महामारीमा कुनैबेला संक्रमण अति बढेर संक्रमित संख्या ह्वात्त बढ्ने र केही समयपछि मत्थर भई तल्लो बिन्दुमै आउने घटनाक्रमलाई हामी सामान्यतया लहर (वेभ) भन्छौं।
नेपालमा कोभिडको दोस्रो लहर केही मत्थर भएको संकेतसँगै सम्भावित तेस्रो लहर र त्यसले बालबालिकालाई पार्नसक्ने असरको बारेमा चर्चा बढेको छ। त्रास बढ्ने गरी थुप्रैथरी समाचार सम्प्रेषण भएका बेला आगामी दिनमा र लहरमा बालबालिकालाई हुने कोभिड-प्रभावको बारेमा वैज्ञानिक आधारले के बताउँछन् त? प्रस्तुत छ, यस विषयमा वैज्ञानिक जर्नल र आधिकारिक संस्था (जस्तै: विश्व स्वास्थ्य संगठन, सिडिसी, ए.सी.आर. आदि) का अद्यावधिक प्रकाशनका आधारमा हालसम्मका वैज्ञानिक तथ्य:
१. के तेस्रो लहरले बच्चालाई गम्भीर बिरामी बनाउँछ भन्ने सत्य हो?
अहिलेसम्मका सम्पूर्ण अनुसन्धान र अध्ययनले बच्चालाई कोभिडले गम्भीर रोग अरूलाई भन्दा बढी गराउने भन्ने कुनै वैज्ञानिक प्रमाण छैन। कोभिड गम्भीरताको हकमा महामारी सुरु भएदेखिको तथ्यांक र प्रमाणले त बच्चामा अधिकांशत: लक्षणबिहिन (करिब ६०-७०%), या सामान्य लक्षण (करिब २०%) हुने देखाउँछ। सघन उपचार चाहिने त १ देखि २ % मात्रै थिए। तसर्थ अब आउने लहरले बच्चालाई अचानक गम्भीर या सिकिस्त बनाउँछ भन्ने वैज्ञानिक प्रमाण छैन।
बयस्क व्यक्ति अधिकांश खोप लगाइसकिएका ठाउँमा उनीहरू बढी सुरक्षित हुने हुँदा बच्चामा पिसिआर (PCR) पोजिटिभ संख्या र प्रतिशत बढ्न सक्नेछ तर संक्रमित हुँदैमा तिनमा पहिलो/दोस्रो लहरभन्दा अत्यन्तै गम्भीर रोग हुने अनुमान गर्न हालसम्म ठोस आधार छैन। तर सामान्य कोभिड भएर निको भए पनि त्यसको ४ देखि ६ हप्ताभित्र कोभिडको इम्युन प्रतिक्रियात्मक रोग एम.आई.एस.सी (मल्टिसिस्टेमिक इन्फ्लाम्मेटरी सिन्ड्रोम इन चिल्ड्रेन) भने हुनसक्छ तर यो पनि अति बच्चामा बिरलै मात्रै हुने कोभिड-पश्चातको इम्युन रोग हो। अमेरिकाको एक अध्ययनले यसको देखिने दर करिब ०.०१% मात्रै भएको बताएको छ।
२. बच्चामा धेरैजसो कोभिडरोग सामान्य किन हुन्छ त?
अहिलेसम्मको तथ्यांक र अध्ययन हेर्दा बालबालिकालाई प्रारम्भिक कोभिडले सिकिस्त बनाउने खासै देखिएको छैन। धेरैजसो त जाँच्दा पिसिआर पोजिटिभ भए पनि तिनमा केही लक्षण नै देखिन्न। देखिए पनि सामान्य लक्षणमै सन्चो हुन्छ। बयस्क र बृद्धलाई गाँजेको बेला बालबालिकालाई गम्भीर नबनाउनुको कारण अध्ययन प्रकाशित छन्।
प्रतिष्ठित बि.एम.जे. (ए.डी.सी.) जर्नललगायतमा प्रकाशित रिपोर्टअनुसार बच्चाको शरीरमा चुस्त प्राकृत (innate) र अनुकुलीय (adaptive) इम्युनिटी हुने, ए.सी.इ.२ (ACE2) रेसेप्टर र त्यसको टाँसिने लगाव कम हुने, उच्च मेलाटोनिन लेवल हुने, पूर्ब अन्य कोरोना-जातिका भाइरसको संक्रमणबाट प्राप्त इम्युनिटी, सुक्ष्मजीव संख्या फरक हुने आदि कारणले बच्चालाई यो कोरोनाले कम गाँजेको बताइएकोछ।
३. बच्चामा अब आउने दिनमा संक्रमित संख्या बढ्ला त?
