जर्मनीमा हामी मास्टर डिग्रीमा भर्ना भएको लगभग एक वर्ष बढी भैसकेको थियो। हामी तेस्रो सेमेस्टरमा गएको पनि दुई महिना बितिसकेको थियो। तेस्रो सेमेस्टरबाट नै हामीले थेसिस लेख्नु पर्ने हुन्थ्यो, त्यसैले हाम्रो थ्योरी कक्षा एकदमै कम हुन्थ्यो त्यतिखेर।
तेस्रो सेमेस्टर सुरु भएको दुई महिनापश्चात क्रिसमस र नयाँ वर्ष मनाउनलाई हामीले दश दिनको बिदा पायौं। जनवरी ३, २०११ सोमबारको दिन हाम्रो पहिलो कक्षा प्रारम्भ हुने रुटिन पनि हामीले बिदासँगै पायौं। हामी नेपाली विद्यार्थीहरूले यही मौका पारेर नयाँ वर्ष नेदरल्याण्डको राजधानी एम्स्टर्डममा मनाउने निधो गर्यौं। हामीले फ्रान्कफर्टबाट एम्स्टर्डम अनि बर्लिन हुँदै फ्रान्कफर्ट फर्किने यात्राको कार्यक्रम बनायौं। हाम्रो योजना अनुरुप हामी जनवरी २ मा आफ्नो छात्राबास फर्कियौं।
तर एउटै कक्षाका हामी ६ जना नेपालीहरू पहिलो दुई दिनको कक्षामा अनुपस्थित रह्यौं। हामी अनुपस्थित हुनु हाम्रो लागि सामान्य नै थियो। हामी ६ जना नेपाली विद्यार्थीहरू विभिन्न स्कुल, कलेज र नेपालको विभिन्न सहरमा पढे पनि बिदा पछिको पहिलो केही दिनहरू पूर्ण पढाइ नहुने अनुभव भने नेपालभरि नै समान थियो।
यात्राको थकान र बढ्दो चिसोले गर्दा बिना कुनै सल्लाह हामी ६ जना नेपाली विद्यार्थीहरू पहिलो दुई दिनको कक्षा बंक गर्यौं। बिना कुनै पछुतो मानी हामी विश्वविद्यालय खुलेको तेस्रो दिन कक्षा पुग्दा अन्तर्राष्ट्रिय कार्यालय र हाम्रो विभागमा हाम्रो अनुपस्थितिलाई लिएर ठूलै हङ्गामा भएको रहेछ। बिदाको भोलिपल्ट रुटिन अनुरुप कक्षा पूर्ण रुपमा भएको कुरा हाम्रो लागि पनि अनौठो भयो।
हाम्रो जर्मन, युरोपेली साथै अफ्रिकी र एसियाली साथीहरू सबै पहिलो कक्षामा उपस्थित पनि थिए। झन् जर्मन, युरोपेलीहरू क्रिसमस र नयाँ वर्ष मनाउन आफ्नो परिवार र मित्रजनलाई भेट्न सहर र देश बाहिर गएर पनि पहिलो कक्षामा उपस्थित थिए। हामीले गरेको गल्ती बुझ्न नै मलाई अलिक समय लागेको थियो।
हामी ६ जना यसरी कक्षा बङ्क गर्नु संयोग हो र?
हामी ६ जना आम नेपालीभन्दा अपवाद हो र?
