कलेज जीवनमा एक साथीको घरमा खुब आउजाउ थियो मेरो। कहिले म उनको घरमा त कहिले उनी मेरोमा आउने गर्थिन्।
त्यो बेला उनी उनका दाइ, भाइ र बहिनीसँग बस्थिन् भने म दिदीहरू र भाइसँग बस्ने गर्थें।
उनका आमाबुवा भने प्राय:जसो गाउँतिरै बस्नुहुन्थ्यो। एकदिन म उनको घरमा रात बस्नेगरी गएकी थिएँ।
मेरी ती मिल्ने साथीले खाना बनाइन्। हामी सबैले डाइनिङ टेबलमा बसेर खाना खायौं।
अनि किचेनमा भएको बेशिनमा गएर हात मुख चुठ्यौं र फेरि डाइनिङ टेबल भएकै स्थानमा आएर बस्यौं। साथीका दाइले अलि ढिला खाना खानुभएकाले उहाँ अलि ढिलै चुठ्न किचेनमा रहेको बेशिनमा जानुभयो।
चुठेपछि उहाँले त्यहाँ बेशिनमा रहेका भाँडाकुडा माझ्न पखाल्न थाल्नुभयो। भाँडाकुडा माझ्ने ट्याग लागेका मेरी साथी, उनकी बहिनी र म तीनै जना गफ गरेर बसिरहेका थियौं।
अचानक दाइले भाँडा मोलेको थाहा पाएपछि हामी सबैलाई कस्तो कस्तो अप्ठ्यारो अनुभूति भयो।
मेरी साथी जुरूक्क उठेर किचेन गइन्। हामी पनि उनको पछि-पछि लाग्यौं। दाइले भाँडा माझिरहेका देखेर उनले अलि आत्तिएको आवाजमा भनिन्, ‘दाइ हजुर उता गएर बस्नु न, हामी माझिहाल्छौं नि! हामी हुँदाहुँदै हजुरले किन किचेनमा काम गर्ने नि!’
दाइले ‘ल ल यति बाँकी हो, जसले माझे नि माझ्नु त हो नि’ भनेर आफ्नो काम जारी राख्नुभयो।
मेरी ती साथीलाई एकदमै असहज भइरहेको अनुभूति मैले किन पनि गरेकी थिँए भने मलाई पनि त्यस्तै असहज भइरहेको थियो।
दाइ यता आएर बसिदिए हुन्थ्यो भन्ने मलाई पनि लागिरहेको थियो। शायद दाइको ठाउँमा दिदी, बहिनी, भाउजू, आमा वा अरू कुनै महिला पात्र भइदिएको भए जुन असहजता, अप्ठ्यारो वा कस्तो कस्तोको आभास त्यो दिन भएको थियो, शायद हुँदैनथ्यो।
त्यो कस्तो-कस्तो अनुभूति दाइले भाँडा माझेकोमा भन्दा पनि पुरूष पात्रले किचेनको काम गरेकोमा लागेको थियो।
दाइ सोहीबेला घरभित्रका काममा आत्मनिर्भर भइसक्नुभएको थियो अर्थात् जुन ‘पुरूष सशक्तीकरण’ को कुरा यस लेखमार्फत् गर्न गइरहेकी छु। उक्त सशक्तीकरणकै कारण दाइ घरभित्रका काममा आत्मनिर्भर हुनुभएको थियो भने म र मेरी साथी अझै पुरानै सोचको सिकार बनिरहेका थियौं। किनकि हाम्रो दिमागमा घरभित्रको काम महिलाहरूको मात्र हो भन्ने कुरा यसरी अड्काइएको थियो कि त्यसलाई यताउता हल्लाउने दुस्साहस त्यसबेलासम्म गर्न सकेका थिएनौं।
