मानिसका लागि घर नभई हुँदैन। बास बस्नका लागि घर चाहिन्छ। अझ प्रष्टरूपमा भन्नुपर्दा सुरक्षितसाथ जीवनयापनका लागि घर चाहिन्छ।
घाम, पानी, हुरी बतास आदिबाट बच्नका लागि पनि घर चाहिन्छ। विश्वभर जनसंख्या बढ्दै गएको छ। हाम्रो देशमा पनि जनसंख्याको दर उच्च हुने क्रम जारी छ।
देशका अन्य स्थानको तुलनामा काठमाडौं उपत्यकाको जनसंख्या धेरै छ।
विद्यालय, रोजगारी, अस्पताल लगायतमा सुविधा हुने भएकाले देशका विभिन्न स्थानबाट यहाँ आउनेहरूको हरेक वर्ष घुइँचो नै हुन्छ।
काठमाडौं सपनाको सहर हो। यहाँ विभिन्न सपना सजाएर जन्मथलो छाडेर आउनेहरू धेरै छन्।
‘काठमाडौं सहर हेर्दा लाग्छ रहर !’ यो थेगो पनि प्रचलित नै छ। तर अहिले सपनाको हर विस्तारै धुमिल, प्रदूषित हुँदै गएको छ।
आजकाल यो सहर कोलाहल र कंक्रिटको मात्रै बन्दै गएको छ। करिब ५ दशक अगाडि सुन्दर, शान्त, हरियाली देखिने सहर अब जाम र धुलोको रूपमा परिचित हुँदै गएको इतिहासविद्हरू बताउँछन्। अचेल त धुलो र कोरोनाका कारण मास्कमाडौंभन्दा पनि फरक नपर्ने भइसकेको छ। तै पनि यहाँ आफ्नो सुन्दर सपना सजाउन आउनेहरूको कमी भने छैन।
विभिन्न काम विशेषले यो सहरमा प्रवेश गर्नेहरूका आ-आफ्नै पीडा छन्। यहाँ घर भएकाहरू (केही घरबेटी) का आफ्नै खाले चुरीफुरी पनि देखिन्छन्।
कोठा वा फ्ल्याट लिएर बस्नेहरू उनीहरूको नजरमा फगत ! चरामुसा हुन्। सहर त्यो पनि काठमाडौंमा घर हुनु भनेको त मानौं कि चन्द्रमामा नै पुगेजस्तो ! सर्वोच्च ! क्या खत्रा ! हुनेखाने ! काठमाडौंमा नभए पनि देशका कुनै न कुनै भूभागमा अधिंकाशको घर हुन्छ नै। तथापि बाहिरबाट बसाइ सरेर अनेकन संघर्षपश्चात् घर बनाएकाभन्दा स्थानीयहरूको डेरामा बस्नेलाई हेर्ने नजर पृथक देखिने गरेको पनि पाइन्छ।
मेरो व्यक्तिगत अनुभव हो यो।
विगत १५ वर्षदेखि म आफैं राजधानीका घरहरूमा भाडामा बस्दै आएको छु। यसरी घरवालाहरूको विषयमा लेखिरहँदा मसँग पक्कै रिस उठ्न सक्छ तर सुविधासम्पन्न सहरमा बस्नेहरूको अमानवीयताको कुरो गर्ने हो भने नलेखी मनले मानेन।
यहाँ अनेकन सपना सजाएर आउनेहरूको अनुभव समेट्ने कोसिस गरेको छु।
मेरी एक जना साथी चाबहिलमा बस्छिन्। उनको घर विराटनगर हो। काठमाडौं आएको १० वर्ष भयो। पढ्ने उद्धेश्यले आएकी उनले बिएसम्मको अध्ययन सकेपछि पनि काठमाडौं बसाइलाई निरन्तरता दिइन्। आफ्ना २ सन्तानसँग फर्केर गाउँ जान मन लागेन।
दश वर्षको अन्तरालमा उनले ५ पटकसम्म डेरा सरिन्। उनी सुनाउँछिन्, ‘घरमा गाउँबाट परिवारको मान्छे आएको चाल पाएपछि पानी बन्द गरिदिने, तपाईंका मान्छे आएर घर फोहोर भयो भन्दै २ वटा कोठा लिएर बसेको मलाई पूरै आँगन बढार्न लगाउने, मानसिक तनाव दिने, अग्रिम त्यो पनि १ गते नै भाडा दिनू भनेर प्रेसर गर्ने गर्थे। दिक्क लागेर मैले २ वर्षपछि अर्को ठाउँमा कोठा सरें।
करिब १८ महिना गौशालामा बसेपछि त्यहाँका घरवालाले पनि विभिन्न बहानामा दुःख दिए।
'हाम्रो छोरा युएसएमा छ। अब बिहेका लागि आउँदैछ, हामीलाई नै चाहिने भो। एक महिनामै खाली गरिदिनुस् न!'