अवश्य पनि होइन! यसमा कुनै दुई मत नहोला, हामी नेपालीले समयको कदर हाम्रो अनुकूल नै गर्छौं। समय तालिकाले हामीलाई खासै पूर्ण रुपमा आनुशासित बनाउन नसक्ने रै’छ। हामी ६ जना त्यही आधिकांश नेपालीको प्रतिबिम्ब थियौं।
प्रवासको बसाइमा विस्तारै मैले आनुभव गर्न थालेँ, ९ बजे कुनै कार्यालय खुल्छ भन्नुको अर्थ ९ बजेबाट काम सुरु हुने हो। कार्यालय खुल्ने समयभन्दा करिब आधा घण्टा अगाडि नै कर्मचारीहरू आएर कागजपत्र मिलाइकन मानसिक रुपमा समयमा सेवाग्राहीलाई सेवा दिन तयार रहन्छन्। यस्तो अभ्यास नेपालमा पनि केही कार्यालयमा नदेखिएको होइन। तर जर्मनीमा भिन्न के लाग्यो भने चाहे गाउँ होस् या सहर, सरकारी वा निजी सबै ठाउँमा एउटै अनुशासन- तोकिएको समयमै सेवा दिने!
हामीकहाँ धेरैजसो ठाउँमा चाडपर्वको केही दिन अगाडिदेखि नै कामको जिम्मेवारी कम लिन थाल्छन्। निश्चित समयमा काम नसकेर कामलाई चाडपर्वपछि सारेर ढिलाइ गर्नु सामान्यजस्तै भैसकेको छ। यस्तै मैले परामर्श दिने केही संघ संस्थानको दसैँ बिदाको रोचक अनुभव छ।
दसैँको बिदा सामान्य रूपमा फूलपातीदेखि एकादशीसम्म मात्रै हुन्छ। टाढा घर भएकाहरूलाई घर जान र फर्केर आउन करिब दुईदेखि चार दिन बिताउनु पर्ने हुन्छ। म हाल आवद्ध भएको ४ संस्था मध्ये दुई वटा कर्मचारीको स्थितिलाई बुझ्ने लचिलो संगठन मान्छु।
त्यहीमध्ये एउटा संस्थाले वार्षिक बिदालाई समायोजन गर्दा शनिबार, आइतबार गरेर दसैँमा १२ दिन बिदा दिन पुग्यो। यसो गर्दाको अनुमान के थियो भने कर्मचारीलाई यति लामो बिदा दिँदा कार्यालय खुलेको पहिलो दिनमै सबैजना पूर्ण रुपले उपस्थित हुन्छन्। तर अधिकांश कर्मचारीले कार्यालय खुलेको पहिलो दुई दिन बिदा लिएर संस्थालाई पूर्ण रुपमा स्थिर बनाइदिए।
त्यस्तै अर्को संस्थाले कोजाग्रत पूर्णिमापछि पनि यातायातको लागि थप एकदिन बिदा दिएको थियो। त्यहाँ ५०% भन्दा बढीले शुक्रबार बिदा लिएर आइतबारबाट कार्यलयमा उपस्थित भए।
बिदा लिनु नितान्त व्यक्तिगत निर्णय हो, तर पूरै वा आंशिक रुपमा कार्यालय ठप्प हुने गरी बिदा लिनुलाई कसरी सकारात्मक लिन सकिन्छ? यसरी आफूलाई मात्रै केन्द्रमा राखेर बिदा लिँदा सहकर्मीहरूको र सेवाग्राहीको मनोभावलाई निरुत्साहित हुन्छ वा हुँदैन भनेर मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन?
