अहिले नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ। युवा, त्यसमा पनि महिला नेतृत्वले वडा, नगरमा चुनाव जितेका समाचारहरू आइरहेका छन्। कुल जनसंख्याको ५१ प्रतिशत महिला भएको देशमा महिलाहरू राजनीतिको तल्लो तहका केही स्थानमा नेतृत्वमा आउँदा समाचारका पात्र बनिरहेका छन्।
महिलाहरू बिस्तारै सक्रिय राजनीतिमा आइरहेका छन् है भनेर खुसी भइरहँदा के यी आएका महिला भोलि राष्ट्रिय राजनीतिको नेतृत्व तहसम्म पुग्न सक्ने परिस्थिति छ त भन्ने कुरा पनि सँगै उठेको छ।
हामी एकातिर राजनीतिमा महिलालाई नेतृत्व दिइएन, कार्यकारी पद दिइएन भनेर चर्का स्वरमा बहस गरिरहेका छौं। सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छौं। अर्कातिर हाम्रा घरमा भएका महिलालाई राजनीति गर्नबाट रोक पनि लगाइरहेका छौं।
हिजोका दिनमा राजनीति गर्न निष्ठावान्, विवेकी, समाजमा केही न केही परिवर्तन गर्न सक्ने खुबी भएको, स्वच्छ छवि भएको, पढे-लेखेको व्यक्ति हुनुपर्थ्यो। तर आज शक्ति र पुँजी हुनेहरूले राजनीति गर्ने हो भन्ने मानसिकता मौलाउँदै गएका कारण राजनीतिलाई ‘काम नलाग्ने’ कुरा भनी परिभाषित गरिरहेका छौं।
पढे-लेखेका, विवेकी महिला त डाक्टर, इन्जिनियर, पाइलट, नर्स, वैज्ञानिक, बैंकर बन्ने हो भन्ने मानसिकताका कारण नै आज राजनीतिमा गलत व्यक्तिको हाबी बढ्दै गएको छ। जसका कारण सिंगो मुलुक अझै ठूलो संकटमा जाने अवस्था आउन सक्छ।
महिला कोटा पुर्याउन मात्र राजनीति नबुझेका तर आफूले भनेको मान्ने खालका महिलालाई राजनीतिमा ल्याउने क्रम पनि उत्तिकै बढेको पाइएको छ। यस्तो अभ्यासले न त राजनीतिमा महिलाको चाख बढ्छ न त नेतृत्व नै।
महिला आन्दोलनका यावत मुद्दामध्ये राजनीतिमा अधिकारसहितको महिला सहभागिता प्रमुख रूपमा छ। नेपालको संविधानले हरेक क्षेत्र, तह र तप्कामा ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने गरी आरक्षण व्यवस्था गरेको छ। जुन राजनीतिक दलले पनि आफ्नो विधानमा राखी अवलम्बन गरिरहेको दाबी गर्छन् तर महिला कोटाबाहेक कार्यकारी पदमा महिला अझै अटाउन सकिरहेका छैनन्। नेतृत्व त झन् परको कुरा।
कहिलेकाँही पत्रकारहरूले ठूला नेताहरूलाई ‘महिला नेतृत्व कहिले’ भनेर प्रश्न सोध्दा राष्ट्रपति र पूर्वप्रधानन्यायाधीशलाई महिला नेतृत्वको रूपमा चित्रित गर्ने गरेका छन्।
महिला पुरुषभन्दा केही कुरामा कम छैनन्। नेतृत्व पाएको खण्डमा नेतृत्व गर्न सक्षम छन् भन्ने कुरामा विमति कसैको छैन। तर कुराले मात्र हुँदैन।
नेतृत्वमा आउन तल्लो तहदेखि सक्रिय रूपमा राजनीति गर्नुपर्छ। काम गर्नुपर्छ। अनि बल्ल नेतृत्वमा आउन सकिन्छ। तर यथार्थमा महिलाहरू सक्रिय राजनीतिमा आउने हिम्मत नै जुटाउन सकिरहेका छैनन्। किन त?