बयस्क सदस्यसित संसर्ग, रूप फेरिएका भेरियन्ट र बयस्कहरु खोप लगाइरहेका र बालबालिकामा अझै कोभिड खोप सुरु नभैसकेकाले गर्दा प्रतिशतको हिसाबले पहिले भन्दा संक्रमित संख्या बच्चामा बढ्न सक्छ। हालसम्मको तथ्यांकले पनि पहिलो लहर भन्दा दोस्रो लहरमा कुल बालबालिका तथा किशोर संक्रमित संख्या बढेको (नेपालमा पहिलेको ८% बाट अहिले १०%, भारतमा १०% बाट बिभिन्न राज्यमा ३०% सम्म, अमेरिकामा १३% बाट हालका ३ महिनामा २१%) देखिएको छ । अनुपातिक हिसाबले यसले थोरै मात्रामा लाक्षणिक बिमारीको संख्या बढ्न सक्छ। तर अतालिनुपर्ने अवस्था छैन किनभने बच्चामा हुने कोभिड संक्रमण अधिकांशत: लक्षणबिहिन या सामान्य लक्षणका छन्। हामीले सावधानी अपनाईरहौं, बालउपचारमैत्री अस्पताल-कक्ष बनाऔं। तर अबको लहरमा बच्चा सबै सिकिस्त हुने कुनै तथ्यांक या वैज्ञानिक आधार छैन।
४. के तेस्रो लहर भयानक हुन्छ त ?
महामारीमा आगामी लहर कस्तो हुन्छ भनेर पहिल्यै ठोकुवा गर्न सकिने कुरा होइन। लहर निर्धारण गर्न थुप्रै कुराले भूमिका खेल्छन्, जस्तै: भाइरसमा आउने बदलावट/ उत्परिवर्तन (Mutation) र त्यसबाट बनेको भाइरस भेरियन्ट, त्यस नयाँ रुपको संक्रमण क्षमता, समुदायमा व्यक्तिहरुको इम्युनिटी अवस्था, खोप लगाइएकाको संख्या र भेरियन्टबिरुद्ध तिनको प्रभावकारिता, संक्रमण भैसकेकाको संख्या, संक्रमण-शृंखला भंग गर्न व्यक्तिले अवलम्बन गरेको पहल आदि। आर.एन.ए. भाइरस चाँडो चाँडो उत्परिवर्तित हुने र कोरोना SARS-CoV-2 आरएनए भाइरस नै भएकाले भाइरसले अझै रुप बदल्ने कुरा सहजै अनुमान गर्न सकिने कुरा हो। तर उत्परिवर्तनले सधैं भाइरसलाई मजबूत र हानिकारक नै बनाउँछ भन्ने हुन्न। त्यस्ता रुप बदलिएका भेरियन्टको कत्तिको संक्रमण दर हुन्छ र कति सिकिस्त पार्छ भन्ने कुरा ती भेरियन्ट आइसकेपछि तिनको प्रस्तुति र तथ्यांकबाट मात्र भन्न सकिने कुरा हो।
दक्षिण कोरिया लगायत देशमा तेस्रो लहर र हङकङमा चौथो लहर पनि आइसकेको छ। बेलायत र अरु युरोपेली देश पनि तेस्रो या चौथो लहरको सतर्कतामा छन्।
अप्रिल-मे (२०२१) महिनामा आएका ‘कप्पा’ र ‘डेल्टा’ भेरियन्टबाट पुरै भारत दोस्रो लहरबाट गुज्रेको देखिए पनि दिल्ली-राज्यको लागि यो चौथो लहर भएको भर्खरै प्रकाशित अध्ययन (CSIR/NCDC) मा बताइएको छ। त्यहाँ तेस्रो लहर नोवेम्बरमै आइसकेको थियो जुनबेला बेलायतमा अल्फा (या युके) भेरियन्ट देखिएको थियो।
अत्यन्त बढी सर्नसक्ने दर भएको अल्फा भेरियन्ट भन्दाप नि अझै ५०% बढी फैलने दर भएको डेल्टा भेरियन्ट नै भयानक दोस्रो लहरको मुख्य कारक थियो। नेपालमा हालसम्म अल्फा र डेल्टा भेरियन्ट कारक हुन्। अब नयाँ आउने भेरियन्टले कत्तिको संक्रमण गर्छन् अहिल्यै भन्न नसकिने हुँदा अतालिनुभन्दा सावधानी उपाय (मास्क/स्यानीटाइजर प्रयोग र भौतिक दुरी) जारी राख्ने र अस्पतालहरुलाई अझै साधनसम्पन्न र जनशक्तियुक्त बनाउनतिर ध्यान दिनुपर्छ।
५. अब आउने दिनमा बच्चामा कोभिडसम्बन्धि कस्ता जटिलता आउलान्?
