आगामी चुनावका उम्मेदवारहरू कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन्। कोही उम्मेदवारले आफ्नो एजेन्डा बनाएका छन्। कसैले विगतमा झैं जनतालाई आश्वासन दिनु नै आफ्नो एजेन्डा ठानेका छन्।
यो लेखमा यी एजेन्डाको कुरा छैन। यहाँ मैले बालबालिकाको स्वास्थ्यको एजेन्डाको कुरा गरेको छु।
मुलुकका नागरिकहरूको आर्थिक र सामाजिक अवस्था जे जस्तो भए पनि, शारीरिक, मानसिक र भौतिक रूपमा बञ्चित हुने समूह बालबालिका नै हुन्।
युनिसेफले निर्देशित गरेअनुसार आमाबाबु र अभिभावकबाट बाल अधिकारको सुरक्षा हुनुपर्छ। उनीहरूबाट हुन नसके सरकारले जिम्मेवारी लिन सक्नुपर्छ। बालबालिका देशका भावी जनशक्ति हुन् र उनीहरूको शिक्षा-स्वास्थ्यको जिम्मेवारी लिनु भनेको देशको भविष्यको जिम्मेवारी लिनु हो।
नेपालमा सरकारले बालबालिकाको स्वास्थ्यमा त्यति ध्यान दिएको देखिँदैन। विशेषगरी रोग रोकथाम र बालबालिकाको स्वास्थ्य प्रवर्द्धन सम्बन्धी कदमहरू धेरै कम चालेको देखिन्छ। राम्रो शिक्षा हासिल गर्न कठिनाइ भएका र गरिबीको रेखामुनि परेका अभिभावकहरू आफ्ना बालबालिका पूरा बिरामी नभई स्वास्थ्यकर्मी भेट्न आउँदैनन्।
अरू देशका सबै प्रणाली राम्रा छन् भन्ने होइन। राजनीतिक छलफलहरूमा विकसित राष्ट्रहरूको प्रणाली नेपालमा लागू गर्न सकिँदैन भन्ने तर्क पनि सुनिन्छ। तर स्विडेनको स्वास्थ्य प्रणालीलाई नेपालमा आफ्नै तरिकाले परीमार्जन गरी लागू गर्न सके राम्रै मार्गदर्शन हुने देखिन्छ। हामीलाई चाहिने महत्त्वपूर्ण प्रणाली जे जति सकिन्छ, त्यति परिमार्जन गरेर लागू गर्न सकिने आधारहरू धेरै छन्।
बालबालिकाका लागि आवश्यक स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय बनाउन सरकार चुक्नु हुँदैन। यस्तो प्रणाली सुरू गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकार तीनै ठाउँबाट प्राथमिकता दिए सहज हुन्छ।
बालबालिकाको स्वास्थ्य बीमा सरकारले गरिदिनुपर्छ। करबाट आउने रकमबाट अन्य क्षेत्रमा गरिने खर्च कटौती गरेर भए पनि बीमा खर्च आपूर्ति गर्नुपर्छ। स्वास्थ्य बीमालाई प्राथमिकता दिने र केन्द्रीय सरकारले पनि बालबालिकाको स्वास्थ्य उपचार र रोकथामका लागि विशेष बजेट विनियोजन गर्न आवश्यक देखिन्छ।
लोक कल्याणकारी राज्य प्रणालीका निरीक्षण, सञ्चालन र व्यवस्थापनको रेखदेख गर्नेजस्ता सबै कामको जिम्मा सरकारले लिनु आवश्यक हुन्छ। बीमा कम्पनी पनि सरकारी हुँदा फाइदा भएमा रकमको पुनः लगानी र घाटा भए सरकार नै जिम्मेवार हुनुपर्छ। निजी बीमा कम्पनीलाई जिम्मा दिँदा जनताले तिरेको करबाट आएको फाइदा उठाउने र नाफामूलक हुने सम्भावना देखिन्छ।
