाइन्छ, यहाँ त त्यसो गर्न पनि नपाइने!
त्यसो भन्दा सानिमा मलाई गाली गर्नुहुन्थ्यो।
करिब एक वर्षअघि तयार भएको मेरो किताबको पाण्डुलिपिमा काम गर्न सकेकी थिइनँ। सर्जरीअघि अक्षर पब्लिकेसनकी अध्यक्ष डा. अर्चना थापालाई एउटा इमेल लेखेँ–
प्रिय अर्चनाजी,
नमस्कार!
म्यामोग्राम र सिटी स्क्यान दुवैको रिपोर्टले मेरो ब्रेस्टमा क्यान्सरस सिस्ट भएको पक्का भयो। अब बायप्सीको रिपोर्ट आएपछि कति के अवस्था छ, थाहा हुन्छ। डाक्टरले तुरुन्तै सर्जरी गर्ने कुरा गरेको छ। सायद, भोलि केही थाहा हुन्छ।
मेरो किताबमा यो मनस्थितिमा मैले काम गर्न सक्छु भन्ने लाग्दैन। जतिसुकै बलियो बन्न खोजे पनि मान्छे हो, कमजोर भइहालिँदो रहेछ।
किताब निस्कियोस् भन्ने चाहना छ।
त्यसपछि बिस्तारै परिस्थितिको सामना गर्न तयार भएँ। अब मलाई मर्ने या बाँच्ने कुराको चिन्ता छैन।
मेरो क्यान्सरको यात्रा भर्खर सुरु भएको छ। म्यासेक्टोमी गरेर निकालेको पाँच सय ग्राम मासुको थुप्रोको बायप्सी गरेर रिपोर्ट आएपछि थाहा होला।
केही समयअघि तीर्थराज अधिकारीको लेखमा पढेकी थिएँ– अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यदि क्यान्सर लोकलाइज्ड (स्तनमा मात्र) छ भने ९९ प्रतिशत बिरामीको सर्भाइभल रेट पाँच वर्ष हुन्छ अर्थात् ९९ प्रतिशत बिरामी पाँच वर्ष बाँच्छन्।
यदि क्यान्सर स्तनबाट सरेर नोड र वरिपरिको अरू अंगमा सरेको छ भने ८६ प्रतिशत बिरामीको सर्भाइभल रेट पाँच वर्ष हुन्छ।
क्यान्सर सरेर फोक्सो, कलेजो, हड्डी आदिमा पुगेको छ भने २८ प्रतिशत बिरामको सर्भाइभल रेट पाँच वर्ष हुन्छ। समग्रमा ९० प्रतिशत बिरामीको सर्भाइभल रेट पाँच वर्ष हुन्छ।
यी अनुमानित आँकडा हुन्।
आजलाई बिट मार्दै फेरि पनि सबै आमा, दिदीबहिनी, महिलाहरूलाई विशेष अनुरोध छ– तपाईंहरू म्यामोग्राम गराउन अल्छी नगर्नुहोला!