अहिलेसम्मको विश्लेषणअनुसार अधिकांश बच्चा सामान्य अवस्थामै हुने देखिन्छ। कोभिड बिमारी आफैँले बच्चालाई गम्भीर बिरामी बनाउने सम्भवना अति कम (समग्रमा १-२%) हुन्छ। साथै कोभिडको इम्युन प्रतिक्रियात्मक रोग एम.आई.एस.सी पनि अति कम (करिब ०.०१% भन्दा कम) बच्चामा हुने बिमारी हो तर यो बिमारीले भने जटिलता ल्याउन सक्छ।
६. के हो बच्चामा अहिले अति चर्चामा रहेको एम.आई.एस.सी (MISC)?
एम.आई.एस.सी (मल्टिसिस्टेमिक इन्फ्लाम्मेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् MIS-C) कोभिडको इम्युन प्रतिक्रियात्मक रोग हो। यो बिमारी कोभिड सम्पर्कमा आएका बालबालिकामा त्यसको ६ हप्ताभित्रसम्म देखिन सक्छ। यसलाई ‘पेडियाट्रीक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ (Pediatric Multisystemic Inflammatory Syndrome or PMIS) पनि भनिन्छ। यो कोभिड संक्रमण संकेत भएका बच्चामा गत २०२० अप्रिलमा बेलायतका र्ह्युमाटोलोजिष्ट/इम्युनोलोजिष्टले नाम दिइएको नविनतम सिन्ड्रोम हो। तर यसका लक्षण पहिलेदेखि जानिएको भास्कुलाइटिस् बिमारी ‘कावासाकी रोग’ र ‘टक्सिक सक सिन्ड्रोम’ जस्ता रोगसित केही मिल्छन्। एम.आई.एस.सी मा कोभिड पिसिआर पोजिटिभ हुनपर्छ भन्ने छैन।
कोरोना भाइरस बिरुद्धको इम्युन प्रतिक्रियाले हुने यो रोगका बच्चा कोभिड समीप-सम्पर्कका, या पिसिआर पोजिटिभ या एन्टीबडी या एन्टिजेन पोजिटिभ मध्ये कुनै एक हुन सक्छन्।
यो रोग जोसुकै कोभिड सम्पर्कका बाल र किशोरमा देखिन सक्ने भए पनि ५ देखि १५ बर्ष उमेर समूहमा बढी देखिएकोछ। बृहत्तर दृष्टिकोणले भन्दाखेरि बच्चामा थाहै नपाइएका लक्षणबिहिन या सामान्य लक्षणसितका कोभिड भै सन्चो भैसकेपछि केही हप्ताभित्र इम्युन प्रतिक्रियाले एम.आई.एस.सी हुन्छ।
तसर्थ यो संक्रामक अवस्था होइन। एम.आई.एस.सी बच्चा र किशोरकिशोरीमा दुई या दुई भन्दा बढी अङ्ग-प्रणालीमा एकैचोटी अति-सुजन (hyper-inflammation) का लक्षण देखिने प्रतिरक्षात्मक जटिलता हो। तसर्थ यसमा अनिवार्य ‘ज्वरो’संगै छाला तथा नरम तन्तु (आँखा, जिब्रो, ओठ), मुटु तथा रक्तनली, फोक्सो तथा श्वासनली, पाचन-अङ्गहरु, मृगौला, मस्तिष्क आदिमा सुजन (इन्फ्लेमेशन) ले निम्त्याउने जटिलता देखिन्छन्।
७. एम.आई.एस.सी दोस्रो लहरपछि मात्रै देखिएको हो त ?