उत्तर प्रष्ट छ।
पितृसत्तात्मक समाजका कारण। प्रत्येक महिला नेता हुनुभन्दा अगाडि घरपरिवारलाई सम्हाल्ने व्यक्ति हुन्। आमा, पत्नी, छोरी, दिदीबहिनी, बुहारी हुन्। घर परिवारलाई जोडेर राख्ने खम्बा हुन्। सक्रिय राजनीति गर्न माथि उल्लेखित सबै भूमिका एकातिर पन्छाएर वा अरू कसैको काँधमा राखिदिएर राजनीतिक जीवनलाई प्रमुख बनाएर हिँड्न सक्ने हिम्मत गर्न सक्नुपर्छ। अनि ती महिलाले जुटाएको हिम्मतमा परिवार र समाजका हरेकले साथ दिन सक्नुपर्छ।
पितृसत्तात्मक समाजमा हरेक महिलाले नेतृत्वमा देख्ने पात्र भनेको पुरुष नै हुने गर्छ। छोरीहरूले घरमूलीको रूपमा देखेको पात्र पुरुष, विद्यालयमा कक्षाको मनिटर पुरुष, विद्यालयको प्रधानाध्यापक पुरुष, आफ्नो वडाको वडाध्यक्ष पुरुष, जागिर खाने ठाउँको हाकिम पुरुष, पैसा जम्मा गर्ने बैंकको म्यानेजर, कार्यकारी प्रमुख पुरुष, नगरको मेयर पुरुष, अनि देशको प्रधानमन्त्री पनि पुरुष।
जन्मेको घरदेखि हरेक क्षेत्रमा नेतृत्व गर्ने पात्र पुरुष मात्र देखेकी महिलाको आत्मविश्वासमा कमी आउनु स्वभाविक हो। र, यो अवस्थामा महिलाहरूले एकैचोटि राजनीतिक नेतृत्वमा पुग्ने हिम्मत गर्न सकिरहेका छैनन्।
साँचो अर्थमा महिलालाई राजनीतिक नेतृत्वमा पनि अघि बढाउने हो भने पहिला समाजको हरेक क्षेत्रका अंगअंगमा महिला नेतृत्व स्थापित गर्न सक्नुपर्छ। महिलाको राजनीतिक नेतृत्व विकास केबल ३३ प्रतिश आरक्षणले मात्र हुँदैन। साँच्चै महिलाको नेतृत्व विकास गर्ने हो भने हरेक स्थान/क्षेत्रमा नेतृत्वसम्म पुग्न सक्ने वातावरण पनि दिनुपर्छ।
कक्षाकोठाको मनिटरदेखि, विद्यालय हाउसको क्याप्टेन, प्रधानाध्यापकदेखि लायन्स क्लबको सभापति, बैंकको म्यानेजरदेखि सिइओ, निजी संघसंस्थाको कार्यकारी प्रमुखदेखि आइएनजिओको प्रमुखमा महिलाहरू आउनुपर्छ। उनीहरुलाई नेतृत्व दिइनुपर्छ।
यसरी सबैतिर महिला पहिलो व्यक्ति (फस्ट पर्सन) का रूपमा स्थापित हुन थालेपछि मात्र यो देशले महिला प्रधानमन्त्री, महिला मेयर, महिला पार्टी अध्यक्ष, महिला गर्भनर, महिला राजदूत पटकपटक पाउन सक्छ। सबै क्षेत्रमा नेतृत्व देखेपछि बल्ल महिलामा पनि घरपरिवारबाट माथि उठेर अघि बढ्ने हिम्मत आउँछ। आफूसँग भएको क्षमतामाथि आत्मविश्वास पलाउँदै जान्छ। अनि बिस्तारै बिस्तारै बिना कोटा पनि पुरुषसरह नेतृत्वका लागि क्षमताको आधारमा आफैं अघि बढ्न सक्छन्। सामाजिक नेतृत्वमा महिला संख्या बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव राजनीतिक नेतृत्वमा पनि पर्न थाल्छ।
बिडम्बना के छ भने, अहिले त पुरुषको हो मा हो मिलाउने, राजनीति नै नबुझेका महिलालाई कोटामा राखी जिताएर ल्याउने अनि राजनीति बुझेका, विचार बोकेका र सम्भावना बोकेका महिलालाई वडा तहदेखि नै हराउने गरेका उदाहरण प्रशस्त छन्।
महिला नेतृत्वलाई यसरी अघि बढ्नै नदिएपछि देशले कहिले पाउला कार्यकारी प्रधानमन्त्री?
राजनीति नै नबुझी जबरजस्ती ल्याइएका महिला कहिलेसम्म टिक्लान् राजनीतिमा?