सबैभन्दा ठूलो समस्या मलाई लागेको के हो भने, यसरी बिदा लिइसकेपछि पनि पहिलो दिन आधिकांश कर्मचारी थकित, काममा कम रुचि भएको नै पाउँछु। धेरैजसो कार्यालयको बिदा पछिको पहिलो दिन- आइतबार वा सोमाबर, कर्मचारीहरु थकित हुन्छन्। यो थकान मानसिक वा शारीरिक दुवै हुनसक्छ। यो थकानको प्रभाव दिनको पहिलो भागसम्म देखा पर्छ- सुस्त कामको रुपमा।
तीन वर्षको प्रवास बसाइमा मैले काम प्रतिको लागाव भिन्न पाएँ। त्यहाँ हप्तामा ४० घण्टा काम गर्दा करिब ४० घण्टा नै एउटा कर्मचारीले काममा समय खर्चेका हुन्छन्। कार्यालयसँग अनुबन्धित नियमित पेसाहरूमा प्रत्येक हप्ता शनिबार र आइतबार बिदा हुने र अरु पाँच दिन गरेर ४० घण्टा काम गर्नु पर्ने अभ्यास चलन चल्तीमा रहेको छ।
पछिलो समयदेखि नेपालमा पनि यस्तै चलन-चल्ती बढिरहेको छ। प्रत्येक हप्ता 'गुड फ्राइडे' मनाउने नक्कल त हामीले गर्न थाल्यौं तर कामको पहिलो दिन काममा १००% दिन सकेनौं। फरक यति मात्रै हो, यसलाई व्यवस्थित गर्ने क्षमता सबैमा नहुँदो रहेछ।
बिदा व्यवस्थापन गर्न सक्ने कौशलता मैले प्रवासमा अनुभव गर्न पाएँ। त्यहाँ शुक्रबार साँझपछि कोही बाहिरी दुनियाँको झिलिमिलीमा रमाइलो गर्छन् भने कोही परिवार र आफन्तसँगको संसारमासँगै बस्न रमाउँछन्। शनिबार हप्ताभरिको किनमेल गर्नुसँगै परिवार वा मित्र भेला गर्ने, बाहिर घुम्न जाने, मनोरञ्जन गरेरै दिन अन्त्य गर्छन्। आइतबारको बिदा अलिक फरक तरिकाले बिताउने गर्छन्। काम, किनमेल, भेटघाट, मनोरञ्जनले उत्साहसँगै ल्याएको थकान मेट्नलाई आइतबारको बिदालाई सदुपयोग गर्ने गर्छन्।
आइतबारको दिन परिवार र आफ्नो लागि मात्रै हो भन्ने आम बुझाइ रहन्छ त्यहाँ। आइतबारको दिन बाहिर जानै पर्यो भने चर्च गएर प्रार्थना गर्नु र परिवार इस्टमित्रसँग समय बिताउनु वा आराम गर्नुलाई सामान्य मानिन्छ। आधिकांश समय घरभित्र सिमित भएर होला अरु दिनको अनुपातमा प्रवासमा आइतबार चहलपहल शून्यजस्तै हुन्छ। मनोरञ्जन, आराम, पारिवारिक समय र कामलाई सन्तुलन, व्यवस्थापन गर्न सक्ने कौशलता त्यहाँ देखिन्छ। यो अभ्यासले गर्दा होला सायद सोमबारको दिन सुरुआतबाटै कार्यालयको कामको लागि मानसिक र शारीरिक रुपमा सबैजसो व्यक्तिहरू तयार देखिन्छन्।
समयसँगै आज नेपालमा खर्च गर्ने क्षमता वृद्धि भैरहेको छ। विशेषगरी काठमाडौं र मेट्रो सहरहरूमा टेबल वर्करहरूको व्यक्तिगत र पारिवारिक आम्दानी बढिरहेको छ। घरायसी खर्चसँगै चाडपर्व, अरु व्यवहार धन्दाको खर्चलाई सहजै सहरी परिवारले मिलाएर व्यवस्थापन गरी शेष अर्थ (बाँकी रकम) आफ्नो शोख र रुचिमा खर्चन सक्छन्। फलस्वरूप आज आन्तरिक पर्यटन, लत्ताकपडा, इलेक्ट्रोनिक्स, ग्याजेट्स, अनलाइन सेवाहरू, अटोमोबाइल, रेस्टुरेन्ट, थिएटर, डिस्को, पव इत्यादीहरूको व्यापार बढ्दो छ।