बिल्कुल होइन। अप्रिल २०२० मा बेलायतमा र्ह्युमाटो-इम्युनोलोजिष्ट चिकित्सकहरुले अधिकारिक प्रस्तुत गरिएपछि संसार भर नै यस्ता बिरामी भेटिएका थिए। यसको सफल उपचार भएका थिए। नेपालमा पनि चिकित्सकहरुले केही केन्द्रमा सफल उपचार गरेपनि नयाँ बिमारी भएको र कतिपय चिकित्सक पनि अनभिज्ञ रहेको हुँदा यो अधिकांशत: क्षेत्रमा पर्याप्त निदान हुन सकेको थिएन।
अहिले दोस्रो लहरसंगै बालबालिका -किशोरकिशोरीमा देखिन थालेपछि चर्चा बढेकोहो। बिरलै हुने बिमारी भएपनि महामारी समयमा हामी यसप्रति सावधान रहनुपर्छ। महिनौ अघि नै नेपालमा केही बाल अस्पताल र इम्युनोलोजी चिकित्सकहरुले यसबारे संचेतना प्रयास धेरै पहिले गरेका थिए।
८. के कस्ता लक्षण देखिन्छन् त एम.आई.एस.सी (MISC) मा ?
A.C.R., W.H.O., R.C.P.C.H., C.D.C. आदि आधिकारिक संस्थाको निदान मापदण्डअनुसार यो बिमारीको निदान गर्न लाक्षणिक र परिक्षण बुंदा छन् (हेर्नुहोस्.-चित्र १)। महामारी चलेको बेला र लगत्तै एक दिन भन्दा बढी लगातार उच्च ज्वर (>३८०C) संगै (कोविड सम्पर्कमा आएका बाल, किशोरमा) थकान, ज्वर, आलस्य, शरीरमा राता दाना डाबर अनि आँखा, जिब्रो र ओठ रातो देखिएमा, तिब्र हृदयगति, श्वासगति भएमा, खोकी, श्वासप्रश्वास समस्या या अक्सिजन घटेमा, हातगोडा आँखा आसपास सुनिने, शरीरमा लिम्फ़ग्रन्थी सुन्निएमा, घाँटी दुख्ने, झाडापखाला, पेट दुख्ने, असह्य टाउको दुखेमा, बच्चा आलस्य या सुस्त भएमा र अरु प्रत्यक्ष कारण (जस्तै अरु संक्रमण प्रमाण) बिना फोक्सो, मृगौला र मुटुका बिमार लक्षण देखिएमा यी लक्षण एम.आई.एस.सी हुन् कि भनि सोचिनुपर्छ र तुरुन्त बालरोग या इम्युनोलोजी बिज्ञसित परामर्श लिइनुपर्छ।
९. एम.आई.एस.सी शंका गरेमा अभिभावकले के गर्ने ?
एम.आई.एस.सी निदान गर्न लक्षणपछि केही ल्याब-परिक्षण गर्नुपर्ने र बिशेष उपचार गर्नपर्ने हुँदा यस्ता लक्षण देख्नासाथ तुरुन्त बिज्ञको परामर्श लिइनुपर्छ। मापदण्ड पुगेका बच्चामा विशेषज्ञ निगरानीमा उपचार चाहिने हुँदा एम.आई.एस.सी शंका पछि बच्चालाई घरमै राखिरहनु हुन्न I
१०. एम.आई.एस.सी उपचार सम्भव छ ?
एम.आई.एस.सीको निदान गरिसकिएपछि उपचार सम्भव छ र उपचारका लागि चाहिने इन्ट्राभेनस इम्युनो-ग्लोब्युलिन, मेथाइल-प्रेडनिसोलोन जस्ता औषधि नेपालमा उपलब्ध छन्। एम.आई.एस.सीमा बहु-आंगिक असर पर्ने हुँदा कतिपय बच्चामा सघन उपचार कक्षमा मोनिटर गरिन पर्नसक्छ।
११. बच्चालाई एम.आई.एस.सी हुनै नदिन के गर्न सकिन्छ ?