लोक कल्याणकारी राज्यमा सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्नु सरकारको दायित्व हो।
नेपालजस्तो देशमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिहाल्न सकिने अवस्था छैन। त्यसैले कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रदान गर्न राजनीतिज्ञ, राजनीतिक दलहरू र सरकार तयार हुन आवश्यक देखिन्छ।
बाल अधिकारको रक्षासँगै स्वस्थ भविष्यका लागि महँगो चुनौती र लगानी हुने भए पनि यसबाट दीर्घकालीन रूपमा देशलाई ठूलो फाइदा हुन्छ।
निःशुल्क र गुणस्तरीय बाल स्वास्थ्य प्रणालीको एक नमूना
स्विडेनमा आम् निर्वाचनभन्दा पहिले राजनीतिक दलहरूले घोषणापत्र तयार गर्छन्। त्यसमा बालबालिकाको स्वास्थ्य र शिक्षालाई कार्यसूचीमा राखिएको हुन्छ।
निर्वाचनअघि प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय टेलिभिजनमा बालबालिका सम्बन्धी आफ्नो दलको योजना व्याख्या गर्छन्। हरेक दलको योजनाउपर छलफल हुन्छ। मुलुकको बजेटको कति प्रतिशत बालबालिकामा लगानी गर्ने र त्यो रकम कहाँबाट, कसरी आपूर्ति गरिन्छ भनेर मनाउन सक्नुपर्छ। त्यसको कार्यान्वयन गर्न चाहिने रकमको स्रोत देखाउन सक्नुपर्छ। यस्तो विषयमा पत्रकार र जनताले पनि सोध्न र जवाफ लिन खोज्नुपर्छ।
बालबालिकाहरू गर्भमा भएदेखि १८ वर्ष पूरा नभएसम्म आफ्ना आमाबुवा, अभिभावक र वरपरका समाजसँग निर्भर रहन्छन्। उनीहरूको स्वास्थ्य गर्भभित्र राम्रो नहुनु, जन्मिएपछि अस्वस्थ हुन सक्नु र जन्मिनेबित्तिकै अस्वस्थ हुनु भनेको केही ठूलो भएपछि अस्वस्थ बन्न सक्नु हो।
गर्भदेखि जन्मिएपछि पनि स्वास्थ्यको रेखदेख जिम्मेवारी सरकारी स्वास्थ्यकर्मीको हुनुको अर्थ बाल अधिकारको संरक्षण हुनु हो। यसले परिवार र अभिभावकमा पनि आफ्ना बालबालिका प्रतिको उत्तरदायित्व बढाउन प्रेरित गर्छ। बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी ज्ञान वृद्धि गर्दै सतर्क रहिरहन प्रेरणा पनि प्रदान गर्छ।
त्यसैले स्विडेन सरकारले बालबालिका र गर्भवती महिला दुवैको स्वास्थ्य परीक्षण, जाँच, गर्भभित्रको स्वास्थ्य, जन्मिएदेखि १८ वर्षसम्म लगातार 'फलोअप' गर्दै उनीहरूको परीक्षण र उपचार निःशुल्क र गुणस्तरीय मापदण्डभित्र पूरा गर्छ। यसकारण पनि स्विडेनको बालबालिकाको स्वास्थ्य प्रणाली विश्वकै उत्कृष्ट नमूना मानिन्छ।
स्विडेनमा रहेको स्वास्थ्य प्रणालीभित्र हरेक वडामा भएका स्वास्थ्य चौकीमा प्रदान गरिने सबै सेवाहरूमा एकरूपता छ। चाहे गाउँ होस् या सहर, सबैतिरको स्वास्थ्य सेवा प्रणाली एउटै छ।