तर काम, परिवार, इस्टमित्र आफ्नो शोख र रुचिहरूमा उचित समय व्यवस्थापन गर्न नसक्दा सेवा प्रदायकको उर्जामा कमि देखिएको हुन्छ। आफ्नो प्राथमिकताहरूलाई व्यवस्थापन गर्न नसक्नुले नै आफ्नो कार्यालय र पेसालाई बलीको बोका बनाएको पनि देखिन्छ।
व्यवस्थापनकै कुरा गर्दा एउटा रोचक प्रसंग सम्झन्छु। केही समय अगाडि एकजना भाइसँग छोटो अवधिको परियोजनामा काम गर्दा उसको इनपुटले म प्रभावित भएँ। कुनै छनोट प्रक्रियामा नलागी उसलाई मसँग काम गर्न प्रस्ताव गरेँ। संघ-संस्थाहरूलाई व्यवस्थापन र नेतृत्व, परामर्श र प्रशिक्षण दिन मलाई एकजना सहयोगी पनि चाहिरहेको थियो।
विस्तारै मैले उसँग काम गर्दै जाँदा ऊ अलमल भएको पाएँ। उसलाई दिएको जिम्मेवारीहरू पूरा हुन नसकेकोले आन्तिम समय तिर मलाई नै कामको अतिरिक्त दबाब हुन थाल्यो। काममा किन ढिलाइ भएको भनेर बुझ्दै जाँदा, उसको अनेकौं बहानाहरू सुनेपछि, उसले आफूलाई व्यवस्थापन गर्न नसकेको निष्कर्ष निकालें। आजको समयमा व्यक्तिगत, पारिवारिक र व्यावसायिक प्राथमिकताहरूलाई व्यवस्थापन गर्न सक्नेले नै जीवनमा सन्तुलन पाउँछन्। ऊ मेरो सबै कुरासँग सहमत हुँदै गयो तर एक ठाउँमा हाम्रो विचार मिलेन।
जब मैले उसलाई रुटिन र डेडलाइन बनाएर काम गर्न सुझाएँ, उसको उत्साहमा साह्रै नै कमि आएको थियो। मैले उसको भावलाई धेरै बुझ्न सकिनँ र रुटिन, डेडलाइन बनाउन उसलाई दुई वटा विकल्पहरू दिएँ। उसले स्वयम बनाउने अथवा मैले उसको लागि बनाइदिने। केही समयको मौनतापछि उसले स्वयम बनाउने भनेर एक हप्ताको समय मसँग माग्यो।
एक हप्तापछि यही विषयमा पुन: कुराकानी गर्दा उसले रुटिन, डेडलाइन केही नबनाएको र काममा पनि केही प्रगति गर्न नसकेको पाएँ। मैले फेरि प्रस्ताव गरें रुटिन, डेडलाइन बनाइदिन्छु भनेर, तर उसले यसलाई सकारात्मक रुपमा लिएन। राम्रो कुरा के हो भने, कुरा गर्ने वातावरण सौहार्दपूर्ण नै थियो। मैले कुरा खोतल्दै जाँदा उसको अनौठो किसिमको मनोभाव पाएँ। केही समयको संकोचपछि उसले मलाई भन्यो, रुटिन र डेडलाइनमा काम गर्दा एकदमै बोरिङ हुन्छ।
उसको आकांक्षा उद्यमी हुने हो, त्यही भएर उसलाई रुटिन र डेडलाइनमा काम गर्न मन लाग्दैन। अनि समयमा काम नसकाउने हो भने कसले हामीलाई नयाँ काम दिन्छ भनेर जिज्ञासा गर्दा ऊ मौन भयो।
यो पाराले कसरी सफल उद्यमी भइन्छ र! मेरो आफ्नै आकांक्षा उद्यमशीलता तिर उन्मुख छ, त्यही भएर बिना गुनासो निरन्तर रुपमा काम गर्छु। आवश्यकताअनुसार औसतमा १२-१४ घण्टा काम र नेटवर्किङ गरेर आगाडि बढ्ने प्रयास गरिरहेको सफल उद्यमीहरू मात्रै देख्छु, म त! यति गर्दा पनि चाड पर्व, मनोरञ्जन, परिवारसँग बिताउनु पर्ने समयलाई सन्तुलनमा राख्न सकेका हुन्छन् उनिहरूले।