छोरा ७ वर्ष र छोरी जम्मा १४ महिनाकी थिई। फेरि श्रीमान् पनि कामको शिलशिलामा सुदूरपश्चिममा हुनुहुन्थ्यो। घरबेटीको टर्चरले म रातभरि निदाउन सकिनँ।
केही सीप नलागेर कोठा खोज्न एक जना दिदीलाई जिम्मा लगाएँ।
काठमाडौंमा यो व्यवसाय निकै फस्टाएको रहेछ। प्रतिकोठा १ हजार रुपैयाँ चार्ज तिर्नुपर्ने। बल्लबल्ल सिनामंगलमा कोठा भेटियो।
एउटा सानो किचन र एउटा रूम। त्यहाँ पनि २ वर्ष बसेर अर्को ठाउँमा सरें। हामी बाहिरबाट आउनेलाई त यहाँ घर हुनेले साह्रै हेप्छन् यार।’
काठमाडौं सहर साँच्चै अच्चमकै छ। यहाँ अनेकथरि मानिसहरू बसोबास गर्छन्।
देशका राष्ट्रपतिदेखि, प्रधानमन्त्री, मन्त्री, नायक, नायिका, असल खराब, चोर, डाँका के के हो के के ! ७ प्रदेश र ७७ जिल्लाका मानिसहरू अटाएको छ यसले।
मेरी अर्की साथी अनामनगर बस्छिन्।
उनी त्यहाँ बस्न थालेको १६ वर्ष भएछ। सरकारी जागिरे हुन्। आइए पढ्दादेखि बस्न थालेको अहिले २ छोराछोरी भइसके। अझै त्यहीँ बस्छिन्।
गत फागुनमा उनीसँग अचानक कफी सपमा भेट भयो।
मैले सोधें, ‘कता छ बसाइ ?’ उनले भनिन्, ‘म त अनामनगरै बस्छु नि। १६ वर्ष भैसक्यो, ३ कोठाको फ्ल्याट छ। पानी आउँछ। भाडा जम्मा ९ हजार छ। सुरूमा २५ सयमा बसेको। १६ वर्षमा ९ सम्म पुगेको छ। सबैभन्दा राम्रो त मेरोमा घरबेटी मज्जाका छन्। भाडा पनि भएको बेलामा दिन्छु। कहिलेकाहीँ त ३ महिनासम्म पनि केही भन्दैनन्। मेरा बच्चाहरूलाई पनि आफ्नै सन्तानजस्तै माया गर्छन्। जहाँ बसे पनि बस्नु नै हो। अब आफ्नो घर नभई कोठा सर्दिनँ।’
काठमाडौं वास्तवमा रोचक पनि छ। सपना पूरा गर्ने महासागर पनि हो। यहाँ आएकाहरूको कतिको सपना पूरा हुन्छ त कतिको सपनामै सीमित हुन्छ।
कतिका लागि भने अभिषापै बन्दै पनि आएको छ। यहाँ बस्नेहरूका आफ्नै कथा, व्यथाहरू छन्। यो सहरले कसैलाई खुसी दिएको छ त कसैलाई पीडा।
२०६८ को जनगणना अनुसार काठमाडौं महानगरमा १ लाख ६१ घर रहेको तथ्यांक छ। जसमध्ये ९५ प्रतिशत घरवालाले बहालमा लगाएका छन्।
तर धेरैजसो घरधनीले बहालकर नतिर्ने गरेको महानगरका एक कर्मचारी बताउँछन्।
ती कर्मचारीले नाम नबताउने शर्तमा भन्छन्, ‘काठमाडौंका अधिकांश घरवालाले घर भाडामा लगाउँछन्। प्रत्येक वर्षजस्तो भाडा बढाउँछन्। बिचारा कोठामा बस्नेहरूका लागि महंगो शुल्क तिनुपर्ने बाध्यता हुन्छ तर घरवालाले भने घरबहाल कर तिर्नबाट उम्किनका लागि मेरो घरमा आफन्त बस्छन् भनेर ठगी गर्दै आएका छन्।
अब घरवालाहरूको तथ्यांक संकलन गरेर सबै घरको घरबहाल कर उठाउनुपर्छ।’
काठमाडौंमा घर भएकाहरूको आम्दानीको एउटा मुख्य स्रोत घरभाडा नै हो।
कम्तीमा पनि साढे २ तलाको घर बनाउने एक तला त भाडा दिन्छन् नै।
पाँचौं/छैठौं तलाका घर बनाएर भाडा असुल्ने मात्रै काम गर्नेहरू पनि छन्। घर भाडामा लगाउनु गलत होइन। तर पैसो उठाइसकेपछि आफूकहाँ बस्नेहरूको सेवा सुविधामा पनि ध्यान दिनुपर्ने हो। पानीको सुविधा छ कि छैन ? अन्य कुनै समस्या परेको छ कि ? तर भाडामा बस्नेहरू घरबेटीले आफूहरूलाई अनावश्यक दु:ख दिने गरेको धेरै गुनासो गर्छन्।