एम.आई.एस.सी आँफैमा संक्रमणको सक्रिय अवस्था होइन। यो भर्खरै या बिगत केही हप्ताभित्र भएको कोभिड सम्पर्कपछिको बाल शरीरभित्रको इम्युन प्रतिक्रिया हो। कोभिड सम्पर्कमा आएका कुन बच्चामा देखिने कुनमा नदेखिने भन्ने बच्चाको इम्युन प्रणालीमा निर्भर हुने हुँदा सम्पर्कपछि यसबाट बच्न यही गर्न सकिने भन्ने केही हुन्न। तर हामीले सावधानीका उपाय बढी अपनाएर बच्चालाई कोभिड सम्पर्कै हुन दिएनौं भने एम.आई.एस.सी हुने सम्भावना जरुर रोक्न सक्छौं। तसर्थ साबुनले हात धुने, स्यनिटाईजर र मास्क प्रयोग, दुरी कायम राख्ने कुरालाई हल्का लिनुहुन्न। अझ बयस्क व्यक्ति कोभिड-सम्पर्कमा आएको शंका भएमा तिनबाट त्यो अवधि बच्चालाई सम्पर्कमा आउन दिइनुहुन्न।
१२. बच्चाको प्रतिरक्षा बढाउन के गर्न सकिन्छ ?
कुनै बिशेष बिमारी बिरुद्ध खोप नै विशिष्ट इम्युनिटी प्रदायक चिज हो। बाँकी बाल-प्रतिरक्षाको मुख्य संदेश जन्मजात निर्धारित हुन्छ। यो बदल्न सकिन्न। इम्युनिटी प्रणालीलाई राम्रोसंग काम गर्न हामीले शरीर भित्रको आन्तरिक वाताबरण सही राख्नको निम्ति सन्तुलित भोजन, पर्याप्त निद्रा, सामान्य शारीरिक अभ्यास, तनावरहित अवस्था, स्वस्थ जीवनशैली अंगाल्नुपर्छ। इम्युनिटीलाई चुस्त राख्न अति थोरै मात्रामा चाहिने भिटामिन, खनिज जस्ता तत्वहरु हामीले खाने सन्तुलित भोजनमै हुन्छन्। अत: कुपोषितलाई बाहेक अरुमा अतालिएर बच्चालाई भिटामिन, खनिजका झोल/ट्याब्लेट ख्वाउन जरुरी हुन्न। अझ वैज्ञानिक प्रमाण नभएका अनधिकृत दबाई या अनुभवको आधारमा दावी गरिएका अप्रमाणित धुलो या मिश्रणलाई इम्युनिटी बर्धक भनेर बिल्कुलै ख्वाइनु हुन्न। अप्रमाणित मिश्रणहरु हानिकारक हुन सक्छन्। इन्टरफेरोन, इम्युनोग्लोब्युलिन, खोप आदि बाहेक अरु कुनै औषधि इम्युनिटी बर्धक (बुष्टर) हुन्नन्। सन्तुलित भोजनबाटै बच्चाको इम्युन प्रणाली चुस्त राख्न भरपुर मद्दत मिल्छ। जथाभावी अनावश्यक भिटामिन या एन्टीबायोटिक आदि खाँदा त्यसको नकारात्मक असर हुने प्रवल सम्भावना हुन्छ।
( यो आलेख इन्डेक्स्ड वैज्ञानिक जर्नल र आधिकारिक संस्था (जस्तै: विश्व स्वास्थ्य संगठन (WHO), सिडिसी, ए.सी.आर.(ACR) आदि) का अद्यावधिक प्रकाशनका आधारमा हालसम्मका वैज्ञानिक तथ्यहरुमा लेखिएको हो I)
डा. धर्मागत भट्टराई पेडियाट्रिक इम्युनोलोजिष्ट (डक्टरेट अफ मेडिसिन, पेडियाट्रिक इम्युनोलोजी एन्ड र्यूमाटोलोजी) हुन्।