कामको चाप सधैं एउटै प्रकारको हुँदैन। धेरैजसो नियमित रुपमा काम अगाडि बढिराखेको हुन्छ भने कहिलेकाहीँ कामको चाप शिखरमा पुगेको हुन्छ। आफ्नो कामको प्रकृति बुझेर रुटिन र डेडलाइनलाई प्रभावकारी ढंगले प्रयोग गर्दा समय व्यवस्थापन गर्न मद्दत गर्छ भन्ने मेरो बुझाइ हो।
तर सिद्धान्तको आफ्नै सीमितता हुन्छ। सबैले एउटै सिद्धान्त अभ्यास गर्नु पर्ने मेरो मनसाय कदापि होइन। तर अन्त्यमा दिएको जिम्मेवारी त समयमै सकाउनु पर्यो नि! एक हप्तामा ४० घण्टा पनि पूर्ण रुपले काम गर्न नसक्नु र आकांक्षा उद्यमी बन्ने हो भने कुनै ब्याकअप नभइकन सम्भव देख्दिनँ। सबैले काममा उस्तै मेहनत गर्नुपर्छ भन्ने मान्यता पनि राख्दिनँ म। तर आकांक्षा अनुरुप मेहनत गर्नु अपरिहार्य विषय नै हो।
मेहनती र वर्कहोलिकमा भिन्नता नछुट्टाउँदा, कसैले काममा धेरै समय लगानी गर्ने बित्तिकै वोर्कहोलिक भनिने चलन छ हाम्रो समाजमा। वर्कहोलिकहरू ती व्यक्तिहरू हुन् जसले जबरजस्ती लामो समयसम्म काम गर्छन्, प्रायः सप्ताहन्तमा र छुट्टीको समयमा। तिनीहरू शारीरिक रूपमा काम गर्ने लत भएका हुन्छन्।
अर्कोतर्फ कडा परिश्रम गर्ने व्यक्तिले कामको उद्देश्य बुझ्नुसँगै, दूर दृष्टिको साथ अगाडि बढेका हुन्छन्। कामसँगै आफूलाई र आफ्नो परिवार-इस्टमित्रलाई प्राथमिकतामा पनि राखेका हुन्छन्। दुर्भाग्यवश सबैमा यो सब व्यवस्थापन गर्न सक्ने कौशलता नै हुँदैन।
औसतमा नेपालीहरूले प्रत्येक हप्ता ४४ घण्टा काम गर्छन् तर कार्यकुशलता विकसित मुलुकभन्दा निकै नै कम हुन्छ। सम्भावित यसको दुई कारण छन्- पहिलो काममा फोकस गर्नलाई बाह्य वातावरण अनुकूल नहुनु, दोस्रो कारण हाम्रो आफ्नै प्राविधिक र अनुकूलन कौशलता पर्याप्त नहुनु।
आम रुपमा हाम्रो कार्य दक्षता विकसित मुलुकभन्दा कम रहेको चर्चा एकदमै हुन्छ। आज कुनै पनि काम एउटा निश्चित दिशामा सीमित छैन। यो गतिशील युगमा काममा निपूर्णता पाउनलाई अन्तः विषयहरुमा लगानी गर्नु पर्ने हुन्छ। आज राजनीति, नीति, अर्थशास्त्र, समाज, प्रविधि, वातावरण, कानुन इत्यादी विषहरूको अवधारणा कुनै पनि काममा परार्वतन गर्नु पर्ने हुन्छ।
महत्वपूर्ण कुरा के हो भने, व्यावसायिक जीवनमा कडा परिश्रमको कुनै विकल्प छैन। कडा परिश्रम भन्नाले प्राविधिक व्यस्तता मात्र होइन। निरन्तर रूपमा लगनशील भएर प्राविधिक जिम्मेवारी नेतृत्व गर्दै सिक्न सक्ने, सिकेको कुरा बिर्सन सक्ने र पुन: नयाँ कुरा सिक्न सक्ने मानसिकता पनि विकास गर्दै काममा नवीनता ल्याउनु हो!