अब सशक्तीकरणको अर्थ बुझौं। सशक्तीकरण भनेको कसैलाई कुनै काम गर्नका लागि दिइने शक्ति हो र यसले कुनै पनि व्यक्तिलाई चाहे त्यो पुरूष होस्, महिला होस्, लैगिंक तथा यौनिक अल्पसंख्यक समूहको होस् वा अपांगता भएको होस् बलियो, आत्मविश्वासी, आत्मनिर्भर र स्व:निर्णय गर्न सक्ने बनाउन सहयोग गर्छ। यस मानेमा सशक्तीकरण व्यक्ति, समाज र राष्ट्र परिवर्तन गर्ने महत्वपूर्ण औजार हो। समाजमा रहेका हरेक वर्गको हरेक क्षेत्रमा समान सहभागिता गराउन र उनीहरूको आवाज बुलन्दका साथ बाहिर ल्याउनका लागि पनि सशक्तीकरणको महत्वपूर्ण भूमिका हुन्छ।
सशक्तीकरण शब्द आफैंमा ओजिलो र फराकिलो शब्द हो, जसलाई विभिन्न क्षेत्रसँग जोडेर यसको प्रकार समेत छुट्याइएको छ। जस्तो व्यक्तिगत सशक्तीकरण, म आफैंभित्र परिवर्तन गर्ने शक्ति रहेको छ भन्ने विश्वास गर्नु हो।
अर्थात् गरिरहेको काममा व्यक्तिगत सशक्तीकरण बढाउनका लागि आफूले गरिरहेको कामको उद्धेश्य बनाई त्यसपछिका हरेक सफलतामा आफूले आफैंलाई पुरस्कार दिँदै गएपछि आफैंभित्र रहेको व्यक्तिगत सशक्तीकरण बढ्दै जान्छ। त्यस्तै लैंगिक सशक्तीकरणः समाज परिवर्तनका लागि समाजमा रहेका सबै वर्गका व्यक्तिसँग शक्ति रहनु, सामाजिक सशक्तीकरणः समाज परिवर्तन गर्न सक्छु भन्ने विश्वास हुनु, समाजमा रहेका नकारात्मक कुराहरू, व्यवहारहरूबारे आवाज उठाउन सक्नु, समाजमा हुने आपराधिक घटनाहरू, मानव अधिकार विरूद्धका सामाजिक मुद्दामा समूहगत रूपमा आवाज उठाई परिवर्तनको संवाहक बन्न सक्नु।
त्यस्तै शिक्षामा परिवर्तनका लागि आवाज उठाउनसक्नु शैक्षिक सशक्तीकरण हो भने मानिसहरूलाई आर्थिक रूपमा सम्मुनत बनाउनका लागि अर्थोपार्जनका विभिन्न सीप तथा औजारहरूमा सबैको पहुँच बढाउन सक्नु आर्थिक सशक्तीकरण हो। राजनीतिमा महिला, अपांगता भएका व्यक्तिको सहभागिता बढाएर त्यस वर्गका व्यक्तिहरूलाई म पनि सो स्थानसम्म पुग्न सक्छु आत्मविश्वास पैदा गरिदिएर उत्प्रेरित गर्नु राजनीतिक सशक्तीकरण हो भने विभिन्न सामाजिक तथा आर्थिक समूहबाट आएकाहरूको भोगाइ सुनिदिएर उनीहरूलाई सहानुभूति प्रदान गरिदिनु मनोवैज्ञानिक सशक्तीकरण हो।
यस लेखमा भने महिला र पुरूष महिला सशक्तीकरणलाई जोड दिएकी छु।
संसारमा महिलाहरू पनि पुरूषसरह नै हुन्छन् भन्ने मान्यतालाई स्थापित गर्नका लागि महिला सशक्तीकरण शब्दको उजागर भएको हो।
महिला भएकै कारण उनीहरूमाथि भेदभाव गर्न नहुने र महिला भएकै कारण उनीहरूले बाहिर गएर काम गरी आत्मनिर्भर हुने अधिकारलाई बञ्चित गर्न नहुने नै महिला सशक्तीकरणको मुख्य मान्यता हो।
समग्रमा भन्दा महिला सशक्तीकरण भनेको महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो।
आत्मनिर्भर भई, स्वःनिर्णय गर्न पाउने, आफ्नो अधिकारका प्रयोग गर्न पाउने कुरा नै महिला सशक्तीकरण हो। महिला सशक्तीकरणले आत्मनिर्भर महिलाको परिकल्पनासँगै पुरूषको व्यवहार र आचरणमा पनि परिवर्तनको माग गर्ने गर्दछ। अर्थात् सशक्त महिलासँग पुरूषहरूले गर्ने व्यवहारले नै महिला सशक्तीकरण सफल र असफल हुने कुरा गर्छ।