टाढा गाउँमा थोरै या एक्लो बस्ती भएका मानिसहरूले एम्बुलेन्स र सुत्केरी हुने महिलाहरू अस्पतालसम्म आइपुग्न केही घन्टा यात्रा गर्नुपर्ने असमानता भने स्विडेनमा पनि देखिएको छ। बेलाबेला त्यस्ता टाढा बसोबास गर्ने समुदायले प्रदर्शन र बिरोध गरेको समाचार कहिलेकाहीँ सुन्न पाइन्छ। तर उपचार गर्ने कुरामा सबैतिर एकरूपता देखिन्छ। यो कुरा बालबालिकाको स्वास्थ्य प्रणालीमा पनि लागू छ।
स्विडेनमा हरेक नगरपालिकाभित्र जनसंख्या हेरी गर्भवतीको स्वास्थ्य परीक्षण, गर्भभित्रको बच्चाको रेखदेख र स्वास्थ्य प्रवर्द्धनका लागि मातृस्वास्थ्य सेवा केन्द्र खडा गरिएको हुन्छ। त्यहाँ विशेष नर्स (मिड वाइफ) हरू काम गर्छन्। ती नर्सहरूले एमएससी नर्सिङ पढेका हुन्छन्। उनीहरू नै मातृ स्वास्थ्य सेवा केन्द्रमा आत्मनिर्भर भएर काम गर्छन्।
त्यस्ता केन्द्रहरूले आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र रेखदेख गर्दै गर्भभित्रको बच्चाको शारीरिक विकास र स्वास्थ्यको 'फलोअप' गर्छन्। गम्भीर या जटिल समस्या भएकाहरूलाई विशेषज्ञ डाक्टरहरूद्वारा उपचार गराइन्छ। यसका लागि अस्पतालद्वारा उनीहरूको रेखदेख र फलोअप गरिन्छ। मातृ स्वास्थ्य सेवा केन्द्रहरूको मुख्य कामभित्र कस्ता गर्भहरू सामान्य र प्राकृतिक हुन्, कस्ता असाधारण र छुट्टै हुन भन्ने र गर्भभित्रको शिशुको स्वास्थ्य सामान्य र स्वस्थ छ कि छैन भन्ने छुट्याउने पनि हो।
बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा र औषधि निःशुल्क
स्विडेनको स्वास्थ्य प्रणालीमा एकरूपता अपनाइएको छ। जुन नगरपालिकामा बसे पनि बालबालिकाको स्वास्थ्यमा गरिने हेरविचार, फलोअप र उपचार विधिमा केही फरक छैन। १८ वर्ष पूरा नहुन्जेल सबै उपचार गर्न र औषधि निःशुल्क उपलब्ध गराइन्छ। दन्त स्वास्थ्यको रेखदेख र उपचार भने २४ वर्षसम्मको उमेर भएकालाई निःशुल्क छ।
स्विडेनको स्वास्थ्य प्रणालीमा सामाजिक बीमा प्रणाली अपनाइएको छ। हरेक नगरपालिकामा आउने करबाट, काउन्टी काउन्सिलबाट आउने करद्वारा जम्मा भएको रकमद्वारा खर्च आपूर्ति गरिन्छ। आवश्यककता हेरी केन्द्रीय सरकारले अनुदान पनि दिन्छन्।
यो बुझ्न जरूरी छ कि जुन मुलुकमा बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारले ग्यारेन्टी गर्न सक्दैन, त्यो मुलुकको भविष्य स्थिर हुँदैन। त्यस्ता मुलुकलाई लोकतान्त्रिक भन्न मिल्दैन। जुन मुलुकका राजनीतिक दलहरू र नेताहरू बालबालिकालाई केन्द्रमा ल्याएर योजना बनाउन चाहँदैनन्, बनाउन सक्दैनन्, तिनीहरू सही अर्थमा राजनीतिक दल र नेता हुन सक्दैनन्।
यो पनिः बच्चा जन्माउनुअघि सोच्नै पर्ने कुराहरू के हुन्?
ट्विटर @DrDipRajThapa
(डा. दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)