एउटै घरमा बसिसकेपछि एउटै परिवारजस्तो हुनुपर्ने हो तर घरबेटीले खानै नपाएका, केही नभएर उनीहरूकहाँ शरण लिन आएजस्तो गर्दा दुःख लाग्ने गुनासो गर्छन्, मेरा एक जना साथी। उनी डाक्टर हुन्। काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका छन्।
‘पानी आउँदैन। तर पनि प्रत्येक महिना पानीको पैसो तिर्नुपर्छ। ३ तले घर छ। भुइँको तलामा मेरो परिवार बस्छौं। उनीहरूले २ तला प्रयोग गर्छन्। प्रत्येक महिना १० हजार रुपैयाँको पानी खपत हुन्छ। हामी ३ जना बस्छौं तर उनीहरू ९ जना सदस्य बस्दै आएका छन्। पानीको पैसो भने बराबर नै भाग लगाउँछन्। नतिरी भएन। कि त कोठा खोज्नुपर्यो। यसको लागि मसँग समय छैन। बसौं भने घरबेटीको अन्याय सम्झन्छु, भित्रभित्रै तनतनी रिस उठेर आउँछ। काठमाडौंमा घर नभएको भएर यसरी चुपचाप बस्न बाध्य हुनु परेको छ’, उनी दुखेसो गर्छन्।
महिनौ महिना कोसिस गर्दा पनि कोठा नपाइने काठमाडौंमा भने २०७६ चैतदेखि कोरोनाका कारण केही स्थानमा कोठा खाली हुन थालेका छन्।
लकडाउनले विद्यार्थीहरू भाडामा राखेका घरबेटीहरूलाई भने निकै पिरलो भएको छ। सटरहरू खाली भएका छन्। फ्ल्याटमा बस्नेहरू भाडा तिर्न नसकेर कोठामा सीमित हुनुपर्ने बाध्यता छ।
दशौं महिनासम्म कोठा र सटरहरू बन्द गरेर गाउँतिर लागेकाहरू नर्फिएपछि घरै चिथोर्ने कुरो पनि भएन। पीडा त डेरामा बस्नेलाई मात्रै होइन, घरवालालाई पनि कहाँ कम रहेछ र ! मेरा एक जना चिनजानका अंकलसँग घट्टेकुलोमा भेट भो। उनले केही सहायता पाइने आशामा मसँग याचना गरे।
‘नानी मेरो अनामनगरको घरमा ४ वटा सटरहरू बन्द भएको १ वर्षभन्दा धेरै भइसक्यो। कोही बस्ने छ भने भनिदिनुहोला। प्रति सटरको १० हजारका दरले भाडामा लगाएको थिएँ। अब ५० प्रतिशत छुट गरेर ५ हजार प्रतिसटरमा दिन्छु। यो कोरोनाले त भोकै मार्ला जस्तो भो।’ मैले प्रत्युउत्तरमा भनें, ‘अंकल काठमाडौंमा घर भएका मान्छेहरूलाई नि भोकै मर्ने पीर हुन्छ र ! पीर त भाडामा बस्नेलाई पो त !’ उनले थपे, ‘पीर त सबैलाई छ नि नानी, तपाईंहरूलाई राम्रो घरबेटी पाउन मुस्किल, हामीलाई खुरूखुरू भाडा दिने डेरावाला पाउन मुस्किल।’
वास्तवमा घरवेटी र डेरावालाका आ-आफ्नै पीडा छन्। कतिले ऋण काढेर घर बनाएका छन्। उनीहरूले मासिकरूपमा किस्ता बुझाउनुपर्ने हुन्छ। डेरामा बस्नेले समयमा भाडा नदिँदा उनीहरूले कसरी बैंकको किस्ता बुझाउँछन् ? यो प्रश्न पनि जटिल नै छ। तर सम्पत्ति टन्न भएकाहरूले अग्रिम भाडा माग्ने, पानी नदिने, तुच्छ व्यवहार गर्ने, बिनाकारण कोठा सर्न लगाउने भनेको पक्कै पनि अमानवीय व्यवहार हो।
समस्या सबैका आ-आफ्नै हुन्छन्। घर हुँदैमा घरले पैसा फलाउँदैन। डेरामा बस्नेहरूले दिएपछि घरवालाले पाउने हो र यसरी नै जीवन चल्दै जाने हो। घर हुनेले डेरामा बस्नेहरूलाई सम्मानजनक व्यवहार गरौं। काठमाडौंमा घर छ भन्दैमा विभिन्न सपना साँचेर देशैभरिबाट आउनेहरूको मानसम्मानमा ठेस पुर्याउने कार्य नगरौं।
घरवाला र डेरावालाको सम्बन्ध सुमधुर र प्रेममय राखौं। मानवीय धर्मको पालना गर्न कोही नचुकौं।