आफ्नो खुट्टामा उभिने, जागिर खाने, आफ्नो नाममा घरजग्गा राख्ने, राजनीति गर्ने, पत्रकारिता गर्ने, बैंकमा काम गर्ने, डाक्टर, इन्जिनियर, वकिल बनेर कार्य गर्ने महिलाहरू सशक्त महिलाहरू हुन्।
पहिला पहिला यी माथि उल्लेखित कामहरू पुरूषले मात्र गर्ने गर्दथे र महिलाहरू भने घरको चार खम्बामा सीमित हुनुपर्थ्यो। हरेक कुरामा महिलाहरू आफ्ना पुरूष बुवा, श्रीमान, दाजुभाइमाथि आश्रित हुनुपर्थ्यो, यद्यपि अझै केही ठाउँमा, देशमा यो कायमै रहेको छ।
महिला सशक्तीकरण हुँदैमा वा भएपछि सबै समस्या समाधान हुन्छ त?, के महिलाहरूले जागिर खान थाले भने ती महिला र पुरूषहरूबीच समानता कायम हुन्छ त?, के महिलाहरूको नाममा घर वा जग्गा हुनेबित्तिकै महिलाका सबै समस्या समाधान हुन्छन् त?, के महिलाहरु सशक्त भएमा उनीहरूमाथि हुने भेदभाव हराएर जान्छ त अर्थात् महिला र पुरूष बराबरी हुन्छन् त?
यी सबै प्रश्नहरूको उत्तर एकै शब्द वा वाक्यमा दिन कठिन छ। एकपाटोबाट मात्र हेर्दा हो महिलाहरू आत्मनिर्भर बन्दा, आफ्ना लागि आफैं निर्णयहरू लिन सक्दा उनीहरूको समग्र विकास हुन्छ र उनीहरूलाई कसैमाथि भर पर्नुपर्ने अवस्थाको अन्त्य हुँदैजान्छ। तर अर्कातिर चुनौती के छ भने महिलाहरू सशक्त बन्दैगर्दा उनीहरूको जिम्मेवारी झनै बढ्दै गइरहेको छ।
एकातिर उनीहरू जागिर खानका लागि घरबाहिर निस्कन थालेका छन् भने अर्कातिर घरको काममा महिलाहरूको मात्र जिम्मेवारी रहँदा उनीहरूले सही तरिकाबाट काममा खुबीअनुसारको कार्यसम्पादन (परममेन्स) दिन सकिरहेका छैनन्। जसका कारण अझै पनि समाजले महिलाहरूलाई कमजोर कै दर्जा दिई अवसरबाट बञ्चित गरिरहेको छ भने घर व्यवहार, र बालबच्चा आफ्नो मात्र दायित्व हो भन्ने मानसिकता स्वयम् महिलाहरूले पनि चिर्न सकिरहेका छैनन्।
एकातिर महिलाहरू आत्मनिर्भर त बन्दैछन् तर स्व:निर्णय लिनसक्ने अझै पनि हुन सकेका छैनन्।
आज पनि घरका महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा पुरूषहरूकै हाबी हुने गरेको छ।
महिलाहरू जागिर, व्यापारजस्ता पुरूषले गर्दै आएका काममा उनीहरूसरह समान रूपमा सहभागी त भएका छन् तर घरभित्रका खाना पकाउने, लुगा धुने, बच्चाको स्याहारसुसार गर्ने जस्ता काममा पुरूषको समान सहभागिता भने अझै प्रभावकारी रूपमा हुन सकेको छैन।
महिला सशक्तीकरणका कारण महिला आत्मनिर्भर बनिरहँदा पुरूष सशक्तीकरणको अभावमा घरभित्रका काममा उनीहरू अझै महिलाहरूमा भर पर्नुपर्ने अवस्था विद्यमान छ।