त्यस्ता महिलाले न त पुरुष नेतृत्वसँग प्रतिस्पर्धा गर्न सक्छन्, न त आफैं अघि बढ्न।
राजनीति गर्ने व्यक्तिको क्षमताको मापन उसको शारीरिक उपस्थिति अर्थात ऊ कति हिँड्यो, कार्यकर्ताको काम कति गर्यो, कति मान्छेलाई भेट्यो आदिका आधारमा गरिन्छ।
हाम्रो सामाजिक संरचनाअनुसार महिलाको भूमिका भनेको घरपरिवार सम्हाल्ने हो। पुरुषले खाएको थालमा नै चुठेर हिँडे हुन्छ भने महिलाले आफूले खाएको थाल मात्र नभई परिवार सबैको थाल माझेर मात्र हिँड्न पाउँछन्। पुरुषले लगाएको लुगा खोलेर हिँड्ने स्वतन्त्रता समाजले दिएको छ तर महिलाले आफ्ना र सम्पूर्ण परिवारका लुगा धोएर, सुकाएर, पट्याएर मात्र हिँड्नुपर्छ।
सोचौं त, यी सबै घरायसी काम सिध्याएर राजनीति गर्न हिँडेका महिला पुरुषसँग कसरी प्रतिस्पर्धा गर्न सक्लान्?
परिवार सम्हाल्ने भूमिका निर्वाह गर्दै राजनीति क्षमता प्रस्तुत गर्न नियमित रूपमा गरिने भौतिक भेटघाट, जुनसुकै बेला हिँड्न सक्ने अवस्था महिलाको हकमा सहज पटक्कै छैन। अतः भौतिक रूपमा उपस्थिति हुन नसकेकै कारण महिलाको क्षमतामाथि प्रश्न गरिन्छ। कार्यकर्ताका नजिक नजाने, रात्रीकालीन बैठकमा उपस्थिति जनाउन नसक्ने, कार्यकर्ताका काम नगरिदिने महिलालाई कार्यकर्ता त के आफ्नै राजनीतिक सारथीले पनि पत्याउँदैनन्। समग्रमा महिलालाई सक्रिय राजनीतिमा प्रवेश गर्न ठूलो चुनौती छ।
राजनीति गर्न पुरुषका लागि पनि सहज नहोला। तर पुरुषका चुनौतीभन्दा महिलाका चुनौतीको हिमाल सयौं मिटर अग्लो छ। सक्रिय राजनीति गर्न ठूलो त्याग र पर्याप्त समय व्यवस्थापन गर्न सक्ने हुनुपर्छ। फुर्सदको समयमा राजनीति गर्छु वा टाइमपासका रूपमा गर्छु भन्ने हो भने उक्त राजनीति कि त घर परिवारभित्र वा हदै गए वडा र नगरपालिकामा गएर टुंगिन्छ।
तर अब के चुनौती छ, घर व्यवहार छ भनेर महिलाले सक्रिय राजनीति नै नगर्ने त?
पक्कै होइन।
अवसर पाएका बेला नगर्दा पछि अवसर र आरक्षण दुवै नभएका बेला नेतृत्व आउन र पाउन झनै कठिन छ। अतः वर्षाैंदेखि जरो गाडेर बसेको पितृसत्ताका सोच बिस्तारै परिवर्तन गर्दै र परिवारको जिम्मेवारीमा पुरुषसँग पनि सहकार्य गर्दै हिम्मतका साथ अघि बढ्नुको विकल्प छैन।
योसँगै राजनीति गर्ने तरिकामा पनि परिवर्तन गर्नु आवश्यक छ।
भौतिक उपस्थितिको आधारमा मात्र नभई विचारका आधारमा पनि नेतृत्व क्षमता मापन गर्नुपर्छ। भौतिक उपस्थितिका आधारमा मात्र संगठन चलाउन सकिन्छ भन्ने आम बुझाइ र सोचाइ परिवर्तन गरी विचारका आधारमा पनि क्षमता मापन गर्न सकिन्छ भन्ने धारणाको विकास गर्नुपर्छ।
विचार बोकेका क्षमतावान महिलालाई घरदेखि नै राजनीति लगायत नेतृत्वमा अवसर र प्रोत्साहन दिनुपर्छ। महिलाले क्षमता नभएर होइन अवसर नपाएर अघि बढ्न नसकेका हुन् भन्ने मध्यनजर गरी उनीहरूलाई नेतृत्वमा पुग्न सक्ने गरी ठाउँ दिनुपर्छ। र, स्वयं महिलाले पनि शाहस र आत्मविश्वास साथ अघि बढ्नुपर्छ।
तब मात्र राजनीतिको नेतृत्वमा पुग्न सकिन्छ।
सधैं भाग खोजेर मात्र पनि हुँदैन। आफू सक्रिय रूपमा लाग्न पनि सक्नुपर्छ। तब मात्र सफल बनिन्छ।