यो सबै चिर्नका लागि पुरूष सशक्तीकरण चाहिएको छ। महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउनका लागि महिला सशक्तीकरणले काम गरेको छ भने अब सशक्त महिलाका घरायसी जिम्मेवारी र उत्तरदायित्वहरूलाई पुरूषले पनि वहन गरी घर व्यवहारमा सशक्त पुरूष बनाउनु जरूरी छ।
आफ्नो क्षमता र दक्षताका आधारमा महिलाहरू आत्मनिर्भर बन्न सक्छन् भन्ने कुरा महिलाहरूले प्रमाणित गरेर देखाएका छन् भने अब घरका काममा महिलासरह जिम्मेवारी लिएर पुरूषहरूले पनि घरभित्रका काममा आफ्नो क्षमता र दक्षताका आधारमा आत्मनिर्भर बन्न सक्छन् भन्ने कुराको प्रमाण दिन सक्नुपर्छ।
महिलाहरू हरेक कुरामा आत्मनिर्भर बनिरहँदा पुरूषहरू भने अझै पनि महिलाहरूमाथि भर परेर बस्दा कदापि महिला-पुरूष बराबरी हुँदैनन्। पुरूषबिना पनि महिलाहरु अघि बढ्न सक्छन्, आफ्नो जीवनयापन गर्न सक्छन् भने महिलाहरूले प्रमाणित गरिरहँदा पुरूषहरू भने महिलाबिना बाँच्नै नसक्ने जस्तो देखिनु गलत हो। पुरूषहरूले आफ्ना आमा, भाउजू, श्रीमती, दिदी, बहिनी, बिना पनि घरका जिम्मेवारी लिई सशक्त र आत्मनिर्भर बन्न सक्छन् भन्ने देखाउन सक्नुपर्छ।
अभिभावकहहरूले आफ्ना छोरा र छोरी दुबैलाई घरका कामहरूप्रति महिलामात्र होइन पुरूषको पनि समान जिम्मेवारी हुन्छ भन्ने कुरा सिकाउनुपर्छ।
खाना बनाउने, लुगा धुने, आफ्ना बाल बच्चाको स्याहारसुसार गर्ने, घर सफा सुग्घर गर्ने जस्ता काम महिलाको नभई सबैका लागि जीवनयपयोगी सीप हुन् भन्ने कुरा अबका अभिभावकले आफ्ना हरेक सन्तानलाई सिकाउनुपर्छ।
अब महिलाहरूले घरबाहिर गएर पैसा कमाएर ल्याउन सक्छिन् भने पुरूषले पनि घरका जिम्मेवारीहरू सम्हाल्न सक्नुपर्छ।
घरका काममा पुरूष सशक्तीकरण नभएसम्म महिला सशक्तीकरणको सही रूपमा कार्यान्वयन हुन नसक्ने भएकाले पुरूषहरूले पनि जीवन उपयोगी सीपहरूका रूपमा रहेको घरभित्रको काममा आत्मनिर्भर हुनैपर्छ।
आज यो लेख लेखिरहँदा मैले समाजले दिएको रोल मात्र मेरो रोल होइन भन्ने कुरा बुझिसकेकी छु।
मेरो भाइले वा श्रीमानले घरभित्रका कामहरू गर्दा हिजो साथीको घरमा दाइले भाँडा माझेको बेला भएको जस्तो कस्तो कस्तो, असहज नभई उनीहरू आत्मनिर्भर बनेकोमा मलाई खुसी लाग्न थालेको छ।
घर सफा गर्ने, खाना बनाउने लगायतका घरका काम गर्ने मेरो भाइ र श्रीमानप्रति झनै गौरव बढेको अनुभूति हुने गरेको छ। अहिले जब कुनै महिलाका श्रीमान, भाइ, दाइ, बुवा, ससुरा, छोराले घरका कामहरू गरेको देख्छु तब मलाई अत्यन्तै खुसी लाग्ने गरेको छ।
सशक्तीकरणका लागि व्यवहारिक रूपमा अभ्यास गरिरहँदा केही कठिनाइ पक्कै आइलाग्छन् तर ती कठिनाइलाई चिर्दै अघि बढेमात्र सफल बनिन्छ।
केही दिन अघिमात्र महिला र पुरूष सशक्तीकरणका कुरा भइरहेका बेला मेरो आफन्त पर्ने बहिनीले भनिन्ः ‘दिदी मलाई मेरो श्रीमानले घरका काममा सघाइदिओस जस्तो त हुन्छ अनि उनले सघाइ पनि दिन्छन् तर उनले गरेको काम मलाई चित्त नै बुझ्दैन। बच्चालाई लुगा पनि नमिलाई लगाइदिने, बच्चालाई खुवाउन लगायो, मुखमा भन्दा बढी बच्चाको कपडामा खाना पारिदिने, बच्चाको आची राम्रोसँग सफा नगरिदिने, लुगा धुन लगायो साबुन, सरफ नै बाँकी रहने,सबै आफूले दोहोर्याउनुपर्ने। त्यही भएर आजकल त म जति हतार भए पनि आफैं सबै काम गर्न थालेकी छु। यी केटा मान्छेहरूलाई जातैले काम गर्न नआउने।’
उनको यो बेलिबिस्तार सुनेर मलाई कुनै अनौठो भने लागेन किनकि कहिल्यै घरमा काम नगरेका, घरको काम महिलाको हो भन्ने संस्कारबाट हुर्केका बढेका पुरूषहरूले एकैचोटि यी काम गर्दा महिलाहरूले जस्तो चटक्क पारेर गर्छन् भन्ने सोच्नु नै गलत हो। तर मेरी आफन्त बहिनीले भनेजस्तो चित्त नबुझेपछि ती काम आफैंले गर्न थाल्नु चाहिँ गलत हो।
यदि त्यस्तो गर्न थालियो भने न त महिला सशक्तीकरण हुन्छ न त पुरूष सशक्तीकरण नै। नयाँ काम सुरूकै दिनमा सही तरिकाले कहाँ गर्न सकिन्छ र! काम गर्दै गएपछि बल्ल सुधार हुँदै जाने त हो। कहिल्यै नगरेको काममा पहिलो दिन नै उत्कृष्ट नतिजाको आशा गरेर कहाँ हुन्छ र? घरायसी काममा पनि एकदिन राम्रो नगर्लान्, अर्को दिन नगर्लान् तर दिनहुँ त्यही काम गर्न थालेपछि पक्कै उक्त काममा निखारता आउँदै जानेछ र तपाईं हाम्रो चित्त पनि बुझ्दै जानेछ।
अतः यो चित्त नबुझ्ने भन्ने फ्रेजलाई महत्व नदिइकन अगाडि बढेमात्र सशक्तीकरणले सार्थकता पाउँछ। घरमा भएका पुरूष पात्रले गरेको काम महिलालाई चित्त नबुझ्ने अनि घरबाहिर, कार्यालयमा, राजनीतिक दलमा, सरकारमा महिलाहरूले गरेको काम पुरूष पात्रलाई चित्त नबुझ्ने क्रम बढाउँदै लैजाने हो भने त महिलाहरू राजनीतिका मुख्य स्थानमा, सरकारका मुख्य पदमा, अस्पतालको प्रमुखमा आउन अझै कैंयन् समय लाग्नेछ ।
अतः चित्त नबुझ्ने कुरालाई एकातिर पन्छाएर पुरूष र महिलाले घर र घरबाहिरका काममा समान रूपमा योगदान पुर्याए भने साँचो अर्थमा समानता हुन्छ।
घरभित्र र घरबाहिरको काममा पुरूष र महिलाको समान सहभागिता भएपछि मात्र सन्तुलन कायम भई दुबैतिर महिला र पुरूषले अपेक्षा अनुसारको काम गर्न सक्नेछन्।
यसो हुनसक्यो भने सशक्त महिलाहरू घरमा पनि पुरूषसरहको हैसियतमा रहन पाउनेछन्, यसो हुन सकेन भने एउटै घरमा रहेका जागिरे श्रीमती र श्रीमान, राजनीतिज्ञ बहिनी र भाइ अनि व्यापारी दाइ र दिदीबीचको हैसियतमा फराकिलोपन झनै गहिरिँदै जानेछ।